कोभिड-१९ शनिबार, असार २०, २०७७

काठमाडौं उपत्यकाको ढलमा भेटियो कोरोनाभाइरस, समुदायमा संक्रमण फैलिएको आशंका

रामु सापकोटा

काठमाडौं उपत्यकाको ढलमा भेटियो कोरोनाभाइरस, समुदायमा संक्रमण फैलिएको आशंका
सेन्टर फर मोलिक्युलर डायनामिक नेपाल (सीएमडीएन) अनुसन्धानकर्ता ढलकाे नमूना संकलन गर्दै ।

सेन्टर फर मोलिक्युलर डायनामिक नेपाल (सीएमडीएन) नामक संस्थाले गरेको अनुसन्धानबाट काठमाडौं उपत्यकाभित्रको ढलमा कोरोनाभाइरस (सार्स–२) भेटिएको छ।

सीएमडीएनका संस्थापक तथा अनुसन्धानकर्ता दिवेश कर्माचार्यले हिमालखबरसँग कुरा गर्दैै काठमाडौं उपत्यकाका चार ठाउँबाट ढलको नमूना संकलन गरेर अनुसन्धान गर्दा दुई ठाउँमा कोरोनाभाइरस फेला परेको बताएका छन्।

“कुन कुन ठाउँको ढलमा कोरोना कोरोनाभाइरस (सार्स–२) भेटिएको भन्ने बारे अहिले खुलाउँदैनौं,” कर्माचार्य भन्छन्, “यसबारेको प्रतिवेदन स्वास्थ्य मन्त्रालयमा बुझाउने छौं।”

उनका अनुसार, संक्रमित व्यक्तिको दिसा मार्फत कोरोनाभाइरस ढलमा देखिएको हो।

काठमाडौं उपत्यकाको वातावरणमा कोरोनाभाइरस फैलिएको वा नफैलिएको भन्ने बारेमा अनुसन्धान गरेर हेर्दा ढलमा भाइरस फेला परेको उनी बताउँछन्।

करीब ३० जना अनुसन्धानकर्ताहरु सहभागी उक्त अनुसन्धानका क्रममा एक ठाउँबाट तीनदेखि चार वटा ढलको नमूना लिइएको थियो।

अनुसन्धानकर्ताहरुले काठमाडौं उपत्यकाबाट गएको एकदेखि दुई हप्ताभित्र ढलको नमूना लिएर प्रयोगशाला मार्फत कोरोनाभाइरस भए वा नभएको परीक्षण गरेर हेरेका थिए।

यो अनुसन्धान गर्न तीन महीना लागेको थियो।

“जुन टोलको ढलमा कारोनाभाइरस देखिएको छ, स्वास्थ्य मन्त्रालयले त्यो ठाउँका सबै स्थानीयहरुको स्वास्थ्य परीक्षण गर्नुपर्ने आवश्यकता भएको यो अनुुसन्धानले औंल्याएको छ,” अनुसन्धानकर्ता कर्माचार्य भन्छन्।

सीएमडीएनका संस्थापक तथा उक्त अनुसन्धानका सुझावकर्ता डा. समिरमणि दीक्षित अनुसन्धानको नतिजाले समुदायमा कोरोनाभाइरसको संक्रमण फैलिएको बलियो संकेत गरेको बताउँछन्।

उनी भन्छन्, “ढलमा एक जना व्यक्तिको मात्र नभएर धेरै जना व्यक्तिबाट निस्केको दिसाबाट संक्रमण भेटिएको हुनसक्ने देखिएको छ।”

प्रयाेगशालाले देखाएकाे नतिजा ।

तर उनी समुदायमा संक्रमण फैलिए पनि काठमाडौं उपत्यकामा सिकिस्त तथा मृत्यु भएका बिरामीको संख्या धेरै नदेखिएकाले अधिकांश संक्रमित आफै निको भएको हुनसक्ने बताउँछन्।

डा. दीक्षित सरकारले परीक्षणको दायरा अझै बढाउनुपर्ने र कोरोनाभाइरसको संक्रमण वातावरणमा फैलिएको वा नफैलिएको भन्ने बारेमा यस्तै संस्थाहरु मार्फत सहकार्य गरेर अनुसन्धानका क्रियाकलाप बढाउनु पर्ने बताउँछन्।

“कतिपय विदेशबाट आएकालाई परीक्षण विना फर्काइएको छ भने कतिपय शंकास्पद व्यक्तिको कोरोनाभाइरस जाँच हुन सकेको छैन”, उनी भन्छन्, “त्यसैले समुदायमा संक्रमण फैलिन नदिन परीक्षणको काम व्यापक बनाउनुपर्छ।”

 

प्रतिकृया दिनुहोस