रिपोर्ट मंगलबार, असार १६, २०७७

फेरि तङ्ग्रिएला त 'लोकल' कुखुरा व्यवसाय ?

मुकेश पोखरेल

फेरि तङ्ग्रिएला त 'लोकल' कुखुरा व्यवसाय ?
बाँकेको बैजनाथ गाउँपालिका–१ का बालसिंह कामी । तस्वीरहरु: मुकेश पोखरेल ।

सानो लगानीबाट स्थानीय जातका कुखुरा पालेर आर्थिक अवस्था सुधार गरिरहेका विपन्न परिवारलाई कोरोनाभाइरसको महामारीले धक्का दिए पनि व्यवसाय फेरि उठ्नेमा उनीहरू आशावादी छन्।

बाँकेको बैजनाथ गाउँपालिका–१ की पदमकला कामीले कडकनाथ र स्थानीय जातका कुखुरा व्यावसायिक रूपमा पाल्दै आएकी छिन् । कोरोनाभाइरस महामारी अगाडि उनलाई कुखुरा बिक्रीका लागि कहिल्यै बजार अभाव भएन । तर, दुई महीनाअघि बेच्न ठिक्क भएका १ हजार ४०० कुखुरा बन्दाबन्दीका कारण बिक्री भइदिएन।

यसले उनलाई आर्थिक रूपमा ठूलै नोक्सान भयो । घरमा भएको दाना सकिंदै जाँदा किन्नलाई नगद थिएन । पसलेले उधारो पत्याएन । ७०० कुखुरा मरे।

उनका अनुसार, बन्दाबन्दी अघि स्थानीय जातका कुखुरा घरबाटै प्रतिकेजी रु. ७०० का दरले खोसाखोस भएर बिक्री हुन्थे । एउटा कुखुरा सरदर दुई किलोसम्म हुन्छ । यस हिसाबले बन्दाबन्दीमा मरेका कुखुराबाट उनको रु. ९ लाख ८७ हजार नोक्सान भयो । उनी भन्छिन्, “अब ७०० कुखुरा बाँकी छन्, बेच्न नपाउँदा यिनलाई दाना खुवाएर राख्न चर्को परेको छ।”

सानो लगानीबाट स्थानीय जातका कुखुरा पालेर राम्रो आम्दानी गर्न सफल पदमकला जस्ता व्यवसायीहरू कोरोनाभाइरस महामारीपछि मारमा परेका छन् । सानो प्रयासबाट आर्थिक स्थितिलाई सुधार गर्दै लगेका विपन्न परिवार पुनः गरीबीको दुश्चक्रमा पर्ने जोखिम छ।

मीना पुन (वायाँ) र पम्फी थारु।

गुमेको राम्रो आम्दानी, दिन फिर्ने आशा

पाँच वर्षअघि २०० चल्लाबाट स्थानीय जातका कुखुरा पालन शुरू गरेकी पदमकलाले राम्रो आम्दानी हुँदै गएपछि व्यवसाय विस्तार गर्दै गइन्। वैदेशिक रोजगारीमा गएका छोरा बालसिंहलाई दुई वर्षअघि बोलाइन्।

आमासँग मिलेर कुखुरा पाल्दै आएका उनी ५०० कुखुरा बिक्री गर्दा ६ महीनामा खर्च कटाएर कम्तिमा रु.४ लाख नाफा हुने बताउँछन्। “त्यस्तो राम्रो आम्दानी हुन्थ्यो, कोरोना महामारीले अहिले व्यवसाय संकटमा पारे पनि फेरि अवस्था राम्रो होला भन्ने आशा छ”, उनी भन्छन्।

पछिल्लो समय बन्दाबन्दी खुकुलो पारिएसँगै स्थानीय बजारमा कुखुराको खपत हुन थालेपछि भने व्यवसायी किसानहरू केही उत्साहित देखिएका छन्।

बैजनाथ गाउँपालिकाकै वडा नम्बर–४ की मीना पुन पोखराको होटलमा काम गर्थिन् । जागिर छाडेर आफ्नै ठाउँमा व्यवसाय शुरू गर्ने सोच बनाइन् । फैलँदो होमस्टे व्यवसायमा लोकल कुखुराको माग बढेको देखेपछि उनले वार्षिक रु.२ लाख तिर्ने गरी जग्गा भाडामा लिएर कुखुरा पालिन्।

मीनाले ५०० वटा स्थानीय जातका कुखुरा, ३०० टर्की र २०० हाँस पालेकी छन् । उनका अनुसार, बाँकेमा उत्पादित कुखुरा सुर्खेत, जुम्ला, कालिकोटका साथै काठमाडौंसम्म बिक्री हुन्थ्यो । कोरोनाभाइस महामारीपछि बिथोलिएको व्यवसाय सामान्य अवस्थामा फर्किने पर्खाइमा रहेको उनी बताउँछिन्।

बाँकेकै राप्ती सोनारी गाउँपालिका ९ की नुखी रेग्मीकहाँ स्थानीय जातका ५० हाराहारीमा कुखुरा कहिल्यै टुट्दैनन् । उनले घरमा होमस्टे सेवा सञ्चालन गरेकी छिन्। पालेका कुखुरा होमस्टेमा आउने पाहुनाका लागि नै ठिक्क हुने उनी बताउँछिन् । बन्दाबन्दी सकिएपछि १५० वटा कुखुरा थप गर्ने उनको योजना छ।

बाँकेको कोहलपुर नगरपालिकाको खड्गवारमा सामुदायिक होमस्टे सञ्चालन गरिएको छ । होमस्टेका अध्यक्ष लालबहादुर रानाका अनुसार, त्यस क्षेत्रका १७ घरमा ३०/३० वटाका दरले स्थानीय जातका कुखुरा वितरण गरिएको छ।

बैजनाथ गाउँपालिका–१ की पम्फी थारुले स्थानीय जातका २०० कुखुरा पालेकी छिन् । व्यवसाय विस्तार गर्ने योजना बन्दाबन्दीले पर धकेलिएको उनी बताउँछिन्।

“७०० कुखुरा थप्न खोर विस्तार गरिसकेकी थिएँ, तर यो योजना अब बन्दाबन्दी हटेपछि मात्र अघि बढाउँछु”, उनी भन्छिन्।

प्रतिकृया दिनुहोस