रिपोर्ट आइतबार, असार १४, २०७७

कोरोना नियन्त्रणमा उदयपुर र बाँकेले यसरी पाउँदैछन् सफलता

रामु सापकोटा

कोरोना नियन्त्रणमा उदयपुर र बाँकेले यसरी पाउँदैछन् सफलता
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ आफैं सडकमा पुगेर कोरोनाभाइरसको रोकथामबारे सर्वसाधारणलाई बुझाउँदै ।

बाहिरबाट आएकालाई व्यवस्थित रूपमा क्वारेन्टिनमा राख्ने, संक्रमित भेटिएका ठाउँ बन्द गर्ने तथा पीसीआर परीक्षणको दायरा बढाउँदै जाँदा उदयपुर र बाँकेले कोरोनाभाइरस नियन्त्रणमा सफलता पाइरहेका छन्।

रामु सापकोटा (काठमाडौं) र प्रेम विश्वकर्मा (नेपालगञ्ज)

गएको वैशाखमा प्रदेश–१ को उदयपुरमा कोरोनाभाइरस संक्रमणको हटस्पट बन्यो । २ वैशाखदेखि नौ गतेसम्म नमूना संकलन गरेर परीक्षण गर्दा त्रियुगा नगरपालिका–३ भुल्केमा एकै पटक ३२ जना संक्रमित भेटिएका थिए । शुरुआतमै भुल्केको नुरी मस्जिदमा बसेका ११ भारतीय र एक नेपाली गरी १२ जना जमातीमा ५ वैशाखमा संक्रमण पुष्टि भएको थियो । त्यसपछि मस्जिद आसपासको क्षेत्र सिल गर्नुपरेको थियो।

त्यति वेला संक्रमण अनियन्त्रित देखिएको उदयपुरले समयक्रममा संक्रमण विरुद्धको लडाइँमा सफलता पाइरहेको छ । १४ असारसम्म उदयपुरमा कोरोना संक्रमितको संख्या ५९ जना रहेकोमा ४० जना निको भएर घर फर्किसकेका छन्।

उता, बाँकेमा वैशाख अन्तिम सातादेखि कोरोना संक्रमण उत्कर्षमा पुगेको थियो । १९ वैशाखदेखि संक्रमित देखिन थालेको यो जिल्लाको नरैनापुर गाउँपालिका हटस्पट बनेको थियो । २ जेठसम्म नरैनापुरमा आठ जनामा संक्रमण देखिएकोमा ५ जेठमै संक्रमितको संख्या ४७ पुगेको थियो । ४ जेठमा त बाँकेमा संक्रमणबाट पहिलो व्यक्तिको मृत्यु भएको थियो, नरैनापुर गाउँपालिका–५ का २५ वर्षीय युवकको।

भारतबाट फर्कने मानिसहरूको ओइरो लागेर व्यवस्थापन गर्न गाह्रो भएपछि त्यहाँ सेना परिचालन गर्नुपरेको थियो । ३० वैशाखदेखि ४ जेठसम्म संक्रमण नियन्त्रण गर्न हम्मेहम्मे परेको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल बताउँछन्।

यस्तो कठिन अवस्थामा रहेका यी दुई जिल्ला संक्रमण नियन्त्रणमा ल्याउन कसरी सफल भए त ?

उदयपुरको ‘भुल्के मोडल’

देशका विभिन्न ठाउँका क्वारेन्टिनमा अव्यवस्थित बसाइ, आरडीटी परीक्षणमा नेगेटिभ देखिएको आधारमा घर पठाइने र पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिंदा पनि रिपोर्ट आउन असाध्यै ढिलाइ जस्ता समस्या देखिने गरेको छ । यसले पनि संक्रमण फैलाउन भूमिका खेलेको जानकारहरूले औंल्याउने गरेका छन्।

उदयपुरमा भने क्वारेन्टिन बसेका सबैलाई पीसीआर परीक्षण गरेर मात्र नेगेटिभ रिपोर्ट आएपछि घर पठाउने गरेको प्रमुख जिल्ला अधिकारी दीपक पहाडी बताउँछन् । “आरडीटीको नतिजा विश्वसनीय नभएकाले प्रयोग नै गरेका छैनौं”, उनी भन्छन्।

उनका अनुसार, प्रत्येक पालिकामा क्वारेन्टिन बनाइएको छ, जहाँ एउटै ठाउँबाट आएकाहरुलाई एक समूहमा राखेर निगरानी गरिन्छ ।” संक्रमणको प्रभावित क्षेत्र तथा विदेशबाट फर्किएका व्यक्तिलाई १४ दिनभित्र पीसीआर जाँच गर्ने गरिएको उनी बताउँछन्।

जिल्ला जनस्वास्थ्य कार्यालय, उदयपुरका प्रमुख मोहन सुवेदी समुदायमा कुनै व्यक्तिमा संक्रमण देखियो भने त्यो क्षेत्र नै सिल गरेर संक्रमितको सम्पर्कमा पुगेका व्यक्तिहरुको नमूना लिएर परीक्षण गरिने बनाउँछन् । शुरुआतमा संक्रमण तीव्र देखिएको भुल्केमा यही मोडल लागू गरिंदा प्रभावकारी भएको थियो।

शुरुका दिनमा उदयपुरमा स्वाब संकलन गर्ने व्यवस्था र आइसोलेसन बेड नहुँदा अन्यत्र जिल्ला पुग्नुपर्ने, संक्रमितलाई पठाउनुपर्ने बाध्यता थियो । तर, भारतसहितका मुलुकहरूबाट फर्कनेहरूको संख्या बढ्न थालेपछि जिल्लामै स्वाब संकलन र आइसोलेसन बेडको व्यवस्था गरेर उपचार गर्न शुरु गरियो।

