टिप्पणी आइतबार, साउन ११, २०७७

प्राचीन खशमार्ग नै हो आजको रेशममार्ग (सिल्क रोड)

हिमालखबर

प्राचीन खशमार्ग नै हो आजको रेशममार्ग (सिल्क रोड)

– गोविन्द न्यौपाने

प्राचीन रेशम परिपथ अध्ययनमा भारतीय सभ्यता र चिनियाँ सभ्यता बीच सीमा विभाजकको रुपमा रहेका हिमालहरुको महत्वपूर्ण भूमिका रहेको छ। एशिया महादेशको दक्षिण र दक्षिणपूर्वी क्षेत्रमा विकसित भारतीय सभ्यता र चिनियाँ सभ्यताले विश्वसभ्यताको इतिहासमा गरिमामय स्थान ओगटेका छन्। हिमालबाट व्युत्पत्ति भई वहने विभिन्न हिमनदीहरुले भारतीय र चिनियाँ सभ्यतालाई सांस्कृतिक र प्राकृतिक रुपमा जोडेका छन्।

विश्वका प्रमुख सभ्यताहरु जस्तै हिमालय क्षेत्र प्राचीनकालदेखि नैै प्राग्मानवको क्रीडाभूमि रहेको विषयमा प्रशस्त पुरातात्विक तथा पौराणिक प्रमाणहरु भेटिन्छन् (दिनेशचन्द्र रेग्मी र रामनिवास पाण्डेय,२०६२ः७२–७३)। गोसाइँकुण्ड, दामोदरकुण्डक्षेत्र, मुक्तिक्षेत्र लगायत हिमालय सभ्यताको पौराणिक तथा धार्मिक साहित्यमा विशेष परिचर्चा गरिएको पाइन्छ।

हिमाली क्षेत्रको वर्तमान सामाजिक–सांस्कृतिक विशेषता मूलतः मंगोल जाति केन्द्रित देखिन्छ। प्राचीनकालदेखि नै मंगोल संस्कृति बाहुल्य हिमालय क्षेत्रलाई किन र के कारणले धार्मिक तथा पौराणिक साहित्यमा सम्मानित स्थान दिइयो ? किन हिमालय क्षेत्रमा हिन्दूदर्शनका साथसाथै गैरहिन्दू दर्शन मानिने बौद्ध दर्शनको प्रवेश भयो (मदनमणि दीक्षित, २०५९ः२६२ ) खोज गर्नै बाँकी छ। तर, हिमालय क्षेत्रमा खश सभ्यता र संस्कृतिका अवशेषहरु भेटिएको आधारमा यही बाटो हुँदै खशजाति दक्षिण भारतीय मैदानी भूभागमा प्रवेश गरेको विद्वानहरुले पनि स्वीकारेका छन्।

आर्य तथा अवैदिक आर्य अर्थात् खश जाति सिन्धुसभ्यता प्रवेश गरेको समय र यात्रामार्गका विषयमा भने विद्वानहरुबीच मतभिन्नता छ। मदनमणि दीक्षितका अनुसार सिन्धुसभ्यताबाट हिमाली शृंखला हुँदै आर्यहरु सोझै नेपाल प्रवेश गरी यहाँका रैथाने समुदायका संस्कृतिसँग आफूलाई समाहित गरे भन्ने भनाइ छ (ऐजन, पृष्ठः२६१)।

भूमध्यसागर क्षेत्रका मूलतः दरद (अर्मेनियाली), खश ( अल्पोन मूल) शक (दिनारी) आदि जातिहरु मध्यएशियाको पार्वत्य प्रदेश (दिनेशचन्द्र रेग्मी र रामनिवास पाण्डेय, २०५४ः३७ ) अर्थात् पश्चिम एशिया हुँदै ई.पू. चौथो सहस्राब्दीका वर्षहरुमा भारत प्रवेश गरेको हुनसक्ने एकथरी विद्वानहरुको अभिमत छ (सूर्यमणि अधिकारी, २०६१ः२३ )। काश्गर शब्दको संस्कृत रुप खशगिरि बाटै कश्मीर बनेको हुनसक्ने भाषिक पुरातत्वको आधारलाई इतिहासकार बाबुराम आचार्यले विशेष जोड दिएका छन् (आचार्य, २०६८ः७२)।

कागवेनी माथिको काली किनारा मुस्ताङ। 

हिन्दूकुश पर्वतमालाको आसपासमा बस्ने खश जातिको एउटा समूह पश्चिम एशियामा कस्सी जातिको रुपमा परिचित हुनपुग्यो भने अर्को समूह काराकोरम पर्वतमाला पार गरी काँगडा कश्मीर पुगी खश जातिको रुपमा फैलियो। यहाँबाट पूर्व दक्षिण बढेको यो समूह पश्चिम तिब्ब्त, लद्दाख, कैलाश मानसरोवर हुँदै मध्य तिब्बतसम्म फैलन पुगेको इतिहासकारहरुले बताएका छन् (कुलचन्द्र कोइराला, नेपाली खश बाहुनका कुलदेवता मष्टो : १०३)।

अराल समुद्रको पूर्वदक्षिण बस्ने कश जातिको एक शाखा कस्साइट अर्थात खश जाति पश्चिम एशियाको भूखण्डबाट पसेर सुमेर बेबिलोन, सिरिया, मिश्र आदि भूभाग हुँदै दक्षिणपूर्व लागे। हिन्दूकुश पर्वतमाला पार गरी अफगानिस्तान, गान्धार क्षेत्र, कश्मीर, जालन्धर आदि ठाउँमा बस्ती बसाउँदै उनीहरु पूर्वतिर महाभारत शृंखलाको उत्तर दक्षिण आसाम, ब्रम्हपुत्रभन्दा पारि पुगेर खश सभ्यताको विकास गरेको एकथरी इतिहासकारहरुको भनाइ छ।

तारिम उपत्यका (सिङकियाङ) मा शक जातिकै एक प्रशाखा खश जाति थियो, जुन काराकोरम गिरिमाला पार गरेर कश्मीर हुँदै नेपाल प्रवेश गरेको हुनसक्ने इतिहासकारहरुले बताएका छन्। खश जातिले बस्ती बसाएको क्षेत्रलाई खशमण्डल भन्ने गरिएको पाइन्छ।

खासगर, हिन्दूकुश, कश्मीर, खशदेश, खशमण्डल खशशाला तथा खसान नामले चिनिने वर्तमान खश बोधार्थक स्थानवाचक शब्दहरुले खश जाति र खश सभ्यताको सम्झना गराएका छन् (राहुल सांकृत्यान, १९७३ः८५)। हिमालय, काराकोरम तथा हिन्दूकुश एकआपसमा मिलेको स्थान नै खश जातिको प्राचीन मूलस्थल हो भन्ने इतिहासकार बाबुराम आचार्यको विचार छ (बाबुराम आचार्य,२०६८ः७१)।

आचार्यले खशहरु सिन्धुगंगाको मैदानतिर नलागी मध्यएशियाबाट पहाडैपहाड कश्मीर, काँगडा, कुमाऊँ हुँदै महाकाली नदी तरेर नेपालको जुम्लामा आई बसेको तर्क गरेका छन्। यो तर्कमा राहुल सांकृत्यान पनि सहमत छन्।‍‍‍‍मध्यएशियाको इतिहासमा ई.पू. १२०० तिरको शक सभ्यतालाई प्रमाणित गर्ने पुरातात्विक तथ्यहरु उत्खननबाट प्राप्त भएको उनको मत छ। तर, कश्मीर, जालन्धर, कुमाऊँ, नेपाल हुँदै ई.पू. सातौं शताब्दीतिर नै खशहरु पूर्व लागेको अनुमान गरिएको छ।

