टिप्पणी आइतबार, असार २१, २०७७

गुरुपूर्णिमा: हिन्दू र बौद्धको साझा पर्व

वसन्त महर्जन

गुरुपूर्णिमा: हिन्दू र बौद्धको साझा पर्व

बौद्ध समाजका लागि असार पूर्णिमा बुद्धद्वारा पहिलो पल्ट धर्मचक्र प्रवर्त्तन भएको दिन मात्रै नभएर बोधिसत्व (भविष्यमा बुद्ध बन्ने सत्व) गर्भ प्रवेशको दिन पनि हो ।

असार पूर्णिमाको अर्को नाम गुरुपूर्णिमा पनि हो । यस दिन गुरु वेदव्यासको जन्म भएको मान्यता हिन्दू धर्मावलम्बीमा छ र उनैको सम्मानमा गुरुपूर्णिमा मनाइएको भनाइ छ । ठीक यही दिन गौतम बुद्ध (इ.पू. ५६३–४८३) ले पहिलो पल्ट धर्म देशना गरेका थिए र त्यसैको सम्झनामा धर्मचक्र प्रवत्र्तन दिवस मनाउने चलन छ । तिब्बती बौद्ध परम्परामा ‘चोकोर दुछेन’ भनी छैटौं महीनाको चौथो दिनमा मनाइन्छ। संयोग नै भन्नुपर्दछ, हिन्दू समाजमा जस्तै यस दिन बौद्धहरू पनि गुरुको महिमा गाएर गुरुपूर्णिमा मनाउँछन् तर सन्दर्भविशेष भने अलग अलग रहेको छ।

वसन्त महर्जन

बौद्ध समाजका लागि असार पूर्णिमा बुद्धद्वारा पहिलो पल्ट धर्मचक्र प्रवर्त्तन भएको दिन मात्रै नभएर बोधिसत्व (भविष्यमा बुद्ध बन्ने सत्व) गर्भ प्रवेशको दिन पनि हो । असार पूर्णिमाका दिन कपिलवस्तुमा ठूलो उत्सवको आयोजना हुने परम्परा रहेको र यही दिन मायादेवीले राति स्वप्नमा सेतो हात्ती गर्भमा प्रवेश गरेको सपना देखेकी थिइन् भन्ने सन्दर्भ बौद्ध ग्रन्थहरूमा पाइन्छ । दश महीनापछि लुम्बिनीमा बोधिसत्वको जन्म भएको थियो भने उनै बोधिसत्वले २९ वर्षको उमेरमा गृहस्थ जीवन त्याग गरेका थिए। यस घटनालाई बौद्ध समाजमा ‘महाभिनिष्क्रमण’ भन्ने गरिन्छ।

बौद्ध साधनाका क्रममा ऋद्धिबल (अलौकिक शक्ति) प्राप्त हुनुलाई साधारण कुरा मानिन्छ। अर्हत्व (मुक्ति) प्राप्त भिक्षुहरूमा नै पनि यस्तो क्षमता प्राप्त भइसकेको हुन्छ। तर बुद्ध ऋद्धिप्रातिहार्य प्रदर्शनमा खासै महत्व दिंदैनथे र भिक्षुहरूलाई पनि अत्यावश्यक ठाउँमा बाहेक अन्यत्र यस्तो प्रदर्शन गर्नमा रोक लगाएका थिए।

सर्वसाधारण यस्ता अलौकिक कुरामा नै भुल्ने र धर्ममार्गबाट विचलित हुने संभावना भएकाले अलौकिक शक्ति प्रदर्शन गर्नमा रोक लगाएको भनेर बुझ्न सकिन्छ। तीर्थङ्कर नामका अन्य एक सम्प्रदायले गौतम बुद्ध र उनका अनुयायीहरूको खिसी गर्दै बुद्धसँग त्यस्तो कुनै ऋद्धिबल नभएको प्रचार गरिरहेका थिए । सत्यतथ्य जानकारी गराउन स्वयं बुद्धले एउटा आँप खाएर त्यसको कोया माटोमा रोपेर रूख उमार्नुका साथै आँप फलाएर अन्यलाई खुवाई तीर्थङ्करहरूको अहंकारलाई दमन गरेको दिन पनि असार पूर्णिमाकै दिनमा परेको थियो भन्ने सन्दर्भ पनि बुद्धजीवनीमा पढ्न पाइन्छ।

शिशु जन्मेको सातौं दिनमा आमा मायादेवीको मृत्यु भएको थियो । मृत्युपछि मायादेवी त्रायंतीश नामको देवलोकमा देवपुत्रका रूपमा जन्म लिन पुगेको वर्णन पाइन्छ। बुद्धत्व प्राप्तिको सातौं वर्षमा वर्षावास बस्न बुद्ध त्रायंतीश देवलोकमा पुगेको र आफ्नी आमालाई धर्मोपदेश गरेको घटनालाई पनि महत्वपूर्ण अवसरका रूपमा लिइन्छ।

भनिन्छ, त्रायंतीश देवलोकमा बुद्धद्वारा भएको धर्मदेशना नै ‘त्रिपिटक’ अन्तर्गतको ‘अभिधम्मपिटक’ हो। यस ‘अभिधम्मपिटक’ मा दर्शनका गहनतम विषयवस्तु सङ्ग्रहित छन्।

