रिपोर्ट विहीबार, असार २५, २०७७

यसरी गरि‌ंदैछ एसईईको आन्तरिक मूल्याङ्कन, नतिजाप्रति विद्यार्थी सशंकित

नुनुता राई

यसरी गरि‌ंदैछ एसईईको आन्तरिक मूल्याङ्कन, नतिजाप्रति विद्यार्थी सशंकित

कोरोनाभाइरसको महामारीले यो वर्षको एसईई नहुने भएपछि विद्यार्थीको आन्तरिक मूल्याङ्कन विवरण अनुसार परीक्षा बोर्डले परीक्षाफल जारी गर्ने प्रक्रिया थालिसकेको छ। तर, परीक्षाफल निष्पक्ष हुनेमा विद्यार्थीले शंका व्यक्त गरेका छन्।

सामुदायिक विद्यालयमा अध्ययनरत अस्मिता लामाले माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि धेरै मिहिनेत गरेकी थिइन्। उनले आन्तरिक परीक्षाभन्दा अन्तिम परीक्षाका लागि बढी मिहिनेत गरिन्। तर कोरोनाभाइरस संक्रमणको जोखिमका कारण आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर परीक्षाफल प्रकाशित हुने भएपछि उनी निराश छिन्।

उनी भन्छिन्, “आन्तरिक जाँचहरूमा खास मिहिनेत गरेकी थिइनँ। पास मात्र भएकी थिएँ। तर, एसईईको लागि त्यसको तीन गुणा बढी मिहिनेत गरेकी थिएँ। मेरो मिहिनेत खेर जाने भयो।”

उनी विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कन निष्पक्ष हुनेमा पनि शंका व्यक्त गर्छिन्। भन्छिन्, “हामीलाई कसरी नम्बर दिइन्छ थाहा छैन। सबैको क्षमता त क्लास टिचरलाई कहाँ थाहा हुन्छ र ? उनीहरूले बढीमा १०औं स्थानसम्मका विद्यार्थीलाई मात्र ख्याल गरेका हुन्छन्।”

आफू कक्षाका ४० विद्यार्थीमध्ये १५औं स्थानसम्ममा पर्ने उनी बताउँछिन्। त्यहीकारण शिक्षकले उचित मूल्याङ्कन नगरिदिने उनलाई चिन्ता छ।

परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को मूल्याङ्कन विवरण २० असारभित्र शिक्षा विकास तथा समन्वय इकाइमा अनिवार्य बुझाउन मूल्याङ्कन समितिलाई निर्देशन दिएको थियो। मूल्याङ्कन समितिमा विद्यालयको प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन जना हुने व्यवस्था छ।

मूल्याङ्कन विवरण तयार गर्न राष्ट्रिय परीक्षा बोर्डले ‘एसईई कक्षा १० को मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ। जस अनुसार मूल्याङ्कन समितिले राष्ट्रिय परीक्षा बोर्डले तोकेको स्वरुपमा विद्यार्थीको प्राप्ताङ्क शिक्षा विकास तथा समन्वय इकाइमा बुझाइसकेको हुनुपर्छ। सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइहरूले उक्त विवरण राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्छ। बोर्डले त्यसैका आधारमा परीक्षाफल तयार गरी प्रमाणपत्र जारी गर्छ।

मूल्याङ्कन विवरण तयार गर्न राष्ट्रिय परीक्षा बोर्डले ‘एसईई कक्षा १० को मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ। जस अनुसार मूल्याङ्कन समितिले राष्ट्रिय परीक्षा बोर्डले तोकेको स्वरुपमा विद्यार्थीको प्राप्ताङ्क शिक्षा विकास तथा समन्वय इकाइमा बुझाइसकेको हुनुपर्छ। सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइहरूले उक्त विवरण राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्छ। बोर्डले त्यसैका आधारमा परीक्षाफल तयार गरी प्रमाणपत्र जारी गर्छ।

विद्यार्थीको आन्तरिक मूल्यांकन विवरण पठाउनुपर्ने मिति सकिइसकेको छ। तर विद्यार्थीको चिन्ता भने उस्तै छ। परीक्षा नै नगरी नतिजा निकाल्ने निर्णयबाट सामुदायिक मात्र नभई निजी विद्यालयका विद्यार्थी पनि चिन्तित छन्।

