खुकुलो बन्दाबन्दीमा यसरी बचौं संक्रमणबाट
बन्दाबन्दी खुकुलो भएसँगै सबै जना कामकाजका लागि घर बाहिर निस्कने क्रम बढेको छ। यससँगै संक्रमणको जोखिम बढेकाले सरसफाइ र सुरक्षामा झनै विशेष ध्यान दिनुपर्छ।
कोरोनाभाइरसको संक्रमण रोकथामका लागि सरकारले ११ चैतदेखि लागू गरेको बन्दाबन्दी बिहीबारदेखि केही खुकुलो पारेको छ। पैदल आवतजावत पूर्णरूपमा खुला गरिंदै पसल, ब्याङ्क तथा वित्तीय संस्था, कार्यालयहरू, निजी सवारीसाधन, ढुवानीका साधन आदि खुलाइएको छ।
योसँगै बजारहरू खुल्न थालेका छन् भने मानिसहरू नियमित काममा निस्कन थालिसकेका छन्। यसले अबका दिनमा भाइरस संक्रमणको जोखिम निःसन्देह बढ्नेछ। किनकि, बन्दाबन्दीको वेला घरमा बसेको समयभन्दा बाहिरी दुनियाँमा निस्कँदा मानिसहरूबीच सम्पर्क बढ्ने भएकाले जमघट र भीडभाडमा संक्रमण सर्ने सम्भावना बढी हुन्छ।
साढे दुई महीनादेखिको बन्दाबन्दीले आर्थिक समस्या र अन्य रोगका कारण नागरिकको ज्यान जोखिममा परेकाले यसको स्वरूप परिवर्तन गरेर खुकुलो पार्न जरुरी नै थियो। तर, कोरोनाभाइरसको संक्रमण दर बढिरहेको समय भएकाले हामीले नियमित काम अघि बढाउँदा अब विशेष सजग हुनुपर्ने भएको छ।
यस क्रममा आफू र समुदायलाई संक्रमणबाट सुरक्षित राख्न भीडभाडबाट जोगिंदै हरदम सुरक्षाका उपाय अपनाउनुपर्ने हुन्छ। विज्ञहरूले बन्दाबन्दी खुकुलो भएपछि चहलपहलका कारण संक्रमणको सम्भावना बढ्ने भएकाले भौतिक दूरी र सरसफाइमा अझ बढी ध्यान दिनुपर्ने सुझाव दिएका छन्।
यो अवस्थामा अबका दिनमा घर–परिवार, समुदाय र कार्यालयमा रहँदा के–कस्ता सावधानी अपनाउने त ? यस सम्बन्धमा काठमाडौं टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुुख कन्सल्ट्यान्ट तथा संक्रमितको उपचारमा फ्रन्टलाइनमा रहेर काम गरिरहेका डा. अनुप बास्तोलासँग कुराकानी गरेका छौं। डा. बास्तोलाले दिएका सुझाव उनकै शब्दमाः
बन्दाबन्दी खुकुलो भएसँगै नियमित काममा घर बाहिर निस्किंदा अब सर्जिकल मास्क छुटाउनै हुँदैन। बाटोमा जाँदा होस् वा धेरै मानिस भएको ठाउँमा बस्दा, मास्क अनिवार्य प्रयोग गर्नुपर्छ। बाहिरका कुनै वस्तु वा सतहलाई छोएपछि, तरकारी र उपभोग्य वस्तु किनमेल गरेर फर्केपछि साबुन–पानीले हात धुन बिर्सन हुँदैन।
सरकारी तथा निजी कार्यालयहरू पनि खुल्न थालिसकेका छन्। कार्यालयमा धेरै कर्मचारी हुने भएकाले कम्तिमा एक मिटरसम्मको व्यक्तिगत दूरी कायम गरेर काम गर्ने वातावरण बनाउनुपर्छ। साथै, साबुन–पानीले हात धुुने वा ह्यान्ड स्यानिटाइजरको व्यवस्था मिलाउनुपर्छ।
ब्याङ्क तथा वित्तीय संस्थामा काम गर्दा वा सेवाग्राहीको रूपमा कारोबार गर्न जाँदा पैसा समात्नुपर्ने हुन्छ। उक्त काम गरिसकेपछि साबुन–पानीले हात धुने वा त्यस्तो काम गर्ने वेला ह्यान्ड स्यानिटाइजर वा सर्जिकल पन्जाको प्रयोग गर्नुपर्छ।
घरबाट कार्यालय पुगेपछि र फर्किएपछि तथा अन्य कामले बाहिर निस्किएर घर आएपछि साबुन–पानीले हात धुनुपर्छ। सवारी चालकले घर वा कार्यालय प्रवेश गर्नुअघि नै साबुन–पानीले हात धुने वा ह्यान्ड स्यानिटाइजरको प्रयोग गर्नुपर्छ।
