ब्लग शनिबार, वैशाख २७, २०७७

हरित उपत्यका महात्म्य

कनकमणि दीक्षित

हरित उपत्यका महात्म्य
बन्दाबन्दीको समय गुराँस र काइँयो फूल मात्र होइन, ज्याकाराण्डा फुल्ने पनि मौसम हो । तस्वीर: मनिष पाैडेल

सिमेन्ट संरचना र कंक्रिट सोचले उपत्यकाको हरियाली त मासिसक्यौं तर शहरभित्र र वरिपरिका बचेका जङ्गलहरूलाई संरक्षण गर्ने हो भने आज पनि हराभराको सपना साकार पार्न सक्छौं ।

कनकमणि दीक्षित

जतिवेला यो नेपालमण्डलको विशाल ताल कटुवाल दहको घाँटीबाट पानी रित्तियो, यहाँ घना जङ्गल स्थापित हुनपुग्यो । पछि फिरन्ते जङ्गलवासी आए, जङ्गल फडानी भयो, अनि टार र टापुमा बस्ती बसे, समथर पूरै भूमि धानखेत बन्यो । हजारौं वर्ष यसरी नै शहर र खेतले उपत्यकालाई परिभाषित गरे । यहाँको उर्वर उब्जनीको आयबाट समृद्ध शहरवासीले संसारमै उत्कृष्ट मूर्त–अमूर्त सम्पदा र संस्कृति जन्माए ।

आज पनि थोरै ठाउँमा उपत्यकाको पिंधमा पुरानो जङ्गलको अवशेष भेटिन्छन्— श्लेषमान्तक वन, गोकर्ण जङ्गल, बज्रवाराहीको हरित प्राङ्गण । यिनीहरूले हामीलाई प्राग्ऐतिहासिक मात्र नभई ‘भौगर्भिक इतिहासकाल’ को वातावरण र हरियालीको झल्को दिइरहेछन् ।

उपत्यकाको प्राचीन खेत शहरको स्वरुपमा बदलिएको धेरै भएको छैन, तीन–चार दशक त भयो । त्यसमाथि पनि सिमेन्ट कंक्रिट फैलिएर वार कि पार उपत्यका ढाकेको त गएको दशक मात्रै हो । गत दुई वर्षयता त समथरको जग्गा नपुगेर आवादी र प्लटिङ छेउछाउको डाँडा नै उक्लन थालेका छन्, गएको मनसुनमा तुवाँलो हटेको वेला यो ‘ट्रेण्ड’ पहिलो पटक देखियो ।

वागमतीछेउ रूख हुर्केका छन्, तर अतिवृष्टिको समय यिनलाई के हुन्छ ? तस्वीरहरु: कनकमणि दीक्षित

अचम्म कुरा, यसरी शहरीकरणको शुरूआतको वेला सन् ७० देखि ९० को दशकसम्म यो फराकिलो खाल्डो इतिहासकालको कुनै कालखण्डभन्दा सबैभन्दा हरियो थियो । कसरी भने, ती दुई–तीन दशक त्यतिवेला जग्गाको चाप आज जस्तो थिएन, मानिसहरू बङ्गलो बनाउँदा कम्पाउण्ड पर्याप्त राख्थे । पुराना खेतहरूमा त धान उब्जाउका कारण बुट्यानलाई ठाउँ दिने कुरै भएन, दोबाटो या चौरमा पीपल या अन्य रैथाने रूख–बिरुवा उम्रनु बाहेक अन्यत्र रूख बाँच्न पाउँदैनथे ।

घरघडेरीका कम्पाउण्डमा खेतीको सट्टा बगैंचा र ‘लन्’ बन्यो, र यहाँको हावापानी र माटोका कारण रूखहरू हलक्कै बढिहाले । पाटनढोका उत्तर वागमती नदीसम्म र पारिपट्टि नयाँबानेश्वरसम्म, म सम्झन्छु, पूरै क्षेत्र रूखैरूखले ढाकेको थियो जहाँ त्यसअघि धान खेत र कान्ला थिए ।

जग्गाको भाउ चुलिंदै गएसँगै क्षणिक त्यो हरियाली हरायो । र आज झण्डै ४० लाख आवादी भएको उपत्यका रूख, पात, घाँस र झारको अभावमा निसास्सिएको छ । सर्वत्र प्लटिङ, अपार्टमेन्ट र संरचना निर्माणको क्रममा हाम्रो स्वास्थ्य र मानसिक सन्तुलनका लागि समेत चाहिने हरियाली बचेको छैन ।

