टिप्पणी शुक्रबार, वैशाख १२, २०७७

देव आनन्दले देखेको त्यो कञ्चन वागमती, यो कोरोना महामारी

अजय दीक्षित

देव आनन्दले देखेको त्यो कञ्चन वागमती, यो कोरोना महामारी
सन् १९७१ मा नेपालमा छायाँङ्कन गरिएकाे बलिउड फिल्म ‘हरे राम हरे कृष्ण’ काे एक गीतमा जिनत अमान र देव आनन्द ।

सन् १९७१ ताका देवानन्दले ‘हरे राम, हरे कृष्ण’मा वर्णन गरेको वागमतीको पानी, हामीले बाल्यकालमा देखेको सुन्धाराको पानी, उपत्यकामा निस्फिक्री बगिरहेका नदी फेरि कहिले देखिएलान् ? महामारीको यो बन्दाबन्दीमा म यिनै प्रश्नमा घोत्लिरहेछु।

अजय दीक्षित

कोभिड १९ को यो महामारीको असर र प्रभाव कम भएपछि विश्व कस्तो होला? मानवजातिको यात्रा कसरी अघि बढ्ला ? विश्व मानचित्रमा हामी दक्षिणी मुलुकका वासिन्दाको भूमिका कस्तो होला ? कल्पना गर्छु ।

‘टाइम मेसिन’ भए कति सजिलो हुन्थ्यो— भविष्यमा गयो, फर्केर आयो, अनि गफ शुरु गर्‍‌योे । तर, यो त दन्त्यकथा वा विज्ञानका आख्यानमा मात्र सम्भव छ।

भविष्य जान्न नसक्ने मान्छेका लागि विकल्प भने छ, भूत अर्थात् विगतमा फर्कने । म पनि महामारीले सिर्जित बन्दाबन्दीमा आफ्नो विगतमा फर्किएँ । सोचिल्याउँदा केही संकेत, बिम्ब र घटनाक्रमहरु सामुन्ने आए, जुन अहिले स्वयं मलाई कथासरह लाग्छन्।

हालै काठमाडौंस्थित अमेरिकन दूतावासले आफ्नो सामाजिक सञ्जालमा कार्यालय परिसरका तस्वीरहरु राखेको थियो । कान्तिपथस्थित त्यस दूतावासकोे सन् १९६० को तस्वीर देखेपछि, म आफ्नो युवा अवस्थामा फर्कन पुगेछु । गणवहालस्थित हाम्रो घरबाट टुँडिखेलछेउको बाटो हुँदै जमल, अमेरिकी दूतावास, नारायणहिटीको पश्चिम ढोका अनि अमृत साइन्स कलेज पुगिन्थ्यो ।

कान्तिपथस्थित अमेरिकन दुतावास,  सन् १९६० ।

१९६० दशकको शुरुमै टुँडिखेलछेउका सडक गौंडामा राखिएका घोडचढी सालिकहरू टुँडिखेलभित्र पुगिसकेका थिए।

नागस्थान, नयाँ सडक र भोटाहिटी चोकमा ट्राफिक प्रहरीका लागि कोठा बनाइएका थिए । घरको बाहिरपट्टि ट्राफिक लाइट राखिएका हुन्थे, भित्रबाट स्विच चलाएर ट्राफिक प्रहरी हरियो, पहेंलो, रातो रंगको संकेत दिन्थे । सडकका सवारी निकै पातलो थियो । केही पछि ट्राफिक प्रहरीका ती कोठा भत्काइए।

‘हरे राम हरे कृष्ण’
भियतनामविरुद्ध आफ्नो देशले युद्ध छेडेपछि असन्तुष्ट अमेरिकी युवा हिप्पी भएर काठमाडाै‌ं आउन थालिसकेका थिए । उनीहरू झोछेँ र मरुटोलतिर बस्थे, गाँजामा मस्त रहन्थे, पोखरातिर घुम्न जान्थे । सन् १९७२ मा मेरो कलेज अध्ययन सकियो र इन्जिनियरिङ पढ्न भारतको राउरकेला, उडिसा गएँ ।

