रिपोर्ट शुक्रबार, असार २६, २०७७

अझै थुप्रै पहिरो आउनै बाँकी छ ! कति बचाउला पूर्वसूचनाले?

लक्ष्मी बस्नेत

अझै थुप्रै पहिरो आउनै बाँकी छ ! कति बचाउला पूर्वसूचनाले?
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकाका म‌ंगलबार राति गएकाे बाढी । तस्वीर सौजन्य : विजय नेपाल

प्रि–मनसुनमा बढी पानी परेर कमलो भएको जमीनमा मनसुनी वर्षाले पहिरोको जोखिम बढाउने आकलन भइरहँदा सरकारी निकायहरूले मौसम तथा बाढीको पूर्वसूचनामा जोड दिइरहेका छन्।

पर्वतको कुश्मा नगरपालिका–३ मा रहेको ४५ घरको बस्ती ‘सरुन्चौर होमस्टे’ को नामले परिचित छ । बाक्लो जंगलको फेदीमा रहेको त्यही रमणीय बस्तीमा ३२ जेठको राति मुसलधारे वर्षापछि पहिरो खस्दा ९ जनाले ज्यान गुमाए।

गुल्मीको इस्मा गाउँपालिका १ मल्दीमा १९ असारमा पहिरोले पुरेर १८ महीनाका एक बालक र ७ वर्षीया बालिकाको मृत्यु भयो । यस्तै, ८ असारमा पाल्पाको तानसेन नगरपालिकास्थित सम्मोबारीमा सडकमा गुडिरहेका चार वटा गाडीमाथि पहिरो खस्दा चार जनाको मृत्यु भयो।

२० असारमा बझाङको केदारस्यूँ गाउँपालिका–८ मल्लेसीमा पहिरोले ६ जनाको मृत्यु भयो भने एक जना बेपत्ता भए।

२५ असारमा पनि सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ र भोटेकोशी गाउँपालिका–५ मा बाढीका कारण दुई जनाको मृत्यु भएको छ भने यो समाचार तयार पार्दासम्म २२ जना बेपत्ता छन्।

यी विवरण यस वर्षको बाढी–पहिरोको क्षतिका केही घटना हुन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, मनसुन शुरू भएको ३० जेठदेखि २४ असारसम्म पहिरोका १०३ वटा घटना भएका छन् । जसमा ३४ जनाको मृत्यु भएको छ भने दुई बेपत्ता र २८ जना घाइते भएका छन् । प्रभावित परिवार संख्या १०६ छ भने अनुमानित क्षति रु.९१ लाखभन्दा बढी छ।

वर्षाको मात्रा तथा पानीको बहाव बढेको आधारमा बाढी र डुबानको जोखिमबारे थाहा भए पनि पहिरोको जोखिम भने थाहा हुँदैन । त्यसैले  पहिरोबाट झन् ठूलो क्षति भइरहेको प्राधिकरणले जनाएको छ । वर्षा र बाढीको जोखिमबारे भने सरकारी निकायहरुले विभिन्न माध्यमबाट पूर्वसूचना फैलाउने गरेका छन्।

मौसमी पूर्वसूचनामा जोड

प्राकृतिक विपद्का घटनामध्ये सबैभन्दा बढी हुने पहिरो र त्यसपछि बाढी हो । सबैभन्दा बढी क्षति पनि पहिरोबाटै हुने गरेको छ।

यो वर्ष प्रि–मनसुनमा पनि सरदरभन्दा बढी वर्षा भएर जमीन गलिसकेका कारण पहिरोबाट हुने क्षति बढी हुने सरकारको आकलन छ । पहिरोजन्य जोखिम हुने समय आउन अझै बाँकी छ, साउन महीनालाई मुख्य जोखिमको समय मानिन्छ । यस वर्ष (प्रि–मनसुन) मा बढी वर्षा भएको भन्दै वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेल मनसुनमा पनि बढी पानी पर्ने बताउँछिन् (हे.बक्स)

यही अवस्थालाई ध्यान गर्दै पूर्वतयारीका लागि बढीभन्दा बढी सूचनाको प्रचारप्रसार गर्नेदेखि घटना भए तत्काल उद्धार लगायतका कार्यमा तयार रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल बताउँछन्।

