अन्तर्वार्ता/विचार शुक्रबार, जेठ २३, २०७७

ज्याकामाण्डु काठमाण्डु

डा. तीर्थबहादुर श्रेष्ठ

ज्याकामाण्डु काठमाण्डु
काठमाडाैंकाे रत्नपार्कमा फूलेको ज्याकाराण्डा । तस्वीरहरु: मनीष पाैडेल

– आर्काइभबाट

दक्षिणी गोलार्द्धका शहरहरूको शोभा बढाएको ज्याकाराण्डालाई सडकमा रोप्ने हो भने काठमाडौं पनि ती शहर जस्तै सुन्दर देखिनेछ।

डा‍. तीर्थबहादुर श्रेष्ठ

काठमाडौंलाई ग्रीष्मको सूर्यले निकै तताएको छ। तापमापन यन्त्रको पारो चढेर ३२ डिग्री सेल्सियस नाघिसकेको छ।

५०/६० वर्ष पहिले पनि ३०/३२ डिग्री पुग्ने गरेको भए पनि त्यो वेला अपरान्ह २/३ बजेपछि काठमाडौं सेलाउन थाल्थ्यो र साँझमा शीतल हावा चल्थ्यो।

आजभोलि भने बिहान ९/१० बजे नै ३० डिग्री तापक्रम हुने काठमाडौं साँझ् ६/७ बजेसम्म पनि सेलाउँदैन।

उहिले ४/५ घन्टाको गर्मी छले पुग्ने काठमाडौंमा अहिले १५/१६ घन्टा गर्मी हुन्छ। ढलान गरिएको छत रातमा सेलाउन नपाउँदै बिहानको घामले तताउन थाल्छ।

उपत्यकाको राप र तापको परिमाण नाप्ने गरिएको छैन। राप र तापको ऊर्जालाई क्यालोरी अथवा जुलमा नाप्दा मात्र वास्तविक गर्मी मापन गर्न सकिन्छ। सेन्टिग्रेड वा फर्नहाइटले तापको तीक्ष्णता मात्र नाप्न सक्छ। एक लिटर पानी उमाल्न खर्च हुने क्यालोरीभन्दा दश दोब्बर क्यालोरी खर्च हुन्छ, १० लिटर पानी उमाल्दा।

तर, एक लिटरको भाँडोमा पनि तापक्रम १०० डिग्री पुगेको हुन्छ भने १० लिटरको भाँडोमा पनि त्यति नै। अर्थात् एक लिटर पानी सेलाउँदा त्यागिने गर्मीभन्दा दश गुणा बढी गर्मी त्यागिन्छ, दश लिटर पानी सेलाउँदा।

पीच गरेको एक किलोमिटर बाटोले भन्दा १० किलोमिटर बाटोले दश गुणा बढी सूर्यको ताप सोस्छ। यसैगरी, सय घरले भन्दा हजार घरले दश गुणा बढी ताप सोस्छ। हरियाली क्षेत्रले भने ताप सोस्दैन। बरु, बिरुवाका पातबाट पानीको वाष्प उडेर ताप घटाउँछ।

यसरी हेर्दा काठमाडौंमा उष्णीकरण हुनुको महत्वपूर्ण कारण यहाँको भौतिक विकास र निर्माण हो। यसैकारण उप–उष्ण क्षेत्रको काठमाडौं उष्ण क्षेत्रमा परिणत हुँदैछ। उष्ण प्रदेशमा हुने बीज–बिरुवा काठमाडौंमा मौलाउन लागेको एउटा उदाहरण ‘ज्याकाराण्डा’ पनि हो।

ज्याकाराण्डाको उद्भव दक्षिण अमेरिकाको बोलिभिया, ब्राजिल र अर्जेन्टिनाबाट भएको देखिन्छ। पाँचदेखि पन्ध्र मिटर अग्लो यो वृक्षको बकाइनोको बोट जस्तै धेरै हाँगाबिंगा हुन्छन्।

निलै फूलेको ज्याकाराण्डा ।

चैत–वैशाखमा फूल फुल्न थालेपछि यो वृक्ष पूरै नीलो हुन्छ। झरेको फूल सानो चरा झैं देखिने हुनाले नेवार समुदायले यसलाई भँगेरी फूल अर्थात् ‘चखुँचा स्वाँ’ भन्छ।

यसको पात शिरीषको पातसँग धेरै हदसम्म मिल्छ। त्यसैले शिरीषलाई वनस्पति विज्ञानले माइमोसा वर्गमा राखेको छ भने ज्याकाराण्डालाई माइमोसिफोलिया भन्छ। कैयौं नेपालीभाषीले यसलाई नीलो शिरीष भन्ने गरेका छन्।

