रिपोर्ट बुधबार, असार १७, २०७७

घरजग्गा कारोबार संकटमा, बिक्रीकाे चाप बढ्याे

रमेश कुमार

घरजग्गा कारोबार संकटमा, बिक्रीकाे चाप बढ्याे
तस्वीर: बिक्रम राई

मूल्य उच्च विन्दुमा पुगिसकेको काठमाडौंको घरजग्गाको कारोबार कोरोनाभाइरस महामारीको धक्कापछि क्रमशः मन्दीको बाटोमा जाँदैछ।

गाडीदेखि घरजग्गा बिक्रीका लागि सूचीकृत गरिने लोकप्रिय अनलाइन हाम्रो बजार डटकममा १४ असारको दिनभरिमा ७८ वटा घर बिक्रीका लागि सूचीकृत गरिए । यो बन्दाबन्दी अघिको औसत समयको भन्दा झण्डै तीन गुणासम्म बढी हो। बन्दाबन्दी अघि दैनिक २०/२५ वटा घर बिक्रीका सूचना राखिने हाम्रो बजारमा पछिल्ला दिनहरुमा दैनिक औसतमा ५०/६० वटा घर बिक्रीका सूचना सूचीकृत हुन थालेका छन् । खाली रहेका व्यावसायिक घर तथा कम्प्लेक्स भाडामा दिनेसम्बन्धी सूचना त असाध्यै बढेको छ।

हाम्रो बजारका प्रमुख कार्यकारी अधिकृत प्रबल साख भन्छन्, “घरजग्गा बिक्री र भाडामा दिन घरधनीहरू बेचैन देखिन्छन्।”

घरजग्गा किनबेचको सूचना राख्ने अन्य वेबसाइटहरूमा पनि पछिल्ला साताहरूमा बिक्रीका सूचना बढिरहेका छन् । घरबजार डटकमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हेमन्त जोशीका अनुसार, पछिल्ला साताहरूमा उनको वेबसाइटमा घरजग्गा बिक्री गर्न इच्छुकहरूले सूचना राख्ने क्रम बढिरहेको छ । “ऋणका कारण घरजग्गा थेग्न नसक्नेहरूका कारण बिक्री चाप बढ्न थालिसकेको छ, आगामी महीनाहरूमा यो थपिने अनुमान छ”, उनी भन्छन्।

घरघडेरी डटकमका सीईओ संगम शर्मा पनि वित्तीय परिबन्दमा परेकाहरूले घरजग्गाको बिक्री गर्न शुरू गरिसकेको र यो क्रम थप बढ्ने अनुमान गर्छन्।

 “बजारमा घरजग्गाको बिक्रीको चाप शुरु भइसकेको छ । कतिपय घरजग्गाका कारोबारीले घरजग्गाको बजार झन् फैलने भनी भ्रम छरिरहेका छन्, तर घरजग्गा बजारमा डरलाग्दो संकट शुरू भएको छ।”

- दिलीप न्यौपाने, भाइस प्रेसिडेन्ट, द रियल्टर्स

बन्दाबन्दी लम्बिंदै जाँदा अर्थव्यवस्थामा निम्तिएको शिथिलताको चोट घरजग्गा क्षेत्रले भोग्न शुरू गरेका संकेत हुन्, यी। ऋण काढेर घरजग्गा खरीद गरेका धनी र लगानीकर्ताले आर्थिक शिथिलताको भार थेग्न नसक्दा बजारमा घरजग्गाको बिक्री चाप शुरु भएको छ।

कतिपय घरजग्गाका कारोबारीहरूका अनुसार, वास्तविक समस्या शुरु भएकै छैन, भदौपछि घरजग्गा क्षेत्रमा गहिरो मन्दी देखापर्नेछ । घरजग्गा कारोबारसम्बन्धी कम्पनी द रियल्टर्सका भाइस प्रेसिडेन्ट दिलीप न्यौपाने भन्छन्, “बजारमा घरजग्गाको बिक्रीको चाप शुरु भइसकेको छ, आय खुम्चिएका कारण खरीदकर्ता घट्ने तर ऋण व्यवस्थापनका लागि बिक्री गर्न खोज्ने बढ्ने हुँदा यो असन्तुलन थप गहिरिएर जाने निश्चित छ।”

