टिप्पणी विहीबार, वैशाख २५, २०७७

बुद्ध दर्शनबारे नेपालीकै बुझाइ त्रुटिपूर्ण

वसन्त महर्जन

बुद्ध दर्शनबारे नेपालीकै बुझाइ त्रुटिपूर्ण

वैशाख पूर्णिमाका अवसरमा नेपालका राष्ट्रप्रमुखले शुभकामना दिने चलन सात दशक पुरानो हो । शुरूदेखिका मन्तव्यलाई सर्सर्ती हेर्दा पहिलेको भन्दा धेरै फरक पाइँदैन ।

वसन्त महर्जन

ती मन्तव्यबाट बौद्ध शिक्षाका सन्दर्भमा नेपालले विश्वलाई नेतृत्व र संरक्षकत्व प्रदान गर्दै आइरहेको छ भन्ने बुझिन्छ । वास्तविकता भने त्यस्तो नभएकाले यसले ‘बिरालो बाँधेर श्राद्ध गर्ने’ उखान सम्झाउँछ ।

राष्ट्रप्रमुखले दिने त्यस्ता सन्देशहरूमा द्वन्द्व र अशान्तिले आक्रान्त वर्तमान विश्वका लागि बुद्धको शिक्षा सान्दर्भिक रहेको कुरा उल्लेख गर्न पनि कहिल्यै छुटाइँदैन ।

त्यस्ता मन्तव्यहरूमा नेपालले बुद्धको शिक्षा अनुसरण गर्दै अगाडि बढेकाले नेपाललाई पछ्याउन विश्वलाई आह्वान गरिरहेको आशय पाइन्छ । विश्व बौद्ध जगतले भने मन्तव्यहरूलाई कुनै स्थान नदिएबाट नेपालको हैसियत थाहा पाउन सकिन्छ ।

विश्व इतिहासमा अत्यन्तै प्रशंसित व्यक्तिहरूमध्ये गौतम बुद्ध पनि एक हुन् । आध्यात्मिक सन्दर्भ मात्र होइन भौतिक सन्दर्भका अन्य कुराहरूमा पनि बौद्ध दर्शनको सम्बन्ध आधुनिक विज्ञानसँग नजिकै रहनु यसको प्रमुख विशेषता हो ।

भौतिकवादीहरू अध्यात्मवादको आलोचना गर्ने क्रममा मान्छेको कर्मलाई भन्दा भाग्यलाई बढी प्रश्रय दिएको, सबै कुरा दैवी शक्तिमा आधारित बनाएर अकर्मण्य बनाएको आक्षेप लगाउँछन् । पूर्वजन्म र पुनर्जन्मको मान्यता पनि भौतिकवादीहरूलाई मान्य छैन तर बौद्ध धर्मका लागि यो महत्वपूर्ण कुरा हो ।

मान्छेले गरेका राम्रा–नराम्रा सबै कामको फल व्यक्ति स्वयंले भोग्ने र यसमा अरू कुनै पनि सत्ताको केही भूमिका नरहेको मान्यता बौद्ध धर्ममा छ।

पूर्वजन्मको फल भोग्ने मान्यता राख्दाराख्दै त्यसलाई कसरी उचित तरिकाले सम्पादन गर्ने तथा भविष्य कसरी सुधार गर्ने भन्ने कुरामा बौद्ध शिक्षा केन्द्रित छ ।

संसारमा कुनै परमसत्ता नभएको र आफ्नो मालिक आफैं भएको उद्घोषणले बुद्धलाई क्रान्तिकारी व्यक्तित्वका रूपमा चिनायो । बौद्ध धर्मको मान्यता अनुसार विभिन्न ६ लोक छन् । तिनमा मनुष्य, पशु, प्रेत, देव, नर्क र असुर लोक हुन् । अर्थात् कुन लोकमा जाने भन्ने कुरा कुनै दैवी शक्तिले नभएर मानिस स्वयंको कर्मले निर्धारण गर्दछ भन्ने बौद्ध दर्शनमा उल्लेख छ ।

यसमा प्रेत लोक र देवलोकलाई मानिसले गर्ने पुण्य कार्यको अस्थायी नतिजा मानिएको छ । पुण्य सञ्चयको अवसर मनुष्य योनिमा बढी हुने र बुद्धत्व प्राप्ति पनि मनुष्य योनिमा मात्रै सम्भव हुने भएकाले मनुष्य योनिलाई बढी महत्व दिएको पाइन्छ ।

