रिपोर्ट शुक्रबार, साउन ९, २०७७

यस कारण सिन्धुपाल्चोकमा पहिरोको जोखिम बढी

लक्ष्मी बस्नेत

यस कारण सिन्धुपाल्चोकमा पहिरोको जोखिम बढी
३२ असारको राति भोटेकोशी गाउँपालिका–४ फूलपिङमा खसेको पहिरो, जसले घर पुर्दा ५ जनाको मृत्यु भएको थियो ।

२४ असारको राति सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बुमा पहिरो गई एक दर्जन घर बगाउँदा २ जनाको मृत्यु भयो । घटनामा बेपत्ता भएका १८ जना अझै भेटिएका छैनन् । यसको एक सातापछि ३२ असारको राति भोटेकोशी गाउँपालिका–४ फूलपिङमा पनि पहिरोले घर पुर्दा एकै परिवारका ५ जनाको ज्यान गएको छ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसंचालन केन्द्रको तथ्यांक अनुसार भने, यो वर्षको मनसुन शुरु भएको ३० जेठयता सिन्धुपाल्चोकमा पहिरोका १० वटा घटना हुँदा ६ जना (एक पुरुष र ५ महिला) को मृत्यु भएको छ भने २३ जना बेपत्ता भएका छन् । पहिरोबाट ४१ परिवार प्रभावित भएका छन्।

तथ्यांक अद्यावधिक गर्ने आईटी अफिसर अरुण पौडेलका अनुसार, कार्यसंचालन केन्द्रले आफ्नो वेबसाइटमा जिल्ला प्रहरी वा प्रशासन कार्यालयबाट विस्तृत विवरण आएपछि मात्रै तथ्यांक अद्यावधिक गर्ने कारणले कतिपय घटनामा सञ्चारमाध्यममा आएको भन्दा ढिलो विवरण राखिन्छ।

९ वर्षयता देशभर पहिरोका १९०४ घटनामा १०३१ जनाको मृत्यु भयो, जसमध्ये सिन्धुपाल्चोकका ६३ जना छन् । यो अवधिमा बेपत्ता भएका २८३ जनामध्ये यस जिल्लाका मात्रै १४६ जना छन् ।

सिन्धुपाल्चोकमा वर्षेनी पहिरोबाट जनधनको ठूलो क्षति हुँदै आएको छ । ९ वर्षयता (१ वैशाख २०६८ देखि ८ साउन २०७७) देशभर ७३ जिल्लामा पहिरोका १९०४ घटना भएको छ, जसमा १०३१ जनाको मृत्यु भयो । मृत्यु हुनेमा सिन्धुपाल्चोकका मात्रै ६३ जना छन् भने यो अवधिमा बेपत्ता भएका २८३ जनामध्ये यस जिल्लाका १४६ जना छन् । नौ वर्षमा सिन्धुपाल्चोकमा पहिरोका ५८ वटा घटना भएका छन्।

गृह मन्त्रालय अन्तर्गत विपद् न्यूनीकरण र व्यवस्थापनमा काम गर्ने सरकारी निकायहरुका अनुसार, बेपत्ताको त्यो संख्या अब नभेटिने अर्थात् जीवित रहने संभावना नरहेको संख्या हो । यस आधारमा ९ वर्षको अवधिमा पहिरोबाट सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोकमै भएको देखिन्छ।

सुनकोशी, भोटेकोशी, इन्द्रावती, बलेफी, मेलम्ची जस्ता मुख्य नदी, त्यसमा जोडिने सहायक नदी र वर्षे भेल आउने दर्जनौं ठाडो खोलाका कारण सिन्धुपाल्चोक बाढी र पहिरोको चपेटामा पर्दै आएको छ । २०६८ सालयता जिल्लामा बाढीका कारण ६ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन्।

बाढी र पहिरो दुवै घटनाबाट यस वर्षको मनसुनमा हालसम्म ७ जनाकाे मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन्।