निजी विद्यालयमा अध्ययनरत विकास पौडेल औसत विद्यार्थीमा पर्छन्। उनले एसईईका लागि भने भरपुर मिहिनेत गरेका थिए। तर, परीक्षा नै नहुने भएपछि मिहिनेत खेर गएको उनी बताउँछन्। विद्यालयले पनि आन्तरिक मूल्याङ्कनबारे जानकारी नदिएको उनको भनाइ छ।

आन्तरिक परीक्षामा धेरै मिहिनेत नगरेकोमा अहिले उनलाई पछुतो छ। त्यसमा उनले सबै विषयमा औसत नम्बर ल्याएर पास गरेका छन्। तर एसईईमा ए प्लस ल्याउने अपेक्षाका साथ मिहिनेत गरेको बताउँछन्।
पौडेल पनि आन्तरिक मूल्याङ्कन निष्पक्ष हुनेमा शंका गर्छन्। उनी भन्छन्, “क्लास टिचर, प्रिन्सिपलले अहिलेको मिहिनेत देख्नुभएको छैन। पुरानो नम्बर हुने हो भने त खै कस्तो रिजल्ट आउने हो ?”

टिच फर नेपालका अध्यक्ष शिशिर खनाल विद्यार्थीको शंका स्वाभाविक भएको बताउँछन्। पढाइमा राम्रो भएका विद्यार्थीलाई मात्रै शिक्षकले मूल्याङ्कन गर्ने परिपाटी भएकाले औसत र कमजोर विद्यार्थी समस्यामा पर्न सक्ने उनी बताउँछन्। खनाल भन्छन्, “एसईईको लागि मात्रै कडा मिहिनेत गरेकाहरूको परिश्रमको मूल्याङ्कन नहुने हुनाले औसत विद्यार्थी र कमजोर विद्यार्थीलाई मूल्याङ्कन पद्धतिमा शंका लाग्नु स्वाभाविक हो।”

विद्यालयहरूसँग विद्यार्थीको विवरण प्रणाली पनि व्यवस्थित छैन। त्यस्तो अवस्थामा विद्यालयले हचुवाको भरमा आन्तरिक मूल्याङ्कनबाट परीक्षाफल सार्वजनिक गर्ने उनको बुझाइ छ। “विशेषगरी सामुदायिक विद्यालयका विद्यार्थीको विवरण व्यवस्थित छैन। त्यस्तो विद्यालयले केको आधारमा मूल्याङ्कन गर्छन् भन्ने प्रश्न पनि छ”, उनी भन्छन्।

कतिपय विद्यालयलाई क्वारेन्टिन बनाइएका छन्। त्यहाँ गएर शिक्षकले विद्यार्थीको आन्तरिक मूल्यांकन गर्न डराउँछन्। त्यसले गर्दा आन्तरिक मूल्याङ्कनमा चुनौती थपिएको उनको भनाइ छ।

अहिलेको नतिजाले विद्यालयको पनि मूल्यांकन हुन्छ। जुन विद्यालयले धेरै विद्यार्थीको राम्रो कुल औसत अंक (जीपीए) ल्याउन सफल भयो त्यसको महत्व बढ्छ।

अहिलेको नतिजाले विद्यालयको पनि मूल्यांकन हुन्छ। जुन विद्यालयले धेरै विद्यार्थीको राम्रो कुल औसत अंक (जीपीए) ल्याउन सफल भयो त्यसको महत्व बढ्छ। विद्यालयलाई बजारीकरण गर्ने मुख्य हतियार बन्ने हुनाले पनि निष्पक्ष मूल्याङ्कनमा विश्वास गर्न गाह्रो भएको उनको भनाइ छ। उनी भन्छन्, “हिजो विद्यार्थीलाई चिट चोराउन मुखरित हुने विद्यालयलाई आज आफैं नम्बर दिन पाउने सुविधा छ। त्यस्ता विद्यालयले कसरी निष्पक्ष मूल्यांकन गर्लान् ?”

