गोरखाको पालुङटार नगरपालिका–९ घडेरीखोलास्थित मानव बस्तीभित्र आइतबार चितुवा मृतावस्थामा भेटिएको छ ।
शरीरमा कतै पनि चोटपटक नलागेको अवस्थामा बयस्क पोथी चितुवा मृतावस्थामा फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिए।
“चितुवा मृत फेला परेको ठाउँमा वरपर चितुवाले दिसा र बान्ता गरेको समेत पाइएको छ”, उनले भने, “शरीरमा कतै पनि चोटपटक देखिएको छैन ।” मृतावस्थाको चितुवाकोे प्रकृति हेर्दा विष खुवाएर मारेको हुनसक्ने आङ्शका वन कार्यालयले गरेको छ।
उक्त मृत चितुवा घडेरीखोलाको बस्ती बीचमा रहेको एउटा घरभित्र फेला परेको उनले बताए।
स्थानीयवासीले वयस्क चितुवा मर्न लागेको अवस्थामा भेटिएको भनेर जानकारी गराएपछि तत्काल उद्धारका लागि वन कार्यालयबाट टोली पुग्दा चितुवा मरिसकेको पाइएको प्रमुख पौड्यालको भनाइ छ ।
चितुवा विष खुवाएर मारेको आशङ्कामा कार्यालयले अनुसन्धान शुरु गरेको उनले बताए। “यसरी नै मर्यो भन्न सकिहाल्ने अवस्था छैन”, प्रमुख पौड्यालले भने, “घटनाको सबै प्रकृति हेर्दा शङ्कास्पदजस्तो पनि देखिन्छ, मृत्युको कारण पत्ता लगाउन परीक्षणको तयारी भइरहेको छ।”
उनले मृत चितुवाको परीक्षणका लागि चितवनस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा लैजाने तयारी भएको बताए। “परीक्षणपछि कालगतिले मरेको हो वा होइन भन्ने पुष्टि हुन्छ”, उनले भने।
यसअघि गत शुक्रबार पनि जिल्लाको पालुङटार नगरपालिका–२ जामुुनेस्थित जङ्गलछेउमा एउटा चितुवा मृतावस्थामा फेला परेको थियो । शुक्रबार मृत फेला परेको चितुवा भने कालगतिले मरेको पाइएको उनको भनाइ छ । जिल्लामा गएको तीन दिनभित्रमा दुई चितुवा मृत फेला परिसकेका छन्।