पहिरोको सबैभन्दा जोखिममा

२०७२ सालको भूकम्पबाट अति प्रभावित १४ जिल्लामा पहिरोको जोखिमबारे राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बेलायतको दुरहाम यूनिभर्सिटीसँगको सहकार्यमा अध्ययन गरेको छ । अध्ययनको प्रारम्भिक नतिजाले पहिरोको सबैभन्दा बढी जोखिममा सिन्धुपाल्चोक रहेको देखाएको छ।

२०७२ सालको भूकम्पबाट प्रभावित जिल्लाहरूमध्ये सिन्धुपाल्चोकमा सबैभन्दा बढी जनधनको क्षति भएको थियो । भूकम्प र त्यसपछिका पटकपटकका ठूला परकम्पका कारण त्यहाँको जमीन हल्लिनुका साथै चिराचिरा परेको छ । चिरा परेको ठाउँबाट जमीनभित्र पानी पसेर पहिरोको जोखिम बढेको अध्ययनको प्रारम्भिक नतिजा छ।

२०७२ सालको भूकम्पबाट अति प्रभावित १४ जिल्लामा पहिरोको जोखिमबारे राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बेलायतको दुरहाम यूनिभर्सिटीले संयुक्त रुपमा गरेको अध्ययनको प्रारम्भिक नतिजाले पहिरोको सबैभन्दा बढी जोखिममा सिन्धुपाल्चोक रहेको देखाएको छ।

राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल भन्छन्, “जमीन हल्लिनु र चिरिएका भागबाट पानी पस्नु पहिरो जानुको मुख्य कारण देखिएको छ।” अध्ययनका अनुसार, सिन्धुपाल्चोकको पनि भोटेकोशी गाउँपालिका पहिरोको सबैभन्दा बढी जोखिममा छ।

भोटेकोशी गाउँपालिकामा २४ र २५ असारमा गएको पहिरो ।

भूकम्प प्रभावित जिल्लाहरूको अध्ययनका क्रममा २०७२ सालयता पाँच वर्षको वर्षायाम अगाडि र पछाडि भू–उपग्रहको तस्वीर लिनुका साथै पहिरो गएका ठाउँहरूको स्थलगत अध्ययन गरिएको छ । अध्ययनलाई अन्तिम रूप दिने काम भइरहेको छ।

भूकम्प अगाडि पनि सिन्धुपाल्चोकलाई पहिरोले दुःख दिएको थियो । १७ साउन २०७१ मा जुरे भन्ने ठाउँमा पहिरो जाँदा ३३ जनाको मृत्यु भयो भने १२३ जना बेपत्ता भएको थियो । राष्ट्रिय आपतकालीन कार्यसंचालन केन्द्रको तथ्यांक अनुसार, जुरे पहिरो मुलुकभरिमा एक दशक यताकै बढी मानवीय क्षति भएको ठूलो पहिरो हो।

"भूकम्पपछि भूबनोट कमजोर रहेको सिन्धुपाल्चोकमा बस्ती स्थानान्तरण गरे मात्र प्राकृतिक विपद्बाट हुने मानवीय क्षति रोक्न सकिन्छ । कतिपय ठाउँको बस्तीलाई स्थायी रुपमै स्थानान्तरण गर्नुपर्नेछ, धेरै बस्तीलाई चाहिं वर्षायामको तीन महीना स्थानान्तरण गरेर पनि क्षति कम गर्न सकिन्छ ।”

- उमेशप्रसाद ढकाल, प्रमुख जिल्ला अधिकारी, सिन्धुपाल्चोक

भूबनोट कमजोर भएका कारण प्राकृतिक विपद्बाट हुने मानवीय क्षति रोक्न बस्ती स्थानान्तरण मात्र उपाय भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकाल बताउँछन् । उनी भन्छन्, “कतिपय ठाउँको बस्तीलाई स्थायी रुपमै स्थानान्तरण गर्नुपर्नेछ भने धेरै बस्तीलाई वर्षायामको तीन महीना स्थानान्तरण गरेर पनि क्षति कम गर्न सकिन्छ।”

