कला/साहित्य विहीबार, वैशाख ११, २०७७

प्रत्येक ठाउँ, पिटर नाउँ

शेखर खरेल

प्रत्येक ठाउँ, पिटर नाउँ
पिटर जे कार्थक ।

पिटर दाइको जीवन कहिल्यै सोझो रेखामा हिंडेन । सौखका खातिर संगीत, विद्यालय र कलेजको अध्यापन, रेडियो नेपालको सेसन म्युजिसियन, निर्माण कम्पनीमा काम, क्यासिनोमा ब्ल्याकज्याक क्रुपियरको नोकरी तथा जीवनपर्यन्तको पत्रकारिता एवं साहित्यिक लेखन, पिटर दाइले एक जीवनलाई धेरै रङ्गमा बाँच्नु भयो।

शेखर खरेल

जुनबेला पिटर जे कार्थकको नामसँग पहिलोपल्ट साक्षात्कार भएको थियो, त्यो दृश्यको नभएर केवल शब्द र श्रव्यको समय थियो। । विदेशवाट हवाईजहाज चढेर फर्किंदा मुफ्तमा पाइने ‘नेपाल ट्राभलर’ मा पिटर जे कार्थकका आलेख छापिएका हुन्थे।

यो नामको छवि मेरो मानसपटलमा कुनै पश्चिमाको थियो, तस्वीरमा थोमस एल केली छापिए जसरी । साहित्यमा रूचि बढ्दै गयो, यो नाम मौलिक नेपाली पुस्तकको गातामा देखेपछि म अचम्ममा परें।

साझा प्रकाशनबाट छापिएको ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’ उपन्यासका यी लेखक नेपालीभाषी नै हुन् भन्ने मैले केही पछि मात्र थाहा पाएँ । अनि, खुल्दै गए प्याजका पत्रसरी, पिटर जे कार्थक नामका एक पछि अर्का रहस्य।

संवत २०३४ को साझा पुरस्कार विजेता ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’ दार्जिलिङको भावभूमिमा रचिएको एक प्रयोगधर्मी थ्रिलर हो । ‘एब्स्ट्राक्ट चिन्तन प्याज’ का रचयिता यशस्वी लेखक—निबन्धकार शंकर लामिछानेले यस उपन्यासको भूमिका लेख्नु पनि एउटा संयोग नै हो।

पिटर जे कार्थक नामको अर्को पत्र संगीत बारे मैले धेरै पछि मात्र थाहा पाएँ । जबकि, साहित्यमा स्थापित हुनु भन्दा धेरै अघि नै पिटर जे कार्थकले दार्जिलिङको आर्ट एकेडेमी अफ म्युजिक सँगसँगै जिमखाना, कन्सर्ट र लाइभ शोमा आफ्नो प्रतिभाको परिचय दिइसकेका थिए।

दार्जिलिङमै अम्बर गुरुङ नेतृत्वको आर्ट एकेडेमीको आबद्धता र ‘गडफादर अफ इन्डियन जज’ का नामले प्रख्यात लुई ब्याङ्क्सको लुई ब्याङ्क्स क्वार्टेटको बास गिटारिस्टको हैसियतले कार्थकलाई तन्नेरी उमेरमै दिग्गज संगीत महारथीको संगतमा प्रतिभा तिखार्ने मौका मिलेको थियो । तर, ‘सुगौली सन्धि हामीले बिर्सेका छैनौं भनिदेऊ’ जस्तो नेपाली जागरणका गीतका कारण अम्बर गुरुङको एकेडेमी कोपभाजनमा परेपछि कार्थकले शरण प्रधान, अरुणा लामा, जितेन्द्र बर्देवा र रञ्जित गजमेरसँग मिलेर ‘संगम’ समूह स्थापना गरे । अझ त्यस भन्दा अघि नै कार्थकले दार्जिलिङको पहिलो रक ब्यान्ड ‘द हिलियन्स’ स्थापना गरिसकेका थिए।