कोरोनाभाइरस संक्रमबाट प्रभावित क्षेत्रबाट काठमाडौं लगायत विभिन्न शहर प्रवेश गर्ने व्यक्तिबाट समुदायबाट संक्रमण सर्ने सम्भावना हुन्छ। त्यसैले त्यस्ता व्यक्ति आएपछि १४ दिनसम्म घरभित्रै क्वारेन्टिनमा बस्नुपर्छ।
हातले नाक, मुख र आँखा छुने, कोट्याउने वा कन्याउने बानी छाड्नुपर्छ। यस्तो बानीले हातको माध्यमबाट भाइरस शरीरभित्र प्रवेश गरेर संक्रमण हुनसक्छ।
कोरोनाभाइरस संक्रमबाट प्रभावित क्षेत्रबाट काठमाडौं लगायत विभिन्न शहर प्रवेश गर्ने व्यक्तिबाट समुदायबाट संक्रमण सर्ने सम्भावना हुन्छ। त्यसैले त्यस्ता व्यक्ति आएपछि १४ दिनसम्म घरभित्रै क्वारेन्टिनमा बस्नुपर्छ। त्यस्ता व्यक्तिले ज्वरो आउने, टाउको दुख्ने, सुख्खा खोकी लाग्ने जस्ता लक्षण देखिए चिकित्सकसँगको परामर्शमा स्वास्थ्य जाँच तथा उपचार गर्नुपर्छ।
पछिल्ला कतिपय घटनाले अस्पतालहरूमा समेत कोरोनाभाइरस संक्रमण सरेको देखाएको छ। त्यसैले अस्पतालमा संक्रमण नियन्त्रण गर्ने न्यूनतम उपायहरू अनिवार्य अपनाउनुपर्छ।
अत्यावश्यक भौतिक दूरी
तरकारी र उपभोग्य वस्तुको पसल वा बढी भीडभाड हुने ठाउँमा जाँदा भौतिक दूरी कायम गर्नु महत्वपूर्ण हुन्छ। भीडभाड हुने ठाउँमा जादा भौतिक दूरी कायम भए पनि मास्क अनिवार्य लगाउनुपर्छ। किनकि, सँगै भएको अर्को व्यक्तिले खोक्दा वा हाच्छिउँ गर्दा मास्क नलगाएका कारण संक्रमित व्यक्तिबाट भाइरसहरू आफ्नो शरीरभित्र प्रवेश गर्न सक्छन्।
सामान्य व्यक्तिदेखि स्वास्थ्यकर्मीसम्मले मास्क लगाउने र खोल्ने उपयुक्त तरिका अपनाउन नसकेको देखिन्छ। सामान्यतया मास्कको बीच भागमा समातेर लगाउने र खोल्ने अभ्यास धेरैतिर देखिन्छ। यसो गर्दा कोरोनाभाइरस संक्रमणको डर हुन्छ। त्यसैले मास्कको छेउतिरको भागमा समातेर लगाउने र खोल्ने बानी गर्नुपर्छ।
सर्जिकल मास्कको नभए फ्याब्रिकबाट बनेका मास्क पनि लगाउन सकिन्छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले फ्याब्रिकबाट बनेका मास्कले पनि केही हदसम्म कोरोनाभाइरसको संक्रमणबाट जोगाउने बताएको छ।
घर बाहिर विभिन्न कामले ओहोरदोहोर गर्ने व्यक्तिमा भाइरस संक्रमणको दर उच्च हुने भएकाले उनीहरूले परिवार र समुदायका जोखिम समूहको सुरक्षामा विशेष संवेदनशील हुनुपर्छ। सावधानी नअपनाउँदा घरभित्र रहेका वृद्धवृद्धा, बालबालिका, दीर्घरोगी, प्रतिरोधी क्षमता कम भएका सदस्यमा संक्रमण सर्ने सम्भावना हुन्छ। वृद्ध र दीर्घ रोगीलाई कोरोनाभाइरसको संक्रमण फैलिए अस्पतालहरूमा सिकिस्त बिरामीहरुको संख्या बढ्छ, अस्पतालहरूलाई भार थेग्नै मुश्किल पर्छ।
नेपालमा उमेरसमूह अनुसार कोरोनाभाइरसको संक्रमण युवाहरूमा बढी देखिएको छ। खासगरी रोजगारीको सिलसिलामा भारतसहित विभिन्न मुलुकबाट फर्किएका युवाहरूमा संक्रमण देखिएको छ। त्यसैले युवाहरूले जिम्मेवार भएर आफ्नो आनीबानी परिवर्तन गर्नुपर्छ।
६० वर्ष माथिका वृद्धवृद्धालाई बाहिर निस्कन दिनै हुँदैन। अस्पताल वा अत्यावश्यक कामले कतै जानुप¥यो भने संक्रमणबाट कसरी बच्ने भन्ने तरिका सिकाएर मात्र सुरक्षित रूपमा पठाउनुपर्छ।