कैलाश मानसरोवर खण्डमा प्राचीन समय देखिनै खश जातिको अस्तित्व थियो। अहिले सम्मको युरोशियाको पुरातात्विक अनुसन्धानले भारोपेली जातिको मूलथलो युराल पहाडको पश्चिमतिर कश्यप सागर र कृष्ण सागरको उत्तरतिरको भूभागलाई ठहर्‍याइएको छ।

राहुल सांकृत्यानले किराँतपछि खशजातिको यस क्षेत्रमा आगमन भएको स्वीकार गरेका छन्। मध्यएशियामा ईपू १२ औं शताब्दीमै देखापरेका कस्सी (कस्साइट) वा खशहरु नेपालमा किराँतहरुभन्दा पनि अगाडि नै गोचारकको रुपमा पसेर राज्य बनाएको शैव गोपालवंशी जातिको गोपालराज वंशावलीमा उल्लेख भएको आधार, महाभारत एवम् पुराणहरुमा उल्लेख गरिएका संकेतहरुको आधारमा ई.पू. ३००० तिरको लगभगमै खशजाति हिमालय क्षेत्र तर्फ प्रवेश गरेको तर्क गर्न सकिन्छ (कुलचन्द्र कोइराला, २०५२ः १४)।

काश्गर (काशगिरि), खोटान, हिन्दूकुश, हिमालय उत्तरका देश र कश्मीर आदि दक्षिणका देश नेपालदेखि नागाल्याण्ड सम्म अस्तित्वमा रहेका खश संस्कृतिको फैलावट बारे प्रमाणित हुन्छ। यस आधारमा मध्यएशिया क्षेत्रका शक–कुषाणशाखाको चकचकी हुँदा खशहरु पश्चिमएशियाका हिमाल र यसभन्दा पर दक्षिणको भूभाग सम्म फैलिएका थिए भन्न सकिन्छ।

कैलाश मानसरोवर खण्डमा प्राचीन समय देखिनै खश जातिको अस्तित्व थियो। अहिले सम्मको युरोशियाको पुरातात्विक अनुसन्धानले भारोपेली जातिको मूलथलो युराल पहाडको पश्चिमतिर कश्यप सागर र कृष्ण सागरको उत्तरतिरको भूभागलाई ठहर्‍याइएको छ।रुसको भोल्गा नदीको किनाराको सिन्तास्ता भन्ने ठाउँलाई भारोपेली जातिको मूल थलो मानिएको छ। त्यस मूलथलोबाट झण्डै ईपू २५०० तिर जुन मानव समूह भूमध्यसागर क्षेत्रमा टर्कीको एनाटोलिया पुग्यो, जसलाई हिट्टी भनिन्छ।

अर्को मानव समूह पश्चिम चीनको ताक्लामकान आइपुग्यो, जसलाई तोखार भनिन्छ। ताक्लामकान उपत्यका खशमण्डलको ठीक उत्तरमा पर्छ। त्यसै उपत्यकाबाट रोमन साम्राज्यसम्म जोड्ने चिनियाँ रेशममार्गको एउटा हाँगाले कैलाश मानसरोवर क्षेत्रको ताक्लाकोट देखि ताक्लामकान सम्म जोडेको पाइन्छ। प्राचीन खशजातिहरु ताक्लाकोटदेखि ताक्लामकानसम्म राज्य गर्थे भन्ने तर्कलाई इतिहासकारहरुले उल्लेख गरेका छन्।

शकहरु घोडा चढेर लडाइँ गर्दै चीनको उत्तर पेइचिङ पूर्व समुद्र किनारा हुँदै यसको दक्षिण–पश्चिम (नैऋत्यकोण) मा ग्रीस, सिरिया र इजिप्टसम्म पुगे। खश जाति पनि तिनै शकहरुको पछिपछि ताजकिस्तान, किर्गिस्तान, उज्वेकिस्तान, पाकिस्तान, कश्मीर, जम्मु, हिमाञ्चल प्रदेश, उत्तराखण्ड र नेपालको कालीगण्डकीसम्मको हिमाली भूभाग सम्म फैलन पुगे (माधवप्रसाद पोखरेल, २०७६)।

शकहरु घोडा चढेर लडाइँ गर्दै चीनको उत्तर पेइचिङ पूर्व समुद्र किनारा हुँदै यसको दक्षिण–पश्चिम (नैऋत्यकोण) मा ग्रीस, सिरिया र इजिप्टसम्म पुगे। खश जाति पनि तिनै शकहरुको पछिपछि ताजकिस्तान, किर्गिस्तान, उज्वेकिस्तान, पाकिस्तान, कश्मीर, जम्मु, हिमाञ्चल प्रदेश, उत्तराखण्ड र नेपालको कालीगण्डकीसम्मको हिमाली भूभाग सम्म फैलन पुगे।

खश जातिले यात्रा गरेको उल्लिखित मार्ग नै आज प्राचीन रेशम परिपथको रुपमा परिचित छ। यस आधारमा हिमाली भञ्ज्याङ शृंखलाहरु र कालीगण्डकी क्षेत्रमा विचरण गर्ने खशजाति र प्राचीन रेशम परिपथको ऐतिहासिक सम्बन्ध देखिन्छ।‍‍‍‍एशिया महादेशमा खश सभ्यताको विस्तार तथा फैलावट व्यापक रुपमा भएको देखिन्छ।

पुरातात्विक र ऐतिहासिक सन्दर्भले हिमालय पर्वत शृंखलामा खश सभ्यताको विकास भएको तथ्य नै प्रमाणित गरेका छन्। कश्मीरदेखि कम्बोडियासम्म र भोल्गादेखि गंगासम्मका मैदानी तथा हिमाली भूभागहरुमा खश सभ्यताको विकास भएको तथ्यलाई सबै इतिहासकारहरुले स्वीकार गरेका छन्।

इतिहासकार योगी नरहरिनाथले मानसरोवर कैलाश पर्वत वरपरका हिमालय तथा पहाडी राज्यहरुलाई खशदेश वा खशमण्डल भनेका छन्। खशमण्डलको फैलावटबारे चर्चा गर्दै विशेषतः कृष्णगण्डकीदेखि पश्चिम र उत्तरमा हिमचुली आसपासका क्षेत्रलाई खसान प्रदेश भनी उल्लेख गरेका छन् (योगी नरहरिनाथ, २०२२ः ७२४–७२५ )। संस्कृतिविद् सत्यमोहन जोशीले योगीकै भनाइलाई थप पुष्टि गर्दै मध्यएशियाबाट हिमालय शृंखला हुँदै पश्चिम तिब्बत अर्थात् मानसरोवर आसपासमै खश सभ्यता फैलिएको मानेका छन् (सत्यमोहन जोशी, २०२८ः१७ )।

हिमालय, काराकोरम तथा हिन्दूकुश एकआपसमा मिलेको स्थान नै खश जातिको प्राचीन उद्गमस्थल हो भन्ने इतिहासकार बाबुराम आचार्यको पुस्तकको प्रसंगलाई स्वीकार गर्दै योगी नरहरिनाथले पनि कृष्णगण्डकीदेखि पश्चिम अर्थात कैलाश मानसरोवर वरपरका पहाडी राज्यहरूलाई खशदेश वा खशमण्डल भनेका छन्, (योगी, २०२२ः७२४–७२५)

देवीचन्द्र श्रेष्ठको पुस्तक ‘हुम्ला बोल्छ मानसरोवरमा’ उल्लेख भए अनुसार, कस्साइटदेखि कोशीसम्म र कश्मीरदेखि कम्बोडियासम्म खश जातिको विस्तारमा तिब्बतको पश्चिमी पठार, कैलाश मानसरोवर क्षेत्रको तल पर्ने महाकाली परिपथको भूमिका विशेष छ।

