६० वर्ष नाघेका महिलाहरूको व्यवसाय– ‘धौगः बजा’ अर्थात् सस्तो बजार
साँघुरा गल्ली। गल्ली पिच्छे मन्दिर र पोखरी। ती मन्दिरका पेटीमा बसेर गफ गरिरहेका ज्येष्ठ नागरिक। ललितपुरको पाटनमा यस्तो दृश्य जहींतहीं देख्न सकिन्छ। तर, पाटनमा नै यस्तो पसल पनि छ, जुन ६० वर्ष उमेर नाघिसकेका महिलाले चलाउँछन्।
प्यारीमाया श्रेष्ठ (७८) बिहान पूजापाठ गरेर धौगः बजा पुग्छिन्। उनले व्यापार गरेको ५० वर्षभन्दा बढी भइसक्यो। जंकु (नेवारी समुदायमा ७७ वर्ष ७ महीना ७ दिन पुगेको दिन जंकु गरिन्छ) गरिसकेकी उनी दिनभरि घरै बस्दा रोग लाग्ने बताउँछिन्। “छोरा–बुहारी इन्जिनियर, नातिनी डाक्टर छिन्। बुढेसकालमा किन पसल गर्नुपर्यो भन्छन्” उनी भन्छिन्, “तर, मेरो हातखुट्टा चलेसम्म आफ्नो लागि आफैं काम गर्छु।”
१२ वर्षको उमेरमै विवाह गरेकी उनका तीन छोरा र दुई छोरी छन्। श्रीमान्को ३० वर्षअघि नै मृत्यु भयो। छोराको परिवार बेग्लै छ। आफ्नो घरमा उनी एक्लै बस्छिन्।
मेरो हातखुट्टा चलेसम्म आफ्नो लागि आफैं काम गर्छु।” – प्यारीमाया श्रेष्ठ (७८)
प्यारीमाया भन्छिन्, “श्रीमान्ले आलु, प्याजको व्यापार गर्नुहुन्थ्यो, घरमा यसै बस्न मन लागेन, अनि श्रीमान्लाई सहयोग गर्न थालें।” उनीहरूले २०१८ सालमा रु.५० मा व्यापार शुरू गरेका थिए।
पहिला अन्यत्रै भएको पसललाई अहिले धौगः बजा सारेकी छिन्। उनी दाल, गेडागुडी, आलु, प्याज, अदुवा, लसुन, सुकेका माछा, हाँसको अन्डा, सुकेको खुर्सानी, मुलाका चाना लगायतको व्यापार गर्छिन्। भन्छिन्, “हात–खुट्टा चलेसम्म आफ्नो लागि आफैंले काम गर्नुपर्छ।”
अन्यत्रको तुलनामा सुपथ मूल्यमा सामान पाइने हुँदा ‘धौगः बजा’ मा दैनिक उपभोग्य सामग्री खरीद गर्नेहरूको भीड हुन्छ। ‘धौगः बजार’ को अर्थ हुन्छ, सस्तो बजार। ज्येष्ठ नागरिकका पसल रहेको यो बजार पाटनमा खूब रुचाइएको छ।
कमला शाक्य (६८) ले ‘धौगः बजा’ मा व्यापार शुरू गरेको २०४० सालको दशकबाटै हो। आफूले जानेको काम गर्दा समय पनि कट्ने बताउँछिन् उनी। “दिनभर घरमा बसेर के गर्नु ? सबै आफ्नै काममा व्यस्त हुन्छन्, समय कटाउन गाह्रो हुन्छ”, कमला भन्छिन्। छोराले खाना ल्याइदिने हुँदा बिहान पसलमै खान्छिन्।
उनको पसलमा सातु, घ्यू, सोयाबिन, तेल, चाउचाउ, बिस्कुट, चकलेट, दाल, आलु लगायत खाद्यान्न पाइन्छ। धेरै नाफा खाएर सम्पत्ति कमाउन व्यापार नगरेको उनी बताउँछिन्। त्यसैले सुपथ मूल्यमा सामग्री बेच्ने उनको भनाइ छ। बन्दाबन्दीपछि भने व्यापार घटेको छ। यति लामो समय व्यापार नभएको पहिलो पटक भएको उनी बताउँछिन्। “पहिला दाल चामल भन्दा पनि चुरोट, बिंडी, सुर्ती, मिठाई, चकलेट किन्न आउँथे, अहिले सबैथोक बिक्छ”, उनी भन्छिन्।
पूर्णमाया श्रेष्ठ (७५) गएको २६ असारमा रातो खुर्सानी जोख्न व्यस्त थिइन्। विवाहपछि उनले श्रीमान् बालकृष्ण श्रेष्ठसँगै पाटनको मंगलबजारमा आलु, प्याजको व्यापार थालेकी थिइन्। उनले २०३२ सालमा धौगः बजामा पसल सारेकी हुन्।
व्यापार शुरू गर्दा उनी हिसाब गर्न जान्दिनथिन्। तर, अहिले सिकिसकेकी छिन्। उनी भन्छिन्, “धेरै ठूलो हिसाब गर्न नजाने पनि बेचबिखनका लागि समस्या छैन।”
छोरा, बुहारीले दुःख नगर्न भने पनि सक्रिय जीवनका लागि काम गरिरहेको उनी बताउँछिन्। धेरै वर्ष व्यापार गरेको बानी भएर काम नगरी घर बस्न सक्दिनन्। पूर्णमाया भन्छिन्, “दिनभरि पसलमा बस्दा मान्छे आउँछन्, गफ गर्दा दिन सहजै जान्छ।”
“दिनभरि पसलमा बस्दा मान्छे आउँछन्, गफ गर्दा दिन सहजै जान्छ।” – पूर्णमाया श्रेष्ठ (७५)
पछिल्लो समय बन्दाबन्दीमा घर बस्नु पर्दा धेरै सकस परेको उनी बताउँछिन्। “भूकम्पको समयमा एक महीनासम्म पसल बन्द थियो, अहिले भने धेरै लामो समय बन्द गर्नुपर्यो”, उनले गुनासो पोखिन्।
बन्दाबन्दी खुकुलो पारिएपछि धौगः बजामा पनि चहलपहल शुरू भएको छ। बन्दाबन्दीअघि दैनिक रु.४ हजारदेखि ५ हजारको व्यापार गर्ने पूर्णमाया महर्जन (७६) ले पसल खोल्न थालेको धेरै भएको छैन। “सबै जना गाउँ गए, शहरमा सामान किन्ने मान्छे निकै कम छन्, व्यापार छैन”, उनी भन्छिन्। महर्जन धौगः बजामा दाल, चामल बेच्छिन्।
महर्जनका श्रीमान् बैंकमा जागिर गर्थे। दिउँसो कार्यालय गए पनि बिहान–बेलुका उनलाई पसलमा हिसाब सिकाउथे। उनी अहिले आफैं पसलको हिसाब हेर्छिन्।
महर्जनले व्यापार शुरू गर्दा सामानको नाम सीमित थिए। उनी भन्छिन्, “अहिले त थरीथरीका सामान आए। पहिले वाइवाइ र म्यागी चाउचाउ मात्र थियो। अहिले अनेक चाउचाउ आइसक्यो, नाउँ भन्नै आउँदैन।”