खेलकुद विहीबार, चैत २७, २०७६

बन्दाबन्दीमा विभागीय टोलीका खेलाडीः कोही कोठामै व्यायाम गर्दै, कोही ड्यूटीमा

नुनुता राई

बन्दाबन्दीमा विभागीय टोलीका खेलाडीः कोही कोठामै व्यायाम गर्दै, कोही ड्यूटीमा

कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन सरकारले लागू गरेको बन्दाबन्दी (लकडाउन) का कारण अहिले अरु क्षेत्र जस्तै खेलकुद गतिविधि पनि ठप्प छ।

विभागीय टोली अर्थात् नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको क्लबमा आबद्ध खेलाडीहरू पनि मैदान बाहिरै छन्। नियमित अभ्यास र पर्याप्त प्रशिक्षण हुने भएकाले विभागीय टोलीका खेलाडीहरू खारिएका हुन्छन्। राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा अधिकांश पदक यिनै खेलाडीको पोल्टामा पर्छ। तर अहिले खेलकुद गतिविधि शून्य भएका वेला विभागीय खेलाडीहरू कहाँ के गर्दैछन् त ?

त्रिभुवन आर्मीका खेलाडी ड्यूटीमा

खेलमा अब्बल क्षमता प्रदर्शनसँगै विभागीय खेलाडीहरुको विभागीय जिम्मेवारी पनि हुन्छ। बन्दाबन्दीपछि सेनाको त्रिभुवन आर्मी क्लबबाट खेल्ने खेलाडीहरु सम्बन्धित युनिटमा फर्किएका छन्। १० चैतमै विभिन्न विधाका ६ सय खेलाडी सम्बन्धित युनिटमा फर्केको क्लबका केन्द्रपति कर्णेल शशीकिरण रायमाझीले बताए।

अहिले उनीहरु नियमित तालिम, युनिटभित्रको ड्युटी र देशमा कोरोना भाइरसको संक्रमण फैलिएमा निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे आन्तरिक तालिममा सहभागी भइरहेको कर्णेल रायमाझीले जानकारी दिए।

समूहमा खेल्ने खेलाडीहरुलाई अभ्यास गर्ने सम्भावना नरहे पनि एकल खेल खेल्ने खेलाडीहरुले भने युनिटभित्रै सामान्य अभ्यास गरिरहेका छन्। ६० जना खेलाडी भने वृत्ति विकास तालिममा सहभागी छन्। आर्मी क्लबसँग करारमा खेल्ने ८० जना खेलाडी भने आ–आफ्नो घर गएको केन्द्रपति रायमाझीले बताए।

नेपाल प्रहरीका खेलाडी ‘स्ट्यान्ड बाई’

बन्दाबन्दीपछि नेपाल प्रहरीका सबै खेलाडीलाई आ–आफनै स्थानमा तयारी अवस्थामा रहन विभागले निर्देशन दिएको छ। खेलकुदका सबै विधामा गरी नेपाल प्रहरीमा २ सय ८७ खेलाडी छन्।

खेलाडीहरुलाई तत्काल ड्युटीमा खटाउनुपर्ने अवस्था नभएकाले तयारी अवस्थामा रहन भनिएको खेलकुद इन्चार्ज इन्स्पेक्टर भरतबहादुर साहले बताए।

आपतकालीन अवस्था आइपरे पनि खेलाडी प्रहरीलाई कार्यालयको आन्तरिक काममा खटाइने भएकाले उनीहरुलाई विशेष प्रशिक्षण दिने तयारी नरहेको उनले जानकारी दिए। “खेलाडीहरुलाई खेलमै केन्द्रित गराइन्छ, संकट नै आइपरे पनि दक्ष एवं प्रशिक्षित प्रहरीलाई फिल्डमा खटाइन्छ र खेलाडी प्रहरीलाई कार्यालय तथा आन्तरिक ड्युटीमा लगाइन्छ।”

