रिपोर्ट बुधबार, असार १०, २०७७

स्थानीय तहले महामारीको सामना कसरी गर्ने ? तानसेन नगरपालिकाबाट सिकौं

लक्ष्मी बस्नेत

स्थानीय तहले महामारीको सामना कसरी गर्ने ? तानसेन नगरपालिकाबाट सिकौं
पाल्पाकाे तानसेन नगरपालिका–९ मा बनाइएको सामुदायिक क्वारेन्टिन । तस्वीर: प्रकाश पंगेनी

कोरोनाभाइरस महामारी रोकथाम र नियन्त्रण तथा स्थानीयको जीवन-व्यवहार सहज बनाउन नयाँ अवधारणा अपनाइरहेको पाल्पाको तानसेन नगरपालिकाले शुरू गरेको सामुदायिक क्वारेन्टिन धेरै प्रभावकारी देखिएको छ।

२८ जेठमा तनहुँबाट पाल्पा पुगेका गोपाल कुँवरसहितका चार जना अहिले तानसेन नगरपालिका–११ स्थित सूर्यज्योति प्राविमा बनाइएको क्वारेन्टिनमा छन् । त्यहाँ उनीहरू र भारतबाट आएका गरी सात जना बसिरहेका छन् । यो क्वारेन्टिनको व्यवस्थापन वडासँगको समन्वयमा समुदाय आफैंले गरिरहेको छ।

कुँवरको घरबाट क्वारेन्टिन करीब १५ मिनेटको पैदल दूरीमा पर्छ । घरबाट लगिदिएको भाँडाकुँडा र खाद्यान्नबाट उनीहरू चार जनाले आफैं पकाएर खाने गर्छन्।

स्थानीय सरकार र समुदाय मिलेर बनाइएको यस्तो साना क्वारेन्टिनमा व्यवस्थापनको पाटोसँगै भावनात्मक विषयलाई पनि उत्तिकै ध्यान दिइन्छ। यसले घरमा बसे जस्तै सहज महसुस भएको क्वारेन्टिनमा बस्नेहरूले नै बताउने गरेका छन् भने स्वास्थ्यका दृष्टिले पनि सुरक्षित हुने अनुभव गरिएको छ।

सूर्यज्योति प्राविको सामुदायिक क्वारेन्टिनका व्यवस्थापक रहेका सोही विद्यालयका शिक्षक युवलाल कुँवर क्वारेन्टिनमा बसेकाहरूसँग नियमित रूपमा भेटेर गाह्रो–सजिलो सोध्ने गरेको बताउँछन्। उनी भन्छन्, “हामी टोल छिमेककै मान्छे आलोपालो गएर क्वारेन्टिनमा बस्नेहरूसँग कुराकानी गर्ने गर्छौं, त्यहाँ बस्नेका आफन्तहरू पनि आउँछन् । यसो गर्दा क्वारेन्टिनमा बस्नेलाई रमाइलो हुने रहेछ।”

भेटघाट गर्न जाँदा व्यक्तिगत दूरी कायम गर्नुपर्ने नियम छ।

तानसेन नगरपालिका वडा नम्बर ११ मै यस्तो सामुदायिक क्वारेन्टिन स्थल अरु दुई वटा बनाइएको वडाध्यक्ष दामोदरप्रसाद घिमिरेले बताए। “जब अन्य जिल्लामा क्वारेन्टिनमा बसेकाहरूमा कोरोनाभाइरसको संक्रमण फैलिन थाल्यो, त्यस्तो जोखिम कसरी कम गर्न सकिन्छ भन्ने उपाय खोज्दा स्थानीय समुदायसँगको छलफलबाट समुदायमा आधारित क्वारेन्टिनको अवधारणा आयो”, उनले भने।

कतिपय स्थानीय तहमा क्वारेन्टिन स्थल बनाउन स्थानीयबाटै अवरोध भएको समाचार आइरहँदा तानसेन नगरपालिकामा भने क्वारेन्टिनको धेरैजसो व्यवस्थापनका काम समुदायबाट नै भइरहेको छ। वडाध्यक्ष घिमिरे भन्छन्, “वडा तथा नगरले हेर्नुपर्ने र समुदायले के गर्ने भन्ने काम विभाजन गरिएको छ।”

पाल्पामा गएको जेठमा सबैभन्दा पहिला वडा नम्बर ११ मा शुरू भएको सामुदायिक क्वारेन्टिनको अभ्यास १, ५, ६, ९, ११, १२, १३ र १४ वडामा पनि अवलम्बन गर्न थालिएको छ। नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी पाठक आफ्नो ठाउँमा कति मानिस आउँछन् भन्ने आकलन गरी वडाले त्यसै अनुसार क्वारेन्टिनको व्यवस्थापन मिलाउने गरेको बताउँछिन्। “यस्ता सामुदायिक क्वारेन्टिनमा वडा र समुदाय मिलेर काम गर्छन्”, उनी भन्छिन्।