भारतको धार्चुलादेखि गरव्याङ, हुँदै पश्चिमी तिब्बतको ताक्लाकोट मानसरोवर जाने प्रचलित व्यापार मार्गको केन्द्रको रूपमा लिम्पियाधुराको सामरिक महत्व छ। कम्पनी सरकारका कर्मचारी म्याक्र्रोफ्टले तिब्बतसँगको व्यापार सम्बन्ध जोड्न र पश्चिम नेपालका बाटाघाटाका विषयमा खोजी गर्न महाकाली नदीको सिरान हुँदै ताक्लाकोट मानसरोवरसम्म पुगेका थिए (पूर्णिमा, अंक २६, २०२९)। खसमार्ग पनि भन्न सकिने यस प्राचीन रेशममार्गले मध्यएसिया र पूर्वीएसियालाई जोड्ने भएकाले यसको सामरिक महत्वले विशेष अर्थ राख्ने इतिहासकारले बताएका छन्।

कागवेनीकाे सुन्दर दृश्य जुन नासिने अवस्थामा छ।

इतिहासकार एटकिन्शन (द हिमालियन डिस्ट्रिक्ट अफ द नर्थ वेस्टर्न प्रोभिन्सेस अफ इण्डिया)ले खशहरुलाई नागजाति सरह एक बलियो आर्य जाति भएको उल्लेख गर्दै उनीहरु काश्गर, हिन्दूकुश, कश्मीर, कुल्लु, कुमाऊँ हुँदै उत्तरी हिमालय पर्वतमालाका विभिन्न भागमा बसोवास गरेको उल्लेख गरेका छन्।

संस्कृत साहित्यमा वर्णित किराँत, गोपाल, थारु, हेल्मु, नङगप लगायत हिमाली जातिहरु वैदिक समयपूर्व नै हिन्दूकुश नाघी सतलज नदीको माथिल्लो भागमा र मानसरोवरको लेक वरिपरि बस्ने जाति नै खश जाति हुन् भनी खश जातिको परिचय गराएका छन् (बालकृष्ण पोखरेल, २०५५ः ६३५ )।

विभिन्न पौराणिक साहित्यहरुमा हिमाली जाति खश र हिमालयको वर्णन गरिएको पाइन्छ। विशेषतः महाभारत, रामायण, ब्रह्मपुराण, मत्स्यपुराण, मार्कण्डेयपुराण, निलमपुराण, स्कन्दपुराण, वायुपुराण, बृहद्संहिता र बौद्ध साहित्यहरुमा पनि खशजाति, नदी सभ्यता तथा हिमालय सभ्यताको विषयमा वर्णन गरिएको देखिन्छ।

चिनियाँ व्यापारीहरुले रेशमको व्यापार गर्ने क्रममा हिमालय भञ्ज्याङ पार गरी हिमाली तथा मैदानी भूभागका विभिन्न देश हुँदै पश्चिम यूरोपसम्म पुग्ने बाटोलार्ई सबैजसो इतिहासकार तथा मानवशास्त्रीहरुले वर्तमानमा रेशममार्ग भनी नामकरण गरेका छन्।

विद्वानहरु नेपालबाट क्रमशः पश्चिम कुमाऊँ, गढवाल, कश्मीर, वाल्हिक, लद्दाख, हिन्दूकुश, इरान–इराकको सिमानामा पर्ने खसिस्तान हुँदै बेबिलोनियाँको कस्साइट साम्राज्यसम्म पुग्ने प्राचीन खशमार्ग नै आजको रेशममार्ग हुनसक्ने तर्क गर्छन्। यस आधारमा पनि रेशममार्गको अध्ययनमा खश जातिको महत्व भुल्न मिल्दैन।

खश जातिले यात्रा गरेको उल्लिखित मार्ग नै आज प्राचीन रेशम परिपथको रुपमा परिचित छ। यस आधारमा हिमाली भञ्ज्याङ शृंखलाहरु र कालीगण्डकी क्षेत्रमा विचरण गर्ने खशजाति र प्राचीन रेशम परिपथको ऐतिहासिक सम्बन्ध देखिन्छ।‍‍‍‍

रेशममार्गमा खशजातिको योगदान

खशजाति मूलतः बौद्ध धर्मावलम्बी हुन्। कश्मीर, कर्णाली क्षेत्र, कालीगण्डकी परिपथ क्षेत्र भएर उत्तरमा महाचीन हुँदै मंगोलिया र कम्बोडियासम्म यात्रा गरेको बौद्ध धर्मको विस्तारमा खशजातिको ऐतिहासिक योगदान देखिन्छ। नवपाषण युगमै कालीगण्डकी परिपथको उत्तरी पर्वत श्रेणी तथा गुफा सभ्यताहरुमा प्राप्त अवशेषको आधारमा खशआर्य जाति र हिमालय सभ्यताको विशेष सम्बन्ध रहेको पुरातत्वविद् तथा मानवशास्त्रीहरुले बताएका छन् (तारानन्द मिश्र, २०६१ः३८)।

हिमाली क्षेत्रमा विकसित गुफा सभ्यता लगायत कालीगण्डकी क्षेत्रका फाँटहरुमा प्राचीनकालदेखि नै सांस्कृतिक गतिविधि देखिन्छ। चिनियाँहरुले रेशम व्यापारका क्रममा हिमालय भञ्ज्याङ पार गरी कालीगण्डकीको किनारै किनार पोखरा, पाल्पा, तानसेन, लुम्बिनी, कपिलवस्तु भारत सम्मको यात्रा बारे विभिन्न धर्मग्रन्थ, पौराणिक साहित्य र विदेशीहरुको यात्रावृतान्तमा समेत उल्लेख छ। तिब्बत हुँदै भारतसम्म यात्रा गर्ने धर्मस्वामी तथा विभिन्न पादरीहरुको यात्रावृतान्त पनि यस प्रसंगमा उल्लेखनीय छ। कालीगण्डकी सभ्यता नेपाल सभ्यताकै केन्द्रविन्दु रहेको ऐतिहासिक सन्दर्भहरुले संकेत गरेका छन्।

काठमाडौं उपत्यकामा मानव आगमनको आधिकारिक समय प्रमाणित हुन सकेको छैन। तर, पौराणिक साहित्यमा वर्णित गोपालवंशीलाई नेपालमा राज्य सञ्चालन गर्ने प्रथम जाति मानिन्छ (धनबज्र बज्राचार्य र कमलप्रकाश मल्ल, १९८५ः७३ ) जसलाई भाषाशास्त्री बालकृष्ण पोखरेलले खशजातिकै एक प्रशाखा मानेका छन्। यी गोपालहरु कुन बाटो भएर काठमाडौं उपत्यका प्रवेश गरे ? त्यो भने प्रमाणित भइसकेको छैन तर कालीगण्डकी तरेर पहाडको बाटो हुँदै उपत्यकामा प्रवेश गरेको आकलन गर्न सकिन्छ (रामनिवास पाण्डेय र दिनेशचन्द्र रेग्मी, २०५४ः११५)।

सम्राट अशोक काठमाडौं आए नआएको विषयमा विद्वानहरुबीच मतान्तर छ। तर कपिलवस्तुबाट भागेर आएका जनपदहरु तिनाउ नदीको किनारै किनार उत्तरतर्फ लागि वर्तमान पाल्पा क्षेत्रमा आएर काली नदी पार गरी काठमाडौं आएको हुनसक्ने इतिहासकार बाबुराम आचार्यको ठहर छ (बाबुराम आचार्य, २०६८ः १६४)।