मान्यजनलाई आदर–सत्कार गर्ने क्रममा नजिकिने, छोएरै ढोग्ने जस्तो व्यक्तिगत दूरी कायम नगर्ने प्रवृत्ति गाउँघरमा यो महामारीको वेला पनि कायमै छ। यसले भाइरसको संक्रमण एक व्यक्तिबाट अर्कोमा सार्ने सम्भावना अत्यधिक हुन्छ।
अहिले बालबालिकामा धेरै संक्रमण देखिएको छ। यसको कारण हो– उनीहरू विद्यालय गएका छैनन्, घरभित्रै बसिरहेका छन्। यदि विद्यालय खोल्ने हो भने बालबालिका संक्रमित हुने दर बढ्न सक्छ। त्यसैले तत्काल सरकारले विद्यालय नखोल्दा नै राम्रो हुन्छ।
कोरोनाभाइरसको संक्रमणलाई ध्यानमा राखेर हाम्रो धर्म–संस्कृति अनुसारका चालचलन पनि परिवर्तन गर्नुपर्ने देखिन्छ। मान्यजनलाई आदर–सत्कार गर्ने क्रममा नजिकिने, छोएरै ढोग्ने जस्तो व्यक्तिगत दूरी कायम नगर्ने प्रवृत्ति गाउँघरमा यो महामारीको वेला पनि कायमै छ। यसले भाइरसको संक्रमण एक व्यक्तिबाट अर्कोमा सार्ने सम्भावना अत्यधिक हुन्छ।
समाजमा रहेका यस्ता चालचलनलाई अहिले कोरोना–कहरको वेला व्यवस्थित गर्न स्थानीय सरकारले जनचेतना फैलाउन सक्छ। धार्मिक आस्था र परम्पराको विषयमा प्रभाव पार्न स्थानीय पूजारीलाई उपयोग गरेर सरकारले स्थानीयको आनीबानी बदल्न सक्छ।
जोगिऔं भीडभाडबाट
पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न ठाउँमा कोरोनाभाइरसको संक्रमणलाई ख्यालै नगरी ठूलो भीड जम्मा भएर प्रदर्शन र जुलुश गर्ने घटना बढ्न थालेका छन्। यस्ता गतिविधिले संक्रमणको जोखिम धेरै बढाउँछ। सकेसम्म भीडभाड हुने गतिविधि नगरेकै राम्रो हुन्छ, गर्नैपरे मास्कको प्रयोग गरी व्यक्तिगत दूरी कायम गरेर व्यवस्थित रूपमा मात्रै गर्नेतर्फ ध्यान पुर्याउनुपर्छ। यसले आफू र समुदायमा संक्रमण फैलिनबाट रोक्न मद्दत पुर्याउँछ।
क्वारेन्टिन स्थलभित्र व्यक्तिगत दूरी कायम हुने गरी बस्ने, खाने, शौचालयको प्रयोग गर्ने व्यवस्था सम्बन्धित स्थानीय सरकारले मिलाउनुपर्छ। क्वारेन्टिनमा बस्ने शंकास्पद बिरामीले अरुसँग व्यक्तिगत दूरीमा रहन ध्यान दिनुपर्छ।
पछिल्ला समय विभिन्न ठाउँमा क्वारेन्टिन स्थलबाट पनि धेरै जनामा कोरोनाभाइरसको संक्रमण फैलिएको छ। त्यसैले क्वारेन्टिन स्थलभित्र व्यक्तिगत दूरी कायम हुने गरी बस्ने, खाने, शौचालयको प्रयोग गर्ने व्यवस्था सम्बन्धित स्थानीय सरकारले मिलाउनुपर्छ। क्वारेन्टिनमा बस्ने शंकास्पद बिरामीले अरुसँग व्यक्तिगत दूरीमा रहन ध्यान दिनुपर्छ।
कोरोनाभाइरस संक्रमित निको भएर घर फर्किएपछि समुदाय र घरपरिवारमा तिरस्कार गर्ने, लाञ्छना लगाउने गतिविधि पनि भइरहेको सुनिन्छ। निको भएका संक्रमित व्यक्ति पनि अरु सामान्य व्यक्ति जस्तै हुन्। उसले संक्रमण सार्छ कि भनेर हेलाँहोचा र फरक व्यवहार गर्ने प्रवृत्ति त्यागौं र परिवार तथा समुदायमा घुलमिल हुने वातावरण मिलाऔं।
ताइवान लगायत कतिपय मुलुकले बन्दाबन्दी नगराई कोरोनाभाइरस नियन्त्रण गर्न सफल भइरहेका छन्। यसको कारण हो, अनुशासित बानी। प्रत्येक व्यक्तिले आफूलाई जिम्मेवार बनाउँदै अनुशासित बानी–व्यवहार अपनाए संक्रमणबाट आफू र समुदायलाई बचाउन सकिन्छ।
(रामु सापकोटासँगको कुराकानीमा आधारित)