टिप्पणी शुक्रबार, चैत १४, २०७६

पृथ्वीनारायणको युद्ध–नीति

भैरव रिसाल

पृथ्वीनारायणको युद्ध–नीति
भैरव रिसाल

नेपाल एकीकरण हुनुभन्दा पहिले पूर्वमा टिष्टादेखि पश्चिममा काँगडासम्म पहाडी राजा–रजौटा ८० वटा रहेछन् । सिक्किम, चैनपुर, विजयपुर, चौदण्डी, माझकिराँत, हरिहरपुर, कान्तिपुर, भक्तपुर, पाटन लगायतका ती राजा–रजौटामध्ये गोर्खा पनि एक थियो । केही राज्यबीच गुटबन्दी भए जस्तो देखिए पनि खास मेलमिलाप भने रहेनछ, मौका परे एक–अर्कामाथि जाइलागिहाल्ने ।

गोर्खाका राजा पृथ्वीनारायण शाहको बुद्धि धारिलो, सोचविचार गरेर निर्णय लिने उनको स्वभाव थियो । युद्ध–नीति र सैनिक प्रशासनमा पनि उनी तेजिला थिए । शत्रु पक्षलाई रातको समयमा हमला गर्ने, तिनको अन्नपानी पाएसम्म बिगार्ने, शत्रु पक्षका मान्छे सकेसम्म भड्काउने लगायत नीतिमा उनी सिपालु थिए । नत्र एउटा सानो राज्यले विशाल नेपाल कसरी जोड्न सक्थ्यो !

राज्य विस्तारमा लागेका पृथ्वीनारायणलाई सेनाको भरपर्दो साथ आवश्यक थियो । यसै कारण सिपाहीहरूलाई काइदा–कानूनमा कसेर राष्ट्र सेनालाई चुस्त बनाउन उनले विशेष प्राथमिकता दिएका थिए । सिपाहीलाई सधैं तिखारिराख्नुपर्ने उनको मान्यता थियो । उनी राजाको सार भनेकै सिपाही र रैती हुन् भन्थे । सिपाही र रैतीलाई हातमा राख्ने र त्यसो भए हुलमूल हुन नपाउने उनको सोच रहेछ ।

फौजको ऊर्जा र आत्मबल बढाउन पृथ्वीनारायण सिपाहीको घर–खेत मिलाएर राख्नुपर्नेमा जोड दिन्थे । जहान बच्चाले पेटभरि खान पाए सिपाही निष्फिक्री हुने र ढोका/गौंडा जहाँ भए पनि उसको छाती बलियो हुने उनको विश्लेषण थियो ।

जितेको जमीन सिपाहीलाई नै दिने व्यवस्था मिलाए युद्धका क्रममा उनीहरू जमीन बढाउन मरिमेट्छन् भन्ने उनको मान्यता थियो । लडाइँ नभएको समयमा तिनले त्यहाँ खेती गरेर उत्पादन वृद्धिमा टेवा पनि दिने उक्त मान्यताभित्रको नीति थियो । फौजी जवानलाई ऐस–आराममा लम्पट पार्न नहुने, लम्पट अफिसर र सिपाही भ्रष्ट र काँतर हुने उनको ठम्याइ रहेछ ।

पोशाकमै खाना खाने नियम 

त्यसवेला सेनामा कडा नियम थियो । भात–भान्छामा जातपातको निकै खोजीनिती हुन्थ्यो । खाना खाने समयमा खस, बाहुन र ठकुरीहरूले जंगी पोशाक फेरेर धोती लगाउनुपर्ने । धोती नहुनेहरूले लँगौटी मात्र लगाएर खानुपर्ने ।

त्यस्तैमा एक दिन नुवाकोट ककनीनेरको काउले भञ्ज्याङमा सेनाका जवानहरूले खाना खाँदै गर्दा काठमाडौं उपत्यकाको मल्ल राजाको सेनाले हमला गरेछ । फौजले धन्न हातहतियारसम्म समात्न भ्याएछ, लुगा लगाउन भने भ्याएनछ । त्यसै वेलादेखि सेनाले खाना खाँदा लुगा नफुकाल्नू भन्ने नियम बाँधिएछ ।

लडाइँमा जितेको राज्यलाई सेनाले नियन्त्रणमा राख्ने तर राजकाज नचलाउने पृथ्वीनारायणको नीति थियो । फौज प्रशासनिक झमेलामा पर्न सक्ने भएकाले साविककै निकायबाट राजकाज चलाउने थिति बसालिएको थियो ।

१८०० सालतिर गोर्खा राज्यसँग ठूलो फौज राख्न सक्ने सामर्थ्य नै थिएन । त्यहाँ झरेली प्रथा अर्थात् जनसाधारणले तनखा विना नै युद्ध कार्यमा खटिने चलन रहेछ । गोर्खाली जनताका घरघरै घरेलु हतियार हुन्थ्यो । उनीहरू वरपरका लडाइँमा आफ्नै सामल खाएर सहभागी हुन्थे । मकैको सातु, सिन्की, नूनको ढिको, कोदो खाएर लड्थे । कतिपयले लडाइँका सामान बोकेर सघाउँथे ।

सिपाहीदेखि भारदारसम्मलाई धन–दौलत कमाउन दिनुहुँदैन भन्ने उनको सिद्धान्त रहेछ । पृथ्वीनारायण शाहको धारणा स्पष्ट थियो– सम्पत्ति हुने सेनाले मर्ने र मार्ने तयारीसहित लडाइँको मैदानमा जान सक्दैन । कर्मचारीले औकात नाघेर लाए/खाए भने आर्थिक रूपमा दण्डित गरिन्थ्यो ।

झरेली प्रथाको भर

अन्तर्राष्ट्रिय मामलामा सुरो विचार राख्ने राजा पृथ्वीनारायण दक्षिण समुद्रको बादशाह चतुर भएकाले सजग हुनुपर्छ भन्थे । उनले बलवान उत्तर र दक्षिणका छिमेकीसँग सद्भावनापूर्ण व्यवहार गरे । शत्रुसँग लडेर भन्दा नाका–नाकाबाटै थर्काएर हराउनुपर्ने उनको नीति थियो ।

बनारसबाट केही भरुवा बन्दूक किनेर ल्याउनु अगाडिसम्म सैनिक हातहतियारमा गोर्खा सम्पन्न थिएन । त्यसवेला धनुकाँड, घुयेंत्रो, खुकुरी, तरबार, खुँडा लगायतका हातहतियार मात्र थिए । त्यतिवेला नेपाल खाल्डोका कान्तिपुर, भक्तपुर, पाटनका मल्ल राजाहरूसँग मात्र केही बन्दूक थिए ।

१८०० सालतिर गोर्खा राज्यसँग ठूलो फौज राख्न सक्ने सामर्थ्य नै थिएन । त्यहाँ झरेली प्रथा अर्थात् जनसाधारणले तनखा विना नै युद्ध कार्यमा खटिने चलन रहेछ । गोर्खाली जनताका घरघरै घरेलु हतियार हुन्थ्यो । उनीहरू वरपरका लडाइँमा आफ्नै सामल खाएर सहभागी हुन्थे । मकैको सातु, सिन्की, नूनको ढिको, कोदो खाएर लड्थे । कतिपयले लडाइँका सामान बोकेर सघाउँथे ।

प्रतिकृया दिनुहोस