टिप्पणी सोमबार, वैशाख २९, २०७७

महामारीमा नेवार समाज: उहिल्यै पनि‌ ‘क्वारेन्टिन’ र ‘आइसोलेसन’ मा बस्थे !

वसन्त महर्जन

महामारीमा नेवार समाज: उहिल्यै पनि‌ ‘क्वारेन्टिन’  र  ‘आइसोलेसन’ मा बस्थे !

कोेरोनाभाइरसको महामारीबाट विश्व आक्रान्त छ । तर, विश्वले सामना गरेको यो पहिलो महामारी होइन । नेपालले पनि इतिहासमा यस्ता महामारीको सामना गरिसकेको छ ।

 वसन्त महर्जन

महामारीबाट सर्वसाधारण मात्रै नभएर राजा तथा राजपरिवारका सदस्यहरूको पनि मृत्यु भएको इतिहास छ । महामारी रोकथामका लागि अहिले बनाइएका कतिपय नियम तथा आचारसंहिता परम्पराका रुपमा अझै प्रचलनमा छन् ।

काठमाडौं उपत्यकाको नेवार समाजमा प्रचलित जीवनशैली तथा मूल्यमान्यताले इतिहासमा सामना गरिएका महामारी र बच्न गरिएका उपायको छनक दिन्छ । अहिले चर्चामा रहेका ‘क्वारेन्टिन’, ‘आइसोलेसन’ र ‘लकडाउन’ जस्ता शब्द नयाँ भए पनि यसको प्रयोग नेपालको नेवार समाजका लागि नौलो नभएको बुझिन्छ ।

  • क्वाद्रागिन्ता (ल्याटिन) बाट क्वारान्ता (इटाली) र त्यसैबाट ‘क्वारेन्टिन’ शब्द बनेको मानिन्छ । जसको अर्थ बाह्य दुनियाँसँग छुट्टिएर बस्नु हो । यसलाई नेवार समाजमा प्रचलित ‘पू च्वनेगु’ अभ्याससँग दाँज्न सकिन्छ । परदेशमा व्यापार–व्यवसाय तथा तीर्थाटन गरेर फर्कनेहरू सोझै घरमा पस्न र सदस्यहरूसँग हेलमेल गर्न पाइँदैन । उनीहरूलाई छुट्टै व्यवस्था गरी निश्चित दिनसम्म राख्ने र सो अवधि सकिएपछि नुहाईधुवाई गरी चोखिनुपर्ने रीति छ । ‘पू च्वनेगु’ नियम राणा कालसम्म कायम थियो। यसरी ‘क्वारेन्टिन’ को बसाइ सम्पन्न भएको प्रमाणपत्र लिनुपर्ने कुरा तिब्बतबाट फर्कने नेवार व्यापारीहरूको अनुभवबाट थाहा हुन्छ ।

  • रोगव्याधिको वेला एक्लै छुट्टिएर बस्ने चलन पनि नेवार समाजमा प्रचलित छ । कति दिन बस्ने भन्ने सन्दर्भमा रोगको प्रकृति हेरेर निर्धारण गरिन्छ । हैजाका लागि दुई हप्ता, बिफरका लागि चार हप्ता, अज्ञात रोग भए ६ हप्ता आइसोलेसनमा बस्नुपर्छ ।

  • सुव्यवस्थित रुपमा बसालिने नेवार बस्ती वास्तुकलाका दृष्टिले जति आकर्षक छन् त्यति नै स्वास्थ्यको दृष्टिले पनि जागरुक देखिन्छन् । बस्तीमा जताबाट पनि प्रवेश गर्न नमिल्ने गरी निश्चित प्रवेश मार्ग बनाइएको हुन्छ । बस्ती शुरु हुनुअघि मूल बाटोमा ढुंगेधाराको बन्दोबस्त गरिएको अझै देख्न पाइन्छ । यही धारामा हात–खुट्टा धोएर मात्रै बस्तीमा छिर्ने गरिन्छ । यसरी नै अपरिचित परदेशी बस्नका लागि पाटी बनाइएको हुन्छ ।

  • बाहिरबाट घर छिरेपछि पानीले कुल्ला गरेर मात्रै बोल्नुपर्ने मान्यता छ । बाहिरबाट आएर सीधै बच्चालाई छुन नहुने वा बच्चाहरूलाई छुनुअघि हात धुनुपर्ने, कुल्ला गर्नुपर्ने मान्यता पनि छ ।

