रिपोर्ट शनिबार, साउन ३, २०७७

हच्किए व्यावसायिक लगानीकर्ता, लगानीको योजना धमाधम स्थगन

रमेश कुमार

हच्किए व्यावसायिक लगानीकर्ता, लगानीको योजना धमाधम स्थगन
स्केच: भानु भट्टराई

कोरोनाभाइरसले सिर्जना गरेको संकटबाट व्यवसायीको जोखिम लिने क्षमता खस्किंदा भविष्यमा निजी क्षेत्रको लगानी थप शिथिल हुने जोखिम छ।

काठमाडौंमा विश्वविख्यात मेरिअट ब्राण्डका दुई होटल सञ्चालन गरिरहेको एमएस समूहले कमलादीमा अर्को तारे होटल निर्माणको तयारी थालेको थियो। होटलको डिजाइन बनेर जग हाल्ने तयारी भइरहेका वेला कोरोनाभाइरस महामारीको कहर शुरू भएपछि यो परियोजना स्थगित भएको छ। समूहका प्रबन्ध निर्देशक शशिकान्त अग्रवाल भन्छन्, “होटल बनाए पनि निकै पछि मात्रै बनाउने हो, बरु जग्गा नै बिक्री गर्ने कि भन्ने विकल्पबारे कुरा भइरहेको छ।”

एमएस समूहले सुनसरीमा रहेको रिलायन्स स्पिनिङ मिल्सको क्षमता बढाउन पनि करीब रु. १ अर्ब २० करोडभन्दा बढी लगानी गर्न लागेको थियो। तर, त्यो विस्तारको योजना समेत केही समय पछाडि सारेको अग्रवाल बताउँछन्। “अर्डर गरिसकेको मेसिन समेत केही समयपछि मात्रै पठाउन आग्रह गरेका छौं”, उनले भने।

स्रोतः नेपाल राष्ट्र ब्यांक

ठूलो व्यावसायिक घराना शंकर समूहले पनि कोरोनाभाइरसको कहरपछि पोखरामा रिसोर्ट बनाउने योजना थाती राखेको छ। समूहको काठमाडौंको नक्सालमा निर्माणाधीन हिल्टन होटलको सञ्चालन मिति पनि पछाडि धकेलिएको छ। समूहका प्रबन्ध निर्देशक साहिल अग्रवाल भन्छन्, “होटल व्यवसायमा भयावह अनिश्चितता आएको छ, थप लगानीको योजना स्थगित गरेका छौं।”

“लगानीका लागि तम्तयार सबैजसो व्यवसायीले तत्काललाई नयाँ लगानीको योजना स्थगन गरेका छन्, कोरोनाभाइरसले निम्त्याएको संकट समाधान कसरी हुन्छ भन्ने प्रष्ट नभई कसैले पनि नयाँ लगानीको आँट गर्दैनन्।”

- चन्द्र ढकाल, अध्यक्ष, आईएमई समूह

आईएमई समूहले पनि नवलपरासीको गैंडाकोटमा होटलसहित केबुलकार निर्माणको तयारी गरिरहेको थियो। महामारीले सिर्जना गरेको असहज अवस्थाका कारण यो योजना पछिलाई सारेको समूहका अध्यक्ष चन्द्र ढकालले बताए।

भइरहेकै व्यवसाय विस्तार र नयाँ परियोजनामा लगानीको योजना बनाइरहेका व्यवसायीहरू कोरोनाभाइरसले सिर्जना गरेको आर्थिक शिथिलतासँगै धमाधम आफ्ना योजना स्थगन गरिरहेका छन्। लगानीको वातावरण खल्बलिएको निष्कर्षसँगै व्यवसायीहरू पछि हटेका हुन्। निजी क्षेत्रको लगानी नबढ्दा आन्तरिक रोजगारीको सिर्जना र अर्थतन्त्रको उत्पादक क्षमताको विस्तार हुँदैन।

आईएमई समूहका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल भन्छन्, “लगानीका लागि तम्तयार सबैजसो व्यवसायीले तत्काललाई नयाँ लगानीको योजना स्थगन गरेका छन्, कोरोनाभाइरसले निम्त्याएको संकट समाधान कसरी हुन्छ भन्ने प्रष्ट नभई कसैले पनि नयाँ लगानीको आँट गर्दैनन्।”