दर्शनको क्षेत्रमा गौतम बुद्धको मौलिक देनलाई कार्यकारणको सिद्धान्त वा ‘प्रतीत्यसमुत्पाद’ पनि भनिन्छ । उत्पत्ति र विनाश एकअर्कासँग सम्बन्धित हुने र यसमा कुनै परमसत्ताको भूमिका नहुने हुनाले स्वयंको कर्मलाई महत्व दिइन्छ । आफूले जस्तो कर्म गर्यो त्यसको फल यही जीवनमा वा अर्को जीवनमा पनि भोग्नुपर्ने भएकाले राम्रो काम गर्न प्रेरित गर्दछ ।

बुद्धले व्याख्या गर्ने चार सत्यमध्ये एउटा दुःख हो । दुःखलाई सत्य मान्नुका साथै वैराग्य भई घरगृहस्थ त्याग गरेको सन्दर्भमा यस धर्मदर्शनलाई निराशावादी भनेर पनि व्याख्या गरिएको पाइन्छ । दुःखको कारण भएको र त्यसलाई अन्त्य गर्न सकिने तथा अष्टाङ्गिक मार्गको अवलम्बनले दुःख अन्त्य हुने शिक्षा कम आशावादी होइन ।

यी उपाय अवलम्बनबाट वर्तमान जीवनका साथै सुदूर भविष्यको जीवन समेत राम्रो हुने कुरामा द्विविधा छैन ।

आध्यात्मिक सन्दर्भबाहेक भौतिक जगतमा पनि बुद्धका शिक्षाहरू उत्तिकै सान्दर्भिक छन् । सामाजिक र नैतिक दर्शनमा आधारित बुद्धको शिक्षा अनुसार आर्थिक भ्रष्टाचारबाट गरिने जीवनयापनलाई गलत मानिन्छ ।

त्यस्तै ठगी, घूसखोरी, हातहतियारको कारोबार, तस्करी, वन्यजन्तुको चोरीशिकारी पनि सम्यक् आजीविका भित्र पर्दैनन् ।

एउटा आदर्श जीवनका लागि ‘चतुब्रह्मविहार’ अपरिहार्य मानिन्छ । ‘चतुब्रह्मविहार’ भन्नाले मैत्री, करुणा, मुदिता (अरू खुशी हुँदा आफू पनि खुशी हुनु) र द्वेषभाव नराख्नुलाई जीवन शैलीको अभिन्न अङ्गको रूपमा विकास गर्नु हो ।

गौतम बुद्धलाई आध्यात्मिकका साथै सामाजिक अभियन्ताका रूपमा पनि प्रशंसा गर्नुको पछाडि समाजमा व्याप्त जातीय विभेद विरुद्ध व्यावहारिक रूपमा परिवर्तन ल्याउनु हो ।

छुवाछूतले जातीय रूपमा विभेद गर्दै आएको छ र यसबाट नेपाल र भारतका धेरै नागरिक आक्रान्त छन् । यस अवस्थामा जातीय छुवाछूतको औचित्य नरहेको तथ्य अहिले झन् सान्दर्भिक मान्नुपर्छ।

बुद्ध शिक्षाको अनुशीलन व्यक्तिविशेषले तत्कालै गर्न सकिने कुरा हो । आर्थिक भ्रष्टाचार होस् वा जातीय छुवाछूत, यसमा व्यक्ति विशेष मात्रै संलग्न नभइदिने हो भने पनि धेरै समस्याको समाधान स्वतः हुन्छ ।

यस्तो शिक्षालाई संस्कारका रूपमा स्थापित गर्न नेपाल चुक्दै आइरहेको पाइन्छ । विद्यालयस्तरका पाठ्यपुस्तकहरूमा बुद्धका शिक्षाहरू समावेश गर्ने नाममा केही पहल त भएको छ तर ती पाठ्यसामग्रीको अन्तरवस्तु विश्लेषण गर्दा बौद्ध धर्मदर्शनसँग मेल नखाने तथ्य पनि फेला पर्नुले बुद्धप्रति नेपालको बुझाइ नै गलत रहेको देखाउँछ ।

प्रतिकृया दिनुहोस