बन्दाबन्दी खुकुलोसँगै थपिनेछ सुरक्षा चुनौती, यस्तो छ प्रहरीको कार्ययोजना
प्रहरीले बन्दाबन्दी खुकुलो भएसँगै सामाजिक, आर्थिक र राजनीतिक अपराधमा वृद्धिहुने आकलन गर्दै त्यसको नियन्त्रणका लागि कार्ययोजना बनाएको छ । यस्तै सरकारी तथा निजी कम्पनी तथा कार्यालयमा साइबर आक्रमण र अफवाह रोक्न समेत कार्ययोजना बनाइएको हो।
प्रहरी प्रधान कार्यालय कार्य तथा अपराध अनुसन्धान विभागका प्रमुख एआईजी हरिबहादुर पालले ३० जेठमा महानगरीय प्रहरी कार्यालय र सातवटै प्रदेश प्रहरीलाई परिपत्र गर्दै अपराध नियन्त्रणका लागि जिल्ला तहमा योजना बनाएर काम गर्न निर्देशन दिएका हुन्।
प्रहरीले बन्दाबन्दीका कारण आरालो लागेको अर्थतन्त्रले विभिन्न अपराधलाई प्रोत्साहित गर्ने अनुमान गरेको छ । विभागको अध्ययनमा अबका दिनमा विभिन्न शैलीमा आर्थिक अपराध बढ्ने, मानव बेचबिखन तथा ओसारपसार र चोरी डकैती तथा लुटपाटमा उलेख्य वृद्धि हुने देखिएकाे छ।
विभागले तयार गरेको कार्ययोजनामा यसबाहेक मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), विप्लव समूह, रुकुम घटना, अस्पताल र क्वारेन्टिनका विषयमा राजनीतिक घुसपैठ हुनुका साथै यी विषयमा विरोधले चर्को रुप लिनसक्ने पूर्वानुमान गरिएको छ।
बन्दाबन्दी (लकडाउन) खुकुलो पश्चात हुने अपराध नियन्त्रण तथा न्यूनीकरण कार्ययोजना–२०७७ अनुसार प्रदेश प्रहरीले जिल्ला तहमा योजना बनाएर त्यो हरेक इकाइसम्म कार्यान्वयनमा लैजाने रणनीति तयार भएको हो।
यो योजनामा चोरीडकैतीलाई पहिलो प्राथमिकतामा राखिएको छ । चोरीडकैती नियन्त्रणका लागि प्रहरी गस्ती बढाउने, एम्बुसिङ गर्ने र स्थानीय निकायसँग सहकार्यमा जोड दिइएको छ ।
प्रहरीले दोस्रोमा बन्दाबन्दी खुकुलो भएसँगै अराजक गतिविधि बढ्ने अनुमान गरेको छ । यस्ता गतिविधिमा झैंझगडादेखि हत्याहिंसासम्म बढ्ने छ । यसको रोकथामका लागि सादा पोशाकका प्रहरीलाई योजना अनुसार परिचालन गर्न निर्देशन दिइएको छ।
प्रहरीले तेस्रोमा महिला तथा बालबालिका सम्बन्धी अपराधमा उलेख्य बढोत्तरी हुनसक्ने पूर्वानुमान अनुसार तत्काल कार्ययोजना बनाउन भनेको छ । यस्तै आर्थिक अपराध नियन्त्रणमा लागि प्रविधिको उच्चतम प्रयोगमा जोड दिन भनिएको छ।
सवारी दुर्घटना, लागूऔषध उत्पादन र ओसारपसार, मानव बेचबिखन तथा ओसारपसार, अव्यवस्थित भीड र कालोबजारी तथा मिसावट रोक्न रणनीति बनाउन विभागले निर्देशन दिएको हो।
प्रहरीले बन्दाबन्दीपछि मुख्य गरी राजनीतिक विरोधका कार्यक्रम बढ्ने, धार्मिक तथा जातीय हिंंसा तथा दंगा हुनसक्ने, राहत वितरणका विषयमा स्थानीय जनप्रतिनिधि उपर आक्रमण हुनसक्ने, सीमाको विषयलाई लिएर भारतीय नम्बर प्लेटका गाडीमा तोडफोड हुनसक्ने भएकाले विशेष सावधानी अपनाउन भनेको छ।
यस्तै स्वास्थ्यकर्मी तथा अस्पतालहरुको सु्रक्षामा जोड दिनुका साथै गौरवका आयोजनाहरुमा सुरक्षा गस्ती बढाउने कार्ययोजनामा उल्लेख छ।
प्रहरीको कार्ययोजना केन्द्रमा रहेको कोभिड–१९ केन्द्रीय हेल्प डेस्कले गर्नेछ । प्रदेश प्रहरी प्रमुख र महानगरीय प्रहरी प्रमुखहरुले मातहतलाई परिचालन गर्ने कार्ययोजनामा उल्लेख छ।