टिप्पणी आइतबार, जेठ ३२, २०७७

आन्तरिक पर्यटन ब्यूँताउने सांस्कृतिक आकर्षण

वसन्त महर्जन

आन्तरिक पर्यटन ब्यूँताउने सांस्कृतिक आकर्षण
मजिपा लाखे ।

वसन्त महर्जन

नेपालमा मात्रै देख्न पाइने आकर्षण भनेका विविधतापूर्ण जातीय समूह र तिनको सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा परम्परागत कुरा हुन् । यी मौलिक कुराको संरक्षण र प्रचारप्रसारमा लगानी गर्नु देशको पर्यटन उद्योगमा आकर्षण थप्नु पनि हो।

कोरोना कहरले नेपालमा पनि धेरै कुरा बदलिएका छन् । पर्यटन उद्योग त धराशायी नै भयो। यो उद्योग अबका दिनमा कसरी बौरिन्छ भन्ने चिन्तन भइरहेकै वेला सरकारले ल्याएको आन्तरिक पर्यटनमुखी कार्यक्रम आशलाग्दो छ । समाज आफ्नो पूर्ववत् लयमा हिंडेपछि मात्रै कार्यान्वयन गर्न सकिने भए पनि यसलाई आन्तरिक पर्यटन जोगाउन ल्याइएको जरूरी कार्यक्रम नै मान्नुपर्छ।

हिजोका दिनमा पर्यटन वा पर्यटक भनेर हाम्रो सोच वा दृष्टिकोण तेस्रो मुलुकबाट आउने पर्यटकमा केन्द्रित थियो । आर्थिक क्षेत्रमा यसको योगदान जति देखिए पनि त्यो कम नै हो । ती पर्यटकले गर्ने कुल खर्चमा थोरै मात्र अंश नेपालमा भित्रिने वा रहने हो । नेपालको आफ्नै उत्पादनको खपत पनि खासै हुँदैन। उनीहरूका लागि चाहिने खानपानदेखि अनेक कुरा बाहिरबाटै आयात गर्नुपर्ने हुन्छ।

नेपालमा पर्यटन भनेर प्राकृतिक सौन्दर्यलाई मात्र बुझ्ने चलन छ, जुन धेरै हदसम्म साँघुरो सोचाइको उपज हो। नेपालमा मात्रै देख्न पाइने आकर्षण भनेका विविधतापूर्ण जातीय समूह र तिनको सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा परम्परागत कुरा हुन्। 

कतिपय सन्दर्भमा उनीहरूको ट्राभल एजेन्सी र टुरिष्ट गाइड तथा होटल बुकिङ आदिमा पनि नेपालीको सोझो पहुँच हुँदैन । यस्तो अवस्थाले नेपाली अर्थतन्त्रलाई थोरै मात्र योगदान पुग्छ । आन्तरिक पर्यटकको खर्च ज्यादाजसो नेपालमै रहने र आफ्नै उत्पादनको खपत यसमा हुने भएर वास्तवमा यो लाभदायक पनि छ।

नेपालमा पर्यटन भनेर प्राकृतिक सौन्दर्यलाई मात्र बुझ्ने चलन छ, जुन धेरै हदसम्म साँघुरो सोचाइको उपज हो। हिमाल, पहाड, नदीनाला तथा भू–दृश्यहरू नेपालबाहेक अन्यत्र पनि उपलब्ध हुने पर्यटनका आकर्षणहरू हुन्। नेपालमा मात्रै देख्न पाइने आकर्षण भनेका विविधतापूर्ण जातीय समूह र तिनको सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा परम्परागत कुरा हुन्। यी मौलिक कुराको संरक्षण र प्रचारप्रसारमा लगानी गर्नु देशको पर्यटन उद्योगमा आकर्षण थप्नु पनि हो ।

परम्परागत भेषमा लिम्बू युवती । तस्वीर: आर्काइभ

नेपालको विविधताका सम्बन्धमा नेपाली नै अनभिज्ञ हुनु राष्ट्र र राष्ट्रियतालाई नै कमजोर पार्ने कुरा हो । भौगोलिक रूपमा नेपाल एकीकृत भए पनि सामाजिक र सांस्कृतिक रूपमा त्यत्तिकै नजिक छ भन्न मिल्दैन । हिमाली क्षेत्रको जनजीवनले तराईको जनजीवनलाई चिनेको छैन । त्यस्तै पश्चिमका नेपालीहरू नै पूर्वी नेपालको जनजीवनबारे अनभिज्ञ छन्।

हिन्दू धर्म, संस्कृति र शास्त्रलाई भिन्नाभिन्नै पृष्ठभूमि रहेका जनजीवनलाई बुझ्ने कडीका रूपमा अपनाइन्छ । यसको अर्थ विविध सामाजिक, साँस्कृतिक, परम्परा र पहिचानलाई छोप्नु वा मास्नु पनि हो । स्थानीय कला, साहित्य, संस्कृति, इतिहास, आस्था र विश्वाससँग सम्बन्धित विषयवस्तुलाई बुझ्न नसकेर वा बुझेरै पनि हठात् हिन्दूकरण गरिएको छ।

हिन्दू धर्म र परम्पराको कुनै प्रभाव नै नभएको गाउँठाउँ तथा नदीनाला एवं हिमालहरूको नामकरण समेत हिन्दू शैलीले गरिंदै आएको छ । गाउँठाउँ, नदीनाला तथा अनेक कुराको नाम स्थानीय भाषा एवं परम्परा विचार नगरी फेरिदिनु पनि विविधतालाई मास्नु नै हो । यस्ता विविधता मास्नु मानवीय निधिलाई क्षति पुर्‍याउनु त हो नै, साथै पर्यटन उद्योगलाई पनि आघात पुर्‍याउनु हो।

