दस्तावेज आइतबार, असार २८, २०७७

जहाँ नेपाली योद्धासामु अंग्रेज फौज टिक्न सकेन

मुकेश पोखरेल

जहाँ नेपाली योद्धासामु अंग्रेज फौज टिक्न सकेन

वि. सं. १८७१/१८७२ मा अंग्रेज फौजलाई पराजित गर्ने क्रममा नेपाली फौजले युद्ध लड्न प्रयोग गरेको पश्चिम नेपालको जितगढी र शिवगढी किल्लाको संरक्षण र प्रवर्द्धन हुन सकेको छैन।

भारतलाई उपनिवेश बनाएर इस्ट इन्डिया कम्पनी सरकार चलाइरहेको अंग्रेजले नेपालमा पनि आँखा गाडिरहेको थियो। वेलावेला विभिन्न भागमा हमला पनि गरिरहेको थियो। त्यसै क्रममा वि.सं. १८७१/१८७२ मा नेपालको पश्चिम क्षेत्र कब्जा गर्न अंग्रेज फौज आएको थियो।

इतिहासकार निर्मल श्रेष्ठका अनुसार, भारतमा बसेर चारैतिर व्यापार, व्यवसाय बढाइरहेको इस्ट–इन्डिया कम्पनी सरकारलाई चीन जाने सुगम बाटो र चिया खेतीका लागि अनुकूल भूमिको आवश्यकता थियो। त्यस्तो भूमि नेपालभित्र मात्र थियो।

“नेपालसँग सजिलै उक्त भूमि प्राप्त गर्न सकिन्न भन्ने कम्पनी सरकारले बुझेका कारण उसले नेपालसँग किचलो हुने विन्दुहरूको खोजी गर्न थाल्यो, त्यसमध्येका बुटवल र स्युराज (शिवराज) खण्ड हुन्”, श्रेष्ठ भन्छन्। बुटवल रुपन्देहीमा छ भने स्यूराज कपिलवस्तु जिल्लामा।

ड्रोनबाट लिइएको जितगढी किल्लाको तस्वीर ।

त्यो लडाइँ

बुटवल र स्युराजको विषयमा किचलो उठाई १ नोभेम्बर १८१४ मा अंग्रेजले नेपाल विरुद्ध एकतर्फी युद्ध घोषणा गरेको थियो। बुटवल क्षेत्रमा हमला गर्न मेजर जनरल जोन सुलिमान उड एक हजार बेलायती सेना र तीन हजार हिन्दुस्तानी फौज लिई तैनाथ भएका थिए।

जनरल अक्टरलोनीको नेतृत्वमा पश्चिम नेपाल आक्रमण गर्ने, मेजर जनरल जिलेस्पीको नेतृत्वमा देहरादुन हुँदै गढवाल कब्जा गर्ने, जनरल उडको नेतृत्वमा पाल्पा–बुटवल हात पार्ने र जनरल मार्लेको नेतृत्वमा मकवानपुर कब्जा गर्ने गरी अंग्रेजले सेना पठाएको थियो।

बुटवल कब्जा गर्न गोरखपुरबाट जनरल उडको नेतृत्वमा अंग्रेज फौज नेपालतर्फ अघि बढेको थियो। अंग्रेज फौज जितगढी आइपुगेपछि नेपाली सेनासँग घमासान युद्ध भएको थियो। युद्धमा अंग्रेज टोली ठूलो क्षति बेहोरेर फिर्ता भएको थियो।

तीन महीनापछि जनरल उडकै नेतृत्वमा बुटवलमा आक्रमण गरे। आक्रमणबाट सेनकालीन दरबार ध्वस्त भयो। दरबार ध्वस्त भए पनि किल्लाभित्र लुकेर रहेका नेपाली सेनाले अंग्रेजहरूमाथि आक्रमण गरे। यो लडाइँमा पनि नेपाली सेनाले अंग्रेज फौजलाई पराजित गर्‍यो।