काइँयो रूख आयातित हो तर यसले शहरलाई राम्रो हरियाली दिएको छ । बन्दाबन्दीको वेला काइँयो फूल फुलेको छ ।

राणाकालीन हरियाली
राणाहरूले उपत्यकाको ठूलो हिस्सामा दर्जन बढी दरबार बनाए, जस वरिपरि पश्चिमा शैलीको गार्डेन तयार गरे । १२–१५ फुटका अग्ला पर्खालले घेरिंदा पनि यी दरबार परिसरले आम शहरवासीलाई ‘अक्सिजन सप्लाई’ को काम गथ्र्यो । तर तीन दशकयता उपत्यकामा बढेको अनियन्त्रित बसाइँसराइँ, अव्यवस्थित र योजनाविहीन संरचना निर्माणका लागि र जनदबाबको अभावमा धेरैजसो यी दरबारिया ‘हरित टापु’ हरू विलाएका छन्, विलाउँदै छन् ।

चमेरा, बकुल्ला र अन्य चराचुरुङ्गीले बास पाउने राणादरबारका ठूला थामसहितका अग्ला रूखहरू अब छैनन्, मात्र नारायणहिटीको प्राङ्गण, भारतीय दूतावास र शीतलनिवास परिसरभित्र केही यस्तो हरियाली बचेको छ । र, बेलुकीपख बकुल्लाको बथान अटेसमटेस गरी त्यहीं झुम्मिन्छन् ।

२०७२ सालको भूकम्पपछि भत्किएको या कमजोर भएका राणा दरबार र वरिपरिका जग्गा भागबण्डा गर्ने गरी विभिन्न सरकारी निकाय, प्रतिष्ठानहरू लागेका छन् । जुन उपत्यकावासीको फोक्सोमा सीधा प्रहार हो ।

पुल्चोक उकालोको ‘इनार’ भनिने ठाउँमा ठूल्ठूला रूख लगाएका थिए इन्जिनियरिङ इन्ष्टिच्युटको उतिवेलाका डीन इन्जिनियर गौरीनाथ रिमालले, अहिले त्यो मासिइसकियो । नारायणहिटी परिसर शहर बीचको ठूलो पार्क बन्न सक्थ्यो गणतन्त्रकालमा, तर हालै त्यहाँको अग्ला पर्खाल भत्कँदा देखियो खुला क्षेत्रको ठूलो हिस्सा ओगटेर नेपाल सेनाले घरजम गरिसकेछ । ‘गणतन्त्र स्मारक’ नाम गरेको प्राङ्गणलाई ‘कंक्रिट स्मारक’ भनेको बेस । नारायणहिटी यसरी गुम्नु सम्भावनाको ह्रास हो ।

एकाध ठाउँमा बाग निर्माणको काम भएको छ, जस्तै नक्साल नारायणचौर र कोटेश्वर महादेवस्थान नजिकको मदन भण्डारी पार्क, अनि लाजिम्पाट रानीबारीको ऐतिहासिक क्षेत्र संरक्षित छ । तर यत्रो घना बसोबासमाझ यी थोरै बागबगैंचा अपर्याप्त छन् । शक्तिशाली जो–कोहीले चौर, सिमसार, थुम्का देख्नै हुँदैन । शहरभित्रको पर्ती र सार्वजनिक जग्गालाई पनि वडा, क्लब, पालिका, मन्त्रालयले आफ्नै पेवा सम्झेर खुला चौर, रूख उम्रने ठाउँ सिध्याउँदै छन् ।

खुला ठाउँ चाहियो भन्ने जुझारू अहिले केही नलागेर ‘माइक्रो पार्क’ बनाउने बाध्यतामा छन् । अभियन्ता मिलन राई र साथीहरू मिलेर पुल्चोकमा भर्खरै एउटा यस्तै ‘माइक्रो पार्क’ निर्माण गरे । स–सानो टुक्रा जमीनमा बनाइने यस्ता बागले अतिक्रमित शहरिया मानसिकतालाई अलिकति भए पनि राहत दिन्छ । उपत्यकाभरि नै ठूला–साना ‘माइक्रो पार्क’ अभियान चाहिएको छ ।