गौतम बुद्धको महापरिनिर्वाणको दुई महीनापछि भिक्षु महाकाश्यप महास्थविरको नेतृत्वमा राजगृहको सप्तपर्णी गुफामा पहिलो धर्म संगायन सम्पन्न भएको कुरा प्रसिद्ध छ । गौतम बुद्धद्वारा विभिन्न ठाउँ र समयमा व्यक्त धर्मदेशनालाई एकत्रित गर्ने तथा जीवित अर्हत् भिक्षुहरूद्वारा अनुमोदन गराउने काम यस संगायनमा सम्पन्न भएको थियो । यो संगायन पनि असार पूर्णिमाकै दिनबाट शुरू भएको थियो।

बुद्धसँग सम्बन्धित हरेक घटनालाई बौद्धहरू अनुस्मरण गर्नुका साथै त्यसमा निहित धर्मका कुराहरू मनन् गर्दै साधना गर्दछन् । असार पूर्णिमाका दिन एकभन्दा बढी सन्दर्भहरू भए पनि तीमध्ये सबैभन्दा ठूलो प्रथम पल्टको धर्मचक्र प्रवर्त्तनलाई नै मानिन्छ।

गौतम बुद्धले गृहस्थ जीवन त्याग गरी श्रमण परम्परा अनुसार संन्यासी भई गएको थाहा पाएर उनैको नाममा गृहस्थ जीवन त्यागेर श्रमण जीवन अपनाउने पाँच ब्राह्मणलाई इ.पू. ५२८ को असार पूर्णिमाका दिन बुद्धले वर्तमान सारनाथको ऋषिपतन मृगदावनमा पहिलो पल्ट उपदेश गरेका थिए।

बुद्धको उपदेशलाई बोध गर्ने पहिलो र ज्येष्ठ ब्राह्मण कौडिण्य थिए र बुद्धद्वारा पहिलो पल्ट उनी भिक्षु बनाइए । त्यसपछि क्रमशः अन्य चार ब्राह्मणले पनि बुद्धको उपदेश बोध गर्न सफल भए र पाँच जना पुगेपछि पहिलो पल्ट भिक्षु संघको गठन गरिएको थियो। यस प्रकार बौद्धहरू गौतम बुद्धलाई गुरुका रूपमा स्वीकार गर्दछन्।

बौद्ध समाजमा पनि गुरुको महिमा ठूलै रूपमा गाइन्छ। बुद्ध वन्दना गर्ने क्रममा बौद्धहरू उनको गुण स्मरण गर्दछन् र शास्ता (मार्गनिर्देशक) का रूपमा स्वीकार गर्दछन्। बुद्ध कुनै व्यक्तिविशेषको नाम नभएर धर्मबोध गरेपछि प्राप्त हुने पद हो।

धर्म र संघको पनि उही महत्व हुने भएका कारण यी तीनलाई ‘त्रिरत्न’ का रूपमा लिइन्छ । बज्रयानी बौद्ध धर्मले त्यसमा बज्रधरलाई पनि समावेश गरेर सबैलाई एकमुष्ट गुरु सम्बोधन गरेको पाइन्छ । प्रसिद्ध संस्कृत गाथा ‘गुरु बुद्ध गुरु धर्म गुरु संघ तथैवच, गुरु वज्रधरश्चैव तस्मै श्री गुरुभ्ये नमः’ ले गुरुको महिमा बौद्ध दृष्टिकोणबाट कसरी व्यक्त भएको छ भन्ने कुरा खुलाउँछ।

बौद्ध समाजमा ‘धर्मचक्र प्रवत्र्तन दिवस’ मनाउने एउटा परम्परा अन्ततः गुरुसँग सम्बन्धित भएका कारण हिन्दू समाजमा प्रयुक्त शब्द ‘गुरुपूर्णिमा’ सँग बौद्धहरूलाई कुनै आपत्ति छैन। यस दिन कतिपय बौद्धहरू हिन्दू समाजमा जस्तै आफ्नो गुरुको घरमा पुग्ने तथा विधिवत् गुरु पूजा गर्ने पनि गरिन्छ।

यसरी गुरु पूजा गर्ने क्रममा बौद्ध गाथाहरू वाचन गर्ने तथा बौद्ध विधि अनुसार नै सम्पन्न गर्ने गरिन्छ। तर गुरुपूर्णिमा वा पूजा भनेर हिन्दू सन्दर्भलाई मात्र उल्लेख गर्नु र बौद्ध सन्दर्भप्रति उदासीन हुनु मानव संस्कृतिका कतिपय महत्वपूर्ण कुरालाई छुटाउनु हो।

याे पनि पढ्नुहाेस्– 

जयन्ती होइन बुद्ध पूर्णिमा

वैशाख पूर्णिमा : बुद्ध जयन्तीको बहस

बौद्ध खानपानको चियोचर्चा 

राजनीतिमा बौद्ध भिक्षु, नसुहाउँदो व्यवहार

दक्षिण एशियाली बुद्ध

प्रतिकृया दिनुहोस