अन्तर्वार्ता/विचार विहीबार, साउन १, २०७७

ठोरीका जनप्रतिनिधि भन्छन्– राम, सीता र वाल्मीकिसँग जोडिएका ठाउँ छन्

लक्ष्मी बस्नेत

ठोरीका जनप्रतिनिधि भन्छन्– राम, सीता र वाल्मीकिसँग जोडिएका ठाउँ छन्

२९ असारमा प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दूहरुका भगवान्, रामको जन्मभूमि अयोध्या नेपालको वीरगंजदेखि पश्चिममा पर्ने भन्दै भारतले नक्कली अयोध्या खडा गरेको बताए । भानु जयन्तीका दिन भएको कार्यक्रममा ओलीले बताएको अयोध्या पर्साको ठोरी गाउँपालिकामा पर्छ । प्रधानमन्त्रीको दाबीपछि हिमालखबरले ठोरी गाउँपालिकाका दुई वडाध्यक्षसँग गरेको कुराकानीको सम्पादित अंशः


‘ठोरीमा राम र सीताकै नामका ठाउँ छन्’

रामप्रकाश कुँवर, वडाध्यक्ष, वडा नं. १, प्रवक्ता, ठोरी गाउँपालिका

रामप्रकाश कुँवर ।

प्रधानमन्त्रीको अभिव्यक्तिले हामी खुशी भएका छौं। यसरी हामीले सोचेका थिएनौं। तर, वाल्मीकि आश्रम पनि नजिकै भएको तथ्यलाई आधार बनाएर उहाँले भन्नुभएको जस्तो लाग्छ। ठोरीमै सीता गुफा छ। एउटा मान्छेको पाइला जस्तै छ, त्यसलाई सीताको पाइला भनिन्छ। यो ठाउँमा चैतको रामनवमीमा धेरै जना पुग्छन्। त्यसैले यसलाई पर्यटकीय रूपमा विकास र प्रवर्द्धन गर्नुपर्छ भनेर हामीले पनि बजेट छुट्याएका छौं।

हाम्रो नगरसभा २९ असारमै भएको हो। हामीले सीता गुफामा मन्दिर बनाउन रु.७ लाख छुट्याएका थियौं। त्यसको केही बेरमा नै प्रधानमन्त्रीको अभिव्यक्ति आयो। अब अनुसन्धानको काम शुरू गर्ने तयारी गर्दैछौं।

हामीले त्यो ठाउँलाई धार्मिक पर्यटनको रूपमा विकास गर्ने गरी महत्व दिएका थियौं। प्रधानमन्त्रीले नै बोलेपछि हाम्रो योजना ठीक रहेछ भन्ने लाग्यो। यहाँ रामनगर पनि छ। उक्त ठाउँ वडा नम्बर ३ मा पर्छ। त्यहाँ पनि मन्दिरहरू बनाउने योजना छ।
अयोध्यापुरी पनि हाम्रो गाउँपालिका नजिकै चितवन जिल्लामा पर्छ। पहिला अयोध्यापुरी गाविस थियो। अहिले माडी नगरपालिकामा पर्छ। माडी र ठोरी छिमेकी पालिका हुन्। वाल्मीकि आश्रम पनि नजिकै पर्ने भएकाले यी ठाउँहरू प्रधानमन्त्रीले भने जस्तै हो भन्ने लाग्न थालेको छ।


‘यो ठाउँको महत्वबारे हामीलाई विश्वास थियो’

किशोर तामाङ, वडाध्यक्ष, ठोरी गाउँपालिका वडा नं. २

किशोर तामाङ ।

प्रधानमन्त्रीज्यूले ठोरीबारे जे भन्नुभयो, हामी एकदमै खुशी छौं। प्रधानमन्त्रीज्यूको अभिव्यक्तिबारे हिजो (३१ असारमा) वडास्तरीय छलफल भएको छ। मैले नै छलफल गरौं भनेर अगुवा, बुद्धिजीवीहरूलाई बोलाएको हो। ऐतिहासिक भनेर हामीले मान्दै आएको ठाउँलाई प्रधानमन्त्रीले पनि चासो दिएपछि यो छलफल पालिकास्तरमा हुनुपर्छ भनेर माग गरेका छौं। अयोध्यापुरी चितवनको माडीमा पर्छ, त्यसैले पनि यहाँ केही न केही छ भन्ने हाम्रो पनि विश्वास हो।

मेरो वडा (वडा नम्बर २) मा सीता गुफा छ। सीता गुफासँगै ठूलो ढुंगामा शिवलिंग र अरू मूर्ति पनि छन्। ठोरीमा पर्सा जिल्लाका मात्र होइन, भारतका ठूला शहरबाट दैनिक पर्यटक आउने गर्छन्। रामनवमीमा त हजारौंको भीड लाग्छ। अङ्ग्रेजी नयाँ वर्षमा र अरू वेला पनि भारतीय पर्यटक आउँछन्।

सीता गुफामा पुजारी राख्ने गरिए पनि भारतीय सिमानासँगै भएकाले कहिलेकाहीं एसएसबीहरूले दुःख दिने गरेका छन्। तर, यो नेपालतर्फको दशगजा क्षेत्रभित्र पर्ने ठाउँ हो। वडा नम्बर ३ मा रामनगर भन्ने ठाउँ छ। त्यहाँ पनि रामको मन्दिर लगायत अरू मन्दिर छन्। साधुसन्त बस्छन्।


 

प्रतिकृया दिनुहोस