नगरपालिकाले सबै क्वारेन्टिनमा इन्टरनेटको व्यवस्था गरिदिएको छ । वडा नम्बर ९ स्थित माण्डव्य क्याम्पसमा बनाइएको २५ बेडको सामुदायिक क्वारेन्टिनमा सबैले दूरी कायम गरेर हेर्न मिल्ने गरी टेलिभिजन समेत राखिएको छ। यो क्वारेन्टिनका व्यवस्थापक प्रकाश पंगेनीका अनुसार, राजनीतिक दल, सर्वसाधारण, इन्टरनेट सेवा प्रदायक आदिले क्वारेन्टिनमा बेड, बेड सिट, इन्टरनेट लगायत सहयोग गरेका छन्।

नगरपालिकाका मेयर अशोककुमार शाही समुदायले व्यवस्थित गर्ने क्वारेन्टिन स्वास्थ्यको दृष्टिले जोखिमरहित र स्थानीय सरकारलाई आर्थिक भार कम हुने भएकाले उपयुक्त हुने बताउँछन् । “सामुदायिक क्वारेन्टिनको अवधारणाबारे नगरपालिकाभित्रका १० वटा स्वास्थ्यचौकीका प्रमुखहरूसँग छलफल गरेका थियौं, त्यस क्रममा स्वास्थ्य जोखिम कम हुने भएकाले यो राम्रो अभ्यास भन्ने प्रतिक्रिया आयो”, उनी भन्छन्।

मेयर शाहीका अनुसार, घरबाट भाँडाकुँडा र खाद्यान्न ल्याउन असहज भएकाहरुका लागि स्थानीय सरकारले व्यवस्था मिलाउने गरेको छ।

पाल्पाकाे तानसेन नगरपालिका–११ स्थित सूर्यज्योति सामुदायिक क्वारेन्टिन । तस्वीर: युवलाल कुवँर ।

ठूला क्वारेन्टिन ‘होल्डिङ स्टेशन’

तानसेन नगरपालिकाले पहिले नै बनाएको सय जनासम्म अट्ने दुई वटा ठूला क्वारेन्टिन पनि संचालनमा छन्। नगरपालिकामा बाहिरबाट मानिस आउने बित्तिकै पहिला ठूला क्वारेन्टिनमा लगिन्छ र त्यसपछि सकेसम्म छिटो सम्बन्धित व्यक्ति, उनीहरुका परिवार र समुदायसँगको समन्वयमा सामुदायिक क्वारेन्टिनमा पठाउने गरिएको छ।

नगरपालिकाकी उपमेयर पाठक जिल्लाको सदरमुकाम, गुल्मी, अर्घाखाँची, पर्वत, बाग्लुङ, स्याङ्जा पुग्नेहरू समेत नगरक्षेत्रमा आइपुग्ने भएकाले ठूलो क्वारेन्टिन ‘होल्डिङ स्टेशन’ को रूपमा उपयुक्त देखिएको बताउँछिन्। “हाम्रै बासिन्दालाई भने वडा–वडामै सामुदायिक क्वारेन्टिनमा राख्न सजिलो र कम जोखिम हुने पायौं”, उनी भन्छिन्।

पीसीआर परीक्षणका लागि नगरपालिकाले नै कीट किनेर स्वाब संकलन गर्दै पठाइरहेको छ । अहिलेसम्म तानसेन नगरपालिकामा कोरोनाभाइरस संक्रमित भेटिएका छैनन्। पाल्पा जिल्लाभरिमा भने कोरोना संक्रमितको संख्या मंगलबार दिउँसोसम्म २४८ पुगेको छ। जसमध्ये ७ जना निको भइसकेका छन् भने एक जनाको मृत्यु भएको छ।

नगरपालिकाले विदेशबाट आएका परिवार भएका कतिपय व्यक्तिले स्थानीय तहको क्वारेन्टिनमा नबसेर होटलको व्यवस्था गरिदिन माग आएपछि होटल क्वारेन्टिनको पनि व्यवस्था मिलाउँदैछ । यसका लागि पाँच वटा होटलसँग नगरपालिकाले सम्झौता गरिसकेको मेयर शाही बताउँछन्। “संघ र प्रदेशबाट सहयोग भएन भन्नुभन्दा पनि आफैंले के–कति गर्न सकिन्छ भन्ने उपायको खोजी गरिरहेका छौं”, उनी भन्छन्।

अहिलेसम्म नगरक्षेत्रमा कोरोना संक्रमित नभेटिए पनि नगरपालिकाले पूर्वतयारीस्वरूप आइसोलेसन बेड तयार पारेको छ। पाल्पाका तानसेनसहितका चार स्थानीय तह मिलेर १३० वटा आइसोलेसन बेड तयार पारेका छन्।

