थप समाचार आइतबार, असार ७, २०७७

जंगी अड्डामा चीन–भारतको चर्चा, विदेशबाट फर्किएकाहरू निगरानीमा

दीपक खरेल

जंगी अड्डामा चीन–भारतको चर्चा, विदेशबाट फर्किएकाहरू निगरानीमा

नेपाली सेनाको मुख्यालय ज‌ंगी अड्डामा शुक्रबार र आइतबार  भारत र चीनबीचको पछिल्लो तनावका विषयमा समीक्षा, विश्लेषण र नेपालले गर्नुपर्ने तयारीका विषयमा छलफल भएको छ।

चीन–भारतबीच गलवान उपत्यकामा भएको भिडन्तपछि दुई देशबीच उत्पन्न भइरहेको र हुनसक्ने तनावले नेपालको सुरक्षामा पार्ने प्रभावका विषयमा सेनाका जर्नेलहरूबीच छलफल भएको हो। सेनाले चीन–भारत सम्बन्धपछि उत्पन्न हुनसक्ने प्रतिकूल परिस्थितिका विषयमा यथार्थ विश्लेषणसहित योजना तथा रणनीति बनाउने विषयमा समेत छलफल गरेको हो।

प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा दुईदिनसम्म चलेको पृतनापति समन्वयात्मक बैठकमा पृतना तथा बाहिनीपतिहरूले पछिल्लो घटनाक्रमका विषयमा आफ्नो धारणा तथा योजना सुनाएका थिए । बैठकले दोस्रो महत्वपूर्ण विषयमा विदेशबाट फर्किएकाहरूलाई राखेको थियो।

बैठकमा सहभागी उच्च सैन्य स्रोतका अनु्सार बिदेशबाट उद्धार गरिएकाहरूमध्ये त्यहाँ सजाय भुक्तान र सजाय माफी पाएकाहरूलाई नियमित निगरानीमा राख्ने र उनीहरूलाई उचित सम्बोधनको आवश्यकताका विषयमा सरकारलाई जानकारी गराउने विषयमा छलफल भएको थियो।

सेनाले यसरी विदेशमा अपराध कसुर ठहर भएपनि आममाफी पाएर आएकाहरूलाई सरकारले उचित सम्बाेधन नगरे उनीहरूलाई राज्यविरुद्ध सशस्त्र संघर्षको तयारीमा रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रयोग गर्नसक्ने विषयलाई प्राथमिकतामा राखिएको थियो।

“बिदेशबाट फर्किएकाहरूलाई निगरानीमा राख्नुका साथै सरकारले यथोचित सम्बाेधन गर्नुपर्छ भन्ने विषयमा छलफल भयो,” स्रोतले भन्यो, “उनीहरू विप्लव समूहबाट परिचालित हुनसक्ने सम्भावना रहेको सेनाको बुझाइ हो।”

प्रधानसेनापति थापाले बैठकलाई आइतबार गरेको सम्बाेधनमा राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण र त्यसले राष्ट्रिय सुरक्षाका विविध पक्षहरूमा पार्ने प्रतिकूल प्रभाव र असरहरूको सूक्ष्म अध्ययन, विश्लेषण गर्दै विकसित परिस्थिति सम्बन्धमा स्पष्ट अवधारणा, रणनीति र कार्य योजना निर्माण गर्न मातहतलाई निर्देशन दिएका थिए।

उनको निर्देशनात्मक सम्बाेधनमा देशको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्दै आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न नेपाली सेना सदाझैं प्रतिबद्ध रहेको बताएका थिए। उनले पद्धति र प्रणालीमा आधारित संगठन निर्माणमा जिम्मेवार, जवाफदेही, पारदर्शी र उत्तरदायी भएर कार्य गर्न निर्देशन दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

नियमित रुपमा आयोजना हुने समन्वयात्मक बैठकमा जंगी अड्डास्थित विभिन्न कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरूले जिम्मेवारी क्षेत्रको कार्य प्रगति विवरण र समीक्षा, कोभिड १९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रण कार्यमा नेपाली सेनाले निर्वाह गर्दै गरेको भूमिका, राष्ट्रिय सुरक्षा वातावरणको समीक्षा तथा भविष्यमा आउन सक्ने चुनौती र सुझाव लगायत अन्य परिस्थितिजन्य विषयहरू सम्बन्धमा प्रस्तुतीकरण र छलफल भएको थियो।

बैठकमा पीएसओज रथीहरू, सबै पृतनापतिहरूलगायत जंगी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुख तथा उपत्यका भित्र रहेका बाहिनी अड्डाका बाहिनीपतिहरूको समेत उपस्थिति थियो।

 

प्रतिकृया दिनुहोस