शिथिल कारोबार

उब्जनीयोग्य भूमिको जथाभावी प्लटिङ हुन थालेपछि भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले तीन वर्षअघि २०७४ साउनमा जग्गाको कित्ताकाँट गर्न रोक लगाएसँगै देशैभरिको जग्गाको कारोबार शिथिल भएको थियो । कोरोनाभाइरस महामारीले अर्थतन्त्रमा सिर्जना गरेको अप्ठ्यारो परिस्थितिले त घरजग्गा कारोबारमा मन्दी नै शुरू गरेको आकलन गरिएको छ । द रियल्टर्सका न्यौपाने भन्छन्, “कतिपय घरजग्गाका कारोबारीले घरजग्गाको बजार झन् फैलने भनी भ्रम छरिरहेका छन्, तर घरजग्गा बजारमा डरलाग्दो संकट शुरू भएको छ।”

घरजग्गाको द्रुत र अस्वाभाविक मूल्यवृद्धिको प्रमुख कारण थियो, विदेशबाट आउने रेमिटेन्स । त्यसमाथि, रेमिटेन्सकै कारण तरलताको सुविधा पाएका र बढीभन्दा बढी नाफाको होडमा रहेका ब्याङ्क तथा वित्तीय संस्थाले घरजग्गाका लागि मन फुकाएर ऋण पत्याएपछि घरजग्गाको भाउ तीव्र बढ्यो । तर, रेमिटेन्सको गिरावटसँगै घरजग्गाको माग नै घट्ने भएपछि अब घरजग्गाको मूल्यवृद्धिमा ‘ब्रेक’ लाग्ने अनुमान गरिएको छ।

११ चैतमा बन्दाबन्दी शुरू गरिएसँगै देशभरिका मालपोत कार्यालयहरुबाट घरजग्गा किनबेचको कारोबार बन्द भएको थियो । करीब अढाई महीना बन्द भएको कारोबार १ असारमा खुले पनि मालपोत कार्यालयहरुमा पहिले जस्तो घरजग्गा किनबेच गर्नेको भीड छैन । जस्तै, काठमाडौंको एक प्रमुख मालपोत कार्यालय डिल्लीबजार मालपोतमा १४ असारमा जम्मा दुई वटा मात्रै लिखत पारित अर्थात् घरजग्गाको किनबेच भयो । सामान्य अवस्थामा यहाँबाट दैनिक औसत १५ भन्दा बढी कारोबार हुनेगर्थे।

दैनिक औसत ७०/८० वटा घरजग्गा किनबेचको कारोबार हुने ललितपुर मालपोत कार्यालयमा ४०–४५ वटाको हाराहारीमा मात्रै कारोबार भइरहेको छ । अन्य स्थानका मालपोत कार्यालयको स्थिति पनि उस्तै छ (हे. टेबुल)

पछिल्ला दुई दशकमा काठमाडौंको घरजग्गा कारोबारको क्षेत्रले एक–दुई पटक बाहेक अप्ठ्यारो झेल्नुपरेको थिएन । माओवादीको सशस्त्र विद्रोहकालसँगै देशभरिबाट काठमाडौं ओइरिने क्रम शुरू भएको थियो । २०४६ सालको राजनीतिक परिवर्तनपछि बढेको खुलापनसँगै फैलिन थालेको काठमाडौं २०६२/६३ सालको जनआन्दोलनपछि त सबै कुराको केन्द्र भन्ने मान्यता विकसित भयो।

तराई–मधेशमा सशस्त्र समूहहरूको गतिविधिले त्यस क्षेत्रबाट पहिलेभन्दा विस्तारित रूपमा काठमाडौंमा बसाइँसराइँ बढायो । अध्ययन, रोजगारी, स्वास्थ्योपचार सबैका लागि काठमाडौं केन्द्र बनेपछि अन्य शहर छोडेर पनि काठमाडौंमा बस्नेको संख्या पछिल्ला दुई दशकमा ह्वात्तै बढ्यो । जसका कारण काठमाडौंमा घरजग्गाको कारोबार र मूल्य दुवै अभूतपूर्व रूपमा बढ्दै गयो। २०६५ सालमा भने ब्याङ्कको रियल इस्टेटमा अनियन्त्रित लगानीका कारण ‘बबल’ सिर्जना भएर राष्ट्र ब्याङ्कले चालेको कदमा कारण घरजग्गा कारोबार केही सुस्ताएको थियो।

