कोभिड-१९ शुक्रबार, चैत २१, २०७६

के बीसीजी खोपले गर्ला त कोभिड-१९ रोकथाम ?

रामु सापकोटा

के बीसीजी खोपले गर्ला त कोभिड-१९ रोकथाम ?
पाेखरामा बीसीजी खाेप दिइँदै । तस्वीर: जीम होल्म्स्

के एक दशकअघि क्षयरोगविरुद्ध विकसित बीसीजी खोप जारी कोभिड १९ महामारी रोकथाममा उपयोगी हुनसक्छ ? यतिबेला अमेरिका, अष्ट्रेलिया लगायत विश्वका केही वैज्ञानिक यसैको खोजीमा लागेका छन् ।

यदि यो खोजको परिणाम सकारात्मक निस्किएमा कोरोनाभाइरस विरुद्धको उपचारमा निर्णायक उपलब्धि हुने पनि वैज्ञानिकहरुको भनाइ छ ।

फोब्र्सको अनलाइन संस्करणमा प्रकाशित एक समाचार अनुसार, अष्ट्रेलियामा यसको क्लिनिकल ट्रायलसमेत शुरु भइसकेको छ ।

समाचार अनुसार, मेलवर्नस्थित मर्डक चिल्ड्रेन्स् रिसर्च इन्स्टिच्यूट (एमसीआरआई) का करीब चार हजार स्वास्थ्यकर्मीमा यो खोपको प्रयोग मार्फत कोरोनाभाइरस विरुद्धको प्रतिरोध क्षमता जाँच्ने क्रम थालिसकिएको छ । र, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पनि यसको अनुमति दिइसकेको छ।

बीसीजी खोप ।

“यो ट्रायलले कोभिड–१९ का लक्षणहरु विरुद्ध लड्न बीसीजी खोपको प्रभावकारिताको परीक्षण गर्नेछ”, एमसीआरआईका निर्देशक प्राध्यापक क्याथरिन नर्थ भन्छिन्, “यसले अग्रदस्तामा रहेर बिरामीको उपचार गरिरहेका स्वास्थ्यकर्मीको जीवन बचाउन सक्छ ।”

क्षयरोगविरुद्ध प्रतिरोधी क्षमता बढाउने बीसीजी (बसिलस काल्मेट गिरन) खोप सर्वप्रथम सन् १९२१ मा मानव शरीरमा प्रयोग गरिएको थियो । यो खोपले क्षयरोग बाहेक अन्य विभिन्न रोग विरुद्ध लड्नसक्ने क्षमता पनि बढाउने विभिन्न अध्ययनले पुष्टि गरेका छन् ।

अनुसन्धानकर्ताहरुले बीसीजी खोप लगाएका बालबालिकाहरुको समग्र मृत्युदरमा ५० प्रतिशतले कमी आएका कारण पनि यो खोप सबै प्रकारका रोगसँग लड्न प्रभावकारी हुनसक्ने तर्क गर्छन् ।

कोभिड–१९ विरुद्ध बीसीजी खोपको यस्तै ट्रायल नेदरल्याण्ड्स, बेलायत र ग्रीसमा पनि भइरहेको छ।

यसबारे छुट्टै र बृहत् अध्ययनको योजना पनि बनाइएको छ, जसमा जर्मनीका पाका बिरामी र स्वास्थ्यकर्मीलाई सहभागी गराइनेछ ।

बीसीजी नै किन ?
कोभिड–१९ रोग रोकथाममा बीसीजी खोप नै किन उपयोगी हुनसक्छ भन्नेमा वैज्ञानिकहरुको एउटा अनुमानले काम गरेको छ । त्यो हो, डब्लूएचओको सर्वव्यापी स्वास्थ्य पहुँच अर्थात् युनिभर्सल हेल्थ कभरेज (यूएचसी) कार्यक्रम ।

