टिप्पणी शनिबार, साउन १०, २०७७

राष्ट्रपतिको ‘अफ दि रेकर्ड’ मजाक

शंकर तिवारी

राष्ट्रपतिको ‘अफ दि रेकर्ड’ मजाक

पत्रकारितामा ‘अफ दि रेकर्ड’ चल्तीको शब्दावली हो । चल्तीको शब्दावली भइकन पनि ‘अफ दि रेकर्ड’ को प्रयोग भने कमै हुन्छ ।

९ साउनमा राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा ३० जना सम्पादकलाई बोलाएर दुई घण्टासम्म गरेको संवादलाई ‘अफ दि रेकर्ड’ भनेपछि यसको चर्चा चल्न थालेको छ । राष्ट्रपतिले नै ‘अफ दि रेकर्ड’ भनेपछि पत्रकारिताको यो शब्द आफ्नो घेराबाट हुत्तिएर सार्वजनिक बनेको छ ।

पत्रकारिताको इतिहासमा सन् १९१८ मा पहिलोपटक न्यू योर्क ट्रिब्यून पत्रिकामा ‘अफ दि रेकर्ड’ चर्चा भएको भेटिन्छ । ‘अफ दि रेकर्ड’ को लक्ष्मणरेखालाई कति मान्ने, नमान्ने भन्ने बारे पत्रकारिताका स्कूल र सञ्चार संस्थाहरूले आ–आफ्ना नियम बनाएका हुन्छन् ।

‘अफ दि रेकर्ड’ को सोझो अर्थ प्रकाशन/प्रसारण गर्न नपाइने वा उद्धरण गर्न नपाइने हो । यो समाचारको स्रोत र पत्रकारबीचको एक अलिखित सम्झौता हो ।

‘अफ दि रेकर्ड’ बारे थोरै मात्र अध्ययन गर्दा पनि थाहा हुने कुरा के हो भने यदि कुनै कुरा ‘अफ दि रेकर्ड’ गर्ने हो भने संवादको शुरुआतमै प्रष्ट रूपमा ‘अफ दि रेकर्ड’ उल्लेख गर्नुपर्दछ, पछि होइन । बोलिसकेपछि स्वतः ‘अन दि रेकर्ड’ भइहाल्छ, ‘अफ दि रेकर्ड’ भन्नै मिल्दैन । यो पत्रकारिताका मानक संस्थाहरूले पालन गरिआएको नियम हो ।

राष्ट्रपतिले दुई घण्टा पत्रकारहरूसँग संवाद गरिन् । चिया–चमेनाको रसास्वादन गराइन् । जसै हिंड्ने वेला सम्पादकहरू उत्साहित भएर आफ्ना समाचारका ‘प्लट’ परिकल्पना गरिरहेका थिए, राष्ट्रपतिले सबै कुरालाई ‘अफ दि रेकर्ड’ को बन्धन घोषणा गरिदिइन् ।

र, यो टिप्पणी लेख्दासम्म कुनै पनि सम्पादकले राष्ट्रपतिले बोलेका कुरा सार्वजनिक गर्ने आँट गरेका छैनन् ।

यतिवेला ‘अफ दि रेकर्ड’ प्रकरणले राष्ट्रपतिको अभीष्ट शंकाको घेरामा परेको छ । तर, राष्ट्रपति सँगसँगै सम्पादकको आचारसंहिताको पनि परीक्षा भइरहेको छ । यदि त्यो दुई घण्टे संवादमा देशलाई नै हानि हुने कुरा, गलत कुरा भएको हो भने राष्ट्रपतिले भन्दैमा ‘अफ दि रेकर्ड’ अनुल्लंघनीय वा उल्लंघन गर्नै नमिल्ने रेखा हुँदैन । यदि कसैले झूट बोलिरहेको छ भने ‘अफ दि रेकर्ड’ को नाममा त्यो लुक्नुहुँदैन।

राष्ट्रपतिको ‘अफ दि रेकर्ड’ ले स्वाभाविक रूपमा थुप्रै जिज्ञासाको जन्म गराएको छ । संवैधानिक रूपमा आलंकारिक राष्ट्रपतिले आफ्नो राजप्रासादमा देशका चुनिएका सम्पादकहरूलाई बोलाएर दुई घण्टासम्म आम मानिसलाई सुसूचित गर्न नहुने के त्यस्तो कुरा गरिन् ? के त्यो कुनै ‘ग्राण्ड डिजाइन’ थियो ? कुनै गोप्य षडयन्त्र थियो ?

यदि त्यसो होइन भने किन राष्ट्रपतिले आफूद्वारा अभिव्यक्त विचारलाई ‘अफ दि रेकर्ड’ घोषित गरिन् ? के शीतलनिवासको भव्य चियापानको अर्थ हिउँदमा रत्नपार्कमा बदाम खाएर गफिए जस्तो मात्र थियो ?

