थप समाचार विहीबार, चैत २०, २०७६

सेनाको सीसीएमसी–ओप्सलाई औषधि तथा उपकरण आपूर्तिको जिम्मा

दीपक खरेल

सेनाको सीसीएमसी–ओप्सलाई औषधि तथा उपकरण आपूर्तिको जिम्मा

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) का लागि आवश्यक औषधि र उपकरण ल्याउन यसअघि गरिएको ठेक्का रद्द गरेपछि त्यसको जिम्मा सरकारले नेपाली सेनालाई दिएको छ।

सरकारको निर्णय अनुसार सेनाको सीसीएमसी–ओप्सलाई आवश्यक औषधि, उपकरण र बन्दोबस्तीका सामग्री ल्याउने जिम्मेवारी दिइएको हो।

मन्त्रिपरिषद्को १६ चैतकोे बैठकले कोरोना भाइरस विरुद्धको प्रतिकार्य गर्न उच्चस्तरीय निर्देशक समितिको मातहतमा रहने गरी 'कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर –अपरेशन' (सीसीएमसी–ओप्स) स्थापना गर्ने निर्णय गरेको थियो।

बिहीबार कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकपछि सरकारका प्रवक्ता अर्थ तथा सूचनामन्त्री डा.युवराज खतिवडाले समन्वय समितिले संचालन गर्ने गरी सीसीएमसीले स्वास्थ्य उपचार, स्वास्थ्य सामग्री आपूर्ति र शान्ति सुरक्षाका विषयमा काम गर्ने निर्णय गरेको बताए। सरकारले ओम्नी ग्रुपसँगको औषधी खरीद र उपकरण खरीद ठेक्का विवादास्पद भएपछि बुधबार रद्द गरेको थियो।

सेनाले कोरोना भाइरस प्रतिकार्यलाई प्रभावकारी ढङ्गले छिटो, व्यवस्थित र समन्वयात्मक रुपमा सम्पादन गर्न काठमाडौं छाउनीस्थित महावीर गण (रेञ्जर) को हाताभित्र प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा सेनाको प्रबन्धरथी तथा स्वास्थ्य मन्त्रालयका १२औं तहका प्रतिनिधिहरुको समन्वयकारी भूमिका रहने गरी सीसीएमसीको स्थापना गरेको छ। 

सेनाका अनुसार, सीसीएमसीबाट केन्द्रीय, प्रादेशिक र स्थानीय तहसम्म निजामती, सुरक्षा निकाय र सबै सरोकारवालाको संयुक्त समूहहरु मार्फत कोरोना भाइरस विरुद्ध एकीकृत रुपमा सबै प्रकारका प्रतिकार्य संचालन हुनेछ।

सीसीएमसीले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि व्यक्तिहरु पहिचान गर्ने, क्वारेन्टिन तथा आइसोलेसनमा राख्ने र उपचार गर्ने लगायतका काम गर्नेछ।

सीसीएमसी–ओप्सले केन्द्रदेखि स्थानीय स्तरसम्म एउटै चेन अफ कमाण्ड स्थापना गरी मुलुकमा कोरोना भाइरसको अवस्था र चरणहरुको मूल्यांकन र सूक्ष्म अनुगमन गर्दै आवश्यक रणनीति र कार्यनीति बनाउनेछ।

सीसीएमसी–ओप्सले स्वास्थ्य सेवा तथा उपचार (मेडिकल–ओप्स), औषधि उपकरण तथा स्वास्थ्य सामग्री आपूर्ति सेवा (लजिस्टिक ओप्स), शान्ति सुरक्षा अनुगमन तथा नियन्त्रण कार्य (सेक्युरिटी ओप्स) र सूचना तथा प्रविधि कार्य (मिडिया एण्ड आइटी ओप्स) जस्ता ४ वटा अपरेशन सेन्टर बनाएर काम गर्नेछ।

हाल औषधि तथा उपकरणको आपूर्ति लजिस्टिक ओेप्सले गर्नेछ। यसका लागि सरकार-सरकार (जीटुजी) बीच खरीद वार्ता सेना मार्फत हुनेछ। सीसीएमसीले कार्यालय स्थापना, प्रारम्भिक सूचना प्रणालीको विकास, अत्यावश्यक जनशक्तिको व्यवस्थापन र स्थायी कार्यविधिहरुको मस्यौदा विकास लगायतका कार्य गरिसकेको सेनाले जनाएको छ।

प्रतिकृया दिनुहोस