टिप्पणी सोमबार, साउन ५, २०७७

यसरी संसारलाई शासन गर्दैछ बहुराष्ट्रिय कम्पनी

हिमालखबर

यसरी संसारलाई शासन गर्दैछ बहुराष्ट्रिय कम्पनी
स्केच: भानु भट्टराई

करीब एक हजार बहुराष्ट्रिय कम्पनी विश्वका आर्थिक नीतिका कारखाना पनि हुन्। उनीहरू जे चाहन्छन्, धेरैजसो मुलुक त्यसै गर्न विवश छन्। चीन, भारत वा अरू उदीयमान अर्थतन्त्र भएका देश समेत यिनै बहुराष्ट्रिय कम्पनीको खुट्टामा उभिएका छन्।

गोपीनाथ मैनाली

समकालीन विश्वमा व्यापारिक संस्था र उत्पादक कम्पनीहरू भूगोल तथा राजनीतिक सीमाभन्दा पर पुगेर कारोबार गरिरहेका छन्। कतिपय कम्पनी स्थानीय संस्थाहरूसँग रणनीतिक साझेदारीका आधारमा व्यवसाय विस्तारमा लागेका छन्। धेरैजसो आफ्नै सहायक कम्पनी र शाखा मार्फत व्यवसाय चलाइरहेका छन्।

उद्यमी/लगानीकर्ताहरूले खडा गरेका यी बहुराष्ट्रिय कम्पनी प्राकृतिक स्रोतको सहज उपलब्धता, सस्तो श्रम र बजारका कारण आफ्नो हेडक्वाटरबाट विकासशील मुलुक हानिएका छन्। बहुराष्ट्रिय कम्पनीको नेटवर्ककै आधारमा विश्व अर्थतन्त्र गतिशील छ।

बजार सङ्केत तथा उपभोक्ता स्वादलाई टिप्न सक्ने क्षमताका कारण यी कम्पनीले निकै तीव्र गतिमा व्यवसाय विस्तार गरिरहेका छन्। भाषा, संस्कृति, संभावना, चाख सबैलाई तत्काल सम्बोधन गरी यसैको आधारमा व्यावसायिक रणनीति तय गर्न सिपालु छन्।

यिनीहरुले उपभोक्ता स्वादको विश्व संस्कृति नै निर्माण गर्छन्। लागत संरचना न्यूनीकरण मार्फत विश्व आर्थिक सञ्जाल पनि विकास गरिरहेका छन्। यसो गर्न उदारीकृत राज्य नीति र विकसित आधुनिक प्रविधिले औधी सघाएको छ।

ठूला बहुराष्ट्रिय कम्पनीहरूमध्ये ५०० भन्दा बढी जापान, अमेरिका, युरोपका विकसित मुलुकमा केन्द्रित छन्। यी कम्पनी यति ठूला छन् कि यिनीहरूले व्यवसाय मात्र होइन, अर्थतन्त्र नै चलाइरहेको भान हुन्छ। वाल मार्टको अर्थतन्त्र बेल्जियम र डेनमार्कको भन्दा ठूलो छ। एप्पल, अमेजन, अल्फावेट (गुगल) माइक्रोसफ्ट, वर्कसायर हाथवे, फेसबूक, अलिबाबा जस्ता ठूला संस्थाहरूको कारोबार, नेटवर्क र प्रभाव दिन प्रतिदिन विस्तार भइरहेको छ। जस्तो कि एक्सोन मोबिलले १३२ वर्षमा पूरा गरेको यात्रा अमेजन, अल्फाबेटले २० वर्षभन्दा कम समयमा नै पूरा गरे।

बहुराष्ट्रिय कम्पनीका विषयमा कमै बहस हुने गरेको छ। कतिपय बहसकर्ता, विचारक र अनुसन्धाताहरू पनि यिनीहरुकै प्रभावमा छन्। केहीले राष्ट्रिय पूँजीको वकालत गरे पनि बहुराष्ट्रिय कम्पनीहरूले देखाएको सफलताका कारण ‘राष्ट्रिय र गैरराष्ट्रिय पूँजी’ को कित्ताकाट असान्दर्भिक हुन थालेको छ।

बहुराष्ट्रिय कम्पनीहरू नै समकालीन विश्वको प्रत्यक्ष लगानीका माध्यम हुन्। साधन अभाव हुने अल्पविकसित मुलुकहरूमा व्यापार र लगानीका माध्यमबाट स्रोत अभाव पूरा गरिरहेका छन्। बाह्य ऋणको निर्भरतालाई घटाइरहेका छन्। अफ्रिकी मुलुकहरूमा यो स्थिति देखिएको छ।