पक्कै पनि थिएन । पछिल्ला घटनाक्रमहरू यसका प्रमाण हुन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवादमा राष्ट्रपतिको जुन तहको चासो र संलग्नता देखिएको छ, यसले उनलाई विवादित बनाउँदै लगिरहेको छ । स्वयंमा विवादित राष्ट्रपतिले यसपटक हाकाहाकी जानाजानी सम्पादकहरूलाई समेत ‘अफ दि रेकर्ड’ को परीक्षणमा राखिदिएकी छन् ।

सम्पादक महोदय, के राष्ट्रपतिको ‘अफ दि रेकर्ड’ साँच्चै ‘अफ दि रेकर्ड’ कै परिभाषा भित्र पर्दथ्यो ? तपाईंको विवेकले पनि त्यही भन्छ, जुन राष्ट्रपतिको विवेकले भन्यो ?
किनभने, कसैले केही भन्नुमा अवश्य केही न केही अभिप्राय लुकेको हुन्छ ? सञ्चारकर्मीलाई यति सामान्य कुरा थाहा नहुने भन्ने कल्पना पनि गर्न सकिन्न ।

छिटपुट रूपमा बाहिर आएका सूचना अनुसार, राष्ट्रपतिले समग्रमा सरकारका कामप्रति आफू सन्तुष्ट रहेको सन्देश सम्पादकहरूले बुझुन् भन्ने चाहना राखेकी छन् । कोभिड–१९ महामारी, बाढीपहिरोको आहत, अटुट भ्रष्टाचार, कुशासन र सर्वोच्च अदालतका विवादास्पद फैसला जस्ता विषय अहिले राष्ट्रपतिका लागि चिन्ताको विषय बन्नुपर्ने हो ।

सम्पादकहरूसँग यी समस्याका हल खोज्न एकबद्ध भई लाग्नुपर्ने आग्रह गर्नुपर्ने हो । तर, निरन्तर आत्मश्लाघाको सत्ताराग जपिरहेका प्रधानमन्त्री केपी शर्मा ओली झैं राष्ट्रपति पनि सरकारबाट सन्तुष्ट हुनु जनताप्रतिको अतिशय असंवेदनशीलता हो ।

यतिवेला ‘अफ दि रेकर्ड’ प्रकरणले राष्ट्रपतिको अभीष्ट शंकाको घेरामा परेको छ । तर, राष्ट्रपति सँगसँगै सम्पादकको आचारसंहिताको पनि परीक्षा भइरहेको छ । यदि त्यो दुई घण्टे संवादमा देशलाई नै हानि हुने कुरा, गलत कुरा भएको हो भने राष्ट्रपतिले भन्दैमा ‘अफ दि रेकर्ड’ अनुल्लंघनीय वा उल्लंघन गर्नै नमिल्ने रेखा हुँदैन । यदि कसैले झूट बोलिरहेको छ भने ‘अफ दि रेकर्ड’ को नाममा त्यो लुक्नुहुँदैन ।

पत्रकारले बुझ्नुपर्छ, स्रोतका प्रतिको विश्वसनीयता भन्दा पाठकप्रतिको विश्वसनीयता पत्रकारका लागि अहम् कुरा हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्पादकहरु । तस्वीर स्रोतः तीर्थ कोइरालाको फेसबूक

जुलाई, २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यू योर्क टाइम्स का प्रकाशक एजी सोल्जबर्गरलाई बोलाए । र उनीसँग लामो ‘अफ दि रेकर्ड’ कुराकानी गरे । संसारलाई यो कुरा तब थाहा भयो जब ट्रम्प आफैंले सोल्जबर्गरसँग ‘न्यू योर्क टाइम्स का फेकन्यूज’ बारे उनीसँग छलफल भएको सार्वजनिक गरे । पत्रिकाले पालना गरेको ‘अफ दि रेकर्ड’को लक्ष्मणरेखा ट्रम्प स्वयंले आफ्नो अनुकूलताका लागि प्रचारमा ल्याए ।

ट्रम्पले ‘अफ दि रेकर्ड’ को अर्थ र महत्व उल्लंघन गरे जस्तै यहाँ पनि राष्ट्रपति भण्डारीले संवादको शुरुआतमा भन्नुपर्ने ‘अफ दि रेकर्ड’ लाई अन्त्यमा भनेकी छिन् । हिंड्ने वेला गरिएको यस्तो आग्रहलाई आदेश मानेर सम्पादकहरूले पालना गरिरहने हो भने यो पत्रकारिताप्रतिकै अपमान हो । पत्रकारिताको मर्यादा ठूलो कि राष्ट्रपतिको पदीय मर्यादा ? निश्चय नै यो विन्दुमा पत्रकारका लागि पत्रकारिताकै मर्यादा उँचो हुनुपर्छ ।

यहाँनेर पत्रकारिता पेशालाई किन चौथो अंग भनिएको भन्ने कुरा पनि स्मरण गर्नुपर्ने हुन्छ । पत्रकारितालाई राज्यका तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई निगरानी गर्ने हैसियतमा ‘चौथो अंग’ मानिएको हो । चौथो अंगको धर्म निर्वाह गर्न पनि सम्पादकहरूले यतिवेला राष्ट्रपतिलाई पदीय मर्यादामा बस्न सिकाउनुपर्दछ । बालुवाटारको हरेक प्रहसनमा थपडी बजाउनु र निरन्तर अधोगतिको म्याराथन लाममा सवार हुनु शीतलनिवासको धर्म होइन, यो त गणतन्त्रकै लागि पनि अशुभ संकेत हो ।

त्यसैले पनि ‘अफ दि रेकर्ड’ लाई ‘अन दि रेकर्ड’ सार्वजनिक गर्नु चौथो अंगको दायित्व हो । र, यसो गर्नु भनेको पत्रकारिताको धर्म मात्र होइन, राष्ट्रपति संस्थालाई नै पतनको यात्राबाट जोगाउने पेशागत निगरानी पनि हो ।

प्रतिकृया दिनुहोस