अहिले जिल्ला प्रशासन कार्यालयले बाढी–पहिरोबाट बच्न जोखिमको पूर्वसूचना दिने, सुरक्षित स्थानमा राख्न स्थानीय सरकारहरुसँग समन्वय गर्ने र घटना भइहाले सकभर चाँडै उद्धार र राहतको काम गर्दै आएको छ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद शेरबहादुर तामाङ प्राकृतिक विपद्बाट जनधनको क्षति रोक्न राज्यले नै स्थायी समाधान खोज्नुपर्ने बताउँछन् । उनी भन्छन्, “मानिसहरू विपत्ति हुन्जेल डराउँछन् र लगत्तै बिर्सेर प्रकृतिलाई नै चुनौती दिन खोज्छन्, यस्तो गलत काम नियन्त्रण गर्न राज्य नै लाग्नुपर्छ।” (हे. बक्स)

विपद् पीडितलाई प्रदेश सरकारको सहयोग

सिन्धुपाल्चोकमा बाढी पहिरोका कारण घर पूर्ण रुपमा क्षति भएका परिवारलाई वागमती प्रदेश सरकारले स्थानीय सरकारसँगको समन्वयमा घर निर्माणका लागि आर्थिक सहयोग गर्ने भएको छ । २ साउनमा बसेको प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको बैठकले स्थानीय तहले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले घर बनाउने खर्च दिने निर्णय गरेको हो।

बाह्रबिसे नगरपालिकाका मेयर निमुफुन्जो शेर्पा बाढी–पहिरोबाट मृत्यु हुनेका परिवारलाई काजकिरिया खर्च दिने र घाइतेहरूको उपचार व्यवस्था नगरपालिकाले मिलाउने गरेको बताउँछन्।

उनका अनुसार, पहिरोको जोखिममा रहेका १६४ परिवारलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था गरिएको छ।

घर पूर्ण क्षति भएका परिवारलाई आवास बनाउन नगरपालिकाले सुरक्षित ठाउँमा जग्गा दिने गरी प्रदेश सरकारसँग छलफल भइरहेको मेयर शेर्पाले बताए।


‘बस्ती स्थानान्तरण नै सुरक्षाको उपाय'

शेरबहादुर तामाङ, सांसद, नेकपा

जुन वेला विपद् पर्‍यो, त्यसको केही समय मात्र मानिसहरू डराउने रहेछन् । २०७२ सालको भूकम्पको डर पनि ८/१० महीनादेखि बढीमा एक वर्ष मात्रै रह्यो । त्यसपछि पुरानै शैलीमा बेपरवाह भएको देखियो।

सिन्धुपाल्चोकमा भूकम्पले सबैभन्दा बढी क्षति भएको र पछि जोखिम हुन सक्ने ठाउँ पहिचान गरेर हामीले १४० वटा बस्ती सार्ने निर्क्यौल गरेका थियौं । तर, लामो समयदेखि बसिरहेको थातथलो छोड्नै नचाहने मानवीय स्वभावका कारण अधिकांश बस्ती सार्नै सकिएन।

हाम्रो जिल्ला बाढी–पहिरोदेखि भूकम्प, चट्याङ जस्ता धेरै खाले प्राकृतिक विपत्तिबाट जोखिममा छ । अब राज्यले नै बस्ती स्थानान्तरणको विकल्पमा काम गर्नुपर्छ । कतिपय अस्थायी स्थानान्तरण अर्थात् खोला किनारका बस्तीलाई वर्षायाम वा बढी वर्षा हुने समयमा मात्रै सुरक्षित ठाउँमा जाने व्यवस्था गर्न सकिन्छ।

पहिरोको जोखिममा भएका बस्तीहरुलाई भने बाध्यात्मक किसिमले नै स्थानान्तरण गर्नुपर्छ । स्थानान्तरणपछि उनीहरुको रोजीरोटी के कसरी हुने भन्ने समेतको अध्ययन र तयारी गरेर अघि बढ्नुपर्छ।

प्रतिकृया दिनुहोस