वैज्ञानिकहरुका अनुसार, यूएचसी कार्यक्रम अन्तर्गतको बीसीजी खोप अनिवार्य नगरिएका इटाली, अमेरिका, नेदरल्याण्ड्सजस्ता देशमै कोरोनाभाइरसको संक्रमण ज्यादा देखिएकाले कतै खोपकै प्रतिरोधी क्षमता नै कारक बनिरहेको त छैन भन्नेमा ध्यान गएको हो ।

“हामीले यूएचसी कार्यक्रम वा दीर्घकालीन कार्यक्रम अन्तर्गत अनिवार्य बीसीजी खोप समावेश नगरिएका इटाली, अमेरिका र नेदरल्याण्ड्सजस्ता देशमा यस्ता कार्यक्रम सञ्चालन गरिएका देशहरुमा भन्दा बढी कोरोना संक्रमित भएको पाएका छौं”, इकोनोमिक टाइम्समा प्रकाशित एक रिपोर्टमा न्यूयोर्क इन्स्टिच्यूट अफ टेक्नोलोजी (एनवाईआईटी) का सहप्राध्यापक गोञ्जाले ओटाजुले भनेका छन् । ओटाजु नेतृत्वको यो अध्ययन भने प्रकाशनकै क्रममा छ ।

डब्लूएचओको एक अध्ययनले पनि कोडिभ–१९ संक्रमितहरुको संख्या बढी देखिएका मुलुकहरुमा बीसीजी खोप अनिवार्य लगाउनुपर्ने व्यवस्था नभएको देखिएको छ ।

सेप्टेम्बर २०१७ मा प्रकाशित यो ‘माइकोेब्याक्टेरियल र नन्माइकोब्याक्टेरियल संक्रमणविरुद्ध बीसीजी खोपको प्रयोग’ विषयक प्रतिवेदन अनुसार बीसीजी खोपलाई अनिवार्य नगरेका विश्वमा ३८ मुलुकहरु छन् । जसमा, अमेरिका, इटाली, स्पेन, जर्मनी, फ्रान्स, बेलायत, स्विट्जरल्याण्ड, बेल्जियम, नेदरल्याण्ड्स लगायत पर्छन् (हे.नक्सा) ।

स्रोत : डब्लूएचओ 


अहिले यी मुलुकहरुमै कोभिड–१९ संक्रमितहरुको संख्या उच्च पाइएको छ (हे.इन्फो) ।

संक्रामक तथा सरुवा रोग उन्मूलन भइसकेपछि कतिपय विकसित मुलुकहरुले आफ्नो स्वास्थ्य नीतिमा बीसीजीलगायतका २२ वटा खोपलाई अनिवार्य नबनाई ऐच्छिक बनाए, जसमा खोपको खर्च व्यक्तिले आफै तिर्नुपर्छ ।

बाल स्वास्थ्य महाशाखाका पूर्व निर्देशक डा. श्यामराज उप्रेती यही ऐच्छिक खोपकै कारण दादुरा निवारण गरिसकेको यूरोपमा पछिल्ला तीन वर्षयता पुनः दादुराको प्रकोप देखिएको बताउँछन् ।


‘नेपालीलाई लाभ हुनसक्छ’
“हामीकहाँ भने अहिले पनि संक्रमणको डर छ, त्यसैले खोप नियमित छ, उनी भन्छन्, “तर, विकसित मुलुकहरुमा खोप लगाउने क्रम घट्न थालेपछि संक्रामक रोगले सताउन थालेको छ ।”

नेपालमा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामो समयदेखि आफ्ना योजनामा बीसीजी लगायतका खोप अनिवार्य गरेको छ । अर्थात् नेपालका सबै नागरिकले बीसीजी खोप पाइसकेका छन् । जन्मेदेखि एक वर्ष नपुग्दै मुख्यतः दायाँ पाखुरामा यो खोप लगाउने गरिन्छ ।

व्यक्तिमा रोगप्रतिरोधात्मक क्षमता कमजोर भएर लाग्ने क्षयरोग माइकोब्याक्टेरियम ट्युबरक्लोसिस् जीवाणुका कारण लाग्दछ । र, श्वासप्रश्वासबाटै एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्दछ ।

