समाचार शुक्रबार, जेठ २३, २०७७

ओम्नी प्रकरणका ‘जिम्मेवार’ मानिएका अधिकारीको सरुवा

रामु सापकोटा

ओम्नी प्रकरणका ‘जिम्मेवार’ मानिएका अधिकारीको सरुवा

बिहीबार स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ र आपूर्ति व्यवस्थापन शाखाका निर्देशक भोगेन्द्रराज डोटेललाई जिम्मेवारीबाट हटाएर मन्त्रालयमा सरुवा गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको मन्त्रीस्तरीय निर्णयबाट श्रेष्ठलाई महानिर्देशक र डोटेललाई निर्देशकको जिम्मेवारीबाट हटाएर मन्त्रालयमा सरुवा गरिएको हो । यससँगै विभागको महानिर्देशकमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा.दीपेन्द्ररमण सिंहलाई लगिएको छ भने, आपूर्ति व्यवस्थापन शाखामा एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. रमेश खरेललाई पठाइएको छ ।

स्वास्थ्य सेवा विभागको महानिर्देशक र आपूर्ति व्यवस्थापन शाखाको निर्देशक स्वास्थ्य क्षेत्रका जिम्मेवार पद मानिन्छन्। मुलुकमा कोरोनाभाइरसको संक्रमण बढिरहेका बेला स्वास्थ्य क्षेत्रका दुई महत्वपूर्ण पदमा जिम्मेवारी हेरफेरलाई चासोका साथ हेरिएको छ ।

सरुवा गरिएका महानिर्देशक श्रेष्ठ र निर्देशक डोटेल ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल प्रालि मार्फत कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि चीनबाट एक करोड ३ लाख ३३ हजार अमेरिकी डलरभन्दा बढीको सामग्री खरीदमा भएको अनियमिततामा विवादमा परेका अधिकारीहरु हुन् ।

हे.लिंक – कसरी पायो ओबीसीआईले अर्बौंको स्वास्थ्य सामग्री ठेक्का ? को हुन् तुलबहादुर सिंह (हरि) ?

ओम्नी मार्फत गुणस्तर जाँच नभएका र ४८ गुणासम्म बढी मूल्य भएका सामग्री खरीद भएको भन्दै स्वास्थ्यमन्त्री ढकालसँगै महानिर्देशक श्रेष्ठ र निर्देशक डोटेललगायतका मन्त्रालयका उच्च अधिकारीको व्यापक आलोचना भएको थियो ।

यो खरीद प्रकरण विवादित भएपछि कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी काम गर्ने कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर(सिसिएमसी)का संयोजक समेत रहेका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले समेत एक पत्रिकालाई अन्तर्वार्ता दिने क्रममा ओम्नी प्रकरणबारे उठेका प्रश्नमा ‘स्वास्थ्य सेवा विभागका डाइरेक्टरले के भन्नुहुन्छ, त्यो सुन्नुपर्‍यो नि तपाईंले’ भनेका थिए ।

उक्त खरीद प्रक्रियामा स्वास्थ्य मन्त्रालय मात्र नभएर प्रधानमन्त्री कार्यालय र उनको सचिवालयसम्म जोडिन पुगेको थियो । स्वास्थ्य सेवा विभाग मार्फत स्वास्थ्य सामग्री खरीदको जिम्मेवारी पाएको ओम्नीले त्यसअघि प्रधानमन्त्री कार्यालय र अन्य सरकारी निकायबाट ठूलो रकमको ठेक्का पाइसकेको थियो ।

व्यवस्थापन शाखाबाट बिहीबार साँझ नै बिदा भइसकेका डोटेलले हिमालखबरसँगको कुराकानीमा स्वास्थ्य सामग्री खरीदको ठेक्काको विषयलाई लिएर आफूलाई जिम्मेवारीबाट हटाइएको घुमाउरो पारामा स्वीकार गरे । “बन्दाबन्दीको बेला समयमै उचित मूल्य र गुणस्तरीय सामान समयमै देशभित्र आइनपुग्नुमा हामी दोषी छैनौं,” उनले भने, “यसमा को जिम्मेवार छ भनेर समीक्षा गरिनुपर्छ ।”

ओम्नी प्रकरण सार्वजनिक भएलगत्तै २५ चैतमा स्वास्थ्य सेवा विभागका लेखा प्रमुख केशव प्रसाईंलाई कारागार विभाग डिल्लीबजारमा सरुवा गरिएको थियो । मन्त्रालय स्रोतका अनुसार प्रसाईंले ओम्नीलाई स्वास्थ्य सामग्री खरीद गर्न दिने प्रक्रियामा अनियमितता भएको भन्दै आएका थिए ।

प्रसाईंको सरुवाको झण्डै दुई महीनापछि ओम्नी मार्फतको विवादास्पद खरीद प्रकरणमा जोडिएका स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठ र आपूर्ति व्यवस्थापन शाखाका निर्देशक डोटेलको सरुवा भएको हो । मन्त्रालय स्रोतका अनुसार यस प्रकरणमा स्वास्थ्य मन्त्री ढकाल विभागका महानिर्देशक र व्यवस्थापन शाखाका निर्देशकसँग रुष्ट थिए ।