इतिहासकार श्रेष्ठका भनाइमा कर्णेल उजिरसिंह थापा नेतृत्वको फौजले अंग्रेज फौजलाई ७ वैशाख १८७२ मा जितगढी किल्लामा पराजित गरेको थियो।

हाल कपिलस्तुमा रहेको शिवगढी किल्लामा पनि नेपाली फौजले अंग्रेजलाई हराएको थियो।

लडाइँको स्केच ।

बेवास्तामा ऐतिहासिक स्थल

जितगढी किल्ला रुपन्देहीको बुटवल उपमहानगरपालिका– २ स्थित तिनाउ खोलासँग जोडिएको छ भने शिवगढी कपिलवस्तुको शिवराज नगरपालिकाको उत्तर चुरे क्षेत्रमा छ। तर, ऐतिहासिक गौरव जोडिएका यी स्थलको उचित संरक्षण गरिएको छैन।

जितगढी किल्लालालाई पछिल्लो समय सामान्य तारबारले घेरिएको छ। नेपाली फौजले अंग्रेजलाई पराजित गरेको दिन ७ वैशाखमा दुई वर्षदेखि उत्सव मनाउन थालिएदेखि किल्लामा बुटवल उपमहानगरपालिकाले तारबारले घेरेको हो। त्यसअघि यो ठाउँमा गाईबस्तु चर्थे।

किल्लामा उजिरसिंह थापाको ९ फिट अग्लो पूर्णकदको सालिक र ४२ फिटको नेपालको राष्ट्रिय झण्डा राखिएको छ।

बुटवल उपमहानगरपालिकाका मेयर शिव सुवेदी गुरुयोजना निर्माण गरेर जितगढी क्षेत्रलाई पर्यटकीय थलोका रुपमा विकास गर्ने बताउँछन्।

उनी भन्छन्, “युद्धकालीन संग्रहालय बनाएर त्यस वेला युद्धमा प्रयोग गरिएका तोपहरुको संग्रह र युद्धका क्रममा शहादत्त प्राप्त गर्ने नाम खुलेका ९ जना सैनिकको सालिक निर्माण गर्ने योजना छ।” 

५०० वर्गफिटमा फैलिएको जितगढीको पूर्व पश्चिम लम्बाई २०५ फिट छ भने चौडाइ ५५ फिट छ। यहाँ पुरातत्व विभागले २०६९ र २०७१ सालमा उत्खनन गरेको थियो। यो गढीमा करीब १२ लाखदेखि १५ लाख इँटा प्रयोग भएको अनुमान छ।

जितगढी किल्ला ।

कपिलवस्तु जिल्लामा अवस्थित शिवगढी किल्ला भने पूर्णरूपमा बेवारिसे छ। शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी नगरपालिकाले वार्षिक रुपमा अहिलेसम्म बजेट छुट्याए पनि त्यो रकम किल्लाको संरक्षणका लागि पर्याप्त नभएको बताउँछन्। नगरपालिकाको एकल प्रयासले किल्लाको संरक्षण सम्भव नभएको उनको भनाइ छ।

“यस वर्ष गुरुयोजना निर्माणका लागि रु.५० लाख छुट्याएका छौं,” मेयर अधिकारी भन्छन् “किल्लासम्म पुग्ने सडक निर्माण लगायत धेरै पूर्वाधारका काम गर्नुपर्ने भएकाले प्रदेश र संघीय सरकारको हातेमालो आवश्यक छ।”

बुटवल–स्यूराज क्षेत्र कब्जा गर्ने अंग्रेजको योजना विफल पार्न पश्चिम स्यूराज क्षेत्रमा नेपाली फौज यो गढीको प्रयोग गरेर युद्ध लडेको थियो। अहिले भन्ने गरिएको स्यूराज क्षेत्र कृष्णनगर–चन्द्रौटा करिडोरमा पर्ने बहादुरगञ्ज बजार भन्दा करीब ३०० मिटर पश्चिममा ३ कठ्ठा क्षेत्रफलमा अवस्थित छ। यहाँ दुई वर्ष अघि मात्र नेपाली सेनाले पार्क निर्माण गरेको छ।

प्रतिकृया दिनुहोस