दार्जिलिङको टर्नबुल हाईस्कूलको विद्यालय शिक्षा र पछि सेन्ट जोसेफ कलेज र नर्थ प्वाइन्ट जस्ता प्रतिष्ठित शैक्षिक केन्द्रको पढाइका कारण कार्थकले संगीत भन्दा पनि अध्यापनलाई नै पहिलो पेशाधारका रूपमा लिए । यसै मेसोमा दार्जिलिङका दौंतरी रन्जित गजमेर, फुर्वा छिरिङ, अनुराधा गुरुङ (माइती नेपालकी संस्थापक अनुराधा कोइराला) सहितको कार्थकको टोली नेपालतिर नोकरीको खोजीमा झर्यो । उनीहरूको पहिलो गन्तव्य रह्यो वीरगञ्ज, जहाँ तन्नेरी टोली स्थानीय एक विद्यालयमा शिक्षक बन्यो । तर, विद्यालय संचालकसँग तलबका कुरामा विवाद परेपछि दुई महीनामै टोली काठमाडौंतिर लाग्यो, जहाँ उनीहरूको भाग्यको बाँकी रेखा पनि कोरियो।

वीरगञ्जबाट नेपालमण्डल अर्थात् काठमाडौं पस्दा शहरका निम्ति उनीहरू ‘आउट—साइडर’ थिए । तर, सीप र क्षमताले निपुण यी ‘आउट—साइडर’ को खाँचो थियो, विस्तारै आधुनिकताउन्मुख नेपालको राजधानी काठमाडौंका लागि । उनीहरू अघि नै काठमाडौं छिरेका अम्बर गुरुङ र गोपाल योञ्जन काठमाडौंको सांगतिक संसारका घरेलु नाम बनिसकेका थिए । कार्थक, गजमेर र छिरिङले काठमाडौं बसाइँको प्रारम्भिक काल अर्थात् संक्रमणका दिनमा संगीतलाई नै आफ्नो पेशा बनाए र पछ्याए गुरु अम्बर (गुरुङ) र दौंतरी गोपाल (योञ्जन) को बाटो ।

तस्वीर: शेखर खरेल ।

काठमाडौं एक ‘वेस्टल्यान्ड’
काठमाडौं छिरेकै वर्ष अर्थात् सन् १९६६ देखि एक दशक उनीहरूले रेडियो नेपालको ‘सेसन म्युजिसियन’ का रूपमा काम गरे । यही अवधिमा कार्थकले नेपाली सुगम संगीतका एक से एक हस्ती अम्बर गुरुङ, नारायण गोपाल, नातिकाजी, शिवशंकर, बच्चु कैलाश, तारादेवी, प्रेमध्वज प्रधान, कोइली देवी, पुष्प नेपाली, दीप श्रेष्ठ, फत्तेमान, माणिक रत्न, मीरा राणा, ज्ञानु राणादेखि लेकाली समूहको गायन र कम्पोजिसनमा गिटार र (डबल) वेस बजाए।

तर, संगीत अभ्यास उत्कर्षमै रहेको बेला सन् १९७६ मा अनायासै रेडियो नेपाल छाड्नुको कारण बारे मैले डिसेम्बर १७, २०१८ मा झरीले झनै चिस्साएको हिउँदको एकदिन उहाँकै कुपण्डोलस्थित निवासमा सोधेको थिएँ । पुराना दिनप्रति नोस्टाल्जिक बन्दै उहाँले भन्नुभएको थियो, ‘रेडियो नेपालमा आएपछि दार्जिलिङमा जुन ‘प्रोग्रेस’ (उन्नति) गरेका थियौं त्यो ‘रिग्रेस’ (अवनति) हुन थाल्यो । सिकेको कुरामा थपिदै जानुपर्नेमा त्यो झन् घट्न पो थाल्यो।’

दार्जिलिङमा स्नातकसम्म अध्ययन गर्नुभएका उहाँले सन् १९७१ मा त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर गरेपछि कलेज पढाउने ढोका खुलेको थियो । कुराकानीमा प्रस्टै बुझिन्थ्यो, रेडियो नेपालको आन्तरिक राजनीति र खुट्टा तान्ने प्रवृत्तिबाट उहाँ वाक्कदिक्क भइसक्नुभएको थियो । पाटन कलेज र पुल्चोक इन्जिनियरिङ कलेजको अध्यापनले अब उहाँमाथि अध्यापकको परिचय पनि थपिसकेको थियो । तर पनि उहाँको अध्यापन कर्म लामो समय चल्न सकेन वा चकडस्टरमा मात्र उहाँ रमाउन सक्नु भएन।

शुरु शुरुमा कान्तिपुर परिसरमा पिटर दाइलाई देख्दा अनौठो लाग्दथ्यो । एल्भिस प्रेस्ले झैं कोरिएका कालो डाइ गरेको कपाल, जिन्स र बुट्टेदार सर्टमा ठाँट्टिएर सुसेल्दै हिंड्दा उहाँ आफ्नै उमेरसँग बेमेल देखिनुहुन्थ्यो। क्यान्टिन झरेको बेला उहाँ चुरोट फुस्फुसाइरहेको देखिनुहुन्थ्यो । औपचारिक भन्दा पनि उष्ण जलवायु तथा समुद्र तटमा लगाइने बुट्टेदार र वाटिक सर्टमा उहाँको रूचि देखिन्थ्यो।

