बन्दाबन्दीमा कलाकारः अधिकांशको रोजाइ फिल्म र पुस्तक
कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलन नदिन सरकारले बन्दाबन्दी (लकडाउन) घोषणा गरेसँगै सर्वसाधरण घरबाहिर निस्केका छैनन्। अधिकांश समय घर बाहिर रहने कलाकार पनि यति वेला घरभित्रै छन्। उनीहरुको दिन कसरी बितेको छ? हिमालखबर ले केही कलाकारसँग उनीहरुको नयाँ दैनिकीबारे सोधेको छ।
फिल्म हेर्ने र पुस्तक पढ्ने गरिरहेको छु
घिमिरे युवराज, कलाकार तथा निर्देशक
![](/uploads/shares/2020/Film Music Culture/Ghimire Yubaraj.jpg)
शिल्पी थिएटरमा चैत महिनाभर हुने भनिएको सबै कार्यक्रम सबै स्थगित गरेका छौं। कलाकारहरु बिदामा हुनुहुन्छ। बन्दाबन्दीअघि नै सरकारले अत्यावश्क कामबाहेक बाहिर ननिस्कन अनुरोध गरेकाले घरैमा थिएँ। घरैमा फिल्म हेर्ने र किताब पढ्ने गरिरहेको छु। अब बन्दाबन्दी फुक्का भएको घोषणा नभएसम्म बाहिर निस्किँदिन। संक्रमणबाट जोगिनको लागि सचेत छौं। हेर्नुपर्ने फिल्म, पढ्नुपर्ने किताब, नाटकहरु समय नमिलेर पढ्न, हेर्न पाएको थिइनँ। यति वेला आफैँलाई ध्यान दिने समय पनि हो। यो समयलाई सक्दो सिर्जनात्मक बनाउने योजनामा छु।
छोराछोरीसँग रोगबारे छलफल गरेँ
मिना निरौला, गायिका
बन्दाबन्दीको पहिलो दिन घरको सरसफाई गरेर बित्यो। व्यस्त हुने भएकोेले घरमा सामग्री व्यवस्थापन राम्रोसँग गर्न पाएकी थिइनँ। सबै कपडाहरु घाममा सुकाएँ। छोराछोरीसँग कोरोना भाइरस र यसको असरबारे छलफल गरेँ। यो समयमा हामी घर बाहिर किन निस्कनु हुँदैन भन्नेबारे बुझाउने कोशिस गरेँ। उनीहरुलाई चित्र बनाउन सहयोग गरेँ। सामान्य समयमा भन्दा बढी सरसफाईमा ध्यान दिनुपर्ने भएकोले त्यसैमा धेरै समय बित्छ। बुधबारदेखि संगीतको काम पनि शुरु गरेँ। अन्य देशको अवस्था हेर्दा बन्दाबन्दी एक हप्ताभन्दा लम्बिन्छ जस्तो छ। सरकारले गर्ने निर्णयलाई साथ दिनै पर्छ। तर, यो समय अल्छि हुनेभन्दा पनि सिर्जनात्मक बन्ने हो । हामीले अहिले सरकारलाई साथ दिने एकदम सजिलो उपाय घरमा बस्नु नै हो। घरमा संगीत सुनेर, फिल्म हेरेर बस्न सकिन्छ।
गीत लेख्ने र कम्पोज गर्ने समय मिल्यो
यश कुमार, गायक
अमेरिका, इटाली, चीन जस्ता देशलाई समेत संकटमा पारेको कोरोना भाइरससँग विशेष सावधानी अपनाउनै पर्छ। संक्रमण फैलिहाल्यो भने हामीलाई झनै समस्या हुन्छ। मै हुँ भन्ने देशहरुको अवस्था देखेर पनि सचेत हुनुपर्छ। म सरकारले गरेको बन्दाबन्दीको पूर्ण रूपमा पालना गरिरहेको छु। यो फुर्सदमा गीत लेख्ने, कम्पोज गर्ने समयको रूपमा सदुपयोग गरिरहेको छु। पहिलो दिन दुई वटा गीत लेखेँ। दोस्रो दिन बुधबारदेखि गीत कम्पोज गर्दै छु। संसार अत्तालिएको बेला सरकारले गरेको निर्णयलाई साथ दिनुपर्छ। अत्यावश्यक काम नभई बाहिर ननिस्कौं।
अनलाइन लुँडो खेल्छु
मेलिना राई, गायिका
![](/uploads/shares/2020/Film Music Culture/Melina Rai.jpg)
यति वेला म परिवारसँगै छु। धेरै समय भएको थियो घरमा आरामले बस्न नपाएको। अहिले त्यो मौका मिलेको छ। तर, बन्दाबन्दी हुनु राम्रो हैन। अहिले बाध्यता बनेको छ। जनताको हितका लागि भएको यो कामलाई हामी सबैले साथ दिनुपर्छ। म हेर्न बाँकी फिल्म हेरिरहेको छु। साथीसँग अनलाइन लुँडो खेल्छु। सबै जना कोरोना भाइरसबाट सुरक्षित रहौं। सावधानी अपनाएर घरैमा बसौं। सतर्कताको लागि सरकारले गरेको बन्दाबन्दीलाई हामी सबैले साथ दिनैपर्छ। समय बिताउन अनलाइन लुँडो खेल्न सकिन्छ। तर, घरबाहिर निस्कने मुर्खता नगरौं।
