उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न महानगरकाे माग
काठमाडौं महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकारसँग माग गरेको छ ।
विश्वभरि फैलिएको कोरोना भाइरसले पछिल्लो समय काठमाडौं उपत्यकामा पनि सङ्क्रमण बढ्दै गइरहेकाले कामपाको ४६ औं विशेष नगर कार्यपालिका बैठकको निर्णयले यस्तो आग्रह गरेको हो ।
‘कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको बन्दाबन्दीकाे अवधिमा उपत्यका प्रवेश गर्ने प्रवेश विन्दु (नाका) बाट अत्यावश्यक सेवा प्रवाहमा संलग्न सवारी साधन तथा पासको दुरुपयोग गरी उपत्यका प्रवेश गर्ने क्रम नरोकिएको भन्दै कामपाले यस किसिमको आग्रह गरेको हो ।
प्रवक्ता ईश्वरमान डङ्गोलले काठमाडौंमा कोरोनाभाइरस सङ्क्रमणको खतरा बढ्दै गएकाले यसको रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई लेखी पठाउने निर्णय बैठकमा भएको जानकारी दिए।
त्यसैगरी बन्दाबन्दीको अवधिमा कोही व्यक्ति अत्यावश्यक कामका लागि काठमाडौं उपत्यकाभित्र प्रवेश गर्नुपर्ने भए निजको प्रस्थानविन्दुमै कोभिड–१९ को परीक्षण गरी रिपोर्ट नेगेटिभ आएको पुष्टि भएपछि मात्र उपत्यकामा प्रवेश गर्न अनुमति दिने व्यवस्था मिलाउनुपर्ने पनि बैठकमा जारी विज्ञप्तिमा भनिएको छ ।