“घरजग्गाको मूल्य सर्वसाधारणले किन्नसक्ने भन्दा माथि पुगिसकेको छ, मूल्य उच्च विन्दुमा पुगिसकेकाले काठमाडौंको घरजग्गाको कारोबार र मूल्य दुवै अब क्रमशः खस्किंदै जान्छ ।”

- प्रकाश तिवारी, प्रोपर्टी बजारका विश्लेषक 

२०७२ सालको भूकम्पपछि काठमाडौंमा जग्गाको माग र कारोबार घट्ने अनुमान गरिएको थियो । तर, त्यसो भएन । झन् आश्चर्यलाग्दो ढंगले जग्गाको मागसँगै मूल्य बढ्यो । भूकम्पपछि हरेक वर्ष जग्गाको कारोबार र मूल्य दोब्बर बढे।

संघीयताको अभ्यासले काठमाडौं केन्द्रित शासन, अवसर र सेवा–सुविधा देशैभरि वितरण हुने भएपछि उपत्यकामा घरजग्गाको मागमा कमी आउने अपेक्षा गरिएको थियो । तर, त्यसो पनि हुन सकेन । कित्ताकाँट रोक्ने सरकारको निर्णयपछि भने घरजग्गाको कारोबार स्थिर रह्यो । गएको वर्ष आएको भू–उपयोग ऐनले पनि जग्गाको वर्गीकरण नगरी कित्ताकाँट गर्न रोकेपछि जग्गाको आपूर्ति धेरै हुन नपाएकाले अहिलेसम्म कारोबार स्थिर छ।

ललितपुरस्थित कान्तिपुर कोलोनीले गरेको प्लटिङ । तस्वीर : गोपेन राई / हिमाल आर्काइभ

अब भने उपत्यकाको घरजग्गा कारोबारमा मन्दी आउने र त्यसको पूर्वसंकेत देखिन थालिसकेको घरजग्गा व्यवसायीहरू बताउँछन् । घरजग्गा किन्ने तयारीमा रहेका उपभोक्ताले आम्दानी खस्किएपछि आफ्नो विचार थाती राखेका छन् । एउटा कुरा प्रष्ट छ, व्यवसाय, रोजगारीमा परेको धक्काका कारण मानिसहरुको आम्दानी खस्किएकाले घरजग्गाको माग घट्दैछ । ब्याङ्क तथा वित्तीय संस्थासँग ऋण लिएर किन्न खोज्ने पनि छैनन् । जसले गर्दा घरजग्गाको माग घटाएको द रियल्टर्सका भाइस प्रेसिडेन्ट दिलीप न्यौपाने बताउँछन्। ग्लोबल आईएमई ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्री पनि घर किन्न वा बनाउन कर्जा चाहनेको माग आगामी महीनाहरुमा घट्ने देख्छन्।

प्रोपर्टी बजारका विश्लेषक प्रकाश तिवारीका बुझाइमा काठमाडौंको घरजग्गाको मूल्य थेग्नै नसक्ने गरी बढिसकेको छ । उनी भन्छन्, “घरजग्गाको मूल्य सर्वसाधारणले किन्नसक्ने भन्दा माथि पुगिसकेको छ, मूल्य उच्च विन्दुमा पुगिसकेकाले काठमाडौंको घरजग्गाको कारोबार र मूल्य दुवै अब क्रमशः खस्किंदै जान्छ।”

मूल्यवृद्धिमा ‘ब्रेक’

पछिल्ला दुई दशकमा काठमाडौंसहित देशैभरिका साना–ठूला शहर र नगरोन्मुख गाउँमा समेत जग्गा छोइनसक्नु गरी महँगिए । जग्गालाई सट्टेबाजीको माध्यम बनाएर ठूलो नाफा कमाउने धन्दा मौलाउँदा घरजग्गाको भाउ मुख–बोलीमा निर्भर भयो । अरुलाई बेचेर नाफा खाने उद्देश्यले घरजग्गामा लगानी गर्ने प्रवृत्तिका कारण यसको भाउ अचाक्ली महँगो हुँदै गयो । दुई दशकमा औसत वार्षिक करीब ४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल भएको र उत्पादनबाट पर्याप्त पूँजी सिर्जना नहुँदा पनि घरजग्गाको मूल्य बढ्ने क्रम थामिएन।