काठमाडौं उपत्यकामा ई.पू. तेस्रो शताब्दीका मानिने मथुरा र कुषाण शैलीका मूर्तिहरु भेटिएका आधारमा (लैनसिं वाङ्गदेल, २०३९ः१४) उपत्यकावासी र गंगाको मैदानमा फैलिएर बसेका कुषाणहरुबीच व्यापारिक, सांस्कृतिक सम्बन्ध भएको निष्कर्ष निकाल्न सकिन्छ। मूलतः ती कुषाणहरु कालीगण्डकी नदी पार गरी पहाडको बाटो भएर काठमाडौं प्रवेश गरेको अनुमान गरिएको छ। अतः कालीगण्डकी सभ्यता पूर्व–पश्चिम, उत्तर–दक्षिण मार्गहरुको केन्द्रविन्दु भएका कारण पनि प्राचीन रेशममार्गमा यसले खेलेको भूमिकाबारे मूल्याङ्कन गर्न सकिन्छ।

घरापजोङ किल्लाको भग्नावशेष।

पुराणमा हिमाल र रेशममार्ग
पौराणिक साहित्यहरुमा हिमाल तथा उत्तरी क्षेत्रको अधिक परिचर्चा गरिएको पाइन्छ। यस क्षेत्रमै प्रतिपादित स्कन्द पुराणको ‘हिमवतखण्ड’लाई हिमाली दर्शन पनि भनिने गरिएकाले पनि खशआर्यहरुले हिमालय क्षेत्रलाई विशेष महत्व दिएको बुझ्न सकिन्छ।

कालीगण्डकीकोे शिरमा रहेका हिमालहरुले पनि उत्तिकै धार्मिक तथा दार्शनिक भूमिका वहन गरेका छन्। हिमवतखण्डमा मुक्तिनाथको मुक्तिधारा र कृष्णभामा ( कालीगण्डकी ) को पवित्रता विषयमा परिचर्चा गरिएको छ। कालीगण्डकीको मुहान दामोदर हिमाल र यस हिमालका आसपासका क्षेत्र अर्थात दामोदरकुण्ड बाट बगेर आएको नदीनै कालीगण्डकी हो भन्ने प्रसंग पुराणहरुमा पाइन्छ (नारायणप्रसाद क्षत्री,२०४४ः८९)।

काराकोरम र हिन्दूकुश क्षेत्रमा सयौं वर्ष बसी मैदानी भूभागमा प्रवेश गरेको हुँदा खशआर्यहरुले पौराणिक साहित्यमा हिमालको वर्णन गर्नु स्वाभाविक देखिन्छ। रामायणका विभिन्न प्रसंगहरुमा हिमालको चर्चा छ। राम–रावण युद्धमा इन्द्रजितको प्रहारबाट मूच्र्छित लक्ष्मणको उपचारार्थ हनुमानले संजीवनी बुटीसहितको पहाड लिएर लंका गएको चर्चा छ। त्यस्तै राम, सीता र लक्ष्मणले १२ वर्ष सम्म हिमालय क्षेत्रमा तपस्या गरेको उल्लेख दशरथजातक नामक बौद्ध ग्रन्थमा उल्लेख छ (रामनिवास पाण्डेय र दिनेशचन्द्र रेग्मी, २०५४ः २३ )।

त्यस्तै हस्तिनापुरका राजा पाण्डवका पिता पाण्डु हिमालय क्षेत्रमा शिकार खेल्न रुचाएको प्रसंग छ। हस्तिनापुरबाट १०० कोश टाढा भनिएको यो पर्वत वर्तमानमा उत्तरी नेपालको हिमालय हुनु स्वाभाविक छ। युधिष्ठिरले हिमाली क्षेत्रमा बसोवास गर्ने खशहरुबाट सुवर्णकर्ण प्राप्त गरेको कथा पनि छ। वनवासकै समयमा अर्जुनले हिमालमा शिवको तपस्या गरी उनबाट पाशुपतास्त्र प्राप्त गरेको कुरा भाषा वंशावलीमा उल्लेख छ।

महाभारत सभापर्वमा ब्रह्माबाट उत्पन्न मनुले हिमालयको विन्दु मानसरोवरमा बसी राज्य गरेको कथा छ। रघुवंश महाकाव्य अनुसार दिलीपका छोरा रघुले हिमवत प्रदेशका राजालाई युद्धमा जितेको भनिएको छ। पुराण अनुसार परशुरामका विरोधी वैध्यवंशका कार्तवीर्य वा सहस्रार्जनले हिमालयका साथसाथै अनेक क्षेत्रका विभिन्न जनजातिका सेनाको सहायताले सम्पूर्ण आर्यावर्त माथि विजय प्राप्त गरेको उल्लेख छ। त्यस्तै नेपालको लौकिक साहित्य स्वस्थानी व्रतकथामा महादेव र हिमालयको सम्बन्ध देखाइएको छ।

भारतीय मैदानी भूभागलाई सिञ्चन गर्ने गंगा, यमुना, गण्डकी र कौशिकी लगायत पवित्र नदीहरुको स्रोतस्थलको रुपमा रहेको हिमवत प्रदेशलाई पवित्र हिन्दू तीर्थस्थल, तपोभूमिको रुपमा वेद तथा पुराणहरुमा व्याख्या गरेको पाइन्छ। वि.सं. १०८० देखि १११० सम्म लद्दाखमा शासन गर्ने ल्ह–छन–उद–पलको शासनकालमा उनले ल्हो प्रदेशको छु–ल–मे–वर (मुक्तिनाथ) सम्म शासन गरेको चर्चा छ।

लद्दाख प्राचीन रेशममार्गको एउटा केन्द्रको रुपमा परिचित छ। कागवेणीदेखि डोल्पा र जुम्लासम्मको बाटोे अर्को केन्द्र रहेको देखिन्छ। भारतीय क्षेत्रका हिन्दू तथा बौद्ध धर्मावलम्बीहरु आ–आफ्ना धर्म बचाउन हिमाली क्षेत्रतर्फ लाग्ने चलन मध्यकालको पूर्वाद्र्धमा व्यापक चल्यो (शारदा प्रसाद दाहाल, २०४२ः ३९ )। यसरी कालीगण्डकी परिपथ हिमालय क्षेत्रमा हुने धार्मिक, राजनीतिक, तथा सांस्कृतिक गतिविधिमा प्रयोग हुने भूमि थियो।

भारतको धार्चुलादेखि गरव्याङ, हुँदै पश्चिमी तिब्बतको ताक्लाकोट मानसरोवर जाने प्रचलित व्यापार मार्गको केन्द्रको रूपमा लिम्पियाधुराको सामरिक महत्व छ। कम्पनी सरकारका कर्मचारी म्याक्र्रोफ्टले तिब्बतसँगको व्यापार सम्बन्ध जोड्न र पश्चिम नेपालका बाटाघाटाका विषयमा खोजी गर्न महाकाली नदीको सिरान हुँदै ताक्लाकोट मानसरोवरसम्म पुगेका थिए। 

मध्यकालीन साहित्य तथा यात्रा वृतान्तहरुमा पाइने कालीगण्डकी परिपथ, हिमालय सभ्यता तथा मुक्तिक्षेत्रको चर्चाले पनि रेशममार्गसँग यो भूगोलको तादात्म्य देखिन्छ। पश्चिमा विद्वान तलेमीको पुस्तक ‘गाइडेन्स अफ जियोग्राफिका’ मा पनि हिमाली प्रदेशको वर्णन पाइन्छ। त्यसैगरी मौर्य शासनकालमा भारत यात्रा गर्ने यवन राजदूत मेगास्थेनिसले लेखेको ‘इन्डिका’ पुस्तकमा आर्यावर्तीय क्षेत्र र हिमाली भूभागको चर्चा पाइन्छ।