  • संक्रमण हुने वा संभावना भएको ठाउँको पहिचान पहिल्यै गरिएको पाइन्छ । निश्चित ठाउँलाई ‘पुने यःगु थाय्’ अर्थात् संक्रमित हुनसक्ने भनी तोकिएको हुन्छ । त्यस्तो ठाउँमा नजान कडा चेतावनी दिइएको हुन्छ । अचानक कोही बिरामी पर्‍यो भने जहाँ जहाँ गएको हो, ‘ट्रेसिङ’ गर्ने र ती ठाउँबाट संक्रमण भएको भनी समाजमा अरुलाई जानकारी दिन ‘पुइँ हने’ गरिन्छ । कपासको धागो बनाएर त्यसमा कपासकै डल्लाहरू उठाई बीच बीचमा रातो रंग भरी संक्रमण स्थलमा सबैले देख्ने गरी राखेपछि मान्छेहरू त्यस ठाउँबाट तर्किएर हिंड्ने गर्छन् ।

  • शवयात्रामा जानु संभावित संक्रमणसँग जुध्नु हो । यही भएर परम्परागत शवयात्राको अघिअघि गुइँठा बालेर तथा अन्य वस्तुको धुवाँ उडाएर लैजाने गरिन्छ, जसले वातावरणलाई दूषित हुनबाट बचाउँछ । यसरी नै मलामी जानेहरू मशानघाटबाट फर्कंदा हातमुख धुनुका साथै कुल्ला गरेर मात्रै नियमित काममा लाग्नुपर्ने संस्कार यद्यापि छ । यसरी नै मशानमा शवलाई जल अर्पण गरेर अन्तिम बिदाइ गर्ने तथा दागबत्ती दिनेहरू घर फर्कंदा ‘च्वकाबजिं पिइकेगु’ भन्दै चिउराको धूलो छर्कनुका साथै हँसियामाथि पिंडालुको टुक्रा थाप्न लगाउने विशेष विधि पुर्‍याउने गरिन्छ । नेवार समाजमा किरियापुत्रीले बाह्य व्यक्तिहरूसँग छुनै नहुने सबैमा अनिवार्य नभए पनि ‘खौ भ्याः कायेग’ भनेर तोरी पेलेर बाँकी रहेको पिना वा तोरी नै पिंधेर शरीरमा दल्ने र पछि पखाल्नै पर्ने मान्यता छ ।

  • समाजमा प्रचलित चाडपर्वहरूलाई खानपान र मनोरञ्जनमा मात्रै सीमित नभएर रोगव्याधि तथा स्वास्थ्यसँग पनि सम्बन्धित बनाइएको पाइन्छ । प्रत्येक चाडपर्व समय अनुसार बेग्लाबेग्लै खानपानसँग सम्बन्धित हुनुको अर्थ शरीरमा आवश्यक ‘इम्युनिटी पावर’ लाई कायम राख्न अपनाइने विधि हो । वर्षमा एकपल्ट सिस्नुको तरकारी खानुपर्छ भनेर जाडोको वेला सिस्नु टिप्ने र पकाएर खाने चलन आजभोलि पनि परम्परागत नेवार समाजमा पाइन्छ । सिस्नुले शरीरको ताप बढाउँछ । ‘खाइसँल्हू’ भनिने अक्षयतृतीयामा दालचिनी, सुकुमेल, जौको पीठो आदि मिसाएर सक्खरको पानी खाँदा गर्मीबाट बच्न सकिन्छ । यसरी नै गाईजात्रा पर्वमा ‘क्वाति’ भनेर विभिन्न गेडागुडी मिलाएर बनाइएको सूप खाइन्छ । काठमाडौंमा विशेष रुपमा मनाइने चाड पाहाँचह्रे पर्व (यसअन्तर्गत घोडाजात्रा पनि गरिन्छ) पछि रोगव्याधि वा महामारीको संभावना अधिक हुने भएकोले यसलाई त्यसैको जनाउको रुपमा पनि लिइन्छ ।

प्रत्येक वर्ष तिहारका वेला सम्पन्न गरिने ‘म्हपूजा’ नितान्त रुपमा भौतिक शरीरसँग सम्बन्धित छ । पूजाका अवसरमा कुनै रोगव्याधि नलागोस् भनेर आशिका गरिन्छ। यस पूजाले शरीरको हिफाजत गर्नको लागि सचेत गर्दछ ।

महामारीका वेला प्राकृतिक तथा वैद्यको औषधिमूलो त गरिन्छ, तर रोगको पहिचान नै हुन नसक्ने अवस्थामा पनि बन्दाबन्दीमा बसेर हुन्छ वा अन्य तरिकाले, आफूलाई सुरक्षित राख्ने गरेको पाइन्छ । रोग फैलन नपाओस् भनेर बाटोघाटो तथा आवतजावत बन्द गर्ने गरेकाे आजभन्दा तीनसय वर्षअघि तिब्बत जान हिंडेको एउटा क्रिश्चियन मिशनरीले उल्लेख गरेका छन् । त्यही कारण सो मिशनरी लामो समयसम्म नेपालमा नै थुनिनु परेको थियो ।

प्रतिकृया दिनुहोस