आएन लगानी

बन्दाबन्दीकै बीचमा भारतले गुगलदेखि फेसबूकसम्मका विश्वविख्यात कम्पनीलाई तानेर ठूलो वैदेशिक लगानी भित्र्यायो। नेपालमा नयाँ लगानीकर्ता त परकै कुरा, लगानी प्रतिबद्धता जनाएर तयारी गरिसकेका समेत हच्किन थालेका छन्। दशक लामो सशस्त्र द्वन्द्व र राजनीतिक अनिश्चय भोगेको मुलुकले राजनीतिक स्थिरता पाइसक्दा पनि उत्साहजनक रूपमा वैदेशिक लगानी भित्रिन सकेको छैन।

बितेका पाँच आर्थिक वर्षमा उद्योग विभागमा रु. १ खर्ब ५० अर्ब वैदेशिक लगानीको प्रस्ताव सहित उद्योग १ हजार ७१८ उद्योग दर्ता भएका थिए। नेपाल राष्ट्र ब्यांकको तथ्यांक अनुसार, यी पाँच वर्षमा करीब रु. ६८ अर्ब हाराहारीमा मात्र वैदेशिक लगानी भित्रिएको छ। यो अर्थतन्त्रलाई नयाँ गति दिने खालको लगानी होइन।

"लगानी विस्तारभन्दा सञ्चालनमा भएको व्यवसायलाई टिकाउनेतिर व्यवसायीहरूले ध्यान दिएका छन्। जोखिम लिने क्षमतामा ह्रास भएको वेला ठूलो र नयाँ लगानीमा आँट आउँदैन।”

- शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

कोरोनाभाइरस महामारीपछि त लगानी विस्तारको प्रस्ताव नै खुम्चिएको छ। उद्योग विभागका अनुसार, बन्दाबन्दी शुरू भएको अघिल्लो दिन गएको १० चैतयता ३० असारसम्ममा रु. १२ अर्ब ९५ करोड लगानी प्रस्तावसहितका २८ उद्योग दर्ता भएका छन्। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा निकै थोरै हो। अघिल्लो वर्षको यही अवधिमा रु. १ खर्ब १२ अर्बको लगानी प्रस्तावसहित ११६ उद्योग दर्ता भएका थिए। यसले बन्दाबन्दीपछि लगानीकर्ताको मनोबल खस्किएको देखाउँछ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा व्यवसायीहरूले लगानी विस्तारभन्दा सञ्चालनमा भएको व्यवसायलाई टिकाउनेतिर ध्यान दिएको बताउँछन्। उनी भन्छन्, “जोखिम लिने क्षमतामा ह्रास भएको वेला ठूलो र नयाँ लगानीमा आँट आउँदैन।”

स्रोतः उद्योग विभाग

भविष्यको अनिश्चय हेरेर व्यवसायीहरूले धमाधम आफ्ना योजनालाई पछाडि सारिरहेका छन्। परियोजना पछाडि सर्दा स्वाभाविक रुपमा यसको लागत असाध्यै बढिरहेको शंकर समूहका अग्रवाल बताउँछन्। उपभोक्ताले आम्दानी गुमाएका कारण बजारमा खाद्यान्न बाहेकका वस्तु र सेवाको माग कम छ। अधिकांश व्यवसाय खुलिसके पनि तिनले पूर्ववत् लय समातेर कारोबार गर्न सकेका छैनन्। महामारीले पर्यटन, निर्माण, घरजग्गा जस्ता क्षेत्रमा गहिरो झट्का पुगेको छ। जसका कारण लगानीकर्ताको विश्वास धर्मराएको छ। देशको सबैभन्दा ठूलो खुद्रा चेन स्टोर भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानुदत्त पौडेल खाद्यान्न बाहेक अरु वस्तुको कारोबार ३० प्रतिशतसम्मले खस्किएको बताउँछन्।

“ऋण लिन ब्याङ्कमा पैसा भए पनि स्वपूँजी लगानीका लागि व्यवसायीसँग तरलताको क्षमता छैन। कहिलेसम्म यस्तो अनिश्चय कायम रहन्छ भन्ने नै टुंगो छैन, त्यसैले नयाँ लगानीको जोखिम उठाउन सकिँदैन।”

- पशुपति मुरारका, पूर्व अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा मुरारका अर्गनाइजेसनका सञ्चालक पशुपति मुरारका दुई–तीन वटा लगानीका नयाँ परियोजनाको तयारी गरिरहेकोमा अहिलेको अवस्थामा जोखिम लिन नसकिने बताउँछन्। समग्र बजारको माग नै खस्किएका वेला जोखिम मोलेर लगानी गर्न आँट नआउने मुरारका उनी बताउँछन्। “ऋण लिन ब्याङ्कमा पैसा भए पनि स्वपूँजी लगानीका लागि व्यवसायीसँग तरलताको क्षमता छैन”, मुरारका भन्छन् “कहिलेसम्म यस्तो अनिश्चय कायम रहन्छ भन्ने नै टुंगो छैन, त्यसैले नयाँ लगानीको जोखिम उठाउन सकिँदैन।”