कृषि एम्बुलेन्सदेखि दूर शिक्षासम्म

बन्दाबन्दी शुरू भएपछि बजारसम्म कृषि उपज लैजाने अवस्था नभएपछि धेरै ठाउँका किसानको उत्पादन खेर गयो। कतिपय ठाउँका स्थानीय तहले त संक्रमण हुने भन्दै बाहिरी जिल्लाबाट आएका तरकारी नष्ट गरी किसानलाई पीडा दिने काम पनि गरे।

तानसेन नगरपालिकाले भने बन्दाबन्दीमा स्थानीय किसानको तरकारी खेर जान नदिने गरी ‘कृषि एम्बुलेन्स’ कार्यक्रम सञ्चालन गर्‍यो । जस अन्तर्गत किसानको उत्पादन नगरपालिकाकै गाडीले बजारसम्म पु¥याउने व्यवस्था मिलाइयो। नगरबासीले राम्रो मानेको यो कार्यक्रम पनि अहिले समुदायमै हस्तान्तरण भइसकेको छ । “किसानका उत्पादन बजारमा लैजाने काम अहिले “कृषि समूह, कृषि सहकारी मार्फत भइरहेको छ”, वडा नम्बर ११ का वडाध्यक्ष दामोदरप्रसाद घिमिरेले भने।

यस्तै, बन्दाबन्दीमा विद्यालय बन्द भएको अवस्थामा नगरपालिकाले एफएम रेडियोबाट दूर शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । पहिला माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थीका लागि यो कार्यक्रम चलाइएकोमा एसईई नहुने भएपछि ११ र १२ को कक्षा सञ्चालन भइरहेको छ।

अनलाइन माध्यमबाट पठनपाठनका लागि नगरपालिकाले ५०० भन्दा बढी शिक्षकलाई एकहप्ते तालिम दियो। तर, नियमित पाठ्यक्रम अनुसार सबैलाई पढाउन सम्भव नदेखिएपछि नगरपालिकाले अवकाशप्राप्त तथा पढेलेखेका अभिभावकलाई टोलटोलमा शिक्षा दिन प्रेरित गरिरहेको छ।

विदेशबाट आउनेलाई रोजगारी

बन्दाबन्दीमा एक हजार ७०० परिवारलाई निःशुल्क राहत दिएको नगरपालिकाले मध्यमवर्गीय परिवारका लागि सहुलियतमा खाद्यान्न पनि उपलब्ध गरायो।

यति मात्र होइन, बन्दाबन्दीले अर्थोपार्जनको बाटो बन्द भई राहत चाहिनेलाई श्रममा आधारित राहतको व्यवस्था गरेको छ । जसमा सडक चौडा गर्ने, नाला सफा गर्ने काम जस्ता लगाएर श्रमिकले सम्मानपूर्वक ज्याला पाउने व्यवस्था गरिएको मेयर शाहीले बताए।

बन्दाबन्दीमा घर गएका पढेलेखेका युवाहरू पनि यो काममा सहभागी भएका छन्। “भौतिक दूरी कायम गरेर विकास–निर्माणका काम गर्ने अवसर पाउँदा श्रमिकहरूले केही पैसा आम्दानी गर्ने बाटो पाए, लामो समय बेरोजगार बस्नु नपरेकोमा उनीहरू खुशी छन्”, मेयर शाही भन्छन्।

विदेशबाट फर्किएकाहरूमध्ये तत्कालै १५० जनालाई रोजगारी दिने नगरपालिकाको तयारी छ । फर्कने र यहीं बसेर काम गर्नेहरूबारे बुझ्न नगरपालिकाले नगरक्षेत्रबाट विभिन्न देशमा गएकाहरूलाई सम्पर्कमा ल्याई अनलाइन फारम भर्न लगाउँदा ५८ प्रतिशतले नेपाल आउने इच्छा व्यक्त गरेका छन्। तीमध्ये १३/१४ प्रतिशतले फेरि विदेश फर्किने बताएका छन् भने धेरैले कृषि, पशुपालन, आन्तरिक पर्यटन सम्बन्धी उद्यम–व्यवसाय गर्न रुचि देखाएका छन्। त्यसै अनुसार नगरपालिकाले योजना बनाइरहेको मेयर शाही बताउँछन्।

नगरपालिकाले स्वरोजगार कोष स्थापना गरी नगरपालिका जमानी बसिदिएर ब्याङ्कबाट धितोविना नै ऋण दिलाउने गरेको छ । किसानलाई बीउबिजन वितरण पनि गरेको छ।

निर्वाचित भएर आएदेखि नै नयाँ काम गर्ने सोचेर अघि बढ्दै आएको बताउने मेयर शाही अहिले कोरोनाभाइरसको महामारीमा पनि शुरुदेखि नै व्यवस्थित रुपमा काम गर्दै आएको बताउँछन् । उनी भन्छन्, “कुनै पनि समस्यामा जुध्दा नयाँ उपाय र विकल्प निकाल्नुपर्छ, हामीले कोरोनाभाइरसको संकटलाई पनि अवसरका रूपमा लिएर नयाँ योजनासहित अघि बढ्न खोजेका छौं।”

प्रतिकृया दिनुहोस