घरजग्गाको द्रुत र अस्वाभाविक मूल्यवृद्धिको प्रमुख कारण थियो, विदेशबाट आउने रेमिटेन्स । विदेशमा कमाएको धन आवासीय प्रायोजन वा खेती गर्न भन्दा ह्वारह्वार्ती नाफा खाने प्रयोजनले जग्गामा हाल्न थालेपछि यसको आकाशिंदो मूल्य थामिएन । त्यसमाथि, रेमिटेन्सकै कारण तरलताको सुविधा पाएका र बढीभन्दा बढी नाफाको होडमा रहेका ब्याङ्क तथा वित्तीय संस्थाले घरजग्गाका लागि मन फुकाएर ऋण पत्याएपछि त घरजग्गाको भाउ तीव्र बढ्यो । तर, रेमिटेन्सको गिरावटसँगै घरजग्गाको माग नै घट्ने भएपछि अब घरजग्गाको मूल्यवृद्धिमा ‘ब्रेक’ लाग्ने अनुमान गरिएको छ।

खरीदको चाप नभएपछि घरजग्गाको मूल्यमा शिथिलता देखिन शुरु गरिसकेको छ । घरजग्गा खरीद–बिक्री एजेन्ट रविन्द्रकुमार श्रेष्ठ भन्छन्, “नयाँ खरीदको माग शून्यसरह छ, बजारमा माग नै नहुने तर आपूर्ति धेरै भएपछि मूल्य के बढ्ला र !”

गएको आर्थिक वर्ष २०७५/७६ मा करीब रु. ८ खर्ब ७९ अर्ब रेमिटेन्स देश भित्रिएको थियो । कोरोनाभाइरसको संक्रमण विस्तार भएर संसारभरि फैलिएसँगै नेपाल आउने रेमिटेन्स घट्न शुरु भइसकेको छ । चैत र वैशाख महीनामा रेमिटेन्स गएको वर्षको यही अवधिको तुलनामा करीब रु. ५५ अर्ब (३८ प्रतिशत) घटिसकेको छ । संसारभरिको आर्थिक मन्दीका कारण वैदेशिक रोजगारीमा गएका नेपालीले रोजगारी गुमाइरहेको र कम्तीमा १० लाख कामदार फर्कन आतुर रहेको सरकारी तथ्यांकका आधारमा आगामी महीनाहरुमा रेमिटेन्स थप ओरालो झर्ने अनुमान गरिएको छ।

खरीदको चाप नभएपछि घरजग्गाको मूल्यमा शिथिलता देखिन शुरु गरिसकेको छ । घरजग्गा खरीद–बिक्री एजेन्ट रविन्द्रकुमार श्रेष्ठ भन्छन्, “नयाँ खरीदको माग शून्यसरह छ, बजारमा माग नै नहुने तर आपूर्ति धेरै भएपछि मूल्य के बढ्ला र !” घरबजार डटकमका सीईओ जोशीका अनुसार, बन्दाबन्दीअघि रु. १ करोड ९४ लाखमा बैना भइसकेको काठमाडौंको एक घर बैना तिर्ने लगानीकर्ताले किन्न अनिच्छा देखाएपछि घरधनीले भर्खरै मूल्य घटेर रु. १ करोड ८० लाखमा अर्कैलाई बिक्री गरेका छन् । “अभर परेकाहरूले घरजग्गा बिक्री गर्न थालिसकेका छन्, धेरैजसो पर्खौ र हेरौं भन्ने मनस्थितिमा छन्, अहिलेकै स्थिति केही समय लम्बिए बजारमा आपूर्ति धेरै हुन्छ”, जोशीले भने।

नेपाल राष्ट्र ब्याङ्कका अनुसार, ब्याङ्क तथा वित्तीय संस्थाले दिएको रु. ३२ खर्ब ३८ अर्ब ऋणमध्ये करीब दुई तिहाई अर्थात् रु. २१ खर्ब १७ अर्ब घरजग्गा धितोमा दिइएको छ । ऋणीले ऋण तिर्ने क्षमता गुमाउँदा ब्याङ्क तथा वित्तीय संस्थाले घरजग्गा लिलामीमा लैजानुपर्ने बाध्यता हुन्छ । त्यसले, बजारमा घरजग्गाको आपूर्ति बढाउँछ।

