कला/साहित्य शनिबार, साउन ३, २०७७

बन्दाबन्दीमा के गर्दैछन् स्ट्यान्ड अप कमेडियन ?

नुनुता राई

बन्दाबन्दीमा के गर्दैछन् स्ट्यान्ड अप कमेडियन ?

केही वर्षअघिसम्म शहरका रेस्टुरेन्टहरूमा ग्राहक मनोरञ्जनको लागि लाइभ म्यूजिक हुन्थ्यो। त्यो ठाउँ स्ट्यान्ड अप कमेडीले लिन थालेको बेला कोरोनाभाइरस महामारी शुरू भयो। रेस्टुरेन्टहरू बन्द भएसँगै स्ट्यान्ड अप कमेडीका कलाकार पनि बेरोजगार भए।

टेलिभिजन कार्यक्रम ‘कमेडी च्याम्पियन’ का विजेता हिमेश पन्त अहिले आफ्नै यूट्यूब च्यानल मार्फत भिडियो सार्वजनिक गरिरहेका छन्। बन्दाबन्दीको समयमा उनले दुई वटा भिडियो अपलोड गरे। महामारी नफैलिएको भए उनी आयोजक समूह र अन्य उपविजेताहरूसँग विश्व भ्रमणमा हुनेथिए।

दर्शकको अगाडि उभिएर विभिन्न विषयमा कटाक्ष गर्दै दर्शक हँसाउन नपाउँदा उनलाई न्यास्रो लाग्न थालेको छ। अहिले राम्रो सामग्री तयार पारेर सामान्य अवस्था भएपछि दर्शकलाई हँसाउने योजना भए पनि सामान्य अवस्था कहिले हुने भन्ने अनिश्चितताले जाँगर नचलेको उनको भनाइ छ।

उनी स्ट्यान्ड अप कमेडी क्लब ‘कमेडी सर्कल’ बाट चर्चित भएका थिए। कमेडी च्याम्पियनका विजेता भएपछि चर्चाको उत्कर्षमा पुगे। बन्दाबन्दीपछि भने आर्थिक समस्या शुरू भएको उनी बताउँछन्।

मञ्चमा उभिएर वक्तृत्वकला शैलीमा चोटिलो शब्द, व्यंग्य गरेर हँसाउने स्ट्यान्ड अप कमेडी विश्वभर लोकप्रिय भइरहेको छ। नेपालमा पनि स्ट्यान्ड अप कमेडीलाई व्यवसायीकरण गर्न कमेडी सर्कल र नेपग्याज्म जस्ता क्लबले कार्यक्रम गरे।

यिनै क्लबले आयोजना गरेका लाइभ शो, भिडियोहरूबाट स्ट्यान्ड अप कमेडी लोकप्रिय भयो। ती क्लबमा स्ट्यान्ड अप कमेडी गर्ने अधिकांश कलाकार युवा छन्। दर्शक पनि युवा नै छन्। तर, विस्तारै अन्य उमेर समूह पनि आकर्षित भइरहेको कलाकारहरूको दाबी छ।

यूट्यूबमा भिडियो अपलोड गर्दै शुरू गरेको कमेडी सर्कल लाइभ प्रस्तुतिसम्म आइपुग्दा धेरै कलाकारलाई अवसर दिएको थियो। अधिकांश कलाकार विभिन्न पेशासँग आबद्ध भएकाले अहिले अप्ठ्यारोमा परिनसकेको उनी बताउँछन्। केहीले यूट्यूब मार्फत भिडियो अपलोड गरिरहेका छन्। केहीले भने जुम एप मार्फत पारिश्रमिक लिएर विदेशमा भएका नेपालीलाई मनोरञ्जन दिइरहेका छन्।

कमेडी सर्कलका संस्थापक सुरज खड्गी महामारी रोकथामका लागि बन्दाबन्दी घोषणा भएपछि कम्पनी चलाउन अप्ठ्यारो परेको बताउँछन्। स्वतन्त्र कलाकारहरूसँग मिलेर कार्यक्रम गर्ने कमेडी सर्कल करीब चार महीनादेखि निष्क्रिय छ। उनी भन्छन्, “यति लामो समय कुनै पनि इभेन्ट नगरी कम्पनी टिकाइराख्न मुश्किल परेको छ।”

