रिपोर्ट सोमबार, साउन १२, २०७७

के कोरोना संक्रमण समुदायस्तरमा फैलिएको हो?

रामु सापकोटा

के कोरोना संक्रमण समुदायस्तरमा फैलिएको हो?

भारतबाट २० असारमा फर्केका सप्तरी राजविराज–६ का एक व्यक्तिलाई ३० असारमा सास फेर्न समस्या हुन थालेपछि उपचारका लागि धरान लगियो। धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत कोरोना जाँच गर्दा उनमा संक्रमण देखियो। संक्रमण देखिएकै दिन १ साउन राती उनको ज्यान गयो।

कोरोना संक्रमितको ज्यान गएपछि उनको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी हुन थाल्यो। ९ साउन साँझसम्म उनको सम्पर्कमा आएकामध्ये २९ जनालाई कोरोना संक्रमण भएको पुष्टी भयो।

उनको सम्पर्कमा आएका परिवार र उनी बस्ने टोलको समुदायका व्यक्तिमा कोरोना संक्रमण भेटिन थालेपछि स्थानीय प्रशासनले ८ साउनदेखि लागू हुने गरी अनिश्चितकालिन राजविराजमा निषेधाज्ञा जारी गर्‍यो।

आइतबारसम्म सप्तरीमा कोरोना संक्रमित हुनेको संख्या ४४७ जना पुगेको छ। सप्तरीमा मात्र होइन एकै पटक धेरै जना कोरोना संक्रमित हुने समस्या पर्सामा पनि देखिएको छ।

वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा पछिल्लो एक हप्ताभित्र कोरोना परिक्षण गर्दा ८५ जनामा संक्रमण भेटिएको छ। यीमध्ये आइतबारसम्म कुल ५ जनाले ज्यान गुमाइसकेका छन्।

८ साउनमा नारायणी अस्पतालको प्रयोगशालामार्फत एकै पटकमा ३२ जनामा कोरोना संक्रमण देखिएको थियो र, यीमध्ये ३० जना पर्साका थिए।

त्यसअघि सात साउनमा गरेको जाँचका क्रमममा एकै पटक १७ जनामा कोरोना देखिएको थियो। ८ साउनमा एकै पटक पर्साका ३० जनामा कोरोना संक्रमण देखिएपछि प्रशासनले १० साउनदेखि लागू हुने गरी निषेधाज्ञा गर्ने निर्णय गरेको थियो।

पर्सा जिल्लामा मात्र आइतबारसम्म २४० जना व्यक्ति कोरोना संक्रमित भइसकेका छन्। पर्सा र सप्तरीमा एकै पटकमा धेरै व्यक्तिमा कोरोना संक्रमण भेटिएपछि कतै समुदायमा संक्रमण (कम्युनिटी ट्रान्समिसन) फैलिएको त होइन भन्ने आंशका उब्जिएको छ।

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले दैनिक सार्वजनिक गर्ने २५ जुलाईको स्थिति प्रतिवेदन अनुसार नेपालमा देखिएको कोरोनाको संक्रमण ‘कम्युनिटी ट्रान्समिसन’ होइन।

डब्लूएचओले सार्वजनिक गरेको उक्त प्रतिवेदनमा कोरोना भाइरसको फैलावटको वर्गिकरणअनुसार नेपाललाई ‘क्लस्टर केसेस’ मा राखेको छ।  एकै ठाउँमा एकै समयमा धेरै कोरोना संक्रमित भेटिनु 'क्लस्टर केसेस' को अवस्था हो।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखामार्फत 'कट्याक्ट ट्रेसिङ' को काम गरिरहेका एक विज्ञ चिकित्सक विरगञ्ज र राजबिराजमा देखिएको संक्रमणलाई ‘कम्युनिटी ट्रान्समिसन’ भन्न नमिल्ने बताउँछन्।

उनका अनुसार वीरगञ्जमा नयाँ संक्रमित व्यक्तिहरू कन्ट्याक्ट ट्रेसिङका क्रममा फेला परेका हुन्। उनी "कम्युनिटी ट्रान्समिसन" भईनसकेको तर पर्सा र सप्तरीको घटनाले समुदायमा कोरोनाको संक्रमण फैलिन सक्ने लक्षण देखाएको बताउँछन्।

स्वास्थ्य मन्त्रालयको कोभिड-१९ इन्सिडेन्ट कमान्ड सिस्टमको अनुसन्धान टोलीका सदस्य डा. सुजनबाबु मरहठ्ठा पहिला विदेशबाट आएकाहरूमा मात्र कोरोना संक्रमण देखिन थालेकोमा अहिले परिवारका सदस्य हुँदै समुदायका विभिन्न व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिन थालेको बताउँछन्।

डा. मरहठ्ठाका अनुसार राजविराज र वीरगञ्जको घटनालाई आधार मान्दा एउटा कुनै निश्चित समुदायभित्र मात्र कोरोनाको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको (कलस्टर केसेस) देखिएको छ।

डा. मरहठ्ठा वीरगञ्ज र राजबिराजको घटनाले अब मुलुकमा कोरोनाभाइरसको संक्रमण समुदायबाट समुदायमा फैलिन सक्ने आधार बनाएको बताउँछन्।

उनका अनुसार अहिले ती ठाउँमा देखिएको कोरोनाभाइरसको संक्रमण कम्युनिटी ट्रान्समिसनको लक्षण हो र, अहिले ‘ट्रान्समिसन लोकलाइज’ मात्र भएको छ।

डा. मरहठ्ठा एकै पटक धेरै जनामा संक्रमण देखिन थालेका ठाउँमा सरकारले स्वस्थ, शंकास्पद र संक्रमितको वर्गिकरण गरेर छुट्याउनुपर्ने र ‘कन्ट्याक्ट ट्रेसिङ’ तथा परीक्षण बढाउनु पर्ने बताउँछन्।

जनस्वास्थ्यविद डा. समीरमणि दीक्षित पनि विश्व स्वास्थ्य संगठनको व्याख्या अनुसारमा मुलुकमा अहिलेसम्म कोरोना भाइरसको ‘कम्युनिटी ट्रान्समिसन’ अर्थात समुदायमा प्रसारण नभईसकेको बताउँछन्।

“कम्युनिटी ट्रान्समिसन अर्थात् स्थानीय प्रसारण आगोको झिल्को जस्तै हो। वडादेखि जिल्लाभर फैलियो भने मात्र कम्युनिटी ट्रान्समिसन हुन्छ,” डा. दीक्षित भन्छन्, “कम्युनिटी ट्रान्समिसन हुन ती झिल्काहरू सबैतिर फैलिनुपर्छ।”

उनी कम्युनिटी ट्रान्समिसन भए वा नभएको थाहा पाउनका लागि सरकारले प्रभावित क्षेत्रमा व्यापक मात्रामा परीक्षण गर्नुपर्ने बताउँछन्।

प्रतिकृया दिनुहोस