काठमाडौंको मनमैंजुका सन्जोग ठकुरीले गएको वर्ष बनाएको घर रु. १ करोड १५ लाखमा बिक्रीमा राखेका छन् । त्यस्तै, नाइट क्लबमा काम गर्ने लक्ष्मण रिमालले पनि आम्दानी गुमेको र ब्याङ्कको मासिक किस्ता रु. ६० हजार तिर्न नसक्ने भएपछि घर बिक्रीमा चढाएका छन् । “ब्याङ्कको किस्ता तिर्न नसकेपछि घर बिक्री गर्नुको विकल्प रहेन”, रिमालले भने।

अर्कातिर, ब्याङ्क तथा वित्तीय संस्थामा घरजग्गा धितो राखेका व्यवसायीहरू समेत समस्यामा पर्दा यसको असर घरजग्गाको मूल्यमा देखिनेछ । खाद्यान्न र औषधि बाहेक प्रायः सबै खालका व्यवसाय संकटमा परेपछि त्यसको मार घरजग्गा धितोमा राखेर ऋण लिएका ऋणीलाई पर्न थालेको छ । ऋणीले ऋणको साँवाब्याज तिर्न नसके धितो लिलाम हुने जोखिम हुन्छ । त्यसको पूर्वसंकेत देखिन थालिसकेको छ । केही साताअघि ब्याङ्क अफ एशियाले ऋणीको घरजग्गा लिलामीमा चढाएपछि राष्ट्र ब्याङ्कले हस्तक्षेप गर्दै महामारीका बेला लिलाम नगर्न निर्देशन दिएको थियो।

“ब्याङ्किङ नियम अनुसार लिलामीको प्रक्रिया अगाडि बढाउनुपर्ने थुप्रै ऋणीका धितो लिलामीमा जान नदिएर ब्याङ्कहरुले अहिलेसम्म जेनतेन थेगेका छन्, तर लामो समय थेग्न सक्दैनन् ।”

- परशुराम कुँवर क्षेत्री, सीईओ, ग्लोबल आईएमई ब्याङ्क

ब्याङ्करहरुले राष्ट्र ब्याङ्कको निर्देशन अनुसार असार मसान्तसम्म लिलामीमा नचढाए पनि त्यसपछि थेग्न नसकिने बताउँदै आएका छन् । ग्लोबल आईएमई ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री भन्छन्, “ब्याङ्किङ नियम अनुसार लिलामीको प्रक्रिया अगाडि बढाउनुपर्ने थुप्रै ऋणीका धितो लिलामीमा जान नदिएर ब्याङ्कहरुले अहिलेसम्म जेनतेन थेगेका छन्, तर लामो समय थेग्न सक्दैनन्।”

नेपाल राष्ट्र ब्याङ्कका अनुसार, ब्याङ्क तथा वित्तीय संस्थाले दिएको रु. ३२ खर्ब ३८ अर्ब ऋणमध्ये करीब दुई तिहाई अर्थात् रु. २१ खर्ब १७ अर्ब घरजग्गा धितोमा दिइएको छ । ऋणीले ऋण तिर्ने क्षमता गुमाउँदा ब्याङ्क तथा वित्तीय संस्थाले घरजग्गा लिलामीमा लैजानुपर्ने बाध्यता हुन्छ । त्यसले, बजारमा घरजग्गाको आपूर्ति बढाउँछ। ग्लोबल आईएमईका सीईओ क्षेत्री स्थिति बिग्रंदै गए त लिलाम नै बिक्री नहुने स्थिति आउनसक्ने देख्छन् । उनी भन्छन्, “असर कहाँसम्म पुग्छ भन्न सकिँदैन, घरजग्गा बेचेर ऋण तिरौं भन्ने मान्छेको पनि घरजग्गा बिक्री नहुने जोखिम छ।”

विश्लेषक तिवारी दुई तिहाइ ऋण घरजग्गाको धितोमा भएका कारण सबै व्यवसायमा परेको असरको धक्का एकमुष्ट रूपमा सोझै घरजग्गा क्षेत्रमा पर्ने बताउँछन् । “पाँच प्रतिशत मात्रै घरजग्गा लिलामीको अवस्थामा पुगे पनि असर असाध्यै धेरै हुन्छ”, तिवारी भन्छन् । उनी काठमाडौंको जग्गाको मूल्य २० प्रतिशतसम्म ओर्लने सम्भावना देख्छन् । द रियल्टर्सका न्यौपाने त जग्गाको मूल्य असोजसम्ममा करीब एक चौथाइले घट्ने आकलन गर्छन् । “पुससम्म पुग्दा स्थिति भयावह हुन्छ”, उनी भन्छन्।