व्यवस्थापन शाखाबाट बिहीबार साँझ नै बिदा भइसकेका डोटेलले हिमालखबरसँगको कुराकानीमा स्वास्थ्य सामग्री खरीदको ठेक्काको विषयलाई लिएर आफूलाई जिम्मेवारीबाट हटाइएको घुमाउरो पारामा स्वीकार गरे । “बन्दाबन्दीको बेला समयमै उचित मूल्य र गुणस्तरीय सामान समयमै देशभित्र आइनपुग्नुमा हामी दोषी छैनौं,” उनले भने, “यसमा को जिम्मेवार छ भनेर समीक्षा गरिनुपर्छ ।”

डोटेलको भनाइबाट ओम्नी मार्फतको खरीद प्रकरणमा स्वास्थ्य सेवा विभाग, व्यवस्थापन शाखाको मात्र संलग्नता रहेको देखिदैंन । डोटेलले ती स्वास्थ्य सामग्री कति परिमाणमा खरीद गर्ने भन्ने कुरा स्वास्थ्य सचिव प्रमुख रहेको इन्सीडेन्ट कमान्ड सिस्टम र सीसीएमसीले तोक्दै आएको र आफूहरुले त्यसै अनुसार खरीद प्रक्रिया अघि बढाएको बताएका छन् ।

“सीसीएमसीले तोकेको आधारमा ओम्नी मार्फत खरीद गरिएका सामग्रीको परिमाण निर्धारण गरिएको हो,” उनले भने, “सीसीएमसीले नै शुरुमा १५ सय कोरोना संक्रमित हुन्छन् भन्ने आकलन गरेको आधारमा सामग्रीको परिमाण तोकियो ।”

यस्तै चीनबाट थप एक लाख थान आरडीटी किट खरीदको परिमाण स्वास्थ्य मन्त्रालय अन्तर्गतको इन्सीडेन्ट कमान्ड सिस्टमले तोकेको आधारमा तय भएको डोटेल बताउँछन् ।

उनले अहिलेसम्म आपूर्ति व्यवस्थापन शाखाले वार्ता र प्रतिस्पर्धा दुई विधि अपनाएर कोरोनाभाइरस संक्रमणसँग सम्बन्धित सामग्री खरीद गरेको बताए । उनका अनुसार ओम्नी मार्फत खरीद गर्दा पनि प्रतिस्पर्धा र वार्ता दुवै विधि अपनाइएको थियो ।

“शुरुमा प्रतिस्पर्धाबाट सामग्री खरीद गर्न बोलपत्र आह्वान गरेपछि दोस्रो चरणमा सात वटा कम्पनी छान्यौं”, डोटेल भन्छन्, “अन्तिम चरणमा योग्य ठहरिएका दुई कम्पनीसँग स्वास्थ्य मन्त्रालयमा भएको वार्ता मार्फत ओम्नीलाई छानेका हौं ।”

यद्यपि स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार चिकित्सक डा.खेम कार्कीले ओम्नी प्रकरणका कारण नभएर बरु मन्त्रालयको कामलाई थप प्रभावकारी बनाउन दुई अधिकारीहरुको सरुवा भएको बताउँछन् । “मन्त्रालयको काममा थप समन्वय र सहजीकरणका लागि उहाँहरुको सरुवा भएको हो”, डा. कार्की भन्छन्, “कारवाही स्वरुप होइन ।”

कालोसूची कार्यान्वयन भएन

यो खरीद प्रकरण विवादित भएसँगै निर्धारित समयमा गुणस्तरीय सामान नल्याएको भन्दै स्वास्थ्य सेवा विभागले ओम्नीसँगको खरीद सम्झौता रद्द गर्दै उक्त कम्पनीलाई कालो सूचीमा राख्ने निर्णय गरेको थियो ।

हे.लिंक–स्वास्थ्य सामग्री खरीदमा अनियमितता गर्ने ओम्नीलाई कालोसूचीमा राख्ने पक्रिया अघि बढ्यो

ओम्नीलाई कालो सूचीमा राख्न आपूर्ति व्यवस्था शाखाले २५ चैतमा सार्वजनिक खरीद अनुगमनको कार्यालयलाई पत्राचार गरिसकेको छ । तर, कार्यालयले अहिलेसम्म ओम्नीलाई कालो सूचीमा राखेको छैन ।

यस्तै मन्त्रालयले ओम्नीबाटै गुणस्तर यकिन नभई खरीद गरिएका ७५ हजार थान र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) किट पनि प्रयोग गरेर सक्याएको छ । जबकि स्वास्थ्य सेवा विभागले ओम्नीसँग खरीद सम्झौता गरिसकेपछि चीनबाट सामान ल्याउने क्रममा स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार चिकित्सक डा.खेम कार्कीले १८ चैतको पत्रकार सम्मेलनमा चीनबाट ल्याइएका गुणस्तर यकिन नभएका सामान प्रयोग नगर्ने बताएका थिए ।

हे.लिंक–गुणस्तर यकिन नभएको भन्दै सरकारद्वारा चीनबाट ल्याइएका किट प्रयोग नगर्न निर्देशन

प्रतिकृया दिनुहोस