समाचार बुधबार, वैशाख १०, २०७७

साहित्यकार पिटर जे. कार्थकको निधन

प्रकाश गुरागाईं

साहित्यकार पिटर जे. कार्थकको निधन

साहित्यकार पिटर जे. कार्थकको ७७ वर्षको उमेरमा निधन भएको छ। उनको उपचारका क्रममा हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटलमा बुधबार बिहान ५ः३० बजे निधन भएको हो।

केही दिनअघि मात्र उनलाई क्यान्सर भएको पत्ता लागेको थियो। तर, कुन भागको क्यान्सर भन्ने पत्ता नलाग्दै उनको निधन भएको हो। चिकित्सकले हृदयघातबाट मृत्यु भएको बताएको उनको परिवारले जानकारी दिएका छन्।

उनको घाँटीमा गाँठा निस्किएको थियो। परिवारका अनुसार बन्दाबन्दी सुरु भएपछि उनलाई घाँटीको गाँठा दुख्न थालेको थियो। पारिवारिक चिकित्सकले क्यान्सर जाँच गराउन सल्लाह दिएपछि उनी नेपाल क्यान्सर अस्पताल, हरिसिद्धि पुगेका थिए।

त्यहाँ बायोस्पी गर्दा उनको क्यान्सर दोस्रो चरणमा पुगेको पत्ता लागेको थियो। तर, कुन ठाउँको भन्ने पत्ता लागेको थियो। चिकित्सकले फोक्सोको क्यान्सर हुनसक्ने अनुमान गरेका थिए।

उनको दुखाइ बढ्दै गएपछि चिकित्सकले क्यान्सरको अवस्थाबारे बन्दाबन्दीपछि मात्र पत्ता लाग्ने भन्दै किमोथेरापी सुरु गरेका थिए। तीन दिनअघि किमोथेरापी दिएर उनी घरैमा आराम गरिरहेका थिए।

उनको आज (बुधबार) दोस्रोपटक किमोथरापी गर्ने तालिका थियो। तर, हिजो उनी आफैँले स्वाश्वप्रश्वासमा समस्या भएको बताएपछि अस्पताल भर्ना गरिएको थियो। उनलाई भेन्टिलेटरमा हालेर उपचार भएको थियो।

उपचारकैक्रममा उनको निधन भएको हो। उनको बिहिबार अन्तिमसंस्कार गरिने परिवारले जनाएको छ।

साहित्यकार कार्थकले पछिल्लो समय नयाँ अंग्रेजी उपन्यास लेखिरहेको आफूलाई बताएको बुकहिल प्रकाशनका भूपेन्द्र खड्काले जानकारी दिए। उनको दुई वर्षअघि प्रकाशित अंग्रजी उपन्यास ‘काठमान्डुइड्स’ पनि बुकहिलले नै प्रकाशन गरेको थियो।

साहित्यकार कार्थकको उपन्यास ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’ ले २०३४ सालको साझा पुरस्कार पाएको थियो। साहित्यकार शंकर लामिछानेले भूमिका लखेको दुई उपन्यासमध्ये एउटा ‘प्रत्येक ठाउँ प्रत्यके मान्छे’ हो। त्यसबाहेक पिटरका कथाहरु (कथा संग्रह) र मानस (संयुक्त कविता संग्रह) पनि प्रकाशित छन्।

सन् २०१८ मा संगीत सम्बन्धि पुस्तक ‘नेपाली म्युजिक मेकर्सः बिट्विन द डेल्स अफ दार्जिलिङ एन्ड द भेल्स अफ काठमाडौँ’ पनि प्रकाशित छ। यो पुस्तकमा आफूले संगत गरेका संगीतकारबारे उल्लेख गरेका छन्। उक्त पुस्तक हिमाल बुक्सले प्रकाशित गरेको थियो।

उनको जन्म सन् १९४३ मा भारतको असम राज्यको सिलोङमा भएको थियो। उनी ५२ वर्षअघि सन् १९६५ मा नेपाल आएका थिए।  रन्जित गजमेर, फुर्वा छिरिङ, अनुराधा गुरुङ (अनुराधा कोइराला माइती नेपालकी संस्थापक) सहित उनी निजी विद्यालयमा पढाउन आएका हुन्।

एक वर्ष वीरगन्ज बसेपछि सन् १९६६ मा काठमाडौँ आएका थिए। त्यसपछि काठमाडौँमै बस्न थालेका उनी लामो समय पत्रकारितामा संलग्न रहे। उनले हिमालय टाइम्स, काठमाडु पोष्ट, रिपब्लिका दैनिक लगायतमा काम गरेका थिए।

उनी संगीतकार पनि हुन्। उनले सन् १९६४ मा पहिलोपटक संगठित रूपमा दार्जिलिङकै पहिलो रक एन् रोल ‘द हिलियन्स’ ब्यान्ड निर्माण गरेका थिए। त्यसपछि दार्जीलिङमा पश्चिमी संगीतको नयाँ प्रभाव देखापरेको थियो। उनी अम्बर गुरुङले दार्जिलिङमा स्थापना गरेको ‘संगीत आर्ट एकेडेमी’ का विद्यार्थी थिए।

प्रतिकृया दिनुहोस