ठूला बहुराष्ट्रिय कम्पनीहरूमध्ये ५०० भन्दा बढी जापान, अमेरिका, युरोपका विकसित मुलुकमा केन्द्रित छन्। यी कम्पनी यति ठूला छन् कि यिनीहरूले व्यवसाय मात्र होइन, अर्थतन्त्र नै चलाइरहेको भान हुन्छ। 

अहिले अल्पविकसित मुलुकका उत्पादनहरू विकसित मुलुकले आयात गर्ने वातावरण पनि बनिरहेको छ। स्थानीय तहमा रोजगारी विस्तार हुँदा अल्पविकसित मुलुकको बेरोजगारी घटाउन सहयोग पुगेको छ। स्थानीय पूर्वाधार विकासमा सहयोग पुगेको छ। उत्पादन विविधता, बजार विविधता र लागत संरचना परिवर्तन गरी अर्थतन्त्रको विविधता विस्तार पनि भएको छ। त्यही कारण ग्राहकको स्वाद र सन्तुष्टि विस्तार मार्फत उत्पादनको स्थायी उपभोक्ता निर्माण भइरहेको छ। यो नै बहुराष्ट्रिय कम्पनीको बाँच्ने र फैलिने ठूलो आधार हो।

म्याकडोनल्ड कम्पनीले युरोप अमेरिकामा बेच्ने खानाको स्वाद एशिया र अफ्रिकाको स्थानीय उपभोक्ताको स्वादमा संयोजन गरिरहेको छ। म्याकडोनल्डको भारत शाखामा समोसा र फिलिपिन्समा चामलको भात समेत पाइन्छ। किनकि भारतमा समोसा र फिलिपिन्समा भात संस्कृति छ। यसले स्वादहरूको विस्तार र समाहितीकरण वा नयाँ स्वाद निर्माण गर्छ।

संसारभरि जहाँको म्याकडोनल्ड भए पनि ‘ग्राहक सन्तुष्टि हाम्रो उद्देश्य’ को नारा पूरा भएको छ। निर्माण कम्पनी र उत्पादन उद्योगमा पनि यही अवस्था छ। यस्ता कम्पनीले आफ्नो आयको निश्चित भाग (५ देखि १० प्रतिशत) अनुसन्धान, अध्ययन र आविष्कारका लागि लगानी गर्छन्। जसले गर्दा उपभोक्ताको स्वाद र सन्तुष्टि जित्न र बजारमा नियन्त्रण गर्न सजिलो हुन्छ।

यी कम्पनीहरू डिजिटल भुक्तानीलाई तीव्रता दिएका छन्। यसले मौद्रिकृत विश्व अर्थतन्त्रलाई डिजिटलमा बदल्दैछ। परिणामतः सफा, सुरक्षित र दूरीहीन कारोबार सम्भव भएको छ। यही विधिबाट ‘क्रसकल्चर’ संस्कृति निर्माण भइरहेको छ।

उनीहरू लगानी र बजारको खोजीमा निरन्तर दौडिरहँदा ‘कर्पोरेट गुरिल्ला’ कहलिएका छन्। परिवेश, चाख, बजार र समाजको संस्कृति बुझेर कर्पोरेट गुरिल्लाले समाज, अर्थतन्त्र र विश्व परिवेशलाई नै नयाँ स्वरुप र गति दिन्छन्।

अलिबाबाका मालिक ज्याक मा ।

अल्पविकसित देशलाई खतराको घन्टी

बहुराष्ट्रिय कम्पनीले उत्पादन वृद्धि र प्रतिस्पर्धाका लागि वातावरणीय लागत निरन्तर बढाइरहेका छन्। उत्पादन तथा कारोबार जहाँ गरे पनि आर्जित नाफा हेडक्वाटरतर्फ हस्तान्तरण भइरहेको छ। आफ्नै देशका सीपयुक्त जनशक्तिको उपयोग गर्छन्। गन्तव्य मुलुकको सस्तो श्रम (स्वीटशप लेबर) मात्र उपयोग भएको छ।

यति मात्र होइन, कच्चा पदार्थको एकात्मक उपभोक्ता विकास गरिरहेका छन्। खासगरी चिनियाँ निर्माण कम्पनीले अफ्रिकामा पूर्वाधार निर्माणमा यस्तो प्रवृत्ति देखाएका छन्। राजनीतिक र नीतिगत भ्रष्टाचारलाई सहयोग पुर्‍याइरहेका छन्। रोजागरीको ‘आउट सोर्सिङ’ वा ‘अफसोर’ गर्न पछि पर्दैनन्।

यी कम्पनी कानूनी रूपमा नै एकाधिकारलाई सघाएर उपभोक्ता हित र सुरक्षालाई चुनौती दिन्छन्। जस्तो कि, माइक्रोसफ्ट वा यस्तै कम्पनीको उत्पादन।