सत्रौं शताब्दीमा नेपाल, चीन र तिब्बतको अध्ययनमा पश्चिमाहरु अगाडि बढे।

सन् १६२४ तिर पादरी आन्तोनियो दा आन्द्रादे पश्चिम गढवालबाट श्रीनगर, लद्दाख हुँदै हिमालय शृंखला पार गरी तिब्बत पुग्न सफल भए जो तिब्बत पुग्ने प्रथम यूरोपेली तीर्थयात्री बन्न पुगे। उनीपछि धर्मप्रचार तथा पूर्वीय सभ्यता र हिमाली संस्कृतिको खोजमा सन् १६२७ तिर पुर्तगाली नागरिक पादरी एस्तेमालो काचेल्ला र जोआओ काब्राल भारतको कुचविहार भएर हिमाली मुलुक भुटान पुग्न सफल भए (तिब्बत र नेपालमा इटालियन धर्मप्रचारकहरु : नेपाल प्रज्ञा प्रतिष्ठान )।

नेपाल आउने प्रथम व्यक्ति काब्राल थिए (जगदीशचन्द्र रेग्मीः लिच्छवि संस्कृति)। उनी सन् १६२८ तिर काठमाडौं आएको इतिहासकारहरुको भनाइ छ। सन् १७९२ मा नेपाल आएका इष्ट इण्डिया कम्पनीका अधिकारी विलियम जे कर्कप्याट्रिकले एन् अकाउन्ट अफ द किंगडम अफ नेपाल पुस्तकमा म्याग्दी वेनीको उत्तरमा पर्ने हिमालय भूभागलाई मुक्तिनाथ भनी चर्चा गरेका छन्। त्यस्तै, कर्कप्याट्रिक भन्दा १० वर्ष पछि आएका अर्का विद्वान फ्रान्सिस ह्यामिल्टनले भारतमा गण्डक भनी चिनिने यो नदीको सिरान भागलाई काली भनेका छन् जुन ‘दामोदरकुण्डबाट शुरु भई भोट प्रवेश हुँदै प्रवाहित भएको छ’ भनेका छन्।

त्यसैगरी सन् १८१६ सालमा पादरी जिसेप–मेरीया–डी–गरगनामो ले आफ्नो यात्रा विवरणमा मुस्ताङको भौगोलिक मानचित्रको चर्चा गरेका छन्। अर्का यात्री पिशेल मिचेलले ‘अ लस्ट किंगडम’ पुस्तकमा तिब्बत गएर धर्मप्रचार गर्न नसकिने विषयमा लेखेका छन्।

त्यसैगरी अर्का यात्री हेनरी ओल्डफिल्डले देवलगिरि भन्दा ४० माइल टाढा मुस्ताङ घाटी पर्छ भनेका छन्। वि.सं १९५७ सालतिर यस क्षेत्रको यात्रा गर्ने जापानी बौद्धभिक्षु इकाइ कावागुचीले आफ्नो यात्रा विवरणमा मुस्ताङी राजा र जनताबीचको सम्बन्धको विषयमा लेखेका छन् (अभि सुवेदीः इकाइ कावागुची)। उनले थाक सभ्यताको चराङ क्षेत्रलाई ल्हो अन्तर्गत पर्ने पनि वताएका छन्।

विद्वानहरु नेपालबाट क्रमशः पश्चिम कुमाऊँ, गढवाल, कश्मीर, वाल्हिक, लद्दाख, हिन्दूकुश, इरान–इराकको सिमानामा पर्ने खसिस्तान हुँदै बेबिलोनियाँको कस्साइट साम्राज्यसम्म पुग्ने प्राचीन खशमार्ग नै आजको रेशममार्ग हुनसक्ने तर्क गर्छन्। यस आधारमा पनि रेशममार्गको अध्ययनमा खश जातिको महत्व भुल्न मिल्दैन।

स्वामी प्रभुनन्दले मानसरोवर पुस्तकमा हिमाली सभ्यता र गुफा संस्कृतिको विषयमा चर्चा गरेका छन्। सन् १९६६ मा प्रकाशित ट्रान्स हिमालयः डिस्कभरिज एण्ड एडभेन्चर्स इन तिब्बत पुस्तकमा लेखक हेडिनले ल्होमानथाङ र यसका सीमावर्ती राज्यहरुले नेपालका राजा महाराजालाई कर तिर्ने उल्लेख गरेका छन्।

अतः पौराणिक साहित्य, मध्यकालीन यात्रीका यात्रावृतान्त, शाह तथा राणाकालीन समयमा कालीगण्डकी परिपथमा यात्रा गर्नेहरुको संस्मरणका आधारमा पनि कालीगण्डकी परिपथ र यसका किनाराका बाटाहरु प्राचीनकाल देखि नै चल्तीमा रहेको प्रमाणित हुन्छ।

खश जातिको भूमिका क्यास्पियन सागरदेखि कोशीसम्म र कश्मीरदेखि कम्बोडियासम्म फैलिएका खशजातिले प्राचीन रेशममार्गको बाटो भएर नै महाचीनसम्मको यात्रा गरेको इतिहासकारहरुले बताएका छन्। आधुनिक चीनको सिञ्जियाङमा पर्ने ३ लाख ५० हजार किलोमिटर क्षेत्रमा फैलिएको तारिम उपत्यकामा खशहरु मूलतः ककेशस पर्वतमाला लगायतका हिमशृंखला पार गरेर आएका हुन्। यही कालखण्डमा रेशम व्यापारीले प्रयोग गरेको मार्गलाई वर्तमानमा रेशममार्ग भनिएको हो (विपिन अधिकारी, २०७०ः१७६)।

माथि उल्लिखित ऐतिहासिक पृष्ठभूमिको आधारमा हिजोको खशमार्ग नै अहिलेको रेशममार्ग हो भन्नु अन्यथा हुँदैन। बरु सान्दर्भिक हुन्छ। किनभने यो बाटो भएर खशजातिले चीन, कम्बोडिया र पूर्वमा जापान सम्म यात्रा गरेका थिए।

मानसरोवर कैलाश पर्वतको वरपर र तलमाथिका देशहरुलाई योगी नरहरिनाथले (इतिहास प्रकाशमा सन्धिपत्र संग्रहः ७२४) खश प्रशासित क्षेत्र भनेका छन् तर ईसाको १२ औं शताब्दीमा नागराज खारी प्रदेशबाट जुम्लाको सिञ्जा क्षेत्रमा आएर खश साम्राज्य स्थापना गरेको आधारमा यो साम्राज्यको ठूलो भू–भाग हिमालय वारि र पारिसम्म फैलिएको भन्न सक्ने आधार मिल्दछ (वसन्त महर्जन, २०१६ः२९)।

गण्डकी क्षेत्रको दक्षिणी भेगमा मुख्यगरी पूर्वबाट सर्दै आएको मगर जातिको बाहुल्य थियो। पाल्पामा बलीहाङ वा बली राजाको राज्य थियो। आठौं शताब्दीमा कश्मीरका राजा जयापीडलाई (कश्मीरी कवि कल्हणद्वारा लिखित राजतरङ्गिणीमा उल्लिखित) हराउने अरमुडि मगर राजा थिए।

यो तर्कले ११५० सालतिरै सिञ्जामा नागराजले दक्षिण, पश्चिम र तिब्बततिरबाट आएर सिञ्जा नगरीमा राजधानी बनाई हिमाली र पहाडी राज्यको स्थापना गरे भन्न सकिन्छ (बमबहादुर अधिकारी,२०७५ः ३०४)। उनका उत्तराधिकारीहरुले राज्य विस्तारका क्रममा आफ्नो सीमा उत्तरतिर तिब्बतको खोटान क्षेत्र, स्तपराङ, गुंगे, झियाञ्झुन, कैलाश मानसरोवर सम्म, दक्षिणमा भागीरथी गंगाको उत्तरी मैदान पश्चिममा लद्दाख, लाहुल, पूर्वमा काठमाडौंसम्म पुर्‍याएको आधारमा कालीगण्डकी परिपथ तथा हिमालय काखमा खश सभ्यता फैलिएको विभिन्न सन्दर्भहरुबाट प्रमाणित हुन्छ।