नेपालीलाई नै नेपालको चिनारी गराउनु आजको आवश्यकता हो । यो ज्ञानको अभावमा स्वयं नेपालीहरू नेपालका बारेमा अनर्गल कुरा गरिरहेका हुन्छन् । कतिपय नीतिनिर्माताहरू नै कुहिराको काग झैं भएको देखिन्छ । यो स्थिति भनेको देशकै लागि दुर्भाग्यपूर्ण हो । यो समस्याको निराकरण आन्तरिक पर्यटनलाई बढावा दिएर गर्न सकिन्छ । आन्तरिक पर्यटनका लागि सरकारले ल्याएको कार्यक्रम निजामती कर्मचारीका लागि एक महीनाको विदा हो । निजामती कर्मचारी बाहेक अन्य सर्वसाधारणलाई पनि ध्यानमा राखेर यसलाई सिक्ने र सिकाउने अवसर बनाउनुपर्छ।

इन्द्र जात्रा । तस्वीर: आयशा शाक्यकाे ट्वीटर

नेपालको एउटा पर्यटकीय क्षेत्र पोखरा हो भने यसको पहिचान ज्यादाजसो फेवाताल र यहाँबाट देखिने माछापुच्छ्रे हिमालको रूपमा प्रचारप्रसार गरिएको छ । प्राकृतिक विषयवस्तुका अलावा पोखरामा नै नेवारी जनजीवन अर्को आकर्षण हुनसक्छ । त्यस्तै गन्धर्व समुदायको जनजीवन नजिकबाट नियाल्ने उपयुक्त ठाउँ पोखराको बाटुलेचौर हो । कतिपय ब्राह्मण समुदायको विशिष्ट पहिचान पनि पोखरामा देख्न पाइन्छ । लमजुङ लगायतका क्षेत्रबाट पोखरा झरेका गुरुङ समुदायको जनजीवन पनि यहाँ राम्रैसँग अनुभूत गर्न पाइन्छ।

विभिन्न जातीय सम्मिश्रण रहेको पोखरामा जातीय संग्रहालय बनाएर कुन जाति कहिले आए र कसरी विकास गरे भन्ने जानकारी मात्रै दिन सकियो भने अन्य जातीय समुदायबाहेक सम्बन्धित जातीय समुदायका लागि पनि कम रोचक हुँदैन।

चितवन तथा सौराहालाई वन्यजन्तु मात्रै होइन, थारू जातिका बारेमा जान्ने–बुझ्ने थलोका रूपमा पनि विकास गर्न सकिन्छ । यस्ता क्षेत्रहरू नेपालमा अनेकौं छन् । नेपालका विभिन्न क्षेत्रलाई प्राकृतिक रूपमा मात्रै नभएर जातीय र साँस्कृतिक स्थल विशेषको रूपमा पनि पहिचान विकास गर्न सकियो भने एक नेपालीले अर्को नेपालीलाई व्यावहारिक रूपमा चिन्ने मौका पाउने छन्।

विविध जातीय संरचना रहेको नेपाली समाजबीच अन्तरघूलन गराउनु जति आवश्यक छ त्यति नै यो चुनौतीपूर्ण पनि । एउटाको पहिचानले अर्कोलाई प्रभावित पारेर विलय गर्ने दृष्टिले नभई सबैको आ–आफ्नो पहिचान कायम राखेर एक–अर्कासँग चिरपरिचित हुने अवस्था सिर्जना गर्नुपर्छ।

बाह्य पर्यटकको संभावना अबका केही वर्षसम्म ज्यादै न्यून मात्र हुने आकलन गर्न सकिन्छ तर राम्रोसँग सञ्चालन गर्ने हो भने आन्तरिक पर्यटनले नै यो उद्योगलाई धान्न सक्ने स्थिति पनि छ ।

एकअर्काको संस्कृति, संस्कार र परम्पराहरू कति मिल्छ वा मिल्दैन भन्ने कुराको अवलोकन गर्नु पनि कम रोचक विषय होइन । यस्तो खालको अन्तरक्रियाले विभिन्न जातीय समुदायले नराम्रा कुरा छाड्ने तथा राम्रा कुरालाई अपनाउने अवस्था सिर्जना हुन्छ । चलनचल्तीबाट हराइसकेका यस्तै सांस्कृतिक सम्पदालाई पुनर्जीवन दिन पनि प्रोत्साहित गर्छ।

आर्थिक गतिविधिका कतिपय माध्यम विविध जातीय सम्पदाहरू हुनसक्छन् । तिनका सीप तथा परम्परागत उत्पादनलाई बजारीकरण गर्ने राम्रो अवसर आन्तरिक पर्यटन पनि हो । बाह्य पर्यटकको संभावना अबका केही वर्षसम्म ज्यादै न्यून मात्र हुने आकलन गर्न सकिन्छ तर राम्रोसँग सञ्चालन गर्ने हो भने आन्तरिक पर्यटनले नै यो उद्योगलाई धान्न सक्ने स्थिति पनि छ । चीन लगायत कतिपय देशको पर्यटन उद्योग आन्तरिक पर्यटनबाट नै फस्टाइरहेको सन्दर्भमा नेपालले यसतर्फ ध्यान दिनुको विकल्प छैन।

प्रतिकृया दिनुहोस