थप समाचार सोमबार, असार १५, २०७७

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

रासस

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

प्रदेश सरकारले आज धान दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । जुम्लाबाहेक नौ वटा जिल्लामा सार्वजनिक बिदा दिइएको हो ।

जुम्लामा १२ चैतमा धान दिवस मनाइन्छ । त्यहाँ त्यही दिन बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिए । १२ चैतमा बीउ राख्ने दिनलाई जुम्लामा धान दिवसको रुपमा मनाउने गरिएको खड्काले बताए ।

प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कोभिड–१९ का कारण यो वर्ष औपचारिकरूपमा धान दिवस मनाउन नपाएको बताइन् । यद्यपि किसानलाई भौतिक दूरी कायम गरेर उत्पादनका काममा लाग्न अपिल गरिएको उनको भनाइ छ । किसानका आवश्यकता एवं समस्या सम्बोधनका निम्ति सरकार तत्पर रहेको पनि उनले बताइन् ।

प्रदेश सरकारको गत जेठमा बसेको मन्त्रिपरिषद् बैठकले १२ चैत, असोज कृष्ण त्रयोदशी चन्दनाथ मन्दिरको लिङ्गो बोक्ने मेला (जुम्लामा मात्र), १५ असार, १ साउनमा साउने सङ्क्रान्ति तथा देउडा पर्व, ४ भदौमा प्रदेश स्थापना तथा शहीद दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

त्यस्तै १ माघमा माघे सङ्क्रान्ति (माघी) र चैत्र शुक्ल अष्टमी चैतेदशैंमा बिदा दिने निर्णय गरेको छ । फोत्तोलो ल्होसार सम्बन्धित समुदायको लागि मात्र बिदा दिने पनि प्रदेश सरकारले निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस