समाचार सोमबार, साउन ५, २०७७

याे वर्ष किन बढ्दैछ भेल पहिरो ?

मुकेश पोखरेल

याे वर्ष  किन बढ्दैछ भेल पहिरो ?

गएको ६ असारदेखि ५ साउनसम्म देशभर करीब १०० पहिरो गए। तीमध्ये ९५ प्रतिशत भेल पहिरो हुन्। यो वर्षको मनसुनमा भेल पहिरो ठूलो समस्या बनेको छ।

गएको ३१ जेठमा पर्वतको कुस्मा–३ दुर्लुङ्गमा गएको पहिरोमा १० जनाको मृत्यु भयो। घटनास्थलमा पुगेर फर्किएका राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार बस्तीभन्दा माथिबाट खसेको पहिरोले घरहरु बगाएको थियो।

पोखरेल भन्छन्, “भलले माटोको ढिस्को बगाएर ल्याउँदा बनेको पहिरोलाई भेल पहिरो भनिन्छ। पर्वतमा पहिरो जाला भनेर कल्पना नै गर्न नसकिने ठाउँमा १० जनाको मृत्यु भयो।”

जाजरकोटको बारेकोट गाउँपालिका–४ मा पनि २५ असार राति भेल पहिरो नै गएको थियो। उक्त पहिरोमा १५ जनाको ज्यान गयो। यो वर्ष सिन्धुपाल्चोकको जम्बु, संखुवासभा, बझाङ लगायत ठाउँमा भेल पहिरो गएका हुन्। उनी भन्छन्, “यो वर्ष भेल पहिरो बढी छ, भेलसँगै बगेर आउने ढुंगा र गेगरानले बढी क्षति पुर्याएकाे छ।”

म्याग्दीको धवलागिरि गाउँपालिकामा गएको पहिरो ।

यो वर्ष ३० जेठमा मनसुन शुरु भएको हो। त्यसयता ३ साउनसम्ममा पहिरोका कारण १०४ जनाको मृत्यु भइसकेको छ। ४३ जना अझै बेपत्ता छन् । ८४ जना घाइते भएका छन्।

इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकका उपप्राध्यापक वसन्तराज अधिकारी नेपालका पहिरोहरु गहिराइबाट नगएको बताउँछन्। वर्षाको पानी सतहमा एकैतर्फ बग्दा त्यसको दबाबले माटोको ढिस्कालाई बगाएर पहिरो निम्तिएको हो।

यसको कारण पहाडी क्षेत्रमा इन्जिनियरिङ अध्ययन विना खनिएका सडक नै हुन्। “जथाभावी खनिएका सडकले वर्षाको पानीको प्राकृतिक बाटो नै बदलियो, जसले गर्दा पानी एकातिर जम्मा भयो र त्यसको चापले पहिरो निम्तियो,” उनी भन्छन् ।

पहिरो जानुको अर्को कारण पाँच वर्षअघि भूकम्पले हल्लिएको जमीन पूर्ण रुपले पुरानो अवस्थामा नफर्किनु पनि हो। अधिकारीका अनुसार भूकम्पले हल्लिएको जमीन पूर्ववत अवस्थामा पुग्न कम्तीमा पाँचदेखि १० वर्ष लाग्छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेल यस वर्ष मनसुन शुरु हुनासाथ धेरै पहिरो जानुको कारण प्रि–मनसुनमा धेरै वर्षा हुनु पनि भएको बताउँछन्। उनी भन्छन्, “प्रि मनसुनको अवधिमा परेको पानीले जमीन पूरै गलिसकेको थियो, मनसुनको पहिलो महीना नै गलेको माटो बग्न थाल्यो।”

बढी वर्षा
यो वर्ष मनसुन शुरु भएयता ३ साउनसम्ममा औसतभन्दा बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनमा हुने कुल वर्षामध्ये अहिलेसम्ममा ४५ प्रतिशत पानी परिसकेको छ।