नेपाल आवास तथा जग्गा विकास संघका अध्यक्ष मीनमान श्रेष्ठ व्यवसाय सुकेको र आम्दानी घटेर ऋण तिर्ने क्षमता कमजोर भएकाहरूले शुरूमै घरजग्गा बिक्री गर्न थालिसकेका छन् । यो क्रम आगामी महीनाहरुमा बढ्दै जाँदा बजारमा बिक्रीको चाप पर्छ ।

ब्याङ्क तथा वित्तीय संस्थासँग ऋण लिएर घरजग्गा किन्नेको संख्या कति ठूलो छ भने, आवासीय घर बनाउन ब्याङ्क तथा वित्तीय संस्थाले दिने रु. १ करोड ५० लाखसम्मको ऋणको कुल आकार नै रु. २ खर्ब ५९ अर्ब पुगिसकेको छ । अर्थात्, ब्याङ्क तथा वित्तीय संस्थाले दिएको कुल ऋणमध्ये आठ प्रतिशत त आवासीय घर बनाउन मात्रै लगानी गरेको छ । तर, अर्थतन्त्रको मन्दीका कारण आम्दानी सुकेपछि घर बनाउन तथा खरीद गर्न ऋण लिएकाहरूको ऋण तिर्ने क्षमता खस्किन्छ । नेपाल आवास तथा जग्गा विकास संघका अध्यक्ष मीनमान श्रेष्ठ व्यवसाय सुकेको र आम्दानी घटेर ऋण तिर्ने क्षमता कमजोर भएकाहरूले शुरूमै घरजग्गा बिक्री गर्न थालिसकेका छन् । यो क्रम आगामी महीनाहरुमा बढ्दै जाँदा बजारमा बिक्रीको चाप पर्छ।

“घरजग्गा व्यवसायीको अवस्था दयनीय भइसकेको छ, कारोबार ठप्प भएकाले ब्याज तिर्ने रकम पनि छैन ।”

 - नवराज दाहाल, विनायक प्रोपर्टी

यस बाहेक, कुल ऋणको करीब रु. ५ प्रतिशत अर्थात् रु. १ खर्ब ५८ अर्ब व्यावसायिक घरजग्गाको क्षेत्रमा लगानी छ । कारोबार रोकिएपछि घरजग्गा व्यवसायीहरूको पनि ऋण थेग्ने क्षमता कमजोर भइरहेको छ । बैनामाथि बैना लगाएर नाफा कुम्ल्याउने प्रवृत्तिमा लागेका व्यवसायी घरजग्गाको कारोबार खस्किएपछि चरम समस्यामा परिसकेका छन् । संघका अध्यक्ष श्रेष्ठ व्यावसायिक घरजग्गामा ब्याङ्कले लगानी गरेको डेढ खर्बभन्दा धेरै रकममध्ये रु. २० अर्बजति मात्रै जग्गा विकास गर्ने संस्थागत व्यवसायीले उपयोग गरेको बाँकी खुद्रे प्लटिङ गर्नेले चलाएको बताउँछन् । उनी संस्थागत व्यवसायी समस्यामा नपरेको दाबी गर्छन् । “घरजग्गा व्यवसायीको अवस्था दयनीय भइसकेको छ, कारोबार ठप्प भएकाले ब्याज तिर्ने रकम पनि छैन”, विनायक प्रोपर्टीका नवराज दाहालले भने।

व्यवसायको शिथिलताको असर बजारमा लामो समयसम्म रहने भएकाले नयाँ धन सिर्जना हुन लामो समय कुर्नुपर्नेछ । विश्व ब्याङ्कले कोरोनाभाइरसको संक्रमणका कारण सन् २०२२ सम्मै विश्व अर्थतन्त्रमा नकारात्मक असर पर्ने अनुमान गरेको छ । अर्थतन्त्र पुरानै लयमा फर्कन समय लाग्यो भने उपभोक्ताको आम्दानी नबढ्ने भएकाले घरजग्गासहितका ठूलो लगानी चाहिने क्षेत्रमा माग बढ्दैन । घरघडेरी डट कमका सीईओ शर्मा कम्तीमा एक–डेढ वर्षसम्म घरजग्गा क्षेत्रमा मागको बढ्ने देख्दैनन् । उनी भन्छन्, “पहिले नै रकम जम्मा गरेर बसेकाले किन्न सक्छन्, नत्र समग्र अर्थतन्त्रका हरेक क्षेत्रमा समस्या परेका वेला घरजग्गामा कसैले लगानी गर्दैन।”

व्यवसाय उकास्न खेल !