कुपण्डोलमा सडकपेटीको हरियाली हुर्कंदो छ ।
नारायणचौरको बगैंचा बन्दाबन्दीको अन्त्य कुरिबसेको छ । 

खै ठूला रूख ?
ठूला कदका रूखहरू पनि दुर्लभ भइसके । दशकौं लागेर हुर्केका ठूल्ठूला थामोमा उभिएका रूखहरूप्रति कसैको मोह रहँदोरहेनछ । पक्कै भक्तपुरको जगातेबाट साँगातर्फको बाटोमा खडा अग्ला काइँयोका रूखहरू ढाल्दा कसैको पनि मन दुख्नेवाला छैन, जसरी रिङरोडको सर्भिस ट्रयाकलाई मास्दा ढालिएका लहरेपीपलप्रति माया–मोह देखाउने भएन ।

अधिकांश चौडा गरिएको सडकमा वृक्ष र बुट्यानलाई ठाउँ दिइएको छैन । बाटो चिल्लो देखिन्छ तर हरियाली छैन ।

कसैले नदेखेको कुनामा चुपचाप रूख उम्रन्छन्, तर ढिलोचाँडो ‘अर्थतन्त्र’ ले तिनलाई फेला पारिहाल्छ, र आज देखिएको रूख भोलि इतिहास झैं बन्छ । पाटनढोका क्षेत्रमा एक सय वर्ष भन्दा पुराना पीपलको रूखको जमघट नै छ, तर कहिलेसम्म ? भैंसेपाटीबाट टीकाभैरव जाने बाटो विस्तार हुँदा बुङ्गमती माथि उभिएको एउटा बडेमानको पीपलबोट छ, त्यसको आयु अब सीमित छ ।

उपत्यकाको माटो र हावापानीका कारण अलिकति पनि मौका दिइयो भने यहाँ बोटबिरुवा हुर्किन, बढ्न समय नै लाग्दैन, जस्तै दरबारमार्गको ज्याकाराण्डाको लहर, यही प्रजाति अलिकति सातदोबाटो र महालक्ष्मीस्थान रिङरोड छेउ पनि । केही वर्षयता उपत्यकाको सडक विस्तार क्रममा फूटपाथ बनाउन रूख र बुट्यान रोप्न ध्यान दिइएन, नत्र हरियाली सर्वत्र छाउने थियो अहिलेसम्म ।

तर, जहाँ ध्यान दिइयो, त्यहाँ दुई–चार वर्षमै राम्ररी हरियाली जुर्मुराएको छ । कोरोना भाइरस बन्दाबन्दीको यस वसन्त ऋतुमा हलक्कै बढेका, जुर्मुराएका यी बिरुवाहरूले थोरै भए पनि आनन्द दिन थालेका छन् ।

यसरी हरियाली हुर्केको देख्न पाइन्छ अहिले माइतीघर मण्डल – नयाँबानेश्वर, सडक छेउ र मिडिएनमा, कुपण्डोल, विशालनगरमा र अन्यत्र । ज–जसले यिनलाई ठाउँ दिए शहरी सुन्दरतालाई ध्यान दिए तिनलाई धन्यवाद ! सडकको आवाज र धुवाँ–धूलोको अभावमा यो नवआगन्तुक हरियालीलाई नियाल्न, स्पर्श गर्न हामीलाई समय पनि छ, हामी रमाएका छौं ।

जताततै चौर, चौतारी, जङ्गल, बागबगैंचा चाहिएको छ । कंक्रिटका घरहरूले वजन थेग्न सक्ने कारण छत र बार्दलीमा पनि साना गमलामा लहरा र झुप्प बुट्यान, ठूलो गमलामा स–साना रूख रोप्न सकिन्छ । कंक्रिटका ठूला भवनमा पनि लटरम्म हरियाली छाएको अन्यत्रको अभ्यास नेपालमा पनि ओसार्नुछ । कौसीबारीको चलन आइसकेको छ, ‘कौसी पार्क’ पनि थप्न सकिन्छ !