स्थानीय र साना उद्योगहरू किनारामा पर्दै विस्थापित भइरहेछन्, जसले रैथाने सीप र कला सधैंका लागि हराउँदैछ। सबैभन्दा गम्भीर विषय सरकारको नियमन क्षमता साँघुरिएको छ र अन्ततः नियमन नै गर्न नसिकने अवस्था आउँदैछ। किनकि यस्ता संस्थाहरूको सञ्जाल बनाइएको व्यवसाय निकै जटिल र बलियो छ। यस अवस्थामा राष्ट्रिय प्राथमिकता, चाख र उपभोक्ता हित संरक्षण गर्न कठिन छ।

बहुराष्ट्रिय कम्पनीले उत्पादन वृद्धि र प्रतिस्पर्धाका लागि वातावरणीय लागत निरन्तर बढाइरहेका छन्। उत्पादन तथा कारोबार जहाँ गरे पनि आर्जित नाफा हेडक्वाटरतर्फ हस्तान्तरण भइरहेको छ। आफ्नै देशका सीपयुक्त जनशक्तिको उपयोग गर्छन्। गन्तव्य मुलुकको सस्तो श्रम (स्वीटशप लेबर) मात्र उपयोग भएको छ।

न्याय र समृद्धिको वितरण राज्यको प्राथमिक दायित्व हो। यसका पाँच आयामहरू गरीबीमुक्ति, उच्च शैक्षिक स्तर, श्रम बजारको विस्तृतीकरण, आय असमानताको न्यूनीकरण र न्यूनतम सामाजिक मापदण्ड कार्यान्वयन हुन्। यसको कार्यान्वयन राज्य संयन्त्रले गर्छ। तर, बहुराष्ट्रिय कम्पनीहरू राज्यभन्दा शक्तिशाली भइरहेका छन्।

राज्यले जनताका लागि निर्धारण गरेका मानक, नीति, नियम र विधिलाई वास्ता नगरेर बहुराष्ट्रिय कम्पनीहरूले जनस्वास्थ्य र वातावरणमाथि नांगो शोषण गर्दा पनि राज्य नरम र निरीह बन्दैछ। दी इकोनोमिष्ट पत्रिकाले सन् २००० को डाभोस सम्मेलन ताका नै भनिसकेको थियो कि बहुराष्ट्रिय कम्पनीहरू गैरजिम्मेवार र निष्ठुर छन्। आज विश्वभरि कर्पोरेट पूँजीवाद कर्पोरेट उपनिवेशवादका रूपमा शक्तिशाली बनेका छन्।

अमेरिकास्थित एप्पल कम्पनीकाे प्रधान कार्यालय ।

करीब एक हजार बहुराष्ट्रिय कम्पनी विश्वका आर्थिक नीतिका कारखाना पनि हुन्। उनीहरू जे चाहन्छन्, विश्वका धेरैजसो मुलुक त्यसै गर्न विवश छन्। हामी भनिरहेका छौं २१औं शताब्दी एशियाको बन्ने क्रममा छ। तर, न एशियाको न युरोप वा अमेरिकाको हुनेछ। अबको शताब्दी त बहुराष्ट्रिय कम्पनीको हुनेछ। चीन, भारत वा अरू उदीयमान अर्थतन्त्र भएका देश यिनै बहुराष्ट्रिय कम्पनीको खुट्टामा उभिएका छन्। उहान, ग्वान्जाओ, शांघाइको चहक धेरै हदमा कर्पोरेट गुरिल्लाको शक्ति हो।

यिनीहरूको न राज्य छ, न सम्प्रदाय नै। नयाँ र सुरक्षित पाउने वित्तिकै दगुरिहाल्छन्। त्यसैले अहिलेको अर्थतन्त्रलाई उदार समाजवाद वा नियोजित पूँजीवाद भनेर वैचारिक दर्शनमा बाँड्नुको कुनै अर्थ छैन। पृष्ठभूमिमा बहुराष्ट्रिय कम्पनी नै छन्।

कर परिवर्तन र मूल्य हस्तान्तरणमा पनि यिनीहरू निकै माहिर छन्, वित्तीय तथा मौद्रिक नीतिका संयन्त्रहरू सजिलै पन्छाउँछन्। बर्लिन गेट ढल्नु वा सोभियत संघ विघटन हुनुको अन्तर्य अरू केही नभएर बहुराष्ट्रिय कम्पनीको सक्रियता हो।

राज्यहरू विस्तारै आफ्नो नीति सामर्थ्य, सार्वभौमसत्ता र लोकतन्त्रका मूल्यहरू गुमाउँदैछन्। यसको अर्थ ती देश बहुराष्ट्रिय कम्पनीमा समर्पण हुँदैछन्।

प्रतिकृया दिनुहोस