सन् १९६० काे दशकमा गाँजा कानूनी रुपमा वैध थियाे । काठमाडाैंकाे 'काेर' ठाउँमा 'गाँजा पाइन्छ' भनेर साइनबाेर्ड नै राख्थे ।

राउरकेलामा रेडियो नेपालको विज्ञापन कार्यक्रम सुनिने गथ्र्यो । फर्माइस हिन्दी गाना बजाइने कार्यक्रम विद्यार्थीमाझ निकै लोकप्रिय थियो । रेडियोमा श्रीरामलगायत अन्य बिडीका विज्ञापन पनि आइराख्थ्यो । हिप्पी संस्कारमा हुर्किंदै गरेका पुस्ताका कथा समेटेर बलिउडका अभिनेता देवानन्दले सन् १९७१ मा ‘हरे राम हरे कृष्ण’ चलचित्र पनि बनाइसकेका थिए । बिडीको विज्ञापन र ‘हरे राम हरे कृष्ण’का कारण इन्जिनियरिङ कलेजका केही मित्रमा नेपाल भनेको बिडी र गाँजा पिउनेहरूको मुलुक हो भन्ने एकोहोरो परिकल्पना थियो, जसको हामी प्रतिकार गथ्र्यौं।

सन् १९७९मा म पुनः उच्च अध्ययनका लागि स्कटल्याण्ड गएँ । त्यहाँबाट १९८१ मा नेपाल फर्किएपछि इन्जिनियरिङ अध्ययन संस्थानमा जलविज्ञान र जलस्रोत विषय पढाउन थालें । सन् १९८० मै अन्तर्राष्ट्रिय खानेपानी र सरसफाइ दशक घोषणा भइसकेको थियो । जलस्रोतमा पठनपाठन, विश्वव्यापी घटनाक्रम र आफ्नै धरातल बुझ्ने उत्साहले मलाई बेलाबेला वागमतीको छेउछाउ पुर्‍‌याइरहन्थ्यो।

एउटा कारण थियो, सेप्टेम्बर, १९८१ को मुसलधारे वर्षा । हामीले इन्जिनियरिङ अध्ययन संस्थानका बीईका विद्यार्थी टोलीसित वागमती अध्ययनको एउटा चरण ३ सेप्टेम्बरमा जोरपाटीमा टुंग्याएका थियौं । त्यही राति काठमाडौंमा मुसलधारे पानी परेर वागमतीमा ठूलो बाढी आयो । भोलिपल्ट ४ तारिख बिहान १० बजेतिर त्रिपुरेश्वरछेउ पुरेतघाटस्थित नदीमा बगेको माटो (सेडिमेन्ट)को मात्रा नाप्न म सहयोगीसित पुगेको थिएँ । भकारीसम्म आइपुगेको बाढीले तानेर झण्डै बगाएको ! आज फर्केर हेर्दा हाम्रो ध्येय ठीक, तर विधि भने नजानेको जस्तो लाग्छ।

१९८१ को वागमती सम्झने क्रममा करीब एक दशक अघिको उही चलचित्र हरे राम हरे कृष्णको सुटिङ हेर्न काठमाडौं, पाटन र भक्तपुर पुगेको सम्झें । चलचित्रको एउटा संवादमा नायक देवानन्दले ‘वागमती’ भनेको पनि याद आयोे । तर, कुन प्रसंग र सिन भन्ने याद रहेनछ । अहिले बन्दाबन्दीमा पुनः चलचित्र हेरें, संवाद उतार गरें । चलचित्रको अन्त्यतिर गाँजा, अफिम पिउन मस्त युवाप्रति इंगित गर्दै, नायक देव आनन्द भन्दारहेछन्—

“उतारके फेंक दो इन मालोको, बहा दो इन् फूलोको वागमतीके धारामें, वहाँ ज्यादा शोभा देता है ।”