पोखरेल भन्छन्, “मनसुन पूर्वदेखि नै निरन्तर वर्षा भइरहेकाले पहिरोको अझ बढी खतरालाई ध्यानमा राख्दै तयारी अवस्थामा छौं । मुख्यतया सतर्कता अपनाए जनधनको क्षति रोक्न सकिने भएकाले जोखिमको सूचना व्यापक बनाइरहेका छौं।”

विपद् जोखिम न्यूनीकरण कार्यको नेतृत्व गृह मन्त्रालय अन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नै गरिरहेको छ । गृह मन्त्रालयले मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना १ वैशाखमै बनाएको छ । त्यस अनुसार जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान शाखा, मौसम पूर्वानुमान महाशाखा, सिंचाइ विभाग तथा विपद्का विज्ञहरूसँगको समन्वयमा काम गरिरहेको प्राधिकरणले जनाएको छ।

आफ्नो क्षेत्रमा हुने जोखिमबारे जानकारी लिन जल तथा मौसम विज्ञान विभागको शुल्क नलाग्ने फोन नम्बर ११५५ र आपतकालीन सेवाका लागि राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको ११४९ नम्बरमा चौबीसै घण्टा जुनसुकै समयमा फोन गर्न सकिने व्यवस्था गरिएको छ।

वर्षापछि बाढी र डुबानको जोखिम हुने स्थानबारे सरकारका विभिन्न निकायले वेबसाइटका साथै फेसबुक पेज र ट्वीटर खाताहरुमा पूर्वसूचना राख्ने गरेका छन्।

सर्वसाधारणले आफैंले गृह मन्त्रालय अन्तर्गतको विपद् जोखिम न्यूनीकरण पोर्टल, जल तथा मौसम विज्ञान विभागको वेबसाइट, मौसम पूर्वानुमान महाशाखाको वेबसाइट, बाढी पूर्वानुमान शाखाको वेबसाइट, फेसबुक पेज ‘नेपाल बाढी सूचना’ वा ट्वीटर खाता, मौसम पूर्वानुमान महाशाखाको फेसबुक पेजट्वीटर, राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको ट्वीटर, विपद् व्यवस्थापन प्राधिकरणको फेसबुक पेज र ट्वीटर तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयका वेबसाइट तथा सामाजिक सञ्जालहरु हेरेर सूचना लिन सरकारको आग्रह छ ।

जल तथा मौसम विज्ञान विभागले ‘मौसम पूर्वानुमान बुलेटिन’ तथा आकस्मिक अवस्थामा ‘विशेष मौसमी बुलेटिन’, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दैनिक ‘विपद् बुलेटिन’ वेबसाइटमा राख्ने तथा जिल्लास्थित सरोकारवाला निकायहरूलाई इमेलबाट पठाउने गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाको वेबसाइटमा काठमाडौं, सुर्खेत, धरान र पोखराको मौसमी अवस्थाबारे जानकारी दिने गरी नोटिस बोर्ड सेवा (रेकर्ड गरिएको आवाज सुनिने) का लागि पनि नम्बरहरु राखिएको छ।

जोखिमबारे मोबाइल फोनमा सन्देश

कुनै ठाउँमा बाढीको खतरा देखियो भने जल तथा मौसम विज्ञान विभागले सम्बन्धित क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गर्दै मोबाइल फोनमा सन्देश पठाउने गरेको छ।

विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखा वरिष्ठ जलविद् विक्रम श्रेष्ठका अनुसार, यसपालीको वर्षायाममा मात्रै ६ देखि २५ असारसम्म तीन लाख ९ हजार ९६० वटा एसएमएस पठाइएको छ । बाढी आउने संकेत थाहा भएपछि मोबाइल सेवा प्रदायक नेपाल टेलिकम र एनसेलसँगको समन्वयमा तीे क्षेत्रका मानिसहरूको मोबाइल नम्बरमा अलर्ट सन्देश पठाउने गरिएको छ ।

