टिप्पणी बुधबार, साउन ७, २०७७

अलमलिएका विद्यार्थी र विज्ञान संकायको भारी

मधु राई

अलमलिएका विद्यार्थी र विज्ञान संकायको भारी
धरान उपमहानगरपालिका–४ ले गत माघमा बालबालिकालाई दिएकाे बाल भित्तेपत्रिका प्रकाशन सम्बन्धी प्रशिक्षण । तस्वीर: कपुरीन्युज

एसईईपछि विद्यार्थी आफ्नो रुचिको भन्दा आमाबाबुको रोजाइ अनुसारको संकायमा पढ्छन्। त्यही कारण कतिपय बीचैमा संकाय फेर्छन् त कतिपय पढाइ नै छाड्छन्।

मधु राई

यसो हुनुमा प्रत्यक्ष र परोक्षरूपमा स्कूले शिक्षामै खोट छ। बाल्यकालदेखि किशोरावस्थासम्मको लामो समय खर्चेका विद्यार्थीलाई वर्तमान शिक्षाले आफ्नो रुचि अनुसारको संकाय छान्न सक्ने विद्यार्थी समेत बनाउन सकेका छैनन्। यसैको परिणामस्वरुप अधिकांश अभिभावकहरू आफ्नै रुचिअनुसार छोराछोरीको रुचि विपरीतको संकाय छान्न कर गर्छन्।

मेरी छोरी यसको अपवाद भइन्। कक्षा–४ पढ्दाताका सुम्निमा बालसमूहमा आबद्ध भएर उसले कक्षा–७ पुगेपछि साथीहरूसँगै बाल भित्तेपत्रिकाको चारदिने तालिम लिइन्। तालिमपछि एक वर्षसम्म समूहले प्रकाशन गरेको हस्तलिखित ‘बालकोसेली’ मासिक भित्तेपत्रिकामा लेख्ने र सम्पादन गर्ने अवसर पाइन्। कक्षा–९ पढ्दाताका विद्यालयका अर्का साथीसँग मिलेर स्थानीय कोशी एफएममा हरेक शनिबार बाल कार्यक्रम सञ्चालन गरिन्।

स्कूलमा भएका अतिरिक्त क्रियाकलापले छोरी र उसको साथीलाई रुचिको संकाय छान्न सहयोग भयो। उनीहरू दुवैले मानविकी संकाय अन्तर्गत पत्रकारिता विषयमा उच्चशिक्षा हासिल गरे। केही समय छोरीले एउटा राष्ट्रिय अंग्रेजी दैनिकमा खोज पत्रकारको रूपमा काम गरिन्। अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा खोजमूलक सामग्री तयार गर्छिन्। उसको साथी एउटा गैरसरकारी संस्थामा कार्यरत छिन्।

बन्दाबन्दी खुकुलो भए पनि शैक्षिक संस्थाहरू कहिले खुल्ने निश्चित छैन। तर, कतिपय शैक्षिक संस्थाहरूले अनलाइनबाटै एसईईको नतिजा पर्खिरहेका विद्यार्थी लक्षित विज्ञापन गर्न थालेका छन्। कतिपय शैक्षिक परामर्श केन्द्रहरूले छोटो अवधिको ‘ब्रिजकोर्स’ समेत सञ्चालन गरिरहेका छन्।

यसरी स्कूले शिक्षा हासिल गर्दागर्दै आफूलाई मनपर्ने विषय पढ्न पाइने संकायबाट उच्च शिक्षा हासिलकाे निर्णय गर्ने विद्यार्थी थोरै छन्। अधिकांश विद्यार्थी आज पनि कुन संकाय लिएर पढ्ने भन्ने अलमलमै हुन्छन्।

यो वर्ष कोभिड–१९ को कारण एसईई परीक्षा भएन। आन्तरिक मूल्याङ्कनकै आधारमा विद्यालयहरूले प्राप्ताङ्क पठाउने छन्। त्यही आधारमा नतिजा आउनेछ।

कतिपय शैक्षिक संस्थाहरूले अनलाइनबाटै एसईईको नतिजा पर्खिरहेका विद्यार्थी लक्षित विज्ञापन गर्न थालेका छन्। कतिपय शैक्षिक परामर्श केन्द्रहरूले छोटो अवधिको ‘ब्रिजकोर्स’ समेत सञ्चालन गरिरहेका छन्।

यो पनि पढ्नुहोस्— बालबालिकालाई अनलाइन शिक्षाको बोझ

विशेषगरी निजी विद्यालयका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिने यस्ता परामर्श केन्द्रले रुचिको संकाय पढ्न सहजीकरण गरे पनि बहुसंख्यक विद्यार्थीले यस्ता सुविधा पाउन सकेका छैनन्। रुचिको संकायमा पढ्न उचित शैक्षिक परामर्श नपाउँदाको परिणाम तत्काल विद्यार्थीले भोग्ने हो भने कालान्तरमा समाज र देशले भोग्नुपर्छ।


वर्तमान पाठ्यक्रम र निष्क्रिय शिक्षण सिकाइले पनि विद्यार्थीलाई आफ्नो रुचि थाहा पाउन गाह्रो भएको छ। स्कूले जीवनमा आफ्नो रुचि थाहा नपाउने बहुसंख्यक विद्यार्थी आफ्नो रुचि विपरीतको संकाय लिएर उच्चशिक्षा हासिल गरे पनि उनीहरू कुन क्षेत्रमा जाने र के गरी पेशा व्यवसाय गर्ने भन्ने विषयमा बढी अलमलिएको देखिन्छ।

