रिपोर्ट शनिबार, असार २०, २०७७

सरकारी सेवामा पहिलो महिला माहुत हिमानी भन्छिन्- महिला कोही माहुत नबनून् !

मुकेश पोखरेल

सरकारी सेवामा पहिलो महिला माहुत हिमानी भन्छिन्- महिला कोही माहुत नबनून् !
हिमानी थारु । तस्वीर: मुकेश पाेखरेल ।

कक्षा १० मा पढ्दै गर्दा लोकसेवा आयोगमा नाम निकालेकी पहिलो महिला माहुत हिमानी थारु कामका क्रममा भोग्नुपरेको असहयोग, असुविधा र दुर्व्यवहारका कारण यो पेशाप्रति असन्तुष्ट छिन्।

हिमानी थारु (२७) हात्तीकै सेरोफेरोमा हुर्किइन् । बर्दियाको ठाकुरबाबा नगरपालिका–९ की उनी विद्यालय आउँदा–जाँदा बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा माहुतहरूले हात्तीको हेरचाह गरेको देख्थिन् । तर, न हात्तीप्रति उनको चाख थियो, न माहुतको कामप्रति रुचि । उनको इच्छा थियो– कक्षा १२ सम्म पढेर जागिर खोज्ने।

तर, नसोचेको बाटोमा हेलिंदै उनी हात्तीकै संसारमा पुगिन् । कक्षा १० मा पढ्दै गर्दा २०६८ सालमा लोकसेवा आयोगले बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारका लागि माहुतको विज्ञापन निकाल्यो । जसमा एक जना महिला पनि मागिएको थियो।

उनलाई साथीसँगी र आफन्तजनले आवेदन दिन सल्लाह दिए । ‘सरकारी जागिर हो, राम्रो हुन्छ’ भनेर सबैले हौस्याएपछि उनले फारम भरिन् । “३५ जनाले आवेदन दिएका थिए, त्यसमध्ये मेरो नाम निस्कियो”, उनले सुनाइन्।

सरकारी सेवामा उनको प्रवेशले बुवाआमा, आफन्तजन र साथीहरू त खुशी भए । तर, उनको भने कठिन दिन शुरु भए।

ठूलो हात्ती, ठूलै दुःख !

हिमानीले माहुतले हात्तीको स्याहार सुसार गरेको, घाँस ल्याएको, चराउन जंगल लगेको वर्षौंदेखि देखेकी थिइन् । त्यो काम अब उनको जिम्मेवारी बनेको थियो । तर, उनीसँग त्यसको अनुभव नै थिएन।

उनले हात्तीको दिसा सोहोर्ने, दाना खुवाउने, चराउन जंगल लैजाने, घाँस काट्ने, सेनासँगै जंगलमा गस्ती जाने काम गर्नुपथ्र्यो । नयाँ काम गर्दै सिक्दै जानुको विकल्प थिएन।

त्यसमा पनि सहकर्मीबाट उनले सहयोगको साटो व्यवधान मात्र पाइन् । निकुञ्जको हात्तीसारमा ३० जना माउतेमध्ये उनी बाहेक सबै पुरुष थिए । पुराना सहकर्मीले सिकाउनुको सट्टा अपमान र असहयोग गरेको हिमानी बताउँछिन्।

उनलाई शुरुमा सानो हात्ती हेर्ने जिम्मा दिइएको थियो । तर, हात्तीले नटेर्दा उनी धुरुक्क हुन्थिन् । त्यसमाथि सहकर्मीहरूले उल्टै सताउँथे । नयाँ काममा असहयोग भोग्नुपर्दा उनी हत्तुहैरान बन्थिन्।

“साथीहरूले कहिले जंगलको बीचमा एक्लै छोडिदिंदा ठाउँ थाहा नपाएर म हराउँथें, कहिले नदीमा हात्तीलाई हुल्दिन्थे”, उनी भन्छिन्।

पुरुष माहुतहरू आफ्नै अगाडि अश्लील कुराकानी गर्नेे, त्यसबारे सम्झाउँदा उल्टै हप्काउने जस्तो दुव्र्यवहार पनि हिमानीले भोग्दै आएकी छिन् । पुरुष सहकर्मीहरूले फोहोर शब्द बोलेको भन्दै एक–दुई पटक त माथिल्लो तहमा मौखिक उजुरी पनि गरिन् । तर, सुनुवाई भएन । “सुनुवाई नभएपछि उजुरी गर्नै छोडें”, उनी भन्छिन्।

सबै पुरुष माहुतको बीचमा एक्लो महिला भएकाले कसरी सताउन र दुःख दिन सकिन्छ भनेर हेरिएको उनको बुझाइ छ । “अरु दुई–चार जना महिला भएको भए उनीहरू छाडा हुन सक्दैनथे”, उनी भन्छिन्।

“त्यहाँ पनि महिलाका लागि बस्ने र सुत्ने छुट्टै व्यवस्था हुँदैन । एउटै कोठामा १५/१६ जना सेना सुतेको ठाउँमा सुत्नुपर्छ”, उनी समस्या सुनाउँछिन्। त्यसमा पनि सैनिक जवानहरूले बोल्ने फोहोर शब्द सुन्नुपर्ने उनको गुनासो छ।

