टिप्पणी मंगलबार, फागुन २१, २०७५

हिंसाको दुश्चक्र दोहोरिने जोखिम

शेखर खरेल

माओवादी संसदीय प्रक्रियामा आएपछि असन्तुष्ट बनेको त्यसैभित्रको एउटा समूह फेरि हिंसामा फर्कने खतरा बढेको छ।

१० फागुनमा नक्खु बम विस्फोटमा ज्‍यान गुमाएका सिंहप्रसाद गुरुङ । तस्वीरः मोनिका देउपाला

गएको १० फागुनमा एनसेल मुख्यालयको प्रवेशद्वारनेर भएको बम विस्फोटले शान्त नेपालको ध्यान भंग गरेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका उच्च तहका केही नेताले पार्टीको निर्देशनमै विस्फोट गरिएको स्वीकार गरेका छन् । विस्फोटबाट एक सर्वसाधारणको मृत्यु र दुई जना घाइते भएका थिए ।

यो मानवीय क्षतिकै कारण उक्त पार्टीलाई विस्फोटको औपचारिक जिम्मेवारी लिन कठिन भएको तथ्य घटनाको केही दिनपछि चन्द स्वयंबाट जारी विज्ञप्तिबाट बुझ्न सकिन्छ । उक्त विज्ञप्तिमा चन्दले विस्फोटबाट भएको मानवीय क्षतिप्रति क्षमायाचना त परै जाओस्, उल्लेखसम्म गरेका छैनन् । बरू उनले आफ्ना कार्यकर्तामाथि सरकारबाट भइरहेको धरपकडप्रति आक्रोश व्यक्त गरेका छन् ।

केही समययता चन्दको पार्टीको हिंसाजन्य गतिविधि सरकारका लागि टाउको दुखाइ बन्दै आएको थियो । तर, चन्दा, कुटपिट, मोसो, आगजनी जस्ता गतिविधिबाट उक्त पार्टीको कदम आज सर्वसाधारणको ज्यान लिने हदसम्म पुगेको छ । यसले राज्यको निम्ति सुरक्षा चुनौती मात्र पैदा भएको छैन, सर्वसाधारण हिंसाको निशानामा पर्ने गम्भीर अवस्था देखिएको छ ।

एनसेल मुख्यालयको विस्फोट चन्दको पार्टीले नै गराएको तथ्य सो पार्टीकै पछिल्ला गतिविधिले पुष्टि गर्छन् । उक्त पार्टीका कार्यकर्ताहरू एलएमजी र एम–१६ जस्ता स्वचालित हतियार सहित फेला पर्नुले धम्काउने र तर्साउने जस्ता क्रियाकलापबाट यो अब कतै सशस्त्र विद्रोहको तयारीमा त छैन भन्ने शंका उत्पन्न भएको छ ।

हिंसा गहिरिने ठाउँ
२०५२ फागुनमा संसदीय व्यवस्था विरुद्ध हतियार उठाएका माओवादीले संसदवादी दलहरूसँगको १२ बुँदे सहमतिको जगमा उठेको २०६२/६३ को जनआन्दोलनको सफलतासँगै संसदीय व्यवस्थाको मार्ग रोजे ।

विस्तृत शान्ति सम्झाैतापछि संयुक्त राष्ट्रसंघको उपस्थितिमा हतियार बिसाउन माओवादीका निम्ति खासै कठिन भएन । तर, माओवादीभित्रको नेतृत्वकारी तप्काको राजनीतिक रूपान्तरण जति सहज हुनसक्यो, त्यस विपरीत लडाकूको समायोजन र पुनस्र्थापना चुनौतीपूर्ण बन्यो । अयोग्यताको टाँचा लगाइँदै एक जमात लडाकूलाई शिविरबाट चियापानी खर्च दिए जसरी बहिर्गमित गराइएपछि ती लडाकूमा कुण्ठा र प्रतिरोधको बीजारोपण भयो ।

त्यसै क्रममा माओवादीभित्रको एउटा गुट संसदीय अभ्यासमा रमाउँदै सत्ताको चास्नीमा डुब्दै गयो भने अर्को गुट उपेक्षाभावका कारण असन्तुष्ट बन्दै गयो । माओवादीको पटक–पटकको फुट र विग्रह सत्ताको उपयोग र क्रान्तिको तुष बीचको द्वन्द्व थियो । अझ, संविधान निर्माणपछिको आम निर्वाचनमा मूलधारको माओवादी र तत्कालीन एमालेबीचको चुनावी गठबन्धन र निर्वाचनपछिको पार्टी एकीकरण ‘जनवादी सत्ता’ को सपना देख्नेका निम्ति अपाच्य बन्यो ।

सशस्त्र विद्रोह अक्सर विद्रोहीको जित वा उनीहरूको विनाशबाट टुङ्गिएको हुन्छ । विद्रोहीको जित असम्भव देखिंदा उनीहरूले सम्झैतामा पुगेर हतियार बिसाएका उदाहरण संसारमा अनेकौं छन् । तर, विद्रोही पक्षको ठूलै तप्काले सम्झाैताको बाटो रोज्दा पनि एउटा सानो तर उग्र समूह आफ्नो ‘क्रान्तिकारी’ धार त्याग्न तत्पर हुँदैन ।

सम्झाैताको बाटो रोजेको मूलधारका निम्ति त्यो उग्रपन्थी समूह कोलाहल मच्चाइरहने जत्था जस्तो देखिन्छ । राजनीतिशास्त्रमा ‘बार्किङ डग’ (भुकिरहने कुकुर) जस्तो भनिने यो समूह असन्तुष्टिको मनोदशामा रहे पनि विध्वंश नै भने गरिहाल्दैन । त्यसैले कतिपय अवस्थामा यस्तो समूहलाई उपेक्षा पनि गरिएको हुन्छ ।

देशमा त्यही ‘बार्किङ डग’ अहिले ‘बाइटिङ डग’ मा परिणत हुँदै गरेको देखिन्छ । यो टोकाइ त्यस्तो बेला भएको छ, जुन बेला माओवादीमा चन्दका कुनै बेलाका ‘कामरेड इन आर्मस्’ राज्यको सुरक्षा प्रशासनका प्रमुख छन् । हिजो राज्य विरुद्ध बन्दूक उठाएका एकै उद्देश्यका सहयात्रीहरू नै अहिले आमनेसामने छन् ।

गृहमन्त्री रामबहादुर थापा चन्दा र विस्फोट मार्फत आज ‘आतङ्क’ मच्चाइरहेका आफ्ना पूर्व दौंतरीहरूलाई त्यसरी नै चेतावनी दिइरहेका छन्, जसरी उनी स्वयंको नेतृत्वमा हिजो यस्तै कर्म हुँदा कांग्रेस, एमाले र शाहीकालका गृहमन्त्रीहरू कुर्लिने गर्थे ।

संविधानसभाबाट बनेको संविधान र त्यसपछिको आम निर्वाचनमा वामपन्थी दलको बहुमतपछि गठित दुईतिहाइको सरकार बनेपछि अमनचैन र स्थिरताको जुन अपेक्षा गरिएको थियो, त्यसलाई चन्दको पार्टीको हिंसात्मक गतिविधिले नराम्ररी हल्लाएको छ । बाह्र वर्षअघि थामिएको हिंसाको दुश्चक्र फेरि फर्किन लागेको त होइन भन्ने संशयले सम्बद्ध पक्षहरू सजग हुनुपर्ने बनाएको छ ।

प्रतिकृया दिनुहोस