कोरोनाभाइरसले निम्त्याएको संकटकै कारण मुस्ताङ हेलिकप्टरले ल्याउन लागेको दुई वटा हेलिकप्टर कम्तीका एक वर्षपछि मात्रै ल्याउने भएको छ। मुस्ताङले एयरबस कम्पनीको एएस ३५० बीथ्री नामक दुई हेलिकप्टर ल्याउने तयारी गरेको छ। मुस्ताङ हेलिकप्टरका प्रबन्ध निर्देशक रोनन लामिछाने भन्छन्, ‘‘कोरोना महामारीले असर नगरेको भए दुवै हेलिकप्टर मार्चभित्रै आएर नियमित उडानमा हुने थिए। कोरोनाको कारणले हेलिकप्टर आउने टुंगो लागेको छैन।”

यो कम्पनीले प्रति हेलिकप्टर करीब रु.२८ करोडमा ल्याउने तय भए पनि अब मूल्य पनि महँगो पर्ने भइसकेको छ। नेपाली रुपैयाँसँगको विनिमय दर अनुसार युरोको मूल्य बढेपछि हेलिकप्टरको मूल्य रु.३७ करोड पुग्न लागेको लामिछाने बताउँछन्।

श्री एयरलाइन्सका अध्यक्ष सुधीर मित्तल पनि श्रीले अन्तर्राष्ट्रिय उडान शुरु गर्ने र ८० सिट क्षमतका तीन वटा जहाज थप गर्ने योजना कोरानाभाइरसका कारण पछाडि धकेलिएको बताउँछन्। मित्तल भन्छन्, “अब योजना कति पछाडि धकेलिन्छ, थाहा छैन।”

पोखराको बेगनास ताल नजिकै लक्जरी रिसोर्ट निर्माण गरिरहेको सांग्रिला ग्रुपले चितवनमा नयाँ होटल निर्माण गर्ने योजना बनाएकोमा अलपत्र परेको छ। करीब ८० प्रतिशत निर्माण सम्पन्न भइसकेको बेगनासको लक्जरी रिसोर्टको सञ्चालन कहिले हुने भन्ने अन्योल पनि रहेको होटल सांग्रिलाका कार्यकारी निर्देशक प्रवीण पाण्डे बताउँछन्।

विस्तारमा ‘ब्रेक’

पछिल्ला वर्षहरूमा व्यवसायीहरूले सिमेन्ट, छड जस्ता निर्माण सामग्री र होटल जस्ता सेवामूलक क्षेत्रमा लगानी विस्तार गरिरहेका थिए। तर, यो गतिमा विराम लागेको छ। व्यवसायीहरूले नयाँ कर्जाको माग नगर्दा ब्याङ्कमा पैसा थुप्रिएको छ। नेपाल ब्याङ्कर्स एशोसिएसनका अध्यक्ष तथा सानिमा ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल भन्छन्, “ब्याङ्कमा ऋणको प्रस्ताव नै कम आएको छ, जसका कारण ऋण प्रवाहको गति बढ्न सकेको छैन।”

कोरोनाभाइरसको संक्रमण रोकथामका लागि लगाइएको बन्दाबन्दीका कारण अर्थतन्त्रमा नयाँ लगानीको विस्तार सुस्त भएको छ। बन्दाबन्दीको साढे तीन महीनाको अवधिमा ब्याङ्कमा करीब रु.१ खर्ब ३५ अर्बजति निक्षेप थपिएको छ भने ऋण करीब रु.३५ अर्बले घटेको छ। गएको चैत मसान्तसम्ममा वाणिज्य ब्याङ्कहरूले करीब रु.२८ खर्ब ४५ अर्ब ऋण प्रवाह गरेका थिए। तर, चैतयता ऋण रकम झन् घटेको छ।

ब्याङ्कसँग अहिले ऋणयोग्य लगानी रकम झण्डै पौने दुई खर्बजति थुप्रिएको छ। व्यवसाय विस्तारको योजना बनाइरहेका तथा नयाँ लगानीको अवसर खोजिरहेका व्यवसायीहरूले लगानी योजनालाई स्थगित गर्दा ब्याङ्कको ऋण प्रवाह हुन सकेको छैन।