विभागकी प्रवक्ता डा. अर्चना श्रेष्ठ खोला, नदीको छेउछाउमा बस्ने तथा बाढी र डुबान हुने ठाउँका बासिन्दाले मोबाइलमा आउने यस्तो सन्देशलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउँछिन् । “यस्तो सन्देशकै कारण धेरैको ज्यान बचेको छ, तर मानिसहरूले एसएमएसलाई वास्ता नगर्ने गरेको पाइएको छ र यदाकदा प्राविधिक कारणले ढिलो पुग्ने पनि हुन्छ”, उनी भन्छिन्।


‘आफैं सजग बने क्षतिबाट बच्न सकिन्छ’

डा. इन्दिरा कँडेल, वरिष्ठ मौसमविद्, मौसम पूर्वानुमान महाशाखा

यसपालि प्रि–मनसुनमा सरदरभन्दा ३० प्रतिशत बढी पानी पर्‍यो । सबै ठाउँमा एक समान नभएर कतै दोब्बर र कतै कम वर्षा भयो । पछिल्लो ३० वर्षको वर्षाको अवस्थालाई हेरेर सरदर मान्ने गरिएको छ।

मनसुनी वर्षाको दर पनि सरदरभन्दा बढी देखिन्छ । प्रदेश अनुसार वर्षाको दर पनि धेरै र थोरै हुन्छ । प्रदेश–५ मा अलि कम वर्षा हुन्छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने देखिन्छ।

वर्षा र बाढीको सम्बन्ध दुई किसिमले हुन्छ । एउटा, लगातार वर्षा वा भारी वर्षा हुँदा पहिरोको जोखिम बढी हुन्छ । यसपाली अधिकांश ठाउँमा निरन्तर वर्षा भइरहेकाले माटोहरु कमलो भइसकेकाले पहिरो बढी जाने संभावना छ । त्यसै अनुसारको पूर्वतयारी हुनुपर्छ।

अर्को, कुनै निश्चित ठाउँमा भारी वर्षा भयो भने पनि त्यो ठाउँ बाढी, पहिरो र डुबानको जोखिममा हुन्छ।

यो जोखिमलाई ध्यान दिंदै पूर्वतयारीका काम त भइरहेका छन् । तर, यी दुवै अवस्थालाई ध्यान दिएर सर्वसाधारण आफैं चनाखो हुनुपर्छ । बस्ती नजिकै खोला छ भने निरन्तर पानी आउँदा वा भारी वर्षा भयो भने सतर्कता अपनाउनुपर्छ । भिरालो पहिरोकै जोखिम भएका क्षेत्रहरुमा त झन् वर्षायाममा सतर्कता अपनाउनै पर्‍यो।

सर्वसाधारणले आफैं पनि गृह मन्त्रालय, मौसम पूर्वानुमान महाशाखाको वेबसाइट, फेसबुक पेज वा ट्वीटर हेरेर मौसमको सूचना लिनुपर्छ । यी कार्यालयहरूको फोन नम्बरमा पनि फोन गरेर सोध्न सकिन्छ । हामीले वेबसाइटमा तीन दिनको मौसमी अवस्थाबारे बुलेटिन पनि राखेका हुन्छौं । रेडियो, टेलिभिजनमा आउने सूचनाले पनि सजग बन्न सघाउँछ। आफूले थाहा पाएको कुरा छरछिमेकलाई पनि भन्नुपर्छ।

बाढी सम्बन्धी जानकारी दिन ११५५ नम्बरमा पनि फोन गर्न सकिन्छ । धरान, पोखरा, भैरहवा र सुर्खेतमा हाम्रो कार्यालय छ, त्यहाँ सम्पर्क गर्दा पनि हुन्छ । हामी विशेष अवस्थामा ‘विशेष बुलेटिन’ भनेर पनि प्रकाशन गरिरहेका हुन्छौं । सञ्चारमाध्यमहरुमा पनि मौसमी अवस्था र सतर्कता अपनाउनुपर्ने समाचारहरू आइरहेको हुन्छ, जहाँबाट भए पनि सूचना लिएर आफू सचेत हुनुपर्छ।

प्रतिकृया दिनुहोस