टिप्पणी बुधबार, असार २४, २०७७

ज्ञानपूर्णिक, जो नेपाली भिक्षुका नायक मात्र थिएनन् !

वसन्त महर्जन

ज्ञानपूर्णिक, जो नेपाली भिक्षुका नायक मात्र थिएनन् !

नेपालका सातौं संघनायक डा.भिक्षु ज्ञानपूर्णिक महास्थविरको निधनपछि गैर–बौद्ध समाजमा एउटा प्रश्न उठ्यो, उनी को हुन्? नेपाली बौद्ध समाजमा पनि विशेषतः थेरवादी बौद्ध समाजमा अत्यन्तै आदर र सम्मानका साथ लिइने उनका सम्बन्धमा बाँकी नेपाली समाज अनभिज्ञ हुनुले धेरै कुराको संकेत गर्दछ।

अमृतानन्द महास्थविर, अश्वघोष महास्थविर तथा सुदर्शन महास्थविर जस्ता भिक्षुहरू बौद्ध समाजभन्दा बाहिर पनि सहभागी हुने तथा कतिपय सन्दर्भमा राष्ट्रिय चर्चाकै विषय भइरहन्थे। भिक्षु ज्ञानपूूर्णिक महास्थविर भने वादविवाद तथा चर्चाहरूबाट टाढा रहेर पनि बहुुआयामिक रूपमा सक्रिय भई बौद्ध जगतका लागि ठूलै योगदान दिएका व्यक्तित्व हुन्। 

वसन्त महर्जन

आठ वर्षअघि लुम्बिनीस्थित अन्तर्राष्ट्रिय गौतमी भिक्षुणी विहारमा भिक्षु ज्ञानपूर्णिक महास्थविरसँग भेट भएको थियो। अघिपछि श्रद्धा र औपचारिकतावश ‘वन्दन’ गरिन्थ्यो। उनीबाट लिखित तथा अनूदित बौद्ध साहित्य भने मेरा लागि अध्ययनको खुुराक हुन्थ्यो।

धर्म दर्शनका कतिपय कुराहरू प्रायः सुनिने र पढिने भए पनि बोधगम्य नहुँदा पाठक अलमलिने वा भड्किने गर्छन् तर उनका प्रवचन र धर्मसम्बन्धी लेखनको भाषा भने साह्रै सरल हुन्थे।

‘दुःख’ सँग अनभिज्ञ को होला ? यो शब्दलाई बुुझ्ने र बुुझाउने काम बौद्ध धर्म–दर्शनले गर्दै आएको छ। बौद्ध धर्म–दर्शनले गर्ने दुःखको परिभाषा समेटिएकाे म्यानमारबाट प्रकाशित पुस्तकलाई उनैले नेपालीमा ‘बुद्ध र बुद्धवाद’ शीर्षकमा अनुवाद गरेका थिए। मेराे लुम्बिनी भेटमा उनीसँग नेपालमा बौद्ध धर्मका गतिविधि र प्रवर्द्धनका लागि अपनाउनुपर्ने रणनीति बारे पनि कुराकानी भएको थियो।

१५–१८ नोभेम्बर, २०१४ मा लुम्बिनीमा सम्पन्न अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको सूत्रधार भिक्षु ज्ञानपूर्णिक महास्थविर नै हुन्। सम्मेलनका लागि तयारी हुँदै गर्दा यसै सम्बन्धमा कुरा गर्न ज्ञानपूर्णिकले मलाई सम्झिएको सन्देश भिक्षु निग्रोध महास्थविर मार्फत प्राप्त भयो। म एकदिन दिउँसो नयाँबानेश्वरस्थित विश्व शान्ति विहारमा पुगें। सम्मेलनको मुख्य उद्देश्य भन्दा फरक कार्यपत्रहरू प्रस्तुत नहोऊन् भन्ने आशय उनको थियो। त्यसक्रममा मैले पनि लुम्बिनी सम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने टुंगो भयो।


ज्ञानपूर्णिकको ज्ञान-यात्रा

सूर्यलाल शाक्य र चन्द्रमाया शाक्यका कान्छा छोरा हीरालाल शाक्य नै भिक्षु ज्ञानपूर्णिक महास्थविर हुन्। उनको जन्म १ नोभेम्बर १९३९ मा पाल्पाको तानसेनमा भएको थियो।

११ वर्षको उमेरमा भिक्षु बनाउनका लागि आमाले बालकलाई भिक्षु बुद्धघोष महास्थविरको हातमा सुुम्पेकी थिइन्। उनै गुरुको चाँजोपाँजोमा उच्च शिक्षा अध्ययनका लागि १६ वर्षको उमेरमा उनी म्यानमार पुगे।

सन् १९५६ अगष्ट १५ मा म्यानमारका सुप्रसिद्ध अग्गमहापण्डित भिक्षु विशुद्धाभिवंश महास्थविरबाट श्रामणेर दीक्षा (भिक्षु हुनुअघिको अवस्था) प्राप्त गरी गृहस्थ नाम छाडेर उनी श्रामणेर ज्ञानपूर्णिक बने। २० वर्षको उमेरमा अर्थात् १२ अप्रिल १९५९ मा अभिधज राष्ट्रगुरु सयादो सुरियाभिवंश महास्थविरको उपाध्यायत्वमा उपसम्पदा लिई पूर्ण भिक्षु भए। बौद्ध शिक्षाको गहन अध्ययन र ध्यान अभ्यासका लागि प्रसिद्ध यांगूनस्थित महाखन्ध सीमा उपोसथागारमा उनको प्रारम्भिक भिक्षु जीवन बितेको थियो।