त्यसबेला देव आनन्द र पटकथा लेखकले वागमतीलाई कञ्चन देखेका रहेछन् । पंक्तिकारले १९६० र १९७० को दशकमा पशुपति, गुह्येश्वरी, कालमोचन र पुरेतघाटतिर देखेको वागमती पनि कञ्चन थियो ।

सन् १९५० काे पशुपति मन्दर तलपट्टीकाे क्षेत्र (तस्वीर: नेपालइनपिक्स) र छुट्टै दिशाबाट खिचिएकाे साेही ठाउँकाे हालै खिचिएकाे गुगल तस्वीर ।
आर्यघाट, सन् १९२० ।
आर्यघाट, सन् १९७७ ।

पछिपछि पनि नेपाल आएका देव आनन्दले देखे/देखेनन् कुन्नि, कञ्चन वागमती भने दूषित बन्न थाल्यो । सभ्यताको धरोहर वागमती ‘ढलमती’ बन्यो । नदीका बालुवा काठमाडौंका खेतबारीमा उभिएका सिमेन्टका घरका गारो र स्लाबमा समाहित हुन पुगे । एक वर्षअगाडि मात्र म पुरेतघाट पुगेको थिएँ, जहाँ १९८१ को कुनै निशान भेटिनँ । वागमती मात्र होइन, यताका समस्त नदीहरूको विनाश हुन थालिसकेको छ ।

मल बन्यो, सुन्धारा सुक्यो
बन्दाबन्दी शुरु हुनुअघिको एक साँझ म बिजुली गाडीमा पाटनबाट रंगशाला नागस्थान हँुदै बासस्थान बालुवाटार लाग्दै थिएँ । अचानक ट्राफिकमा गाडी रोक्नु प¥यो, ठ्याक्कै नागस्थानको चौबाटोमा । पश्चिमपट्टि आँखा लगाएँ । खडा हुँदै गरेको धरहराको आवरण देखियो, पुरानो सेतो गगन चुचुरोको बिम्ब अगाडि आयो । बाल्यकालको थलो गणबहाल, धरहरा, सुन्धारा र खिचापोखरीका सेरोफेरोमा मन पुगिहाल्यो । गोश्वारा हुलाकको पूर्वको त्यही पेटीमा हामी स्कूल जाने बस कुर्ने गथ्र्यौं ।

सुन्धाराका हाम्रा परिधिहरु थिए— टक्सार, ठाकुरहरूले कपाल काट्ने पसल, आलुचप पाइने माइला दाइ, खिचापोखरीका मासु पसलहरू, द्वारिकादास श्रेष्ठको दास फोटो स्टुडियो । हिजोआज पनि केही तस्वीर देखिन्छन्, द्वारिका दाइले खिचेका । तस्वीर देख्यो कि स्टुडियोमा बसेका दाइ आँखैअघि आउँछन् । हामी स्टुडियोमा फोटो हेर्न जान्थ्यौं, हल्ला गथ्र्यौं, उनी सुनिरहन्थे । द्वारिका दाइसँगै हुलाक र टक्सार पनि अब छैनन् ।

ट्राफिक खुकुलो भएपछि अलि अघि लागें, काठमाडौं मलको भवन आइपुग्यो । १९८० को मध्यतिर बनाइएको यो भवनको एक भाग पनि भत्काइँदै रहेछ । यो त्यही भवन हो, जसको भुइँतला खन्ने क्रममा सुन्धारा सुक्यो । हामी बेलाबेलामा सुन्धारातिर खेल्न जान्थ्यौं, खास दिनमा सुन्धाराको धाराको पानी घरमा ल्याइने चलन पनि सम्झनामा आयो । सुन्धारा सुकेको विषयले केही समय खबरमा स्थान पनि पाएको थियो । तर, मलमा घुम्ने, किनमेल गर्ने नयाँ सामाजिक व्यवहारमा रमाउन थालेकाहरूलाई सुन्धारा बारे टाउको दुखाइरहनु आवश्यक लाग्न छाड्यो।