एउटा ठूलो हात्तीको हेरचाहका लागि सामान्यतया तीन जना माहुत हुन्छन् । हात्तीलाई घाँस काट्न पुरुष सहकर्मीहरूसँगै जानुपर्ने र निकुञ्ज कार्यालय र पोस्टहरूमा महिलाका लागि सुत्ने छुट्टै कोठा नहुँदा एउटै कोठामा बिस्तरा लगाएर सुत्नुपर्ने उनको बाध्यता छ।

माउतेको जिम्मेवारी हात्तीको स्याहारसुसार बाहेक पर्यटक घुमाउन जंगल जाने, सेनासँग गस्ती गर्ने पनि हो । गस्ती गर्न जाँदा जंगलमै बास बस्नुपर्ने पनि हुन्छ । निकुञ्जभित्रका विभिन्न पोष्टमा सेनासँग बस्नुपर्छ।

“त्यहाँ पनि महिलाका लागि बस्ने र सुत्ने छुट्टै व्यवस्था हुँदैन । एउटै कोठामा १५/१६ जना सेना सुतेको ठाउँमा सुत्नुपर्छ”, उनी समस्या सुनाउँछिन्। त्यसमा पनि सैनिक जवानहरूले बोल्ने फोहोर शब्द सुन्नुपर्ने उनको गुनासो छ।

असहयोग, असुविधा र दुव्र्यवहारको सिलसिला भोग्दै आउँदा सरकारी सेवामा कार्यरत मुलुककै पहिलो महिला माहुत हिमानीलाई आफ्नो पेशाप्रति नै वितृष्णा पैदा भएको छ । उनी आफूले भोगे जस्तो सास्ती अरुले नपाऊन् भन्ने कामना गर्दै भन्छिन्, “माहुतको जागिर खान कोही पनि महिला नआऊन् । एकदमै धेरै दुःख छ।”

असन्तुष्टिलाई थिच्ने सरकारी सेवा

निकुञ्जका जागिरेको निकुञ्ज क्षेत्रका विभिन्न पोष्टमा सरुवा भइरहन्छ । त्यस्ता पोष्ट जंगलको बीच भागतिर हुन्छन्, जहाँ एक्लै हिंडेर आउ–जाउ गर्न गाह्रो हुने भएकाले समस्या हुने हिमानी बताउँछिन्।

उनी २२ महीना बबई उपत्यकामा बसिन् । उनका अनुसार, उक्त ठाउँ बर्दिया राष्ट्रिय निकुञ्जको सबैभन्दा दुर्गम हो । गाडीको सुविधा नभएको त्यहाँ हिंडेर पुग्न ६ घण्टाभन्दा बढी लाग्छ। “त्यहाँ काम गरुन्जेल म सात महीना एक चोटि पनि घर आइनँ”, उनी भन्छिन्।

पसल र सेवा–सुविधा नभएको ठाउँमा बस्दा सबैभन्दा समस्या महीनावारीको वेला हुने उनी बताउँछिन् । “जंगलमा बस्दा महीनावारीको वेला प्याड सकिएको वेला पसल भएको ठाउँसम्म एक्लै आउन सम्भव हुँदैन, पुरुषलाई ल्याइदेऊ भन्न नसकिने भएकाले एकदम गाह्रो हुँदो रहेछ”, भोगाइ सुनाउँछिन्।

गएको कात्तिकमा उनको सरुवा बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य कार्यालयमा भएको छ । पहिला यहाँ पनि पुरुषहरू सुत्ने कोठामै बस्नुपर्ने बाध्यता थियो । तर, तीन महीनादेखि उनको लागि छुट्टै कोठाको व्यवस्था गरिएको छ।

“झिटीगुन्टा लिएर घर जान्छु भनेर धेरै पटक प्रयास गरे पनि साथीहरुले सम्झाइबुझाइ गरेपछि अहिलेसम्म टिकेकी छु, तर कहिलेसम्म यसरी काम गर्ने भनेर आफैंलाई थाहा छैन”, हिमानी भन्छिन् ।

उनले निकुञ्जमा कामको क्रममा चारित्रिक आक्षेप पनि भोग्नुपरेको छ । कुनै पुरुषसँग बोल्दा वा सहयोग लिंदा उसैसँग जोडेर चरित्रमाथि नै प्रश्न उठाइएको उनी बताउँछिन् । “एक जना दाइले मलाई अप्ठेरो पर्दा सहयोग पनि गर्नुहुन्थ्यो, त्यसकै आधारमा उहाँसँग मेरो नाम जोडेर लाञ्छना लगाइयो”, उनी भन्छिन्, “भोलिका दिनमा सत्य त पुष्टि भइहाल्छ, केही फरक पर्दैन भनेर चुप बसें । तर, त्यही कारण नै त्यो दाइको सरुवा गरियो।”

यिनै विभिन्न कारणले जागिर छोड्ने सोचमा हिमानी धेरै पटक पुगिन् । तर, परिवार र साथीहरूले सरकारी जागिर छाड्न नहुने भनेकाले अहिलेसम्म जसोतसो काम गरिरहेकी छिन्।

“झिटीगुन्टा लिएर घर जान्छु भनेर धेरै पटक प्रयास गरे पनि साथीहरुले सम्झाइबुझाइ गरेपछि अहिलेसम्म टिकेकी छु, तर कहिलेसम्म यसरी काम गर्ने भनेर आफैंलाई थाहा छैन”, उनी भन्छिन् । अन्यत्र जागिर पाए छोडेर जाने उनको सोच छ।

प्रतिकृया दिनुहोस