ब्लग शनिबार, वैशाख ६, २०७७

कविता सरकारका लागि हानिकारक छ !

रविन गिरी

कविता सरकारका लागि हानिकारक छ !
चन्द्रागिरिमा आयोजित चन्द्रागिरि सिर्जना यात्रामा प्रम केपी ओली। तस्वीर: शिलापत्र

महामारीको यो वेला ‘आहा ! मेरो स्वाधीनता, मेरो स्वतन्त्रता भनेर कविता लेख्ने समय’ नभएको बताउने हाम्रा प्रधानमन्त्री स्वयंले भनेका थिए, ‘कविता नसुन्ने मानिस भैंसी जस्तै हो ।’

बन्दाबन्दीले तेस्रो साता पार गरिसक्दा धेरैले धेरैखाले अनुभव गरिरहेका छन् । ‘बन्दाबन्दीमा थप सिर्जनशील बनिरहेको छु’, कतिपय साहित्यकार, रंगकर्मी, कलाकारका यस्ता अभिव्यक्ति पनि सञ्चारमाध्यममा पढ्न पाइएको छ । 'भर्चुअल' नाटकदेखि साहित्य सम्मेलन समेत सुनिएका छन्।

बालबालिकाका लागि अडियो कथा, कविता, चित्रकला सिकाउने अभियान पनि चलेका छन् । न्हु बज्राचार्य, योगेश्वर अमात्य घरैबाट क्या बोर भयो भनिरहेका छन्, दीपक बज्राचार्य आफैं मनमगन सुनाइरहेका छन् । आभासहरु पिट सिगरको ह्वेर ह्याभ अल द फ्लावर्स गन ? लाई कहाँ गए ती फूलहरु ? भन्दै गुनगुनाइरहेका छन् ।

बन्दाबन्दीमा १० दिने बच्चा च्यापेर पाँच दिन हिडेर भैरहवास्थित बेलहिया सुनौली दशगजा सीमासम्म आइपुगेकी सुत्केरी लक्ष्मी परियारको परिवार । तस्वीरः जीवनशैली डटकम

तर, खबरदार ! कोरोनाभाइरसको यो महामारीमा तपाईं एक चिज गर्न पाउनुहुन्न । बन्दाबन्दीका पनि आफ्नै शर्त छन्, तपाईं यतिवेला स्वतन्त्रताको पक्षमा कविता लेख्न पाउनहुन्न ।

यस्तो उर्दी शासक, प्रशासक बाहेकको त हुनै सक्तैन । २ वैशाखमा देखापढी अनलाइनलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, “यो महामारीको अवस्थामा हाम्रा फ्रिडमका मूल्यहरु भनेर कविता लेख्ने, कवि गोष्ठी गर्ने होइन ।... नेपाली जनताको जीवनरक्षा पहिलो कुरा हो । त्यसकारण बडा डेमोक्र्याट पल्टिएर आहा ! मेरो स्वाधीनता, आहा ! मेरो स्वतन्त्रता भन्ने कविता लेखेर गोष्ठी गर्ने वेला यो होइन । हामी गोष्ठीमा होइन, लडाइँमा छौं ।”

साँच्चै कविता लेख्ने समय कुन हो ? यतिवेला कविहरु समेत बिलखबन्दमा परेको हुनुपर्छ ।

तर, यिनै प्रधानमन्त्री झण्डै दुई वर्षअघि स्वयं ‘कवि’ बनेका थिए । सन्दर्भ थियो, आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन– २०७५ का अवसरमा चन्द्रागिरिमा आयोजित चन्द्रागिरि सिर्जना यात्रा । सम्मिलनको अन्तिम दिन ३१ असारमा कार्यक्रममा पुगेका ओलीले आशुकविकै शैलीमा तत्क्षण कविता लेखे र वाचन पनि गरे-