अझै कम्तीमा एक वर्षसम्म पहिलाको जस्तै कार्यक्रम गर्न नसकिने उनको अनुमान छ। अमेरिकातिर भौतिक दूरी राखेर कार्यक्रम भइरहे पनि नेपालमा त्यो अवस्था नदेखेको उनी बताउँछन्। “भौतिक दूरी कायम राखेर कार्यक्रम गर्न अनुमति पाइए शुरू गर्न सकिएला भन्ने लागेको छ। तर, संक्रमितको संख्या बढिरह्यो भने कार्यक्रम गर्न मिल्दैन किनभने हाम्रो सामाजिक जिम्मेवारी पनि त छ नि”, उनी भन्छन्।

यूट्यूबमा भिडियो अपलोड गर्दै शुरू गरेको कमेडी सर्कल लाइभ प्रस्तुतिसम्म आइपुग्दा धेरै कलाकारलाई अवसर दिएको थियो। अधिकांश कलाकार विभिन्न पेशासँग आबद्ध भएकाले अहिले अप्ठ्यारोमा परिनसकेको उनी बताउँछन्। केहीले यूट्यूब मार्फत भिडियो अपलोड गरिरहेका छन्। केहीले भने जुम एप मार्फत पारिश्रमिक लिएर विदेशमा भएका नेपालीलाई मनोरञ्जन दिइरहेका छन्।

अभिनय गरेर हँसाउने आम धारण भएको हुँदा बोलेर मात्रै हँसाउने कार्यक्रममा दर्शक नआएको नेपग्याज्मका संस्थापक शरद श्रेष्ठ बताउँछन्। तर, कतिपय कलाकारहरूले भने स्ट्यान्ड अप कमेडी गरेरै पनि जीविका चलाउन थालेका छन्। आफूहरूसँग आबद्ध केही कलाकारलाई सहयोग पनि गरिरहेको उनी बताउँछन्।

लेखमणि त्रिताल र आदर्श मिश्र ।

नेपग्याज्मले अब यूट्यूब च्यानल मार्फत कमेडीको कार्यक्रम चलाउने तयारी गरिरहेको छ। श्रेष्ठ भन्छन्, “अहिलेको अवस्थामा स्टेज कार्यक्रम गर्न सम्भव छैन। त्यसैले अब हामी भर्चुअल मनोरञ्जन दिने तयारी गरिरहेका छौं।” नेपग्याज्ममा लेखमणि त्रिताल, युकेजी, डोरेस लगायत नौ जना कलाकार आबद्ध छन्।

बन्दाबन्दी हुनुअघि महीनाको दुई वटा मात्रै कार्यक्रम गर्दा पनि स्ट्यान्ड अप कमेडियन युकेजीको दुई जनाको परिवारलाई पुग्ने कमाइ हुन्थ्यो। उनी पछिल्लो समय राम्रो पारिश्रमिक लिने स्ट्यान्ड अप कमेडियनमा पर्छन्। स्ट्यान्ड अप कमेडीबाटै जीविका चलाइरहेका उनको आयस्रोत बन्द भएको छ।

उनी स्ट्यान्ड अप कमेडीको लागि महत्वपूर्ण दर्शक नै हुन् भन्छन्। दर्शकलाई प्रत्यक्ष रूपमा हँसाउनु जस्तो प्रभाव यूट्यूबबाट नहुने उनको अनुभव छ। विकल्पको रूपमा मात्र यूट्यूबबाट कार्यक्रम गर्नुपर्ने बाध्यता भएको उनी बताउँछन्। उनी भन्छन्, “नेपग्याज्मले यूट्यूब च्यानलबाट दर्शकलाई मनोरञ्जन दिने तयारी गरिरहेको छ। त्यसको लागि मैले पनि कन्टेन्टहरू बनाइरहेको छु।”