अहिले वाणिज्य ब्याङ्कहरूको कुल कर्जा लगानी रु.२८ खर्ब १० अर्बको हाराहारीमा ओर्लिएको छ। जबकि, यही अवधिमा ब्याङ्कको निक्षेपमा भने व्यापक सुधार भएको छ। अहिले ब्याङ्कहरूमा रु.३३ खर्ब २५ अर्ब निक्षेप छ। जुन, गएको चैत मसान्तमा रु.३१ खर्ब ९० अर्बजति थियो।

अहिले ब्याङ्कसँग ऋणयोग्य लगानी रकम झण्डै पौने दुई खर्बजति थुप्रिएको छ। व्यवसाय विस्तारको योजना बनाइरहेका तथा नयाँ लगानीको अवसर खोजिरहेका व्यवसायीहरूले लगानी योजनालाई स्थगित गर्दा ब्याङ्कको ऋण प्रवाह हुन सकेको छैन। अर्थतन्त्रको अधिकांश क्रियाकलाप सुस्ताएकाले ब्याङ्क ऋणको मागमा चाप छैन। जबकि, पछिल्ला वर्षहरूमा ऋणको माग अत्यधिक धेरै तर निक्षेप कम हुँदा ब्याङ्कहरूसँग ऋणीले मागेजति ऋण दिने क्षमता नै थिएन।

"प्रोत्साहनमुखी राहत कार्यक्रम नल्याउने हो भने व्यवसायी नयाँ लगानीका लागि आश्वस्त हुँदैनन्, जसको मूल्य अर्थतन्त्रले लामो समय चुकाउनुपर्छ।”

- शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छा व्यवसाय विस्तार र नयाँ लगानी प्रोत्साहनका लागि सरकार उदार बन्नुपर्ने वेला आएको बताउँछन्। “प्रोत्साहनमुखी राहत कार्यक्रम नल्याउने हो भने व्यवसायी नयाँ लगानीका लागि आश्वस्त हुँदैनन्, जसको मूल्य अर्थतन्त्रले लामो समय चुकाउनुपर्छ”, उनी भन्छन्। देशभित्र उत्पादनमूलक क्षेत्रको संकुचनसँगै रोजगारीका अवसर कुण्ठित हुँदै गए पनि सरकारले यसलाई प्रर्वद्धन गर्न ठूलो नीतिगत सुधारको पहल थालेको छैन।

नेपालमा लगानी स्वीकृति, कम्पनी र उद्योग दर्ता, भीसा अनुमति, व्यवसाय स्थापना र सञ्चालन लगायत काममा अनेकौं बाधा र अड्चन हुने गरेको व्यवसायीहरूले गुनासो गर्दै आएका छन्। सूर्य नेपालका उपाध्यक्ष रवि केसी रु. ६ अर्ब लगानीमा काठमाडौंको हात्तीगौंडामा होटल स्थापना गर्न खोज्दा डेढ वर्षदेखि उद्योग विभागले दर्ता गर्न नै नदिएको बताउँछन्। उनी भन्छन्, “स्वपूँजीमा बनाउने होटलमा एकैपटक रु. ६ अर्ब देखाउनुस् अनि मात्रै होटल दर्ता गरिदिन्छौं भनेर अड्काएका छन्”, केसी भन्छन्, “यस्तो अवरोध भएपछि कसरी लगानी गर्ने ?”

नेपालमा लगानी स्वीकृति, कम्पनी र उद्योग दर्ता, भीसा अनुमति, व्यवसाय स्थापना र सञ्चालन लगायत काममा अनेकौं बाधा र अड्चन हुने गरेको व्यवसायीहरूले गुनासो गर्दै आएका छन्।

व्यवसायीले कम्पनी बन्द गर्न पनि ठूलो झमेला बेहोर्नुपर्छ। उद्योग विभाग, नेपाल राष्ट्र ब्याङ्क, कम्पनी रजिष्ट्रारको कार्यालय, अध्यागमन विभाग जस्ता विदेशी लगानीकर्ता सीधै ठोक्किने निकायहरूमा प्रक्रियागत सुधारका फड्को मार्ने गरी काम भएका छैनन्। महँगो विद्युत् महशुल, ब्याङ्कको चर्को ब्याजदर, कामदारको न्यून उत्पादकत्व, महँगो र जीर्ण पूर्वाधार तथा दोहोरो तेहोरो करका कारण पनि नयाँ लगानी प्रोत्साहन हुन सकेको छैन। “अब लगानीकर्तालाई केही न केही आकर्षण नदेखाई लगानीमा विस्तार हुँदैन”, गोल्छा भन्छन्।

प्रतिकृया दिनुहोस