कतिपय घरजग्गा व्यवसायी र डेभलपरहरू भने भूकम्पपछि जस्तै काठमाडौंमा जग्गाको माग थप बढ्ने बताउँछन् । आवास विकास गरी बिक्री गर्ने बृहद् ग्रुपका अध्यक्ष ओम राजभण्डारी विदेशबाट फर्कनेहरूले घरजग्गामा लगानी गर्ने तथा ब्याङ्क तथा वित्तीय संस्थासँग पर्याप्त लगानीको स्पेस रहेकाले घरजग्गामा लगानी बढ्ने तर्क गर्छन् । “तर, त्यसका लागि कोरोनाभाइरसको त्रासदी केही कम हुन्जेल कुर्नुपर्छ”, उनी भन्छन् “कम्तीमा मानिसहरुले निर्णय लिन दुई–तीन महीना कुर्नुपर्छ।”

"अन्य देशमा अर्थव्यवस्था सुस्ताएसँगै घरजग्गा क्षेत्रमा मन्दी आउने भए पनि नेपालमा फरक परिस्थिति छ । व्यावसायिक घर तथा कम्प्लेक्सहरूको माग र मूल्य घट्ने सम्भावना भए पनि आवासीय घर र जग्गाको माग र मूल्य घट्ने सम्भावना छैन ।”

- विनोद सुवेदी, महासचिव, नेपाल रियल इस्टेट अर्गनाइजेसन

नेपाल आवास तथा जग्गा विकास संघका अध्यक्ष श्रेष्ठ व्यवस्थित आवासको माग झन् बढ्ने सम्भावना देख्छन् । “उच्च मूल्यका आवासको बिक्री धेरै नभए पनि विदेशबाट फर्किनेका कारण मध्यम मूल्यका व्यवस्थित आवास (कोलोनी, हाउजिङ) को माग बढ्छ”, उनी भन्छन्।

नेपाल रियल इस्टेट अर्गनाइजेसनका महासचिव विनोद सुवेदी पनि अन्य देशमा अर्थव्यवस्था सुस्ताएसँगै घरजग्गा क्षेत्रमा मन्दी आउने भए पनि नेपालमा फरक परिस्थिति रहेको देख्छन् । “व्यावसायिक घर तथा कम्प्लेक्सहरूको माग र मूल्य घट्ने सम्भावना भए पनि आवासीय घर र जग्गाको माग र मूल्य घट्ने सम्भावना छैन”, उनी भन्छन्।

घरजग्गाको व्यवसाय खस्किएपछि यसलाई बढाउने खेल पनि शुरु भइसकेको छ । कित्ताकाँट रोकिएका कारण घरजग्गाको कारोबार खस्किएको भन्दै घरजग्गा व्यवसायीले यसलाई खुलाउनुपर्ने पक्षमा लबिइङ गर्दै आएका छन् । व्यवसायीहरुकै स्वार्थमा दुई साताअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कित्ताकाँट खुलाउन सरकारलाई निर्देशन दिएको थियो । अख्तियारको निर्देशनलाई देखाएर भूमि व्यवस्था मन्त्रालयले कित्ताकाँट खुलाउने तयारी गरेको छ।

मन्त्रालयका प्रवक्ता जनकराज जोशीले केही दिनभित्रै कित्ताकाँटका सम्बन्धमा नयाँ व्यवस्था गरिन लागेको जानकारी दिए । भू–उपयोग ऐनले भने जग्गाको वर्गीकरण गरेपछि मात्रै आवासीय भनी छुट्याइएका जग्गामा मात्रै घर बनाउन कित्ताकाँट गर्न दिने उल्लेख गरेको छ । तर, मन्त्रालयले ऐन विपरीत जग्गाको वर्गीकरण नगर्दै कित्ताकाँट खुलाउन लागिएको हो।

प्रतिकृया दिनुहोस