११ वर्षको म्यानमार बसाइँका क्रममा सन् १९६३ मा ‘सासनधज धम्मचरिय’ उपाधि हासिल गरे। याे उपाधि हासिल गर्ने ज्ञानपूर्णिक पहिलो नेपाली भिक्षु थिए। यही उपाधि यसअघि अनागारिका धम्मावतीले प्राप्त गरेकी थिइन्। विशुद्धाराम पालि तक्षशिला एवं माण्डलेस्थित विज्जालंकर विद्यालयबाट पनि विविध विषयमा उच्च शिक्षा हासिल गरेका थिए।

सन् १९६४ देखि १९६६ सम्म म्यानमारको बुद्ध शासन काउन्सिलको प्रकाशन संस्थामा औपचारिक रूपले सरकारी स्तरमा रही पालि बर्मिज विश्व शब्दकोशको सम्पादन कार्यमा सरिक भए। उनी नेपालभाषा, नेपाली, हिन्दी, अंग्रेजी, पालि, संस्कृत र बर्मिज गरी सात भाषाका ज्ञाता भएबाट बौद्ध साहित्य र संस्कृति फैलनमा ठूलो मद्दत पुुग्यो।

नेपाली अनागारिका धम्मावतीको जीवनीमा आधारित बर्मिज लेखक खेँ थ्वँद्वारा लिखित उपन्यास ‘यःम्ह म्ह्याय्’ का लागि नेपालभाषा साहित्य क्षेत्रको प्रतिष्ठित पुरस्कार ‘श्रेष्ठ सिरपा’ प्राप्त भएको थियो। यो उपन्यास पछि नेपाली भाषामा ‘स्नेही छोरी’ नामबाट पनि अनुवाद भएको छ। उनीबाट ६० भन्दा बढी ग्रन्थहरूको अनुवाद, सम्पादन तथा लेखन भएका छन्।

भिक्षु ज्ञानपूर्णिक महास्थविरको अर्को पाटो ‘अभिधम्म’ माथिको पकड हो। बौद्ध धर्म र दर्शनको सूक्ष्मातिसूक्ष्म अध्ययन अभिधम्ममा गरिन्छ। बौद्ध धर्मको उच्च अध्ययनपछि उनले विश्वप्रसिद्ध विपश्यनाचार्य भिक्षु शोभन महास्थविर (महाशी सयादो) को छत्रछायाँमा रही विपश्यना ध्यानको ज्ञान लिएका लिए। उनै ध्यान गुरुले भारत र नेपालको भ्रमणको क्रममा दिएका प्रवचनलाई भिक्षु ज्ञानपूर्णिकले भाषानुवाद गरेका थिए। ज्ञानपूर्णिक एक विद्वान्, लेखक, अनुवादक र प्रवीण वाचकका रूपमा परिचित थिए।


बौद्ध धर्मको प्रचारप्रसारमा उनको योगदानसँग अन्तर्राष्ट्रिय सम्पर्क पनि अझै फराकिलो हुँदै गएको थियो । यस क्रममा अमेरिका, बेलायत, मंगोलिया, फ्रान्स, जर्मन, मलेशिया, जापान, साइबेरिया, इन्डोनेशिया, सिंगापुर, श्रीलंका, थाइल्याण्ड, र अष्ट्रेलियासम्म पुगी धर्म सम्बन्धी प्रवचन दिई धर्मदूतका रूपमा काम गरेका थिए। धर्म क्षेत्रमा पुुर्‍याएको योगदानलाई कदर गर्दै अमेरिकाको टेनेसीस्थित बुद्धिष्ट टेम्पलको विहार प्रमुखको रूपमा एक वर्ष बसेका थिए।

उनको योगदानको कदर गर्दै म्यानमारको विपश्यना केन्द्रबाट कर्मस्थानाचार्य उपाधिबाट विभूूषित गरिएको छ। म्यानमार सरकारको तर्फबाट उनलाई  अग्गमहासद्धम्मजोतिकधज र अग्गमहापण्डितको उच्च धार्मिक पदबाट समेत सम्मानित गरिएको छ।

ज्ञानपूर्णिकलाई सन् २०१३ मा थाइल्याण्डको महामुकुट बौद्ध विश्वविद्यालयको तर्फबाट बौद्ध अध्ययनमा र सन् २०१६ मा महाचूलालङ्कर्न राजविद्यालयबाट पालिमा पीएचडी उपाधिबाट पनि विभूषित गरिएको थियो। नेपाल सरकारबाट पनि उनी परमपूज्य (हिज होलिनेस) पदबाट सम्मानित गरिएको थियो।

नेपालमा विभिन्न विहारको निर्माण तथा नयाँ भिक्षुहरूको उत्पादनमा उनको योगदानलाई सम्झने गरिन्छ। ललितपुरको थेचोमा वेलुवनाराम विहार, मंगलबजारको पटकोमा मणिमण्डप विहार र काठमाडौंको नयाँबानेश्वरमा विश्व शान्ति विहारको स्थापना उनैले गरेका थिए।

लामो समयदेखि उनी मधुमेह रोगबाट पीडित उनी आफ्नै पहलमा लुम्बिनीमा सम्पन्न अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा भने सहभागी हुन सकेनन्। दुई महीनाको अस्पताल बसाइँपछि १९ असार बिहान निधन भएका उनकाे अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ शंखमूलमा २१ असारमा सम्पन्न भयो। 

अन्तर्राष्ट्रिय क्षेत्रबाट आएका शोक–सन्देशहरूबाट पनि आकलन गर्न सकिन्छ, उनले अन्तर्राष्ट्रिय बौद्ध क्षेत्रमा राम्रै प्रभाव जमाएका रहेछन्। विभिन्न देशले उनको अस्तु राखेर चैत्य बनाउने भएको छ। 

प्रतिकृया दिनुहोस