अप्रिल महिनामा औसतभन्दा बढी वर्षा
यस वर्ष अप्रिल महीनामा औसतभन्दा बढी वर्षा भएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा निरन्तर नेपाल प्रवेश गरिरहेकाले काठमाडौंलगायत देशका अधिकांश भूभागमा अघिल्ला वर्षभन्दा बढी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौँ उपत्यकामा अप्रिल महीनामा सरदर ६१ मिलिमिटर वर्षा हुनुपर्नेमा यस वर्ष ९२ मिलीमिटर वर्षा भएको मौसमविद् शान्ति कँडेलले बताइन्। आकाशको बादल र वर्षालाई हेर्दा मनसुन सक्रिय भएको जस्तो लागे पनि यस वर्षाको प्रकृति भिन्न छ ।
सामान्यतया नेपालमा जून १० देखि मनसुन शुरु हुने गर्छ । यस वर्ष मनसुनको समयमा पनि औसत वर्षा हुने मौसमविद्को अनुमान रहेको छ ।
प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझपख मेघगर्जनसहित क्षणिक वर्षा हुने गर्छ । अहिले प्रिमनसुनका साथै अन्य प्रणालीको प्रभाव रहेकाले देशको अधिकांश स्थानमा बिहानैदेखि बदलीसहित वर्षा भएको हो ।
विगत केही दिनदेखि देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै बङ्गालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु लगातार नेपाल प्रवेश गर्ने क्रम जारी रहेकाले मौसममा सुधार हुन अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज देशको पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । दिउँसो देशको अधिकांश भूभाग सामान्य बदली रही पहाडी भूभागका केही स्थान र तराई एक दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
भोलि देशको अधिकांश भूभागमा सामान्य बदली रही पूर्वी भूभागका केही स्थान र पश्चिमी तथा मध्य भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबार देशको पूर्वी र मध्यलगायत पश्चिमी पहाडी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रही पूर्वी भूभागको केही स्थानमा पश्चिमी तथा मध्य भूभागमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको औँल्याएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २३ दशमलव ८ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ६ दशमलव ९ डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३४ दशमलव २ डिग्री सेल्सियस रहेको छ।