जिल्लामा कोरोनाभाइरस संक्रमितको उपचार गर्न २२ बेडको आइसोलेसन वार्ड बनाइएको छ । जहाँ अहिले पाँच जना संक्रमितको उपचार भइरहेको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय, उदयपुरका प्रमुख मोहन सुवेदी समुदायमा कुनै व्यक्तिमा संक्रमण देखियो भने त्यो क्षेत्र नै सिल गरेर संक्रमितको सम्पर्कमा पुगेका व्यक्तिहरुको नमूना लिएर परीक्षण गरिने बनाउँछन् । शुरुआतमा संक्रमण तीव्र देखिएको भुल्केमा यही मोडल लागू गरिंदा प्रभावकारी भएको थियो।

सुवेदीका अनुसार, एउटा समूहमा आएकाहरूको पीसीआर परीक्षण गर्दा केहीलाई नेगेटिभ र केहीलाई पोजेटिभ आएमा नेगेटिभ आएकाहरुलाई क्वारेन्टिनमा नै राखेर एक सातापछि जाँच्दा पुनः नेगेटिभ आए मात्र घर पठाउने गरिएको छ।

“प्रत्येक पालिकाहरूले पीसीआर परीक्षण दर अझै बढाउन न्यूनतम १/१ हजार थान पीसीआर किट खरीद गरेका छन्”, जनस्वास्थ्य कार्यालयका प्रमुख सुवेदी भन्छन्, “सबै स्थानीय तहमा स्वाब संकलनका लागि तालिम दिएर ल्याब असिस्टेन्ट पठाएका छौं।”

उदयपुरमा जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुखसहितका विज्ञहरु सम्मिलित पाँच जनाको कोरोना नियन्त्रण टोली बनाइएको छ । यो टोलीले प्रत्येक पालिकामा तीन जना तालिमप्राप्त जनशक्ति पठाएको छ।

बाँकेको सफलता

बाँके जिल्लाका आठ स्थानीय तहमध्ये संक्रमणबाट सबैभन्दा बढी प्रभावित नरैनापुर गाउँपालिकामा पछिल्लो समय कोरोनाभाइरसको प्रभाव कम भएको छ। भारतबाट मानिसहरू फर्कने क्रम बढ्दा संक्रमण उत्कर्षमा देखिएको नरैनापुरमा त्यो संख्या घटेसँगै संक्रमित थपिएका छैनन्।

बाँकेमा भेटिएका संक्रमितहरूमध्ये अधिकांश भारतबाट फर्कनेहरू थिए । भारतबाट फर्कनेको संख्या घटेको र कन्ट्याक्ट ट्रेसिङ तीव्र पारेका कारण समुदायमा संक्रमण फैलिन नपाएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठ बताउँछन् ।

नरैनापुरमा सञ्चालित १७ वटा क्वारेन्टिन स्थलमध्ये १५ वटा खाली भइसक्नुले पनि संक्रमणको जोखिम घट्न थालेको देखाउँछन् । सञ्चालनमा रहेका दुई वटा क्वारेन्टिनमा २३ जना शंकास्पद बिरामीलाई राखिएको छ। नरैनापुरका ११९ संक्रमित रहेकामा ११७ जना निको भएर घर फर्किसकेका छन्। बाँकी दुईमध्ये एक जनाको उपचार भइरहेको छ भने एक जना २५ वर्षीय युवकको मृत्यु भयो।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह लगायतका सरोकारवाला व्यक्तिहरु नरैनापुर क्षेत्रका क्वारेन्टिनहरुमा अनुगमन गर्दै ।

१४ असार साँझ ६ बजेसम्मको तथ्याङ्क अनुसार बाँकेमा कोरोना संक्रमितको संख्या ३५२ पुगेको छ । जसमध्ये ३०९ जना निको भएर घर फर्किसकेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। आइसोलेसनमा ४१ जना संक्रमित उपचाररत छन्। बाँकेमा नरैनापुरमा एक युवक र बैजनाथ गाउँपालिकामा एक महिला गरी हालसम्म दुई जनाको मृत्यु भएको छ।

बाँकेमा भेटिएका संक्रमितहरूमध्ये अधिकांश भारतबाट फर्कनेहरू थिए । भारतबाट फर्कनेको संख्या घटेको र कन्ट्याक्ट ट्रेसिङ तीव्र पारेका कारण समुदायमा संक्रमण फैलिन नपाएको फोकल पर्सन श्रेष्ठ बताउँछन् । उनका अनुसार, जिल्लामा दैनिक १०० देखि २०० को हाराहारीमा पीसीआर परीक्षण भइरहेको छ।

“संक्रमितलाई व्यवस्थित रुपमा आइसोलेसनमा राखिनु, उचित स्वास्थ्य परामर्श दिनु र परीक्षण तीव्र पारिएका कारण भाइरसको संक्रमण फैलिन नपाएको हो”, श्रेष्ठ भन्छन्।

कोरोना संक्रमितको उपचारमा संलग्न भेरी अस्पताल नेपालगञ्जका मेडिकल विभाग प्रमुख डा. राजन पाण्डे बाँकेमा भेटिएका कोरोना संक्रमितहरूमध्ये एक जना महिलालाई मात्र एक महीनासम्म आइसोलेसनमा राखी अक्सिजन दिएर उपचार गर्नुपरेको बताउँछन् । बाँकी संक्रमितलाई १४ दिनपछि पीसीआर परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएपछि घर पठाइएको थियो।

प्रतिकृया दिनुहोस