समाचार आइतबार, जेठ ४, २०७७

कोरोना संक्रमितको उपचारमा उपयोगी देखिएको औषधि खरीद गर्ने तयारी

रामु सापकोटा

कोरोना संक्रमितको उपचारमा उपयोगी देखिएको औषधि खरीद गर्ने तयारी

कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको उपचारका लागि औषधि तथा खोपको क्लिनिकल ट्रायल गर्ने निर्णय अनुसार विदेशबाट औषधि ल्याउने तयारी शुरु गरिएको छ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको कोरोना नियन्त्रण तथा रोकथाम समितिको वैदेशिक समन्वय शाखाले रेमडिसिभीर औषधि ल्याउन तयारी अघि बढाएको छ। वैदेशिक समन्वय शाखाका संयोजक डा. रोशन पोखरेल बाङ्लादेशको एक निजी कम्पनी मार्फत उक्त औषधि ल्याउन सम्पर्क गरिसकेको बताउँछन्। "मन्त्रालयका विज्ञहरुले औषधि ल्याउन अनुमति दिए लगत्तै प्रक्रिया शुरु गर्नेछौं", उनी भन्छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले इबोलाका बिरामीमा परीक्षण भइरहेको एन्टीभाइरल रेमडिसिभीर सहितका चार प्रकारका औषधि कोभिड–१९ संक्रमितको उपचारका लागि प्रभावकारी हुने वा नहुने पत्ता लगाउन परीक्षणको प्रारम्भिक प्रक्रिया शुरू गरिसकेको छ। परिषद्ले रेमडिसिभीरसहितका चार प्रकारका औषधिमाथि क्लिनिकल ट्रायलको काम शुरू गर्दैछ।

तर, परिषद्का अनुसन्धानकर्ता डा. मेघनाथ धिमालका अनुसार, उक्त ट्रायललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सैद्धान्तिक स्वीकृति दिइनसकेकाले थप प्रक्रिया अगाडि बढ्न पाएको छैन। उनी परिषद्ले मन्त्रालयको स्वीकृति कुरिरहेको र स्वीकृति पाए लगत्तै क्लिनिकल ट्रायल अगाडि बढाइने बताउँछन्।

कोरोनाबाट संक्रमित सिकिस्त बिरामीको उपचारका लागि एन्टीभाइरल रेमडिसिभीर प्रभावकारी हुने केही अन्तर्राष्ट्रिय अध्ययनहरुले देखाएका छन्। 

अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले भने रेमडिसिभीर औषधि कोरोना संक्रमितको उपचारका लागि प्रयोग गर्न मान्यता दिएको छैन।

अनुमति नदिंदा इलाइजा खरीद प्रक्रिया अघि बढेन

र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) मार्फत कोरोनाभाइरस परीक्षण व्यावहारिक नभएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इलाइजा खरीद गर्ने तयारी थालेको छ। आरडीटीभन्दा बढी प्रभावकारी मानिने इलाइजा मार्फत मानव शरीरमा कोरोनाभाइरस विरुद्ध लड्ने एन्टीबडी बनेरनबनेको परीक्षण गरिन्छ।

मन्त्रालय अन्तर्गतको कोरोना नियन्त्रण तथा रोकथाम समितिको वैदेशिक समन्वय शाखाले स्वीट्जरल्याण्डको रोस लगायतका कम्पनीसँग सम्पर्क गरिसकेको छ। शाखाका प्रमुख डा. रोशन पोखरेल ती कम्पनीहरुबाट इलाइजाको मूल्य समेत मगाइसकेको बताउँछन्। “राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अलाइजा खरीद गर्नुपर्छ भन्यो भने प्रक्रिया अघि बढाउँछौं", उनी भन्छन्।

प्रयोगशालाकी निर्देशक डा. रुना झा आरडीटी भन्दा अलाइजा अरु मुलुकहरुमा पनि प्रभावकारी देखिएकाले नेपालले पनि यसको प्रयोग गर्न सक्ने बताउँछिन्।

डा. झा इलाइजा नेपालमा यो कत्तिको प्रभावकारी हुनसक्छ भनेर आफूहरुले अध्ययन गरिरहेको र यो खरीदका लागि मन्त्रालयबाट कुनै औपचारिक पत्र नपाएको बताउँछिन्।

प्रतिकृया दिनुहोस