परिवर्तनशील दुनियाँमा सधैं बाँचेको को छ र !
बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदैछ ।
मरे नि केही छैन, त्यसपछि पनि सपना देख्न पाऊँ ।

प्रम ओलीले कविता सुनाइरहँदाकै समयमा गोरखा, फुजेलकी गंगामाया अधिकारी र चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसी आमरण अनशनमा थिए । गंगामाया २०६१ सालमा तत्कालीन माओवादी विद्रोहीले हत्या गरेका छोरा कृष्णप्रसादका हत्यारालाई सजाय दिन अनशन बसेकी थिइन् भने डा.केसी केदारभक्त माथेमा नेतृत्वको कार्यदलको प्रतिवेदन कार्यान्वयन लगायत न्यायोचित माग पूरा गर्न । न्यायका लागि अनशनकै क्रममा निधन भएका गंगामायाका पति नन्दप्रसादको शव अहिले पनि शिक्षण अस्पतालको सामुहिक शव कक्षमा ‘बडि ब्याग’मा राखिएको छ । सदगत भएको छैन ।

प्रधानमन्त्रीज्यू के त्यो कविता लेख्ने र सुनाउने समय थियो ?

नन्दप्रसाद अधिकारी (इन्सेट) र अहिले पनि शिक्षण अस्पतालको सामुहिक शव कक्षमा ‘बडि ब्याग’मा राखिएको उनकाे शव ।

भैंसी, कविता र प्रधानमन्त्री

कविता वाचनकै क्रममा प्रम ओलीले कविताबारे प्रवचन समेत दिएका थिए । श्रोताले बडो स्वादले थपडी पनि बजाएका थिए । उनले भनेका थिए— ‘कविता नसुन्ने मानिस त भैंसी जस्तै हो, भैंसीको अगाडि जति गीत गाउनुहोस्, भैंसीले घाँस मात्रै चपाउँछ ।’ (भलै यो हिन्दी आहान ‘भैँसके आगे बीन बजाए, भैँस खडी पगुराई’ को कनिकुथी अनुवाद थियो !)

भैंसी भन्नेबित्तिकै भैंसीमाथि नै चढेर अंग्रेजी साहित्य पढेका भनेर कतै पढिएका प्राध्यापक अभि सुवेदी सम्झनामा आए । संयोगले सुवेदी पनि प्रमकै गृहजिल्ला तेह्रथुमकै । उनका लेखनीमा आउने शीर्षकको सुपरिचित शैलीबाट प्रभावित हुने हो भने, प्रधानमन्त्रीको यो कविता—काण्डको शीर्षक यस्तो बनाउन सकिन्छ— भैंसी, कविता र प्रधानमन्त्री !

फेरि यस्तो पनि लाग्छ, कि हाम्रा प्रममा कविताप्रति बडो प्रेम छ । उनका हरेक उखान, तुक्का, विम्ब, उपमा, अलङ्कार मिश्रित भाषण कतिका लागि गजबको साहित्य सराबरी नै लाग्ने गरेको छ । साउन, २०७३ मा जनसांस्कृतिक मञ्चको एक कार्यक्रममा त प्रमले २०४१ सालमा आफू पोखरामा जेल बस्दा काठमाडौंका किसान सम्झेर खर्पन शीर्षकको कविता नै लेखेको बताएका थिए अनि उनका तत्कालीन प्रेस सल्लाहकारले त्यो कविता फेसबूकमै सार्वजनिक गरेका थिए ।

तस्वीरः देशसञ्चार

त्यसो त प्रम मात्र कहाँ हुनु, स्वयं सरकारकै कतिपय कामकारबाही पनि आख्यान भन्दा कम लाग्दैन ।