धरहराको छेउछाउ वीरगञ्जबाट बाइरोडको बाटो हुँदै आएका ट्रकहरूको विश्रामस्थल थियो । असार, साउनतिर अचाक्ली हिलो हुन्थ्यो । छेउछाउमा उस्ताद र जमुरे चटक देखाउँथे । घोप्टो पारेको काँचको गिलासमा काठको टुक्रामा बाँधिएको ढुंगालाई उस्ताद सन्तुलित पारेर ठड्याउँथे । भन्थे, “यो नेपालको रकेट हो ।” तर, त्यो उडेको हामीले कहिल्यै देखेनौं । चटक रहेछ भन्ने कुरा पछि मात्र थाहा भयो ।

विगतमा रम्दारम्दै नयाँ सडक ढोका छेउ आइपुगिएछ । परतिर हनुमानढोकाका झिंगटीका छाना भएका दरबार र मन्दिर पनि देखिए । मिलेका, सुन्दर, दमदार कारिगरीको उम्दा सिर्जना । मन शान्त भयो । नेपाल चिनाउने धरोहर यिनै त हुन् नि, पर्यटन यसैमा त टिकेको छ । पहाडका टुप्पोमा बनाइएका भ्यूटावर हेर्न त को आउला र, खोइ ?

नयाँ सडक ढोकाको उत्तरपट्टि मिलिटरी अस्पताल आइपुग्यो । सन् २०१५ को भूकम्पमा भत्किएको त्यो भवन फेरि उठाइएको छ । भवनको अगाडिको आवरण पुरानै ढाँचामा छ भने पछाडिपट्टि बहुतला ठड्याइएको छ । पुरानो मिलिटरी अस्पताल भवन पहिलो विश्वयुद्धमा ज्यान गुमाएका नेपाली सैनिकको सम्झनामा इन्जिनियर कर्णेल किशोरनरसिंह राणाको अगुवाइमा सन् १९२६ मा निर्माण गरिएको थियो । भवनको छानामा कारिगर रत्नबहादुरले बनाएको मूर्ति राखिएको थियो । पिताजी डा.मोहनमणि दीक्षितसित केटाकेटीमै त्यहाँ पुगेको सम्झिएँ।

भाेटाहिटी चाेक, सन् १९६७ ।

तुफानी सम्झनाले हुत्त फेरि सन् १९८१ ताकाको इन्जिनियरिङ अध्ययन संस्थानको चौर पु¥यायो । जाडो महीनामा घाम ताप्दै हामी अग्रज पुष्पबहादुर अमात्यका रमाइला किस्सा सुनिरहेका रहेछौं—

बन्दै गरेको मिलिटरी अस्पताल हेर्न एकदिन श्री ३ चन्द्रशमशेर बग्गीमा आएछन् । इन्जिनियर नभएको बेला परेछ । मुख्य डकर्मीलाई बोलाएर सोधेछन्, “काम कस्तो भइरहेको छ ?”, “सरकार सबै ठीक छ” डकर्मीले जवाफ दिएछन् ।

“त्यो कर्निस मन परेन, यसरी बनाउनू” चन्द्र शमशेरले भनेछन् । डकर्मीले भनेछन्, “सरकार जो हुकुम ।”

भोलिपल्ट कर्निस अर्कै किसिमले बनाएको देखेपछि इन्जिनियरले डकर्मीको सातो खाएछन् । “सरकारले गर्नु भनेकाले गरेको”, डकर्मीले सफाइ पेश गरेपछि इन्जिनियर फरक्क फर्केर हिँडेछन् ।

भोलि, पर्सि, निकोपर्सि पनि इन्जिनियर निर्माण हेर्न आएनन् । निर्माणको सबै काम रोकिएछ । यो कुरा चन्द्र शमशेरकहाँ पुगेछ ।

चन्द्र शमशेरले इन्जिनियर किन काममा नआएको सोधील्याउनु भनी कर्मचारीलाई अह्राएछन् । कर्मचारीलाई इन्जिनियरले जवाफ दिएछन्, “अब राजालाई नै सुपरीवेक्षण गर्न भन्दिनु, जान्न ।”