नेपालमा बालबालिकालाई सरुवा रोग विरुद्ध लड्ने क्षमता विकास गर्न १२ थरीका रोग विरुद्ध निःशुल्क खोप दिइँदै आएको छ । विज्ञहरुका अनुसार अहिले मुलुकमा नेपालमा ९० प्रतिशत भन्दा बढी जनसंख्यामा खोप सेवाको पहुँच छ (हे.चार्ट) ।

बीसीजी खोप ९८ प्रतिशतको पहुँचमा पुगेको छ ।

नेपालमा खोपको पहुँच ।                                                                                       स्रोत : डब्लूएचओ र युनिसेफ


त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका फर्माकोलोजी विभागका प्रमुख सहप्रध्यापक डा.सतिशकुमार देव यदि बीसीजी खोपले कोभिड–१९ विरुद्ध लड्न सक्ने कुरा प्रमाणित भए यो चिकित्सा विज्ञानका लागि ठूलो सफलताको विषय बन्ने बताउँछन् ।

नेपाली सबैमा बीसीजीको पहुँच पुगेकाले पनि कोभिड–१९ सँग लड्न सक्ने प्रतिरोधात्मक शक्ति बलियो हुनसक्ने उनको तर्क छ । “यसो भएमा खासगरी युनिभर्सल हेल्थ कभरेज पुगेका नेपालजस्ता मुलुकहरु बढी लाभान्वित हुनेछन्,” उनी भन्छन् ।

वरदान बनेको निःशुल्क खोप
नेपालमा २०४५ सालदेखि देशव्यापी रुपमा खोप कार्यक्रम शुरु भएको हो । त्यसबेला भ्यागुते रोग, लहरे खोकी, टिटानस, दादुरा, पोलियो र क्षयरोगका विरुद्ध ६ थरीका खोप दिन थालिएको थियो । अहिले १२ रोगका लागि अनिवार्य खोप लगाउनुपर्छ ।

देशव्यापी रुपमा कार्यक्रम शुरु हुनुअघि डब्लूएचओको सहयोगमा सरकारले २०३४ सालदेखि फाट्टफुट्ट केही सीमित जिल्लामा खोप दिन थालेको थियो ।

सरकारको ‘विस्तारित खोप आयोजना’ अन्तर्गत मुलुकमा शुरु भएको बीसीजीको खोप कार्यक्रमलाई डब्लूएचओ र युनिसेफले शुरु गरेका थिए ।

बीसीजीको खोप लगाउनुपूर्व गाउँगाउँमा क्षयरोगका कारण बालबालिकादेखि वृद्धवृद्धाको मृत्युदर बढी थियो । २०४५ सालपछि गम्भीर खालको क्षयरोगबाट मृत्यु हुनेहरुको संख्या घट्यो ।

स्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ।


बाल स्वास्थ्य महाशाखाका पूर्व निर्देशक डा. उप्रेती  नेपालमा पाँच वर्ष भन्दा मुनिका बालबालिकाको मृत्युदर घटाउन बीसीजी लगायतका खोपले महत्वपूर्ण भूमिका खेलेको बताउँछन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का पूर्व निर्देशक डा.भीम आचार्य बितेका दुई दशकमा नेपालले बालबालिकाको स्वास्थ्य सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको र यसकोे प्रमुख कारण खोप नै भएको बताउँछन् ।

“यदि निःशुल्क खोप कार्यक्रम नचलाएको भए बाल मृत्युदर अहिलेको तुलनामा धेरै बढी हुन्थ्यो”, उनी भन्छन् ।

खोप कार्यक्रमकै कारण मुलुकबाट लहरे खोकी पूर्ण रुपमा हटेको र दादुरा रोग ९० प्रतिशतले कमी आएको आचार्यको भनाइ छ । प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको जापनिज् इन्सेफ्लाइटिस पनि खोपकै कारण न्यून भएको छ ।

पोलियो विरुद्धको खोपकै कारण सन् २०१० देखि यता एउटै पनि पोलियोको संक्रमण फेला नपरेको नेपाललाई पोलियोमुक्त देश घोषणा गरिसकिएको छ ।

प्रतिकृया दिनुहोस