पिटर जे कार्थकको जीवनको सबैभन्दा लामो आबद्धता पत्रकारितासँग रह्यो । अंग्रेजी ट्राभल म्यागेजिन, थाइल्याण्डको ‘द नेसन’ का स्तम्भकार, अंग्रेजी दैनिक ‘दि हिमालयन टाइम्स’ को संस्थापक सम्पादकीय समूह हुँदै उहाँले सन् २००२ तिर कान्तिपुर पब्लिकेशन अन्तर्गतको ‘दि काठमाण्डू पोष्ट’ को सम्पादकीय टोलीमा काम थाल्नुभयो।

आफूले पढ्दै र सुन्दै आएको पिटर जे कार्थक त्यसै समयदेखि मेरा निम्ति पिटर दाइ बन्नुभएको हो । उहाँका प्रारम्भका वर्षमा म ‘नेपाल’ पाक्षिक (अहिले साप्ताहिक) मा आबद्ध थिएँ। नेपाली भाषामा पत्रकारिता गर्दै आएकोमा सन् २००६ तिर मैले ‘दि काठमाण्डू पोष्ट’ मा स्थानान्तरण हुँदै अंग्रेजीमा पत्रकारिता गर्न शुरु गरें । संयोगले मैले आफ्नै संयोजनको दैनिक परिशिष्ट ‘सिटी पोष्ट’ को कपी एडिटरमा पिटर दाइलाई नै पाएँ । त्यस पछिका साढे दुई वर्ष मैले उहाँसँग अंग्रेजीमा भनिने ‘रब्बिङ सोल्डर्स’ अर्थात् कुम घोट्ने जसरी नै संगत गरें।

शुरु शुरुमा कान्तिपुर परिसरमा पिटर दाइलाई देख्दा अनौठो लाग्दथ्यो । एल्भिस प्रेस्ले झैं कोरिएका कालो डाइ गरेको कपाल, जिन्स र बुट्टेदार सर्टमा ठाँट्टिएर सुसेल्दै हिंड्दा उहाँ आफ्नै उमेरसँग बेमेल देखिनुहुन्थ्यो। क्यान्टिन झरेको बेला उहाँ चुरोट फुस्फुसाइरहेको देखिनुहुन्थ्यो । औपचारिक भन्दा पनि उष्ण जलवायु तथा समुद्र तटमा लगाइने बुट्टेदार र वाटिक सर्टमा उहाँको रूचि देखिन्थ्यो।

सानो एफएम रेडियोमा अंग्रेजी बीबीसी नभए अंग्रेजी गीत बजाउँदै उहाँ अत्यन्त मनोयोग र निपुणताका साथ भाषा सम्पादन गर्नुहुन्थ्यो । तर, हप्तामा सातै दिन त्यही स्तरको कन्टेन्ट कायम गर्नु संयोजकका हिसाबले मेरा निम्ति चुनौतीपूर्ण हुन्थ्यो । किनकि, ‘सिटी पोष्ट’ का लागि उहाँ एकमात्र सम्पादक हुनुहुन्थ्यो। त्यसैले कतिपय सामग्रीको सम्पादन बाध्यतावश मैले नै गर्नु पर्दथ्यो । पिटर दाइले गर्नुपर्ने काम आफूले गर्नुपर्दा मलाई ड्राइभरको काम खलासीले गरे झैं लाग्दथ्यो । तर, यो बाध्यताको कारण पनि मैले उहाँबाट कपी एडिटिङ बारे धेरै कुरा सिक्ने अवसर पाएँ।

आउट—साइडर हुँदै इन—साइडर
कुपण्डोल निवासको कुराकानीमा पिटर दाइले सन् १९६६ मा पहिलोपल्ट काठमाडौंमा पाइला हाल्दा आफूलाई यो शहर मध्ययुगको ‘वेस्टल्यान्ड’ झैं लागेको बताउनुभएको थियो । खुलेको दार्जिलिङको विपरीत काठमाडौं खुम्चिएको झैं लागेथ्यो । अंगेजी सिनेमा र पाश्चात्य संगीतको चस्का पसिसकेको उहाँलाई काठमाडौं ‘लेड ब्याक’ (सुस्त) लाग्नु अस्वाभाविक पनि थिएन । तर, त्यो भन्दा पनि काठमाडौंले सरहदपारिकालाई हेर्ने दृष्टिकोणदेखि उहाँलाई उदेक लाग्दथ्यो।