जस्तो कि, २७ चैतको घटना । काठमाडौंबाट बाहिरिन चाहनेहरुका लागि शुक्रबार र शनिबार सवारी साधन सञ्चालन गर्ने भन्ने सरकारको निर्णयको सूचना मन्त्रिपरिषद् कार्यालयको फेसबूक पेज मार्फत सार्वजनिक हुन्छ । त्यसैका आधारमा अनलाइन पोर्टलहरूमा भटाभट समाचार बन्छ । गाउँ फर्कन चाहनेमा आशाको सञ्चार हुन्छ । तर, एकैछिनपछि त्यस्तो निर्णय नभएको अर्को सूचना सोही पेजमा अद्यावधिक गरिन्छ । त्यसपछि एकाएक, फेसबूक पेज नै ‘डिएक्टिभेट’ गराइन्छ । कसरी यस्तो भयो ? मन्त्री र कर्मचारीहरुलाई तैं चुप, मै चुप बनाइन्छ ।

आफ्नै लेख्ने, आफैं मेट्ने सरकारको यस्तो कार्यशैलीले भूपी शेरचनको चर्चित कविता याद दिलाउँछ । ‘भूपी शेरचन’ शीर्षकको कविताले
भन्छ-

केही लेख्छन्
यसो हेर्छन्
चित्त बुझदैन
अनि केर्छन्
पुनः लेख्छन्
पुनः हेर्छन्
लामो सास फेर्छन्
कठैबरा, बिचरा
‘भूपी’ शेरचन

'महामारीका वेला मेरो नै सही कविता किन सम्झिएको, किन लेखेको ? यस्तो वेला कि भूपी नै किन याद आउनुपर्ने, यादै आए माधवप्रसाद घिमिरेका राष्ट्र र प्रकृतिप्रेमका गीत छैनन् ? गुनगुनाउनै परे त्यत्रो राष्ट्रगान छैन ?' अबको सम्बोधनमा प्रधानमन्त्रिबाट अर्को यस्तै उर्दी आउन पनि बेर छैन ।
(स्पष्टोक्तिः भूपी, रिमाल, सिद्धिचरण, रामेश, जेबी टुहुरे र जीवन शर्माहरु त आन्दोलनमा जनता ओराल्ने वेला, सडक तताउने वेला पो सम्झिने हो त !)

कहाँ राखौं त यी सब ?
मानिसका कथालाई कविता मार्फत उतार्ने भनी चर्चित क्यानेडियन भाष्यकवि एन कार्सनको एउटा लामो कविता संग्रह छ, द ग्लास एस्से । निबन्धकै शैलीको यो कवितामा उनी लेख्छिन्—

तिमी धेरै सम्झिन्छौ
मेरी आमाले भनिन्
किन ती सबै बोकेर हिंड्छौ ?

र, मैले भनें,
कहाँ राखौं त यी सब ?

ठीक यस्तै भइरहेको हुनसक्छ, जनतालाई यतिवेला । शहरमा घर हुने त घरमा बस्छन्, एकाध महीना खानेकुराको जोहो गर्न र भाडा तिर्न सक्नेले आफूलाई सम्हाल्न सक्लान् । तर, दिनहुँ कमाएर छाक टार्नेहरुले महामारीको त्रास र बन्दाबन्दीको अनिश्चिततामा बाँच्न र मर्न दुवैका लागि खोज्ने भनेको आफ्नै गाउँघर हो, आफ्नै परिवार र आफन्तको काख हो ।

बन्दाबन्दीमा लस्कर लागेर गाउँ गइरहेका जनता पनि चाहन्छन्, सरकारले महामारी विरुद्धको लडाइँमा सफलता हासिल गरोस्, बाँच्न पाइयोस्, सामान्य दिनचर्यामा फर्किएर काम गर्न पाइयोस् । उनीहरु न बन्दाबन्दी विरोधी हुन्, न सरकारका आलोचक । र, भारत, राँची विश्वविद्यालयका अर्थशास्त्रका भिजिटिङ प्रोफेसर ज्यां द्रेजका भनाइमा घर गइरहेका भोक—प्यासले सताइरहेका यी श्रमिकहरुले विद्रोह गर्न पनि सक्तैनन् ।