चन्द्र शमशेरले बल्ल कुरा बुझेछन् । र, आफ्नो गल्ती स्वीकारेछन् ।

त्यसपछि मात्र इन्जिनियर निर्माणस्थल फर्केछन् ।

अमात्य सरले आँखा झिम्क्याएर कथाको बिट मार्नुभएको थियो । उही अमात्य सरकै डिजाइनमा वि.स. २००० मा नेपालको पहिलो योजनाबद्ध शहर राजविराज तयार भएको थियो ।

सन् १९५४ मा बागमती नदी । तस्वीर: युएसएआईडी

वीर अस्पतालको नवनिर्मित ट्रमा सेन्टर अगाडि आइपुगेछु । दुवै भवनका डिजाइन हेर्छु, पटक्कै चित्त बुझ्दैन । तर, डिजाइन जस्तो भए पनि सेवा गतिलो होस् भन्दै पुनर्निर्माण हुँदै गरेको रानीपोखरी, चिनियाँ सहयोगमा बनाइएको दरबार स्कूल हुँदै अघि बढ्छु।

नारायणस्थान छेउको हिटीपोखरी आइपुगियो । कमलपोखरी र गहनापोखरी सम्झें । काठमाडांैका अरू धेरै पोखरी जीवित छैनन् । वागमती सभ्यताको एउटा धागो थियो— पहाड, खोला, राजकुला, खेत, पोखरी र ढुंगेधारा । हाम्रा संस्कृति, मन्दिर, पाटी, पौवा सिर्जनाका उदाहरण हुन् तर त्यसबेलाका नागरिकको स्वास्थ्य कमजोर थियो । मलमूत्र विसर्जनको तरिका र फोहोरमैला रोगव्याधि हाम्रा विगतका यथार्थ हुन् । अहिले फ्लस ट्वाइलेटको प्रचलन बढेको छ । तर मलमूत्र विनाप्रशोधन नदीमा फालिन्छन् । सार्वजनिक स्वास्थ्य व्यवस्था सुध्रिएकाे छैन ।

शहरहरूमा घरबस्ती थपिँदै गए, बाटोघाटो, बिजुुली, धारा पुर्‌याइए । धाराका पाइप छन् तर पानी आउँदैनन् । आधुनिक संरचना विकासको यात्रामा पोखरी, कुुला, पाटी, पौवा, जरहौँ र ढुंगेधारा महत्वहीन पुरातनी मानिए ।

२००१ मा गरेको एउटा अध्ययनमा काठमाडाैं र पाटनमा करीब ३५० ढुंगेधारा थिए । अहिले धेरै हराएका छन्, सामूहिक विस्मृतिमा परेका छन् । संरक्षणको आवाज बाटोको निरन्तरतामा दबिएको छ । इतिहास गुमाएको सुन्धारा हाम्रो विकास यात्रा मूल्यांकन गर्ने प्रतिनिधि स्थल हो ।

पंक्तिकारले २००१ मा गरेको एउटा अध्ययनमा काठमाडाैं र पाटनमा करीब ३५० ढुंगेधारा थिए । अहिले धेरै हराएका छन्, सामूहिक विस्मृतिमा परेका छन् । संरक्षणको आवाज बाटोको निरन्तरतामा दबिएको छ । इतिहास गुमाएको सुन्धारा हाम्रो विकास यात्रा मूल्यांकन गर्ने प्रतिनिधि स्थल हो ।

हाम्रा नदीमा अनेकौं हस्तक्षेप भएका छन् । पहिले खास क्षेत्र गोकर्ण, पशुपति र चोभारका खोच, शंखमूलदेखि टेकू दोभानसम्म घाट निर्माण गरिएका थिए । यी हाम्रा आस्था र सांस्कृतिक मान्यताका प्रतिबिम्ब थिए । हिजोआज मुख्य नदीका दुवै किनारामा पर्खाल उठाई नदीलाई नहरसरह बनाइएको छ । किनारामा बनाइएका बाटाले गाडी आवतजावत सजिलो भएको छ तर जलविज्ञानले नदीलाई फाँटसित जोडेर व्याख्या गर्छ।

