थप समाचार शनिबार, साउन १०, २०७७

नयाँबसपार्कमा 'टोकन सिस्टम'बाट टिकट काट्ने व्यवस्था मिलाइने

रासस

नयाँबसपार्कमा 'टोकन सिस्टम'बाट टिकट काट्ने व्यवस्था मिलाइने

कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण चार महीनादेखि बन्द रहेको नयाँ बसपार्कमा प्रविधिको प्रयोग गरेर बस सञ्चालन गर्ने तयारी गरिएको छ।

सरकारले छोटो दूरीका सवारी साधन यही ८ साउनदेखि नै सञ्चालन गरे पनि लामो दूरीका सवारी साधन भने १ भदौदेखि सञ्चालन गर्ने निर्णय गरेको छ।

नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवर बसपार्कभित्रका कर्मचारी, चालक, सहचालक र यात्रुलाई कोराना सङ्क्रमण हुन नदिन नयाँ बसपार्कले प्रविधिको प्रयोगलाई अगाडि बढाएको बताउँछन्।

“बसको टिकट लिन लाइन बस्दा कोरोना सङ्क्रमण फैलनसक्ने सम्भावनालाई ध्यानमा राखेर हामीले सामाजिक दूरी कायम गरी ‘टोकन सिस्टम’बाट टिकट काट्नसक्ने व्यवस्था मिलाउन लागेका छौं”, उनी भन्छन्।

चालकको लापरवाही तथा बाटोको दुरवस्थाका कारण हुनसक्ने सवारी दुर्घटना र बसको ‘लोकेसन’ थाहा पाउनका लागि हरेक बसमा ‘जीपीएस सिस्टम’ जडान गर्न लागिएको छ।

पूर्वको ताप्लेजुङदेखि पश्चिमको जुम्लासम्म ५० भन्दा बढी जिल्लामा सवारी साधन नयाँबसपार्कबाट आवतजावत गर्छन् । उक्त बसपार्कबाट दैनिक झण्डै दुई हजार सवारी साधन ओहोरदोहोर गर्दै आएका छन्।

 

प्रतिकृया दिनुहोस