मूलतः रेशम महापथमा कालीगण्डकी परिपथलाई केन्द्र मानेर अरु उपमार्ग, शाखामार्गहरुको विकास भएको देखिन्छ। खशहरु तारिम उपत्यकाबाट हिमवतखण्ड हुँदै भोट, महाकाली पश्चिमका पहाडी क्षेत्रमा प्रवेश गरेको हुनसक्ने माथिका छलफलबाट निष्कर्षमा पुग्न सकिन्छ। जुम्ला अर्थात खश राज्य बाइसे राज्यमा विभाजन भएपछि खशहरु पूर्व गण्डकीतर्फ बढ्न थालेको देखिन्छ।

राज्य टुक्रिनुभन्दा अघि लामो समयसम्म गण्डकी प्रदेशका गोरखा, लमजुङ, कास्की र पर्वत भेगका गुरुङ जातिका मुखियाहरुले खश साम्राज्यको अधिनस्थ राज्यको रुपमा शासन गरेको देखिन्छ (सूर्यमणि अधिकारी, २०६१ः८६ )। कर्णाली प्रदेशको खश साम्राज्यलाई खसरातका खसान भनेझैं गण्डकी प्रदेशका गुरुङ तथा मगरहरुको बाहुल्य रहेको क्षेत्रलाई मगरात भनिएको छ (बमबहादुर अधिकारी,२०७५ः२९२)। यसै मगरात क्षेत्रमा अवस्थित भिरकोटबाट शाहराजाका पूर्वजहरुले शासन गर्न थालेको इतिहास छ।

गण्डकी क्षेत्रको दक्षिणी भेगमा मुख्यगरी पूर्वबाट सर्दै आएको मगर जातिको बाहुल्य थियो। पाल्पामा बलीहाङ वा बली राजाको राज्य थियो। आठौं शताब्दीमा कश्मीरका राजा जयापीडलाई (कश्मीरी कवि कल्हणद्वारा लिखित राजतरङ्गिणीमा उल्लिखित) हराउने अरमुडि मगर राजा थिए।

मध्यकालमा कालीगण्डकी वरपर १२ मगरात समूह (रिसिङ, घिरिङ ढोर, सतौं, पैयूँ, भिरकोट, गह्रौं, मुसीकोट, गुल्मी, इश्मा, अर्घा र खाँची) थियो। मगरात उत्तर लेकाली भेकमा भोटबाट आएका तमु ( गुरुङ, थकाली र तामाङ) बस्ती थियो। गुरुङहरुमा ग्युरोङ वा नौ ठालुहरुमा बाँडिएका थिए। पछि भोटेहरुले थकाली माथि र घलेहरुले गुरुङ र तामाङ क्षेत्रमा आधिपत्य जमाए।

भारतीय र चिनियाँ सभ्यतालाई जोड्न हिमालले सदैव नै सांस्कृतिक सेतुको रुपमा काम गरेको देखिन्छ अर्थात् यी दुई सभ्यताको सम्बन्धको कसीमा हिमाल कहिल्यै तगारो नबनेको इतिहास छ।

पश्चिमबाट बसाइँ–सराइ गर्दै खशहरु मगरात क्षेत्रमा प्रवेश गरे। वास्तवमा प्युठान, रोल्पा, निशिभुजी जस्ता सीमान्त मगर क्षेत्रमा मगरहरुले नै रुकुमका राजकुमारहरुलाई ल्याई ठकुराई वंशको (ठकुर) राज्य स्थापना गरेका थिए। गण्डकी क्षेत्रको ठकुराईमा मलेवम (पर्वत) र पाल्पा प्रमुख थियो। पाल्पाले तराई मधेश र पर्वतले भोटसँग व्यापार गरी आम्दानी गर्थे।

कालीगण्डकीको सिरानमा रहेको मुस्ताङ राज्यको बेग्लै अस्तित्व थियो। मुस्ताङ राज्यको स्थापना १४ औं शताब्दीको अन्त्यतिर गुन्थाङ (भोट) का सेनापति शेराव लामाका नाति अमपालले गरेका थिए। मुस्ताङको लद्दाखसित समेत बिहेबारी सम्बन्ध थियो भने डोल्पा क्षेत्रलाई लिएर मुस्ताङ र जुम्लाबीच हानथाप भइरहन्थ्यो (पञ्चायत स्मारिका, २०४२ः२ )।

भारतीयहरुले पौराणिककाल देखि नै सिन्धुघाटीको हरप्पा र मोहन्जोददारोका साथै लोथलबाट सामुद्रिक मार्ग भएर सुमेर, बेबिलोनिया र मिश्रसम्म व्यापारिक सम्बन्ध कायम राखेका थिए (रमेश ढुंगेल, प्राचीन अर्थव्यवस्थाः२०४३) भन्ने तथ्यलाई स्वीकार गरिएको छ। भन्नैपर्दा, भारतीय र चिनियाँ सभ्यतालाई जोड्न हिमालले सदैव नै सांस्कृतिक सेतुको रुपमा काम गरेको देखिन्छ अर्थात् यी दुई सभ्यताको सम्बन्धको कसीमा हिमाल कहिल्यै तगारो नबनेको इतिहास छ।

दायाँपट्टि चट्टान खोपेर बनाइएको प्राचीन बाटो ।

बौद्धमार्गी खश

चीनबाट नेपाल र भारतका विभिन्न भूभाग हुँदै पाकिस्तान र अफगानिस्तानको बाटो भएर मध्यएशियाबाट यूरोप सम्मको ७५००० किमीको रेशम परिपथमा रेशमको व्यापारमात्र भएन, पूर्व र पश्चिमी सभ्यतालाई सांस्कृतिक रुपमा जोड्ने काम पनि गर्‍यो। पूर्वीय संस्कृति र दार्शनिक विचारहरुको मूल प्रवाह पश्चिमी जगततिरको प्रसारणमा रेशम परिपथको प्रमुख भूमिका देखिन्छ (टिम विलियम,२०१४ः४९)।

पौराणिक साहित्यहरुमा भारतीय सभ्यता र युनान सभ्यताको बीचमा व्यापारिक तथा सांस्कृतिक सम्बन्ध रहेको देखिन्छ। सिन्धुघाटी सभ्यतासँग मिश्र र बेबिलोनियाँ सभ्यताको सम्बन्ध रहेको संस्कृतिविद्हरुले उल्लेख गरेका छन् (कोइराला, २०६५ः२९)। भारतीय व्यापारीहरु गान्धार क्षेत्र र अफगानिस्तानको बाटो भएर रेशम परिपथबाटै पश्चिमी सभ्यतासँग व्यापारिक तथा सांस्कृतिक सम्बन्ध गाँसेको पौराणिक तथा ऐतिहासिक प्रमाणहरुबाट समेत प्रमाणित हुन्छ।

यही मार्ग भएर बुद्धधर्म ग्रीक सम्म पुग्यो भने अर्कोतिर मध्यएशियाबाट ताजकिस्तान, उज्वेकिस्तान किजकिस्तान र सिन्च्याङ खोलाको बाटो भएर हिमालय भञ्ज्याङ पार गरी चीन, कम्बोडिया, ताइवान र जापानसम्म बुद्धधर्मको विस्तार भएको इतिहासकारहरुको विचार छ।