काठमाडौंका नदीमा योे व्याख्या गर्न अब मिल्दैन । वागमतीका ससाना प्रशाखाहरू त अब अस्तित्वमा पनि छैनन् । तर, जतिसुकै भौतिक परिवर्तन भए पनि आस्था भने नमर्ने रहेछ ।

सन् १९८१ मा पुरेत घाटमा वागमती नदीबा६ बालुवा उठाउँदै अजय दीक्षित (सेताे सर्टमा) ।

महामारीमा पनि पानी

रिङ रोड बनेपछि काठमाडौंमा घरबस्ती निर्माण हुने क्रम व्यापक हुन थाल्यो । सामूहिक विकसित शहरको परिकल्पना र त्यसलाई जिउँदो राख्ने जिम्मा पाएको तप्का आफ्नै धुनमा मस्त रह्यो । मौलिक ज्ञान प्राथमिकतामा पर्न सकेनन् । के अब लुकेका ज्ञान खोतल्न सकिएला ? हाम्रो चेतनामा यस्तो ज्ञान कसरी, कसरी ल्याइदिने ? बन्दाबन्दीमा यस्तै प्रश्नहरूमा घोत्लिँदैछु । तर, जवाफ छैनन्।

अहिलेसम्म विश्वमा सूचना क्रान्ति, अन्तरिक्षमा विजय, अन्तर्राष्ट्रिय आवतजावत, अन्तर्राष्ट्रिय सुरक्षा, अत्याधुनिक हतियारमा अर्बौं लगानी गरिएको छ। तर, विश्व स्वास्थ्य संगठन भन्छ, पृथ्वीका २.२ अर्ब बासिन्दालाई अहिले पनि अत्यावश्यक आधारभूत खानेपानी, सरसफÞाइ र स्वास्थ्यसेवा उपलब्ध गराउन सकिएको छैन । यो मानव सभ्यताको ठूलो असफलता हो।

हेरौं त, कोभिड–१९ भाइरसको निदानमा हतियारले काम गरेन । बरु सफा पानीको उपलब्धता एउटा आधार हुन पुगेको छ । संक्रमण पर राख्न साबुनपानीले नियमित मिचिमिची हात धुनु उपयोगी भयो । तर, सफा खानेपानी उपलब्ध नभएका ग्रामीण परिवार र शहरबासीले के गर्ने ? के सधैं स्यानिटाइजर खरीद गर्ने क्षमता सबैसँग छ?

महामारीमा देखिएका यी र यस्ता थुप्रै असमानता हटाउने जिम्मा कसको ? सरकारसँगै यो जिम्मा शिक्षित समाजको पनि हो।

पानी व्यवस्थापन केन्द्रबिन्दुमा राखे मात्र हाम्रो यात्रा सन्तुलित हुनेछ । र, सबैलाई अत्यावश्यक आधारभूत सफा पानी आपूर्तिको ग्यारेन्टीको सामूहिक दायित्व त्यस लामो यात्राको पहिलो पाइला हो ।

यति लेखेर, महामारीकै सन्दर्भमा मैले केही समयअघि रचेको सबाइ छन्दको एउटा कविता यहाँ प्रस्तुत गर्दछु—

दिदीबहिनी, दाजुभाइ, अनुरोध गर्छु।
जल, वाटर, पानीको सबाइ कहन्छु ।।

अहा ! कति सहयोगी हुने रैछ पानी ।
नियमित हात धुने कति राम्रो बानी ।।

साबुनसहित हात धोए सहयोग पुग्छ ।
कोरोनालाई परै राख्छ महामारी रोक्छ ।।

नदी नाला आधार हुन सफा बग्ने पारौं।
पानी हाम्रोे जीवन हो जतन गर्न थालौं ।।

बागमती नदी: सन् १९५०, १९६० र २०१७ । तस्वीर: नेपालइनपिक्स

 

प्रतिकृया दिनुहोस