त्यसै क्रममा साहित्यकार पारिजातले ‘शिरीषको फूल’ नामक प्रख्यात उपन्यास लेखेकी थिइन्। हिमाल खबरपत्रिका, १६–३१ असोज २०६३ मा मैले पनि ज्याकाराण्डा र शिरीषको भेद खुट्याउन ‘कुहिरो र घुइरोः पारिजात र शिरीष’ शीर्षकको लेख लेखेको थिएँ।

अहिले चाहिं ज्याकाराण्डालाई केन्द्रविन्दुमा राखेर काठमाडौंलाई हेर्ने जमर्को गरेको छु।

वि.सं. २०६२र६३ को जनआन्दोलनका वेला काठमाडौंको चक्रपथ, दरबारमार्ग, रानीपोखरी र रत्नपार्कका सडक ज्याकाराण्डा फुलेर निलाम्य थिए।

दरबारमार्गमा रहेका यसका रूख काटिएर ठुटा बने पनि अन्य ठाउँका सडकलाई भने अझै यसले निलाम्य बनाएकै छ। अब निर्माण हुने सडकमा पनि ज्याकाराण्डा फुलाउन सक्दा ग्रीष्मकालीन काठमाडौं ‘ज्याकामाण्डु’ बन्नेछ।

ज्याकाराण्डाकै कारण नेल्शन मण्डेलाको प्रिटोरिया शहर ‘ज्याकाराण्डा सिटी’ भनेर चिनिन्छ।

उत्तरी गोलार्द्धमा पर्ने काठमाडौं र दक्षिणी गोलार्द्धमा पर्ने प्रिटोरिया भूमध्यरेखाको झन्डै समदूरीमा छन्।

याे पनि हेर्नुहाेस्– कुहिरो र धूइरो; पारिजात र शिरीष

सिंहदरबार अगाडिकाे सडक छेउ फुलेकाे ज्याकाराण्डा ।

हाम्रोमा वैशाख–जेठमा ग्रीष्म ऋतु आउँछ भने प्रिटोरियामा अहिले जाडो छ। त्यसैले त्यहाँ अहिले ज्याकाराण्डा जाडोले कठ्यांग्रिएको छ।

यहाँको पुस–माघमा त्यहाँ ग्रीष्म ऋतु आउँछ। त्यसवेला शहरलाई ज्याकाराण्डाले निलाम्य बनाउँछ। प्रिटोरियो पनि काठमाडौं जस्तै समुद्र सतहबाट १३५० मिटरको उचाइमा छ।

हामी कर्कटरेखा भन्दा उत्तरमा छौं, प्रिटोरिया मकररेखादेखि दक्षिणमा छ। त्यसैले दुवै ठाउँका दिन र रात ऋतु अनुसार उति नै लामा छन्।

अधिकांश वनस्पतिमा फूल फुल्नुमा दिन र रातको सापेक्षित लम्बाइको प्रमुख भूमिका रहन्छ। लामो दिन र छोटो रात ज्याकाराण्डाको निम्ति उपयुक्त हुन्छ।

अष्ट्रेलियाको भिक्टोरिया र क्विन्सलैण्डका शहरमा पनि क्रिसमसको वेलामा ज्याकाराण्डा फुल्छ। क्विन्सलैण्ड विश्वविद्यालयको क्रिसमस गानमा ज्याकाराण्डाको प्रशंसा गरिएको छ।

अष्ट्रेलियाको भिक्टोरियाको रेडक्लिफको शहरस्थित ‘ज्याकाराण्डा स्ट्रिट’ ।

भिक्टोरियाको रेडक्लिफको शहरको ‘ज्याकाराण्डा स्ट्रिट’ पर्यटकका लागि प्रख्यात नै छ। दक्षिण गोलार्द्धका अष्टे्रेलिया र दक्षिण अफ्रिकासँगै बोलिभिया, ब्राजिल, अर्जेन्टिनामा क्रिसमसकै समयमा ज्याकाराण्डा फुल्छ।

काठमाडौंमा भने ज्याकाराण्डा फुल्ने समय यही हो। यो गर्मी मौसममा फुल्ने ज्याकाराण्डालाई सडकमा लगाउने हो भने काठमाडौं निलाम्य भएर ज्याकामाण्डु बन्नेछ।

– हिमाल खबरपत्रिका को ११-१७ जेठ, २०७१ मा प्रकाशित अंकबाट

प्रतिकृया दिनुहोस