हेर्नुपर्ने फिल्म र पढ्नुपर्ने पुस्तकको सूची छ
सरिता गिरी, कलाकार
यो बन्दाबन्दी आफ्नो लागि मात्रै नभएर आफ्नाहरुको लागि पनि हो। बन्दाबन्दी घोषणा हुनुअघि नै सरकारले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कनु भनेकाले घरैमा छु। अमेरिका, चीन, इटालीमा फैलिएको संक्रमणले अवस्था कति खतरनाक छ भन्ने हामी अनुमान गर्न सक्छौं। यो अवधिको लागि फिल्म, किताबको लिस्ट बनाएर हेर्ने तथा पढ्ने गरिरहेकी छु। यो समय दिक्क मान्नेभन्दा पनि आफैलाई समय दिने हो । घरमा परिवारसँग समय बिताउन पाउँदा खुसी नै छु। गफगाफ गर्ने समय मिलेको छ।
फिल्म र पुस्तकमा समय गइरहेको छ
केदार श्रेष्ठ, कलाकार तथा निर्देशक
![](/uploads/shares/2020/Film Music Culture/Kedar Shrstha.jpg)
अहिले नाटक रिहर्सल, फिल्म सुटिङ सबै स्थगित भएका छन्। सरकारले बन्दाबन्दी घोषणा गरेपछि म पनि घरबाट निस्केको छैन । घरमा दिक्क मानेर बस्नुभन्दा किताब पढेर, फिल्म हेरेर आफ्नो समयलाई रमाईलो बनाउन सकिन्छ। बन्दाबन्दीको पहिलो दिन फिल्म हेरें, किताब पढें। दोस्रो दिन पनि फिल्म हेरेँ। बाहिर निस्केर गर्नुपर्ने कामको लागि स्फुर्ती बटुल्दै थप सिर्जनात्मक भएर निस्कने सकारात्मक सोच लिएको छु। यो आफैलाई रिचार्ज गर्ने समय हो । सबैले सरकारले गरेको निर्णयमा साथ दिऊँ र फुक्का घोषणा नभएसम्म घरमै बसूँ।
नाटकको रिहर्सल अनलाइनबाटै गरिरहेकाछौँ
लुनिभा तुलाधर, कलाकार
![](/uploads/shares/2020/Film Music Culture/Lunibha Tuladhar.jpg)
घरमा बसेर गर्ने कामहरु गरिरहेकी छु। दिनमा एक पटक चाँहि निस्कनै परिरहेको छ। तर, विशेष सावधानीपूर्वक निस्कन्छु। भर्खर मेरो भदा जन्मेको छ। उसलाई तेल लगाउन गईरहेकी छु। बाँकी बाहिर गएर गर्नुपर्ने काम स्थगित भएको छ। हिजो मेरो भदालाई तेल लगाईदिएपछि फिल्म हेरेँ। अब एउटा डकुमेन्ट्रीको सम्पादन गर्नुछ। घरमा नै सम्पादन कक्ष भएकाले बाहिर जान्नँ। अप्रिलमा हुने नाटकको सोमबारदेखि हप्ताको तीन दिन अनलाईन रिहर्सल गरिरहेका छौं। बाँकी समय छोरालाई उसको किताब पढेर सुनाउँछु। यसो गर्दा ऊ एकदम खुशी हुन्छ। यो समय म आफुलाई र मेरो परिवारलाई समय दिन्छु। सरकारले गरेको एक हप्ताको बन्दाबन्दीलाई साथ दिन्छु।
झापामा परिवारसँग छु
अनिल सुब्बा, कलाकार
म अहिले झापामा छु, दिदीको बिहेमा आएको थिएँ। २८ फागुनमा झापामा नै हाम्रो नाटक मन्चन गर्ने योजना थियो। तर, कोरोना भाईरस संक्रमण हुने भन्दै सरकारले भीडभाड नगर्दिन अनुरोध गरेपछि कार्यक्रम स्थगित ग¥यौँ। हामी स्वास्थ्य रह्यौं भने कार्यक्रम त पछि पनि गर्न सकिन्छ। बन्दाबन्दीको पहिलो दिन घरैमा बसेँ, खास केही गरिनँ। इन्टरनेटमा व्यस्त भएँ। फिल्म हेरेँ। अब बन्दाबन्दी अवधिभर घरैमा बस्ने, सरसफाईमा ध्यान दिने, किताब पढ्ने, फिल्महरु हेर्ने योजनामा छु।
नेटफ्लिक्समा फिल्म हेर्छु
पशुपति राई, कलाकार
![](/uploads/shares/2020/Film Music Culture/pashupati Rai.jpg)
मेरा सबै कार्यक्रम स्थगित भएका छन्। मन्चन हुन लागेको नाटक, शुरु हुन लागेको फिल्मको सुटिङ सबै स्थगित भए। अहिले म घरैमा छु। यो आफै सचेत हुने समय हो। हाम्रो जस्तो देशमा संक्रमण फैलिहाल्यो भने नियन्त्रण गर्न एकदम गाह्रो हुन्छ। म बिहान मेडिटेसन गर्छु । त्यसपछि घरको सफाइ गर्छु। बाँकी समय नेटप्mलिक्समा फिल्म हेर्छु। त्यसपछि किताबहरु पढ्ने, गीत सुन्ने गर्छु। बन्दाबन्दी समय अवधिभर घरमा नै बस्ने हो।