थप समाचार विहीबार, चैत १३, २०७६

भारतबाट फर्केका बैतडीका ८५ जना क्वारेन्टिनमा

रासस

भारतबाट फर्केका बैतडीका नागरिकलाई जिल्ला प्रशासन कार्यालय बैतडीले क्वारेन्टिनमा राख्न स्थानीय तहको जिम्मा लगाएको छ।

सुदूरपश्चिम प्रदेशको गौरीफन्टा र गड्डाचौकी नाकाबाट मङ्गलबार आएका जिल्लाका विभिन्न स्थानीय तहका ८५ जनालाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाइएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।

सबैभन्दा बढी दोगडाकेदार गाउँपालिकाका ३८, दशरथचन्द नगरपालिकाका १७ र सुर्नया गाउँपालिकाका ११ जना छन्। यस्तै, पाटन नगरपालिका र मेलौली नगरपालिका ६/६ जना, पुर्चौडी नगरपालिकाका ४ र शिवनाथ गाउँपालिकाका २ जना छन्।

मङ्गलवार बिहानैदेखि भारतबाट आएका यात्रुहरु कैलालीको त्रिनगर नाका र कञ्चनपुरको गड्डाचौकीमा अलपत्र परेका थिए। उनीहरुलाई प्रदेश सरकारका तर्फबाट सम्बन्धित जिल्लामा पुर्‍याउने व्यवस्था गरिएको थियो। अहिलेसम्म कोरोनाभाइरसको संक्रमण जिल्लामा नदेखिए पनि सम्भावित सङ्क्रमणबाट जोगिन सरकार, स्थानीय प्रशासन र स्थानीय सरकारले गरेको अपिल मानिदिन प्रजिअ पौडेलले आग्रह समेत गरेका छन्।

यसैबीच, गएको एक सातामा भारतबाट बैतडी फर्किएका नागरिकको खोजी भइरहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। कुन ठाउँमा कति जना मानिस जिल्ला भित्रिएका हुन्, स्थानीय सरकारसँग समन्वय गरी वडावडामा स्थानीय जनप्रितिनिधि र स्वास्थ्यकर्मीलाई परिचालन गरी तथ्याङ्क सङ्कलन गरी घरमै सेल्फ-क्वारेन्टाइनमा बस्न लगाइने प्रजिअ पौडेलले बताए।

प्रतिकृया दिनुहोस