रिपोर्ट मंगलबार, असार १६, २०७७

वैदेशिक रोजगारीको भिसा त्यागेर घरैमा लाखौं कमाउँदै

मुकेश पोखरेल

वैदेशिक रोजगारीको भिसा त्यागेर घरैमा लाखौं कमाउँदै
कर्णराज रोकाया । तस्वीरहरु: मुकेश पाेखरेल

वैदेशिक रोजगारीमा जान ठिक्क परेका बाँकेको गाभर भ्यालीका युवाले भिसा त्यागेर त्यही पैसा होमस्टेमा लगाएका थिए । तीन वर्षपछि घरैमा लाखौं कमाउन थालेका छन्।

बैजनाथ गाउँपालिका–१ गाभर भ्याली बाँकेका कर्णराज रोकाया (३१) को भिसा लागिसकेको थियो । उनी वैदेशिक रोजगारीका लागि युरोपियन देश पोल्याण्ड जाने तयारीमा थिए। काठमाडौंस्थित एक म्यानपावर कम्पनीलाई रु.१ लाख बुझाई सकेर बाँकी रु.५ लाख ५० हजार बुझाउने तयारीमा थिए।

अन्त्यमा उनले वैदेशिक रोजगारमा नजाने निर्णय गरे । “साढे ६ लाख म्यानपावरले मागेको थियो । भिसा आइसकेको थियो” उनी भन्छन्, “विदेश जाने पैसा यहीं लगानी गर्छु भन्ने सोचेर म्यानपावरलाई बुझाएको पैसा पनि माया मारें।”

उनी चार वर्षदेखि सर्लाहीको सागरनाथ परियोजनामा काम गर्थे । जागिर छाडेर युरोपमै बस्ने गरी जान लागेका उनी व्यापारमा लागे । गाउँमै होमस्टे चलाए।

तीन वर्षदेखि होमस्टे सञ्चालनमै रमाइरहेका छन् । उनी भन्छन्, “घरपरिवारसँंगै बसेर काम गर्न पाएको छु । आम्दानी राम्रै छ । सरदर मासिक रु.५० हजार बचत भएको छ । पोल्याण्डमा रु.६० हजार पाउने कुरा थियो ।”

सोही ठाउँका अनिल थापा पनि वैदेशिक रोजगारीमा दुबई जाने तयारीमा थिए । मलेशिया र साउदीमा आठ वर्ष बिताएका उनी दुबईको भिसा लिने प्रक्रियामा थिए।

“भिसा आउने प्रक्रियामा थियो, विदेश जाँदा खर्च हुने पैसाले गाउँमै केही गरौं भनेर आफ्नै व्यवसाय शुरु गरें”, अनिल भन्छन् । रु.१ लाख ५० हजार लगानी गरेर उनले होमस्टे शुरु गरे । पाँच वर्षमा उनले करीब रु.६० लाखको जायजेथा जोडेका छन्। त्यसमध्ये रु.८ लाख ऋण छ।

अनिल थापा ।

सोही ठाउँका सन्तोष जैसीले पनि भारतबाट फर्केर होमस्टे नै सञ्चालन गरेका छन् । उनले २० महीना भारतमा काम गरे । त्यसपछि आफ्नै गाउँमा होमस्टे खोले । अहिले उनको मासिक आम्दानी रु.१ लाख २० हजारदेखि रु.१ लाख ५० हजारसम्म छ।

होमस्टेबाट कटेज

गाभर भ्यालीमा २०७१ सालबाट होमस्टे शुरु भएको हो । पहिलो चरणमा पाँच घरमा सञ्चालन गरिएको थियो । अहिले १७ घरमा होमस्टे छन् । पाहुनाहरूको आगमनमा भएको वृद्धिसँगै होमस्टेहरूमा कटेज शैलीका घर बनाउन थालिएको छ।

गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्ण चौधरी समयको माग र आर्थिक उपार्जनबाट रोजगारी वृद्धि गर्ने उद्देश्य अनुरुप कटेज बनाउन थालिएको थियो। यसअघि होमस्टेका रुपमा प्रत्येक घरमा दुई वटा कोठा छुट्याइन्थ्यो।

“दुई वटा कोठा मात्र भएर त्यसले रोजगारीमा टेवा पुग्दैन” उनी भन्छन्, “हामीले क्षमता मात्र विस्तार गरेका हौं, संस्कृति, खानपान, अरु सबै गाउँघरकै छ।”

होमस्टे सञ्चालन भएका प्रायः घरमा आधुनिक कटेज छन्। पाहुनाहरूको आवागमनलाई थेग्न क्षमता विस्तार गरेको कर्ण रोकाया बताउँछन्।

कर्णराज रोकायाले पुरानो दुईवटा कोठामा अरु दुईवटा कोठा थप गरेका छन् । त्यसैगरी अनिल थापाले ६ वटा कोठा बनाएका छन्। सन्तोष जैसीले पनि ६ वटा कोठा बनाएका छन्।

होमस्टे कार्यविधि २०६७ मा होमस्टे सञ्चालन गर्ने एक घरमा बढीमा चार वटा कोठा मात्र होमस्टेका लागि सञ्चालन गर्न सकिने उल्लेख छ । “हामी पुरानै ढर्राबाट चलेर हुँदैन, परिवर्तित समय अनुसार चल्न सक्नुपर्दछ, समय अनुसार चल्न सकेर त टिकेका छौं, नभए त सबै विस्थापित हुनेथिए”, जैसी भन्छन्।

गाभर भ्यालीमा पर्यटकहरूको आगमन बढेपछि रोजगारका अरु सम्भावना पनि बढेका छन्। गाउँमा पशु र कुखुरापालन तथा तरकारी र फलफूलको व्यावसायिक उत्पादन बढेको छ। यही ठाउँका बालसिंह कामी, पम्फी थारु र गणेश जैसीले स्थानीय जातका कुखुराको व्यावसायिक उत्पादन शुरु गरेका छन्।

जैसीले एक बिघा जग्गा भाडामा लिएर व्यावसायिक बाख्रापालन पनि शुरु गरेका छन् । होमस्टेमा आउने पाहुनाका कारण गाउँको उत्पादनले बजार पाएको उनी बताउँछन्।

गाभर भ्याली कोहलपुरदेखि करीब सात किलोमिटर उत्तरमा छ । शहरबाट केही टाढा भएको र उत्तरतर्फको हरियाली जंगलले पनि मानिसहरूलाई आकर्षित गरेको छ।

प्रतिकृया दिनुहोस