एपीएफका खेलाडी आलोपालो ड्यूटीमा

यतिवेला सशस्त्र प्रहरी बल (एपीएफ) का केही खेलाडी ड्युटीमा छन् भने केहीलाई ड्युटी गर्न तयारी अवस्थामा राखिएको छ। खेलकुदका सबै विधा गरी सशस्त्र प्रहरी बलमा ३ सय ५१ जना खेलाडी छन्। तीमध्ये २ सय ५० जनालाई ड्युटीमा खटाइएको प्रवक्ता, डीआईजी प्रविणकुमार श्रेष्ठले जानकारी दिए। बाँकी खेलाडीलाई भने तयारी अवस्थामा राखिएको छ।

प्रवक्ता श्रेष्ठका अनुसार सशस्त्र प्रहरीका खेलाडीहरुलाई आलोपालो ड्युटीमा खटाइएको छ। उनले भने, “अहिले २ सय ५० जनालाई ड्युटीमा खटाइएको छ, आलोपालो प्रणाली अनुसार बाँकीलाई केही समयपछि खटाउँछौं।” खेलाडीहरुलाई आन्तरिक तथा बाह्य दुबै ठाउँमा ड्युटीमा खटाइएको उनले बताए।

खेलाडीहरुलाई डेढ सातादेखि ड्यूटीमा खटाइएको छ। उनीहरुलाई कोरोना भाइरस संक्रमणबाट आफू कसरी जोगिने र अरुलाई कसरी जोगाउने भनेर प्रशिक्षण दिइएको प्रवक्ता श्रेष्ठले बताए। “संक्रमणबाट जोगिने, जोगाउने र सचेतना फैलाउने लगायतका प्रशिक्षण दिएर मात्रै ड्युटीमा खटाएका छौं”, उनले भने।

‘अभ्यास गर्न पाएको छैन’
संगीता मगर, कराँते खेलाडी, त्रिभुवन आर्मी क्लब

संगीता मगर

संगीता मगर कराँतेको टिम काता खेल्छिन्। उनको समूहले साग २०१९ मा स्वर्ण पदक जितेको थियो।
अन्य खेलाडी जस्तै आफ्नो युनिटमा फर्किएकी उनी अहिले हेटौंडाको सुपारेटार ब्यारेक (मध्य पृतना हेडक्वार्टर) मा ड्युटीमा खटिएकी छन्। नियमित तालिम गरिरहेकी उनले खेल अभ्यास गर्न भने नपाएको सुनाइन्। उनी भन्छिन् “म समूहमा खेल्ने खेलाडी हो । मेरा साथीहरु अरु युनिटमा भएकाले खेलको प्रशिक्षण गर्न पाएको छैन।”

‘कोठामै व्यायाम गर्छु’
सावित्रा भण्डारी ‘साम्बा’, फुटबल खेलाडी, एपीएफ

सावित्रा भण्डारी ‘साम्बा’

साम्बाको अहिले ड्युटी नभएकाले कोठामा नै बसिरहेकी छन्। कुनै पनि वेला ड्युटीमा जानुपर्ने भएकाले उनलाई तयारी अवस्थामा रहन भनिएको छ। कोठामा नै नियमित व्यायाम गर्ने गरेको उनी सुनाउँछिन्। “त्यस बाहेक युट्यूब हेर्ने र साथीहरुसँग च्याट गरेर बसिरहेकी छु”, उनी भन्छिन्।

‘ड्युटीमा जान तयारी अवस्थामा छु’
एन्जिला तुम्बापो सुब्बा, गोलकिपर, एपीएफ

एन्जिला तुम्बापो सुब्बा

एन्जिला तुम्बापो पनि ड्युटी गर्न निर्देशन आउने पर्खाइमा कोठामा नै बसिरहेकी छन्। उनलाई पनि साम्बालाई जस्तै तयारी अवस्थामा बस्न निर्देशन दिइएको छ। गएको सागमा भाग लिने आफूसहितका खेलाडीहरुलाई तयारी अवस्थामा रहन भनिएको उनले बताइन्। बन्दाबन्दीको दिन कसरी बितिरहेको छ त ? उनी भन्छिन्, “नियमित व्यायाम गर्छु र युट्युब चहार्छु।”

प्रतिकृया दिनुहोस