नियतिले पिटर दाइलाई जीवनपर्यन्त काठमाडौंकै वाहुपासमा बाँधिराख्यो । काठमाडौं भेडासिंका रैथाने सुन्दरहरि (उर्फ सुनहरि) प्रजापतिकी छोरी रन्जनारानी प्रजापतिसँगको प्रेमविवाह सँगै आउट—साइडर पिटर दाइ काठमाडौंका ज्वाइँमा रुपान्तरित हुनुभयो । तैपनि, उहाँ आफूलाई यस उपत्यका खाल्डोको इन्साइडर इन्कार गर्नुहुन्थ्यो । सामाजिक रूपमा उहाँ आउट–साइडर वा इन–साइडर जे भए पनि एउटा सर्जकका रूपमा आउट–साइडर भएर शहरको अन्तर्यमा पुग्नु उहाँको सिर्जनात्मक सफलता थियो । रैथानेले देख्न नसकेका धेरै कुरा मिहिन ढंगले वर्णन गर्न सफल हुनुभयो ।

सन् १९४३ मा भारतको असम राज्यको सिलोङको जन्म, दार्जिलिङको पढाइ अनि हुर्काइ र काठमाडौंको घरजम, पिटर दाइको जीवन कहिल्यै सोझो रेखामा हिंडेन । सौखका खातिर संगीत, जीविकाका निम्ति कहिल्यै विद्यालय र कलेजको अध्यापन, रेडियो नेपालको सेसन म्युजिसियन, राजमार्गको एक निर्माण कम्पनीमा काम, सोल्टी होटलस्थित क्यासिनो नेपालमा ब्ल्याकज्याक क्रुपियरको नोकरी तथा जीवनपर्यन्तको पत्रकारिता एवं साहित्यिक लेखन, पिटर दाइले जीवनलाई धेरै रङ्गहरूमा बाँच्नुभयो । अंग्रेजीमा ‘चेकर्ड करियर’ भनिने पिटर दाइको व्यावसायिक जीवन चेकर्ड बोर्ड झैं कहिल्यै श्यामश्वेत भने रहेन । उहाँ स्वयंको बुट्टेदार सर्ट र सुसेल्ने सिठ्ठी झैं रङ्गीन र संगीतमय रह्यो ।

‘भाइ यो सबै लिला भन्नु पर्यो’ । आफूलाई वीरेन्द्र (राजा वीरेन्द्र) पुस्ता बताउने पिटर दाइ समकालीन भन्दा नयाँ पिढीसँगको संगतमा रमाउनुहुन्थ्यो । आफ्ना पुस्ताप्रति खासै अनुराग नभए पनि उहाँले कसैप्रति गुनासो गरिरहेको सुनिएन।

त्यसैले पनि उहाँ भन्नुहुन्थ्यो, ‘भाइ यो सबै लिला भन्नु पर्यो’ । आफूलाई वीरेन्द्र (राजा वीरेन्द्र) पुस्ता बताउने पिटर दाइ समकालीन भन्दा नयाँ पिढीसँगको संगतमा रमाउनुहुन्थ्यो । आफ्ना पुस्ताप्रति खासै अनुराग नभए पनि उहाँले कसैप्रति गुनासो गरिरहेको सुनिएन। बरु कवि गुरु टेगौरको सूक्ति ‘अक्ला चलो रे’ माफिक उहाँ एक्लै र निरापद सिर्जनारत हुनुहुन्थ्यो, — ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’, ‘पिटरका कथा’, ‘नेपाली म्युजिकमेकर्स’, ‘काठमान्ड्रुइट्स’ जस्ता कृति उहाँका अध्ययन, चिन्तन र उन्नयनका दसी हुन्।

परिवारका सदस्य अनुसार, पिटर दाइमा भर्खरै मात्र क्यान्सर देखिएको थियो, तर आत्तिने अवस्था थिएन । घरमै आराम गरिरहेका उहाँलाई गत १० वैशाखमा हृदयाघातले लग्यो । अन्ततः एउटा लिला झैं पिटर दाइ हामी बीचबाट सुटुक्क बिदा हुनुभयो।
अल बिदा पिटर दाइ !

प्रतिकृया दिनुहोस