बौद्ध धर्मको विकास र विस्तारमा सम्राट अशोकको महत्वपूर्ण भूमिका रहेको छ। अशोकका केही चेलाहरु रेशम महापथको बाटो भएर श्रीलंका र युनान सम्म पुगे भने यता बुटवलबाट तिनाउ खोलाको किनारै किनार उत्तर पाल्पातर्फ लागी त्यहाँबाट कालीगण्डकी पार गरेर काठमाडौं प्रवेश गरेको बाबुराम आचार्यको विचार रहेको छ ( बाबुराम आचार्य, २०६८ः१६४)।

सम्राट अशोकपछि ग्रीकमा बुद्धधर्मको विशेष विस्तार भएको देखिन्छ। ग्रीक शासक मिलिन्द पन्होले बौद्ध धर्म र दर्शनको अध्ययनमा रुचि राखेको बौद्धग्रन्थ मझिझम निकायको आसलयन सूक्तमा उल्लेख छ। मिलिन्दपछि बुद्धधर्म विस्तारमा कनिष्कको महत्वपूर्ण भूमिका देखिन्छ।

युची जातिका वंशज कुषाणहरु तुर्किस्तानबाट व्याक्ट्रिया हुँदै भारत प्रवेश गरेका थिए। शक संवतको स्थापनामा विशेष योगदान गरेका कुषाणराजा कनिष्कले बौद्ध धर्मको व्यापक विस्तार गरेका थिए। उनैको पालामा बौद्ध धर्मको चौथो महासंगति भएको थियो।

बौद्ध धर्मको विकास र विस्तारमा सम्राट अशोकको महत्वपूर्ण भूमिका रहेको छ। अशोकका केही चेलाहरु रेशम महापथको बाटो भएर श्रीलंका र युनान सम्म पुगे भने यता बुटवलबाट तिनाउ खोलाको किनारै किनार उत्तर पाल्पातर्फ लागी त्यहाँबाट कालीगण्डकी पार गरेर काठमाडौं प्रवेश गरेको बाबुराम आचार्यको विचार रहेको छ।

भारतको मध्यदेशबाट मध्यएशिया हुँदै महाचीन, कम्बोडिया र जापानसम्म बौद्धधर्मको विस्तार हुनुमा कनिष्कको महत्वपूर्ण भूमिका रहेको देखिन्छ। यही बेला बौद्धधर्मसँग सम्बन्धित कला, वास्तुकला र अन्य सम्पदाहरुको उन्नतिका कारण कुषाणकला बेग्लै शैलीको रुपमा विस्तार भएको र यसको प्रभाव मध्यएशियाभर परेको देखिन्छ। प्राचीन नेपाली मूर्तिकला पनि कुषाणकलाबाटै प्रभावित भेटिन्छ।

सतलज, महाकाली, कर्णाली र गण्डकी किनाराको बाटो भएर बौद्ध धर्मले उत्तर चीनसम्मको यात्रा गरेको देखिन्छ जसमा रेशम परिपथ नै केन्द्रविन्दु रहेको इतिहासकारहरुको लेखनीमा पाइन्छ। चिनियाँहरुले हिमालय भञ्ज्याङ पार गरी नदीका गल्छी, किनारा र भंगालाहरु हुँदै भारत यात्रा गरेको देखिन्छ। जुन बाटो भएर हजारौं वर्षदेखि भारतीयहरु कालीगण्डकी, प्रस्रवण क्षेत्र, मुक्तिनाथ, दामोदरकुण्ड हुँदै तिब्बतसम्म यात्रा गर्थे। यही क्रममा बौद्ध धर्म, संस्कृतिको प्रचारप्रसार भयो।

हिमालय क्षेत्रमा विकसित कम्तीमा पनि दुई–तीन हजार वर्ष पुराना गुफा सभ्यता र ती गुफाहरुमा अंकित बौद्धधर्मसँग सम्बन्धित कलाकृति, भित्तेचित्र, चैत्य र गुम्बा आदि उपलब्ध प्रमाणले बौद्धधर्मको विस्तारमा कालीगण्डकी परिपथको महत्वपूर्ण भूमिका रहेको देखिन्छ। कालीगण्डकीको सिरान ल्होमानथाङ र थाक सभ्यतामा बौद्धधर्मसँग सम्बन्धित चैत्य, गुम्बा, छ्योर्तेन आदिले कालीगण्डकीका सांस्कृतिक फाँटहरुमा हिन्दूधर्मका साथै बौद्ध धर्म र संस्कृतिको विकास भएको देखिन्छ।

बौद्ध धर्मको विकास र विस्तारमा खशजातिको महत्वपूर्ण भूमिका देखिन्छ। खशहरु बौद्धधर्मावलम्बी हुन्। मध्यकालमा कर्णाली प्रदेशमा विकसित सभ्यतालाई खशसभ्यता वा खशमण्डल भनिन्छ। विशेषतः तिब्बतको पुरङ र गुगे प्रान्तसम्म फैलिएको खशमण्डल पूर्वमल्लकालसम्म मध्यएशियालाई जोड्ने व्यापारिक रेशममार्गसँग आबद्ध देखिन्छ। यसमार्गको सम्बन्ध पश्चिम नेपालदेखि भारतको लद्दाख, अफगानिस्तान हुँदै मध्यएशियासम्म थियो, एक प्रशाखा लुम्बिनी र भारतका केही राज्यहरुसम्म थियो।

खश शासक रिपु मल्लले यही मार्गबाटै लुम्बिनीको तीर्थयात्रा गरेका थिए। बौद्धधर्मको पुनर्जागरणले बौद्धधर्मको विकास र विस्तार हुनुमा हिमालय क्षेत्रका खश लगायत आदिवासी जनजातिको महत्वपूर्ण भूमिका रहेको देखिन्छ (प्रेमकुमार खत्री,२०५९ः४१)। आठौं शताब्दीमा पद्मसम्भव शान्तरक्षित अतिसा दिपंकर लगायत बौद्ध आचार्यहरु यही मार्ग भएर तिब्बत पुगेको भनाइ छ। विशेषगरी पद्मसम्भव यही बाटोबाटै यात्रा गरेको विषयमा सबै विद्वानहरु सहमत छन्।

थाक सभ्यताको सम्झना

प्राचीनकाल देखि नै सांस्कृतिक मार्गको रुपमा परिचित कालीगण्डकी परिपथ व्यापारिक परिपथको रुपमा विशेष परिचित छ। विशेषत: कालीगण्डकी किनारामा रहेका विभिन्न गाउँ, बस्ती र सभ्यता फाँटहरु धार्मिक तथा व्यापारिक केन्द्रको रुपमा परिचित छन्।

नेपालीहरुले तिब्बतबाट विशेषगरी नुन आयात गर्ने भएकाले कालीगण्डकी परिपथलाई नुनमार्ग अर्थात् साल्ट रुट पनि भनिएको पाइन्छ । मुस्ताङ उपत्यका अर्थात् थाकखोलामा ल्हासाको उत्तर–पश्चिममा रहेको नुनखानीबाट नुन ल्याउने मार्ग प्रचलित थियो। तिब्बतको लिक–चेबाट पनि नुन ल्याउने गरिएकोमा पछि नेपाल–तिब्बत सिमानाको धिङ्ग्रे–भोट्कोबाट नुन आयात गर्न थालियो।

खासगरी ल्होमानथाङ, काकवेनी, जोमसोम, मार्फा, टुकुचे, कोवाङ, दाना, घाँसा, वेनी, पर्वत, पोखरा, पाल्पा, बुटवल आदि कालीण्डकी प्रस्रवण क्षेत्रमा रहेका ठाउँहरु प्राचीन तथा मध्यकालदेखि नै सांस्कृतिक तथा व्यापारिक केन्द्रको रुपमा मानिन्छन्। चिनियाँ तथा तिब्बतीहरु आफ्नो व्यापार विस्तारका लागि कालीगण्डकी परिपथ भएर भारत, यूरोप हुँदै पुनः चीन आउने यही मार्गलाई अहिले विद्वानहरुले रेशममार्गको नाम दिएका छन्।