तस्वीर: साेसलमिडिया ।

वर्तमान पाठ्यक्रम र निष्क्रिय शिक्षण सिकाइले पनि विद्यार्थीलाई आफ्नो रुचि थाहा पाउन गाह्रो भएको छ। स्कूले जीवनमा आफ्नो रुचि थाहा नपाउने बहुसंख्यक विद्यार्थी आफ्नो रुचि विपरीतको संकाय लिएर उच्चशिक्षा हासिल गरे पनि उनीहरू कुन क्षेत्रमा जाने र के गरी पेशा व्यवसाय गर्ने भन्ने विषयमा बढी अलमलिएको देखिन्छ।

पहिले स्कूलको निष्क्रिय शिक्षण सिकाइ र त्यसपछि रुचि विपरीतको संकायले गर्दा पनि हाम्रा युवा विदेशिन बाध्य छन्। तर, यस्तो शिक्षा प्रणालीको शल्यक्रिया गर्न सरकार नराम्ररी चुकेको छ। चाहे निजी हुन् या सामुदायिक, हाम्रा शिक्षालय विद्यार्थीको रूपमा विदेशी श्रमबजारमा बिक्ने अदक्ष जनशक्ति उत्पादन गरिरहेका छन्।

यसो हुनुमा अभिभावकहरू पनि दोषमुक्त छैनन्। बोली नफुट्दै कखरा चिनाउन हतारिने बहुसंख्यक अभिभावक स्वयंले पनि आफ्ना छोराछोरीको रुचि र अन्तर्निहित प्रतिभा थाहा पाउन र चिन्न सकेका छैनन्। कतिपय अभिभावक बालविकास कक्षा र शिशुकक्षामा भर्ना गर्दा ‘मेरो छोरा/छोरी त डाक्टर बन्छु भन्छ’ भन्छन्। निरक्षर र साक्षर अभिभावकको तुलनामा शिक्षित अभिभावकले छोराछोरीलाई बढी दिग्भ्रमित गरिरहेका छन्।

यस्तै भौतिक संरचनाले शिक्षालयहरू सम्पन्न हुँदैमा विद्यार्थीको सर्वाङ्गीण विकास हुन्छ भन्ने छैन। आफ्ना विद्यार्थीको रुचि थाहा पाई सोही अनुरुपको संकाय छान्न सक्ने सामथ्र्यवान विद्यार्थी उत्पादन गर्न सक्ने विद्यालय विरलै छन्। अधिकांश निजी विद्यालयको ध्याउन्न बढीभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउनमै केन्द्रित हुन्छ, न कि रुचिको संकाय छान्न योग्य बनाउन।

तस्वीर: युट्यूव ।

अधिकांश निजी विद्यालय सञ्चालकहरू ‘हाम्रो विद्यालयका यति प्रतिशत विद्यार्थी उत्कृष्ट भए र उनीहरूले विज्ञान संकाय लिएर चिकित्सक र इन्जिनियर बनेका छन्’ भन्ने विवरण प्रचारमा रमाउँछन्। विज्ञान संकाय पढ्नु वा चिकित्सक वा इन्जिनियर बन्नु मात्र जिन्दगीको सफलता भएझैं गरी प्रचार गर्दा अन्य संकाय ओझेलमा परेका छन्।

अधिकांश निजी विद्यालय सञ्चालकहरू ‘हाम्रो विद्यालयका यति प्रतिशत विद्यार्थी उत्कृष्ट भए र उनीहरूले विज्ञान संकाय लिएर चिकित्सक र इन्जिनियर बनेका छन्’ भन्ने विवरण प्रचारमा रमाउँछन्। विज्ञान संकाय पढ्नु वा चिकित्सक वा इन्जिनियर बन्नु मात्र जिन्दगीको सफलता भएझैं गरी प्रचार गर्दा अन्य संकाय ओझेलमा परेका छन्। सभ्य समाज निर्माणका लागि चिकित्सक र इञ्जिनियर मात्र हैन लेखक, कवि, पत्रकार, समाजशास्त्री, व्यवसायी, राजनीतिज्ञ, समाजसेवी लगायत विभिन्न क्षेत्रमा दक्ष जनशक्ति चाहिन्छ भनेर शिक्षकहरूले प्रोत्साहित गरेको पाइँदैन।

स्कूले शिक्षा हासिल गर्दा विभिन्न विषयको महत्व बुझाउन नसकेकै कारण मानविकी संकाय हेलाहोचोमा परेको छ। तथापि पछिल्लो समय व्यवस्थापन संकाय लिएर उच्चशिक्षा हासिल गर्नेको संख्या बढ्दैछ। यसले एकै प्रकारका जनशक्ति आवश्यकताभन्दा बढी उत्पादन हुने र अर्को क्षेत्रमा आवश्यक जनशक्ति नै नहुने समस्या हुन्छ।

विद्यार्थीलाई आफ्नो रुचिको संकाय छान्न सक्ने बनाउन विद्यालय र बालसमूहको अतिरिक्त क्रियाकलापले महत्वपूर्ण भूमिका निर्वाह गर्छ। विद्यार्थीको अन्तर्निहित प्रतिभा थाहा पाउन शिक्षक र अभिभावकहरूले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्छ। विद्यालयमा शिक्षकले र घरमा अभिभावकले विद्यार्थीको रुचि थाहा पाए उचित अभिभावकत्व प्रदान गर्न सकिन्छ।

प्रतिकृया दिनुहोस