आज नदीनालाको छेउछाउमा ‘लिंकरोड’ र ‘करिडर’ ले नदीको जमीन अतिक्रमण गर्दा बचेको ठाउँमा हरियाली फस्टाएको छ, जस्तै अनामनगर–बुद्धनगर खण्ड धोबीखोला अथवा वागमती किनार। तर मन कहाँ दुख्छ भने उपत्यकामा हरेक १०–१५ वर्षको क्रममा झर्ने अतिवृष्टि (‘क्लाउडब्रस्र्ट’) मा उर्लेर आउने बाढीले सम्भवतः यी सबैलाई ढाल्नेछ, बगाउनेछ ।

रूख हुर्किन दिंदा कति राम्ररी जरो गाड्दा रहेछन्, कस्तो अग्लो झ्याम्म जङ्गल फस्टाउँदोरहेछ भन्ने थाहा पाउन रत्नपार्क हेरे पुग्दछ । सन् ६० को दशकमा रानी रत्नको नाममा स्थापना भएको यो बागका वृक्षहरूमा दशकौंको उमेरले जुराएको मोटाइ र अग्लाइ देखिन्छ । तर, हामी छिटो हुर्कने या राम्रो मात्र देखिने रूख रोप्न रुचाउँछौं ।

चिनियाँ इन्जिनियरले सन् ७० को दशकमा ‘ओरिजिनल’ रिङरोड बनाउँदा लहरेपीपल टन्नै लगाए, तर यी छिटो बढ्ने तर छिटै छिप्पिने खालका भएकाले वैशाख–जेठको हावाहुरीमा ढलिहाल्थे, जीउज्यानकै पनि खतरा थियो । यिनको ठाउँमा रैथाने रूख रोपिनुपथ्र्यो ।

रैथाने रूख
डेढ दशकअघि त ‘रैथाने रूख रोपौं’ भन्ने नारासहितका स्टिकर पनि ठाउँठाउँमा देखिन्थे आज त यतातिर ध्यान झनै कम हो कि जस्तो लाग्छ । सन् १९९० को दशकमा स्वयम्भू डाँडाको वनजङ्गल जगेर्ना गर्ने परियोजना अन्तर्गत वातावरणविद् स्वर्गीय चन्द्र गुरुङले उपत्यकाका रैथाने रूखबारे अध्ययन गराएका थिए, जसको प्रतिवेदन पक्कै कतै खोजे पाइन्छ। करीब दुई सय वर्षअघि प्रख्यात बेलायती बोटानिस्टले उही स्वयम्भूको डाँडोमा जम्मा गरेका बोट–बिरुवामध्ये २७ वटा नयाँ प्रजाति फेला पारेका थिए ।

प्रख्यात वातावरणविद् तीर्थबहादुर श्रेष्ठले उपत्यकाका रैथाने रूखको नाम यसरी लिन्छन्– चिलाउने, कटुस, पुवाँले, लप्सी, खरी, रिट्ठा, उत्तिस, कपुर, सल्ला, ई. । विदेशबाट आयातित वृक्ष प्रजाति हुन् — गिङ्को, युक्यालिप्टस्, काइँयो, ज्याकाराण्डा ई. ।


‘आनीको बन्दाबन्दी एल्बम्’

आनी छोइङ्ग डोल्माले बन्दाबन्दीको समय शिवपुरी जंगल बीचमा रहेको नागी गुम्बामा विताइन्, यसर्थ फुलेको गुराँसको स्वाद लिइन् । तस्वीरः आनी छोइङ्ग डोल्मा
शिवपुरी जंगल बीचमा फुलेको गुराँस ।

भाग्यमानी हामी !
उपत्यकाको हरियालीको कुरा गर्दा हामी छेउछाउका डाँडामा रहेका वनजङ्गल बिर्सने गर्छौं । वास्तवमा हामी उपत्यकावासी ब्राजिलको रियो दि जेनेरियो जत्तिकै भाग्यमानी छौं । त्यहाँ जसरी एमाजोनको जङ्गल शहरको ठ्याक्कै बाहिर भेटिन्छ, त्यस्तै घना वन हामी पनि फुल्चोकी, भट्टेडाँडा, चन्द्रागिरि, नागार्जुन, नगरकोट र शिवपुरीको फेददेखि टुप्पैसम्म पाउँछौं।

इस्लामावाद पनि पहाडी जंगल छेउ छ, र मुम्बई नजिक पनि जंगल पाइन्छ, तर नेपालमण्डल वरिपरिको जस्तो हरियाली दक्षिण एशियाका ठूला शहर नजिक पाइँदैनन् । हाम्रो शहरभित्र पार्क बनाउन चुकेका छौं तर वरिपरिका हरियालीमा भाग्यमानी छौं।