इस्वी संवतकाे महीना अनुसार नेपालमा जूनदेखि सेप्टेम्बरसम्म मनसुन सक्रिय हुन्छ। देशभरका २० स्टेशनमा विभागले गरेको वर्षा मापन अनुसार ३ साउनसम्म सरदर ६८७ मिलिमिटर वर्षा भएको छ। गत वर्ष यो अवधिमा ५६५.२ मिलिमिटर अर्थात ३७.६ प्रतिशत वर्षा भएको थियो।

सिन्धुपाल्चोकको जम्वुमा गएको पहिरो ।

३० वर्षको अवधिलाई आधार मान्दा मनसुनको यो अवधिमा औसत ५७९.१ मिलिमिटर वर्षा हुन्छ। जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद डा. इन्दिरा कँडेलका अनुसार अक्सर मनसुनको शुरुवाती समयमा कम र अन्त्यतिर धेरै वर्षा हुन्थ्यो। तर, यो वर्ष शुरुमै सरदरभन्दा धेरै वर्षा भएको छ।

यो वर्ष मनसुनमा जोमसोम स्टेसनमा मात्र १५७ मिलिमिटर वर्षा भएको छ। यो सरदरभन्दा १०८ प्रतिशतले बढी हो। जोमसोममा यही अवधिमा ४७.४ मिलिमिटर र मनसुनभरिमा १४५ मिलिमिटर वर्षा सामान्य हो। त्यसैगरी विराटनगर, धनकुटा, धरानमा पनि यो वर्ष मनसुनमा ५० प्रतिशतभन्दा धेरै वर्षा भएको छ।

यो वर्ष प्रि–मनसुनमा पनि सरदरभन्दा धेरै वर्षा भएको थियो। जल तथा मौसम विज्ञान विभागका अनुसार १८ फागुन २०७६ देखि १८ जेठ २०७७ सम्म १३३.४ प्रतिशत वर्षा भएको थियो। प्रि मनसुनको अवधिमा २२६.५ मिलिमिटर औसत वर्षा सामान्य हो । तर, यो वर्ष ३०२ मिलिमिटर वर्षा भयो।

प्रि मनसुनको अन्त्यतिर हिन्द महासागरमा विकसित भएको मौसमी प्रणालीको प्रभावका कारण बढी वर्षा भएको मौसमविद डा. कँडेल बताउँछिन्। त्यसबाहेक अम्पुन चक्रवात र निसर्ग तुफानले पनि प्रि मनसुनमा धेरै वर्षा भएको थियो।

लमजुङकाे बेसीशहरमा गएको पहिरो ।

सडकको विकल्प रोपवे
पहाडी भूभागमा खनिएका सडकहरु वर्षामा धमाधम भत्कन थालेपछि विज्ञहरुले त्यसको विकल्प खोज्न सुझाव दिएका छन्। राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत  पोखरेल पहाडमा सडकको विकल्प रोपवे हुने बताउँछन् । उनी भन्छन्, “पहाडमा अब सडक होइन रोपवे बनाउनुपर्छ। हरेक वर्ष हेलिकप्टर राखेर पहिरोमा परेकाको उद्दार गर्नु समस्याको समाधान होइन।”

इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकका उप–प्राध्यापक अधिकारी पनि अन्य मुलुकले पहाडी क्षेत्रमा सडकको विकल्पका रुपमा रोपवेलाई प्राथमिकता दिएको बताउँछन्। नेपालमा पनि सडक यातायातको विकल्पकमा रुपमा रोपवे नै उत्तम हुने उनको भनाइ छ। “रोपवे सडक यातायात भन्दा सुरक्षित र भरपर्दो हुन्छ, त्यसबाट पर्यटनको विकासमा समेत टेवा पुग्छ,” अधिकारी भन्छन्।

प्रतिकृया दिनुहोस