यसअघि पनि एसईईको प्रयोगात्मक परीक्षामा विद्यालयहरूले सबै विद्यार्थीलाई अधिकतम नम्बर दिन्थे। त्यसले पनि अहिलेको निर्णयप्रति अविश्वास जगाएको उनी बताउँछन्।

प्याब्सन अध्यक्ष टीका पुरी भने पहिला वर्षको तुलनामा यो वर्षको परीक्षाफल निष्पक्ष हुने बताउँछन्। त्यसको लागि कक्षा शिक्षक र प्रधानाध्यापक इमानदार हुन जरूरी रहेको उनको भनाइ छ। “गत वर्षहरूमा पढाइमा ध्यान नदिने, नियमित कक्षामा सहभागी नहुने विद्यार्थी पनि चिटको सहारामा एसईईमा राम्रो अंक ल्याउँथे। मिहिनेती र इमानदार विद्यार्थीले उनीहरू भन्दा कम अंक ल्याउँथे। यो पटक त्यस्तो हुँदैन”, उनी भन्छन्।

प्याब्सन तथा नेशनल प्याब्सनले विद्यालयले आन्तरिक मूल्याङ्कन गर्दा आफ्नो दायित्व, जवाफदेही र इमानदारीको पूर्ण रूपमा पालना हुने गरी गर्न/गराउन आफ्ना सदस्य विद्यालयलाई पाँचबुँदे निर्देशन जारी गरेका छन्। विद्यालयहरूप्रतिको विश्वासलाई उँचाइमा पुर्‍याउन आन्तरिक मूल्याङ्कन गर्दा आफ्नो दायित्व, जवाफदेही र इमानदारीको पूर्ण रूपमा पालना गर्न निर्देशनमा भनिएको छ।

कक्षा शिक्षक र प्रधानाध्यापकले जस्तो आफ्नो विद्यार्थीको मूल्याङ्कन अरू कसैले गर्न नसक्ने उनको भनाइ छ। तर, एसईई परीक्षाको लागि मात्रै मिहिनेत गरेका विद्यार्थीलाई भने यो मूल्यांकन विधिले अप्ठ्यारो पारेको उनी बताउँछन्।

प्याब्सन तथा नेशनल प्याब्सनले विद्यालयले आन्तरिक मूल्याङ्कन गर्दा आफ्नो दायित्व, जवाफदेही र इमानदारीको पूर्ण रूपमा पालना हुने गरी गर्न/गराउन आफ्ना सदस्य विद्यालयलाई पाँचबुँदे निर्देशन जारी गरेका छन्। विद्यालयहरूप्रतिको विश्वासलाई उँचाइमा पुर्‍याउन आन्तरिक मूल्याङ्कन गर्दा आफ्नो दायित्व, जवाफदेही र इमानदारीको पूर्ण रूपमा पालना गर्न निर्देशनमा भनिएको छ।

यसरी हुन्छ मूल्याङ्कन

मूल्याङ्कन समितिले विद्यालयमा सञ्चालित कार्यक्रम अनुसार (साधारण/संस्कृत/प्राविधिक) विद्यार्थीको संख्या यकिन गरी सैद्घान्तिक र प्रयोगात्मक मूल्यांकनको प्राप्तांक विवरण तयार गर्छन्। तर, त्यसका लागि विद्यार्थीले परीक्षा आवेदन फारम भरेको, परीक्षा दस्तुर बुझाएको र पाठ्यक्रमले तोके बमोजिम न्यूनतम ७५ प्रतिशत हाजिरी भएको हुनुपर्छ।

पहिलो त्रैमासिक अवधिमा पठनपाठन भएका विषयवस्तुबाट कुल पूर्णांकको १० प्रतिशत (सैद्घान्तिक र प्रयोगात्मक) अंकभारमा मूल्याङ्कन गर्नुपर्छ। त्यस्तै पहिलो र दोस्रो त्रैमासिक अवधि भरमा पठनपाठन भएका विषयवस्तुबाट कुल पूर्णांकको ३० प्रतिशत (सैद्घान्तिक र प्रयोगात्मक) अंकभारमा दोस्रो त्रैमासिक परीक्षा सञ्चालन गर्नुपर्नेछ।

शैक्षिक सत्रको अन्त्यसम्ममा पठनपाठनका लागि निर्धारित सम्पूर्ण विषयवस्तुबाट ६० प्रतिशत (सैद्घान्तिक र प्रयोगात्मक) अंकभारको अन्तिम परीक्षा सञ्चालन गर्नुपर्छ। तीनवटै परीक्षाको कुल प्राप्तांक जोडेर विद्यार्थीको विषयगत ग्रेड निर्धारण गर्नुपर्छ।

प्रतिकृया दिनुहोस