उपत्यका वरिपरिका यी जङ्गल संसारकै चराचुरुङ्गीको लागि धनी मानिन्छ, यस्तै रूख, बोटबिरुवा, झारपातका लागि पनि । फुल्चोकीको टुप्पामा ‘क्लाउड फरेस्ट’ पाइन्छ, जहाँ बादलबाट समेत वृक्षले आफूलाई चाहिने ओस तान्दछन् । यी पहाडका शिखरबाट झण्डै आधा नेपालको हिमशृंखला समेत देख्न पाइन्छ, यी पैदल यात्राको राम्रो गन्तव्य हुन्।

एलपीजी ग्याँसको उपलब्धता तथा सामुदायिक वन स्थापनाका कारण गाउँलेको वन पस्ने क्रम न्यून हुनपुगेको छ । गोल, दाउरा, घाँसपात वा ओहोरदोहोर गर्नेको संख्या घटेकोले जङ्गल हुर्कनुको साथै गोरेटो बाटाहरू झाडीमा परिणत भएका छन् । डाँडाकाँडाका बाँकी जङ्गलले फेरि शताब्दीऔं अघिको स्वरुप ग्रहण गर्दैछन्।

अहिले गुराँस हेर्न तेह्रथुम मिल्केडाँडा जानु नै पर्दैन उपत्यकावासीलाई, शिवपुरी जङ्गल हिंडे पुग्छ । बन्दाबन्दीको वेला शिवपुरीको नागी गुम्बाको एकान्तवासमा रहेकी आनी छोइङ्ग डोल्माले यही गुराँसे यामको स्पर्श लिंदै आएकी छिन्।

शिवपुरी–ककनी क्षेत्रको दक्षिण पाखामा प्लटिङ पहाड उक्लन थालिसक्यो । तस्वीर: मनिष पौडेल

आज थोरथोरैले मात्र छेउछाउका पहाडमा हाइकिङ, बाइकिङ गर्छन् । जब आम शहरवासीले यो छेवैको हरित सम्भावना बुझ्छन् र विद्यार्थी, सर्वसाधारणको घुँइचो लाग्नेछ प्राकृतिक सम्पदाको स्वाद लिन । त्यतिवेलाको लागि अहिल्यै राम्रो पैदलपथ बनाएर वनचर र वनस्पतिलाई धेरै असर नपर्ने गरी सकेसम्म धेरैले हरियालीको मजा लिने अवस्था सिर्जना गर्नुपर्छ।

यहाँका स्कूल कलेजहरूले विद्यार्थीलाई टाढा–टाढाका शैक्षिक भ्रमण भन्दा नजिकै जङ्गल भ्रमण गराउन लैजानुपर्छ, यहाँको वृक्ष, बुट्यान, चराचुरुङ्गी जनावर र ‘माइक्रो’ वातावरणको चिनारी दिने गरी । उपत्यकाको प्राकृतिक सम्पदा उपत्यकावासीले बुझ्नुपर्छ।

बन्दाबन्दी पश्चात् हाम्रो ध्यान फेरि पुरानै दैनिकीमा फर्कन खोज्नेछ, नियति यस्तै न हो । तर, यस्तो हुन दिनुहुँदैन, हरियालीको सम्भावनालाई यथार्थमा ढाल्नुपर्छ ।

तसर्थ विभिन्न क्षेत्रमा लागेका अभियन्ताहरू सहभागी ‘हरित नेपालमण्डल’ अभियानमा सहकार्य हुनुपर्‍यो । वातावरण, सम्पदा, फूटपाथ, सार्वजनिक यातायात, खुला क्षेत्र, सफा हावा, सफा पानी लगायत विभिन्न क्षेत्रमा लागेका सबै जुझारुको एकैस्वर हुन आवश्यक छ — हरित उपत्यकाका लागि।

बबरमहल सडकछेउ वृक्षहरु राम्ररी हुर्किएका छन् । (तस्वीर: मनीष पौडेल)
धुम्बाराही नक्सालको यो सडकमा हुर्कंदै गरेका सडकछेउका बिरुवा ठूलो हुन पाउँदैनन्, माथिको तारले गर्दा । तार भूमिगत गर्ने हो भने राम्रो हरियाली फैलिन्छ ।

भद्रकाली–सिंहदरबार ‘क्रसवे’ मा ठूल्ठूला गमलाद्वारा फूल–वृक्षलाई ठाउँ बनाइएको छ । तस्वीर: मनिष पाैडेल

 

प्रतिकृया दिनुहोस