कोरोनाभाइरस महामारीपछि स्ट्यान्ड अप कमेडीका लागि पहिलाको जस्तै सहज हुनेमा शंका रहेको उनी बताउँछन्। “पहिलाको जस्तै दर्शक बटुलेर हँसाउनको लागि धेरै समय लाग्छ। त्यसको प्रत्यक्ष प्रभाव म जस्ता कलाकारलाई पर्छ। त्यसैले विकल्पहरू पनि सोच्नुपर्ने वेला आए जस्तो लागेको छ”, उनी भन्छन्।

क्षेत्रीय, जातीय, लैंगिक विभेदका गम्भीर विषयलाई मिहिन रूपमा उठाउने स्ट्यान्ड अप कमेडियन हुन्, आदर्श मिश्रा। बारा जीतपुरका उनी अढाइ वर्षदेखि स्ट्यान्ड अप कमेडी गरिरहेका छन्। बन्दाबन्दीअघि घर पुगेका उनी अहिलेको अवस्थाले चिन्तित बनाएको बताउँछन्। यो क्षेत्रमा स्थापित हुनै लाग्दा महामारीले चौपट बनाइदिएको उनी बताउँछन्। उनी भन्छन्, “अब स्ट्यान्ड अप कमेडी गरेर पनि जीविका चलाउन सकिन्छ कि भन्ने लागिरहेको वेला कोरोना आएर डामाडोल बनायो।”

सञ्जु कट्वाल ।

स्ट्यान्ड अप कमेडीमा महिला कलाकारको सहभागिता न्यून छ। स्ट्यान्ड अप कमेडियन सन्जु कट्वाल अहिलेको अवस्थाले चिन्ता बढेको बताउँछिन्। उनी भन्छिन्, “विस्तारै राम्रो हुँदै गइरहेको थियो। कार्यक्रमको लागि प्रस्तावहरू आइरहेको थियो। कोरोनाभाइरस महामारीले शून्यमा नै पुर्‍यायो।”

उनी महिलाले दैनिक जीवनमा भोग्नुपर्ने समस्यालाई मुख्य विषय बनाएर प्रस्तुति दिन्छिन्। अब यो क्षेत्र चटक्कै छोड्न नसक्ने बताउँछिन्। उनी भन्छिन्, “एकदमै मन परेर नै यो क्षेत्रमा आएकी हुँ। त्यसैले छोड्नेभन्दा पनि धैर्य गर्ने र त्यतिन्जेल आफ्नो प्रस्तुतिमा पनि सुधार गर्ने सोचमा छु।”

धेरैजसो स्ट्यान्ड अप कमेडियन अन्य पेशा र व्यवसायमा आबद्ध छन्। नेपग्याज्मका लेखमणि त्रिताल नेपाल एअरलाइन्समा ग्राउन्ड ह्यान्डलिङको काम गर्छन्। त्यसले गर्दा लामो समय बन्दाबन्दी भए पनि आर्थिक समस्या भोग्नु नपरेको बताउँछन्। उनी अहिले विभिन्न समूहको फेसबूक पेजबाट निःशुल्क आफ्नो प्रस्तुति दिइरहेका छन्।

सुमन कार्की ।

संचारकर्मी समेत रहेका कमेडियन सुमन कार्की फुर्सदको समयले आर्थिक रूपमा गाह्रो भए पनि मानसिक रूपमा फरक नपरेको बताउँछन्। विश्वका हरेक क्षेत्रमा संकट भएकोले मानसिक रूपमा बलियो बनाएको उनको भनाइ छ।

बन्दाबन्दीअघि ‘डान्सिङ स्टार विद नेपाल’ रियालिटी शोको प्रस्तोता बन्ने अन्तिम तयारीमा थिए। तर, अब सामान्य अवस्था आएपछि मात्रै सुटिङमा जाने तयारी छ। त्यस बाहेक उनी डिजिटल गाईजात्रा गर्ने तयारी पनि गरिरहेका छन्।

प्रतिकृया दिनुहोस