इतिहास हेर्दा देखिन्छ, नेपालले पूर्वमा दोलखालाई केन्द्र बनाएर तिब्बत तथा भारतसँग व्यापार गरेको थियो भने मध्य नेपालमा कालीगण्डकी परिपथ व्यापारिक केन्द्रको रुपमा विकसित भयो। पश्चिममा मानसरोवर, जुम्ला, सुर्खेत बोधगया गरी तीनवटा मार्ग भएर नेपाल–तिब्बतलाई केन्द्रमा राखी पूर्वीएशिया, मध्यएशिया र यूरोपसम्म व्यापार हुने विद्वानहरुले बताएका छन्।

यद्यपि तिब्बतसँगको व्यापारका लागि मूलतः ६ वटा नाकाहरु–मुस्ताङ, ताक्लाकोट, हाटी, कुटी, केरुङ र ओलाङचुङ्गोलाको बाटो प्रयोग भएको प्रेमरमण उप्रेतीले पुस्तक नेपाल–तिब्बत रिलेशन मा उल्लेख गरेका छन्।

उत्तरी व्यापारका लागि पहिचान गरिएका १८ वटा नाकामध्ये कालीगण्डकी परिपथ नै सबैभन्दा छोटो भएकाले यो मार्ग नै बढी प्रचलनमा रहेको देखिन्छ। काकवेणी, घाघरजोङ, लेते, घासा, दाना, वेनी बागलुङ, गलकोट, छार्काभोट, मार्फा, टुकुचे आदि ठाउँहरुमा राणाकालमै भन्सार केन्द्रहरु स्थापना गरिएबाट पनि थाकभेकको व्यापारिक योगदान प्रमाणित हुन्छ।

नेपालीहरुले तिब्बतबाट विशेषगरी नुन आयात गर्ने भएकाले कालीगण्डकी परिपथलाई नुनमार्ग अर्थात् साल्ट रुट पनि भनिएको पाइन्छ (रतनकुमार राई, २००७ः१)। मुस्ताङ उपत्यका अर्थात् थाकखोलामा ल्हासाको उत्तर–पश्चिममा रहेको नुनखानीबाट नुन ल्याउने मार्ग प्रचलित थियो। तिब्बतको लिक–चेबाट पनि नुन ल्याउने गरिएकोमा पछि नेपाल–तिब्बत सिमानाको धिङ्ग्रे–भोट्कोबाट नुन आयात गर्न थालियो।

नुन व्यापारमा थाकखोलाका थकाली सुब्बाहरुको एकाधिकार जस्तै थियो। वि.सं १८६० कार्तिक सुदि ५ बिहीबारका दिन तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहबाट जारी गरिएको ताम्रपत्रबाट थाकखोलाका थकाली अगुवा सुब्बालाई त्यस क्षेत्रमा पञ्चखत बाहेका सबै अधिकार दिइएको र यसबापत त्यहाँबाट कर उठाई त्योसँगै पासोमा परिआएको बाज (एकप्रकारको चरा जुन शोखको रुपमा राजामहाराजाहरुले पाल्थे) पनि सरकारलाई चढाउन आदेश गरिएको पाइन्छ।

राजस्व संकलनका हिसाबले मुस्ताङ उपत्यका अर्थात् थाकखोला अत्यन्तै महत्वपूर्ण थियो। यहाँ नियुक्त हुने अधिकारी तहसिलदारले राम्रै पारिश्रमिक पाउँथे।

यसरी थकालीहरुको कर रकममा भारी वृद्धि गरिंदा थकालीहरुलाई मर्का पर्‍यो। वि.सं १९१६ मा पनि यो करको रकम बढेको देखिन्छ (रेग्मी रिसर्च सिरिज, डिसेम्बर १९७७ः १६१–१६२)। थाकभेकको दाना भन्सारबाट कप्तान हेमकर्ण खड्कालाई वार्षिक रु ४४५०१ उठाउने जिम्मा दिइएकोमा उनका छोरा चम्पासिंह खड्कालाई त्यो जिम्मेवारी हस्तान्तरण गरिंदा वार्षिक रु ५५,१०० कर उठाउने जिम्मा दिइयो।

१८३३ सालमा बलवीर थकालीलाई तिब्बतबाट नुन ल्याउन एकाधिकार दिइएकोमा उनका छोरा कनिराम थकालीलाई त्यो एकाधिकार १९४२ सालसम्मका लागि दिइएको थियो। तर बाह्रगाउँ, पाँचगाउँ र घेलुङका वासिन्दाले आफूहरुले पनि व्यापार गर्न पाउनुपर्ने माग गरे अनुसार उनीहरुलाई पनि नुन व्यापारका लागि वीरशम्शेरले अधिकार दिए। उनले बलवीर थकालीका छोरा कविराम थकालीलाई उनीहरुबाट नुन आयातमा समस्या आए एकहजार रुपैयाँ जरिवाना गरिने चेतावनी दिएका थिए।

राजस्व संकलनका हिसाबले मुस्ताङ उपत्यका अर्थात् थाकखोला अत्यन्तै महत्वपूर्ण थियो। यहाँ नियुक्त हुने अधिकारी तहसिलदारले राम्रै पारिश्रमिक पाउँथे। रेग्मी रिसर्च सिरिज अनुसार थकाली बुढाहरुबाट भन्सार उठाउन र तालुकदारहरुबाट व्याज उठाउन पहिले मुक्तिराम नेवार र पछि महावीर कार्कीलाई आदेश दिएको पाइन्छ। नियम उल्लंघन गर्नेलाई प्रत्येकबाट शतप्रतिशत जरिवाना गर्ने आदेश दिइएको थियो (राजकुमार दिक्पाल, २०७५ः नयाँ पत्रिका)।

कर्णाली प्रदेशका पाल र मल्लराजाहरु महाकाली, भेरी र कर्णालीका किनार, भोट हुँदै चीनसम्म पुग्थे। भारत–कालीगण्डकी– तिब्बत सम्म विभिन्न व्यापारिक नाकाहरु थिए। विशेषगरी बुटवल, थाकदान (दाना), तिब्बतको बोर्डर अर्थात नेथुङ प्रमुख भन्सार थिए। स्थानीय व्यापारिक केन्द्रको रुपमा दाना, घाँसा, काकवेणी, पाँचगाउँ, बाह्रगाउँ आदि थिए भने राष्ट्रिय थाकखोला भने अन्तर्राष्ट्रिय रुपमा स्थापित व्यापारिक केन्द्र थियो।

प्राचीनकाल देखि नै व्यापारको केन्द्र थाकखोलाका मार्फा, टुकुचेलाई मध्यएशियाको तिब्बत, मंगोलिया, रसिया, तुर्किस्तान र पूर्वी चीनको द्वारको रुपमा लिइन्छ। माइकल पेशेलले थाक उपत्यकालाई दक्षिण र पूर्वी एशियाको ढोका मानेका छन् (पेशेल, मुस्ताङः अ लस्ट टिवेटन् किङ्डम १९६७ः४४)। ह्यामिल्टनले पेशेलकै कथनलाई जोडदिएका छन्।

यी विविध ऐतिहासिक प्रमाण, सांस्कृतिक अवशेष र सामाजिक अभ्यासका आधारमा अहिले भनिएको रेशम मार्ग (सिल्क रोड) को बाटो हाम्रै कालीगण्डकी परिपथ हुँदै गएको र यसमा मुस्ताङको थाकखोलाको खास योगदान रहेको ढुक्कले भन्न सकिन्छ।

 

प्रतिकृया दिनुहोस