लाग्दैन, आफ्नै जीवनरक्षाका खातिर बिरामी, बालबच्चा बोकेर सयौं किलोमिटर हिंडिरहेका, भोकै–तिर्खै, चौतारा र पेटीमा गलेर निदाउन बाध्य यी नागरिकले कुनै स्वतन्त्रता मागेका छन् । गाँस र बास पनि मागेका छैनन् । तर, निमुखा जनताको यो ताँती ‘अब कोही जनता भोको हुनुपर्दैन’ भन्ने सरकारको पटकपटकको आश्वासनको मौन उपहास भने हो ।

मलाई जिन्दगी जिउन पुगेकै छैन !

यूएईका शिविरमा हिन्दी चलचित्र हेर्दै नेपाली र भारतीय कामदार । तस्वीरः नेपाली टाइम्स

संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत कोरोनाभाइरस संक्रमित ११ नेपालीमध्ये एक जनाको मृत्यु भइसकेको छ । चार जना निको भइसकेका छन् । उपचार गराइरहेका बाँकी संक्रमितमध्ये एक हुन्, रमेश (नाम परिवर्तन) ।

लाग्दैन, आफ्नै जीवनरक्षाका खातिर बिरामी, बालबच्चा बोकेर सयौं किलोमिटर हिंडिरहेका, भोकै–तिर्खै, चौतारा र पेटीमा गलेर निदाउन बाध्य यी नागरिकले कुनै स्वतन्त्रता मागेका छन् । गाँस र बास पनि मागेका छैनन् । तर, निमुखा जनताको यो ताँती ‘अब कोही जनता भोको हुनुपर्दैन’ भन्ने सरकारको पटकपटकको आश्वासनको मौन उपहास भने हो ।

पहिले आठ जना बस्ने कोठामा संक्रमणकै कारण अहिले रमेश एक्लै छन् । वाइफाई छैन, मोबाइलमा गेम खेल्दै समय कटाउँछन् । “यस्तो वेला न साथी हुने रहेछन्, न नेपाली समाज, न आफ्नै दूतावास”, रमेशले नेपाली टाइम्स साप्ताहिकसँग भनेका छन् । घरपरिवारले पीर मान्लान् भनेर उनले आफू संक्रमित भएको कुरा सुनाएका छैनन् ।

यिनै रमेशले संक्रमणकै कहालीमा एउटा यस्तो कविता लेखे-

कयौं वर्ष अघिदेखि
जिन्दगीको गोरेटोमा
फगत एक्लै हिंडिरहेथें

तर,
आज अचानक
कोही साथ दिन्छु भन्दैछ
मलाई सँगै राख्छु भन्दैछ
तर,
म जान चाहदिनँ
किनकि
मलाई जिन्दगी जिउन
पुगेकै छैन ।
तर अहँ
ऊ मान्दैन ।
म निरन्तर मनाउने कोसिस गरिरहेछु
ऊ ठिंग उभिएर एकनास
मलाई नियालिरहेछ ।

शायद
ऊ पनि दोधारमा छ ।

त्यसैले
मेरो आँखामा खट्किरहेछ ।
आस्थाको पनि एउटा
परिधि हुँदोरहेछ ।
विश्वासको पनि एउटा सीमा हुँदोरहेछ ।
त्यसैले
त्यही सीमामा उभिएर
ऊ मलाई निरन्तर हेरिरहेछ
म उसलाई ।
र,
एक अर्कालाई मनाउने
कोसिसमै
यहाँ जिन्दगी अघि बढिरहेछ ।

प्रधानमन्त्रीज्यू, तपाईंको चन्द्रागिरिको कविता जस्तै, यो कविता पनि शीर्षकविहीन छ । तर, यसमा आमनेपालीको वर्तमान छ ।

कतै कविता लेखेर यिनले केही त बिराएनन् ? मर्जी होस्, प्रधानमन्त्रीज्यू !

 

प्रतिकृया दिनुहोस