थप समाचार शुक्रबार, वैशाख २६, २०७७

पाकिस्तानले शनिबारदेखि बन्दाबन्दी खुकुलो बनाउने

रासस

पाकिस्तानले शनिबारदेखि बन्दाबन्दी खुकुलो बनाउने

पाकिस्तानले कोरोनाभाइरसको प्रसार रोक्ने उद्देश्यले जारी देशव्यापी बन्दाबन्दीलाई भोलि शनिबारदेखि खुकुलो बनाउँदै लैजाने घोषणा गरेको छ । कोरोना संक्रमितको संख्या निरन्तर बढेपनि आमजनताको दैनिक जीवन थप कष्टप्रद हुँदै गएपछि सरकारले बन्दाबन्दीलाई खुकुलो बनाउन लागेको हो ।

प्रधानमन्त्री इमरान खानले बिहीबार बन्दाबन्दीलाई खुकुलो बनाउने तयारी गरिएको जानकारी दिँदै बन्दाबन्दीबाट आम मजदूर, साना व्यवसायी र सर्वसाधारण जनतालाई बढी नै समस्या परेको बताए।

पाकिस्तानमा कोरोना संक्रमितको संख्या २५ हजार नाघेको छ भने ५९४ जनाको ज्यान गइसकेको छ ।

प्रधानमन्त्री खानले भने, “हामी विकासशील मुलुक हौं, त्यसैले हामी देशलाई यस्तो बन्दाबन्दीमा धेरै दिन राख्न सक्दैनौं ।” उनले अगाडि भने, “हाम्रो निर्यात घटेको छ । हामीसँग सीमित स्रोत छ र हामीले त्यसलाई जनताको भलाइमा खर्च गरिसकेका छौं । बन्दाबन्दीबाट प्रभावित सबैलाई मद्दत गर्न सक्ने अवस्थामा हामी छैनौं ।”

पाकिस्तानमा कोरोनाभाइरसका बिरामी देखिएपछि गत मार्चदेखि बन्दाबन्दी जारी छ । बजार, व्यवसाय, सपिङ सेन्टर र कार्यालयहरु बन्द हुँदा मुलुकको अर्थतन्त्रमा नराम्रो असर परेको छ । प्रधानमन्त्री खानले भने, “हाम्रो राजश्वमा ३५ प्रतिशत गिरावट आएको छ भने निर्यातमा पनि ठूलो असर परेको छ ।”

पाकिस्तान सरकारले रमजानको यस महीनामा मस्जिदहरुमा सामूहिक प्रार्थनाका लागि अनुमति पनि दिएको छ । तर सरकारी अधिकारीहरुले आगामी जुलाई १५ सम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरिसकेका छन्।

पाकिस्तानी शिक्षा मन्त्री शफकत महमूदले सबै बोर्ड परीक्षाहरु रद्द गरिएका र यसअघिको बोर्ड परीक्षामा विद्यार्थीले प्राप्त गरेको अंकलाई नै आधार मान्ने व्यवस्था गरिएको जानकारी दिए।

प्रतिकृया दिनुहोस